पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

मकवानपुर:     पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।       पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।      प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट आठ वटा बिस्कुटको आकारको (तौल गर्दा आठ किलो २४३ ग्राम ९७) मिलिग्राम सुन बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।       उनीहरुको साथबाट बरामद भएको उक्त परिणामको सुनको मूल्य (आजको मूल्यअनुसार) रु ११ करोड ४३ लाख ५७ हजार ८७८ रहेको प्रहरीले पत्रकारसम्मेलन मार्फत जानकारी गराएको थियो ।  पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको जनाइएको छ । 

पोखरा:    पोखरा नागढुङ्गामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ ।  पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङ ले आफ्नो शाखा विस्तार गरेको हो । बजारको मागलाई मध्यनजर गरि पोखरा नागढुङ्गामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिनुभयो ।  विगत १३ बर्ष देखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिंदै आएको कम्पनीले नागढुङ्गा शाखाबाट मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान लगायत सम्पुर्ण सवारी साधनको जुनसुकै साइटका नया टायर विक्री केन्द«बाट सेवा शुरु गरेको हो ।  उक्त शाखाबाट इण्डियन तथा चाइनिज ब्राण्डका टायर विक्री हुनेछ । पोखरा बजार तथा सिद्धार्थ हाइवे लक्षित गरि सेवा विस्तार गरिएको अर्का संचालक हितेष अधिकारीले जानकारी दिनुभयो ।  विस्तारित शाखामा भद्रकाली टायर रिसोलिङबाट दिदैं आएको सेवालाई यथावत राख्दै मोटरसाइकलदेखि बस, ट्रक तथा ट्रयाक्टरका सम्पुर्ण साइजका टायर सर्वसुलभ तथा सुपथ मुल्य उपलब्ध गराएको संचालक हुमबहादुर खत्री ‘अर्जुन’ बताउनुभयो ।  अत्याधुनिक हाइड्रोलिक प्रविधीबाट टायर खोल्ने फिटिङ गर्ने, निशुल्क खोल्ने तथा फिटिङ गर्ने, टायरको हावा चेक गर्ने, टायर सम्बन्धी सम्पुर्ण परामर्श सेवा प्रदान गरिएको छ ।  निकट भविष्यमा आधुनिक प्रविधीको भाइकिंग गाडी को टयुबलेस टायर रिसोलिंग को शुरुवात गर्ने पनि केसीको योजना छ ।   

धादिङ:     एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।           पानी परिरहेका बेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरुको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।      जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई रु दुई लाखका दरले राहत रकम वितरण गरिएको हो ।  सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।      “राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौँ । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।      त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिनुभयो ।  कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उहाँको भनाइ छ ।

बाँके:     खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ ।  चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिइएको हो ।      “शुक्रबार खजुराको गिजरा सामुदायिक वनको जङ्गलबाट चितुवालाई नियन्त्रणमा लिएका छौँ”, डिभिजन वन कार्यालय बाँकेका प्रमुख शङ्करप्रसाद गुप्ताले भन्नुभयो, “चितुवाले समस्या पारेको जनगुनासो आइरहेको थियो । वन्यजन्तुबाट हानिनोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिएका हौँ ।”      सोही गाउँपालिका–६ का वीरेन्द्र पुन मगरकी साढे दुई वर्षीया छोरी लक्ष्मी पुन मगर गत भदौ ३० गते बेलुका घरको आँगनबाट एक्कासि हराएकी थिइन् । खोजी गर्दा घटनाको दुई दिनपछि नजिक रहेको गिजरा सामुदायिक वन क्षेत्रमा आधा शरीर खाएको अवस्थामा बालिकाको शव फेला परेको थियो ।  उक्त घटना घटेको १८ दिनपछि सोही ठाउँबाट शुक्रबार भाले चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख गुप्ताले बताउनुभयो ।      खोजीका क्रममा नाबालिकालाई जङ्गलमा मृत अवस्थामा फेला परेकामा स्थानीयले सोही चितुवाले उनलाई मारेको हुनसक्ने अनुमान गरेका थिए । एउटा चितुवा नियन्त्रणमा दिए पनि बच्चा खाने चितुवा यही हो भन्ने यकिन हुन नसकेको डिभिजन वन प्रमुख गुप्ताले बताउनुभयो ।  “कुन चितुवाले लगेर मा¥यो भन्ने पुष्टि हुन सकेको छैन । बच्चाको ‘पोष्टमार्टम रिपोर्ट’ पनि अझै आइपुगेको छैन”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा भएको कुरा पुष्टि नहुँदै यकिनका साथ भन्न सक्दैनौँ ।”      उक्त चितुवा नियन्त्रण गर्न कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा क्यामेरासमेत जडान गरेको थियो । चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीलाई नौ दिनसम्म गिजरा वन क्षेत्रमा परिचालन गरिएको थियो ।       ठाउँठाउँमा क्यामेरा जडान गरी जङ्गलमा आहारा राखेर खोरमा फसाउन सफल भएको डिभिजन वन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा राखिएको छ ।  चितुवाको स्वास्थ्य परीक्षण गरेपछि उक्त चितुवालाई कहाँ छाड्ने भन्ने विषमा सम्बन्धित पक्षबीच छलफल गरी निर्णय गरिने डिभिजन वन प्रमुख गुप्ताले जानकारी दिनुभयो ।       उजाड अवस्थामा रहेको खाली जमिनमा वृक्षरोपण गरेर करिब तीन दशकअघि यहाँका स्थानीयले वन संरक्षण गर्दै आएका हुन् । वन, जङ्गल बढ्दै गएपछि स्थानीयले गिजरा सामुदायिक वन उपभोक्ता समूह स्थापना गरेका थिए । अहिले उक्त वन क्षेत्र विभिन्न वन्यजन्तुको बासस्थान बनेको छ ।       राँझा सबडिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत राजबहादुर चौधरीले चितुवालाई नियन्त्रणमा लिन निकै सास्ती बेहोर्नु परेको बताउनुभयो ।  “धेरै दिनको प्रयासपछि चितुवालाई नियन्त्रणमा लिन सक्यौँ”, उहाँले भन्नुभयो, “यसलाई नियन्त्रणमा लिएसँगै स्थानीयमा केही सहजता महसुस भएको पाएका छौँ ।”      खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले चितुवा नियन्त्रणमा लिन खटिएका सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई राज्यले आवश्यक राहत तथा क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबैले सजगता अपनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । 

काठमाडौं:    एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।  यही असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुने प्रतियोगितामा नेपालको एकल प्रतिनिधित्व गर्दै गुरुङ सहभागी हुन लागेकी हुन् ।       एरिकाले यु–२१ उमेर समूहको महिलातर्फ ६८ केजीमाथि तौलसमूहमा यही असोज २३ गते प्रतिस्पर्धा गर्नेछिन् । प्रतिस्पर्धाको सेमिफाइनल र फाइनल यही असोज २७ गते हुनेछ ।            क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा एक सय १३ राष्ट्रका एक हजार नौ सय ९५ खेलाडीको सहभागिता रहने नेपाली टोलीका प्रशिक्षक समेत रहेका १०औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता कुशल श्रेष्ठले जानकारी दिनुभयो ।       एरिकाको यो छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँच वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई कूल आठ पदक दिलाएकी छन् । त्यसमा चार स्वर्ण, तीन रजत र एक कांस्यपदक छ । एरिकाले यो सफलता एक वर्षमा हासिल गरेकी हुन् ।        एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । त्यस्तै, एरिकाले १९औँ एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दुई स्वर्ण र चीनको हाङझावमा भएको २०औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत पद जितेकी थिइन ।       प्रतियोगितामा सहभागी हुने एरिकासहित चार सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले आज शुभकामना दिँदै विदाई गर्नुभयो ।            इटाली जाने टोलीमा एरिकासँगै तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् । नेपाली टोली भोलि इटाली प्रस्थान गर्नेछ ।       सदस्य–सचिव घिसिङले रणनीतिक तयारीअन्तर्गत एरिकाले सहभागी हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताका लागि शुभकामना प्रदान गर्नुभयो ।       अध्यक्ष लामाले नेपाल करातेमा एसियालीस्तरमा पदक जितेर इतिहास रचिसकेको उल्लेख गर्दै नेपालले यसपटक करातेको विश्व च्याम्पियनसिपमा पदक जित्नेमा विश्वास व्यक्त गर्नुभयो ।

धादिङ:     जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनका चालकलाई कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरोका चालक कारबाही पर्ने गरेका छन् ।       शुक्रबार बिहान जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायत गाउँपालिकाका विभिन्न बस्तीबाट छतमा यात्रु राखेर ओसारपसार गर्ने पाँचवटा बोलेरो जिप जरिवानासहित कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।      छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति नभएका सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढङ्गले सवारी चलाउने गरेको पाइएकाले पछिल्लो दुई दिनमा ३२ वटा सवारी कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।       उहाँका अनुसार प्रयोजन विपरीत सञ्चालित तीनवटा, छतमा राखेर यात्रु बोक्ने १४, सवारीसाधनको अवस्था ठीक नभएको पाँचसहित ३२ वटा सवारीसाधन कारबाहीमा परेका हुन् ।       सडक सञ्जाल सहज नभएका ग्रामीण बस्तीहरुबाट बोलेरो जिपले सर्वसाधारणलाई सदरमुकाम धादिङबेँसी ल्याउने–लाने गर्छन् । सडक सञ्जाल पुगे पनि जिल्लाको अधिकांश भागमा यात्रुवाहक बस सञ्चालन हुने सडक नभएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  अनुमति नभएका बोलेरो जिपहरुले मनोमानी ढङ्गबाट भाडा असुलेको गुनासो आएपछि ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचलाई कडाइ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।       बर्सातको समयमा भत्किएको बाटो मर्मत हुन नसक्दा ग्रामीण भेगमा ठूला यात्रुवाहक बस पुग्नसक्ने अवस्था छैन । बोलेरो जिपहरु चल्ने सडकमा ठाउँठाउँमा सादा पोसाकका प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । विभिन्न बहानामा यात्रु ठगिनबाट जोगाउन सदरमुकाम धादिङबेँसीको पुछारबजारमा यात्रु सहायताकक्ष समेत स्थापना गरिएको छ ।        प्रहरी प्रमुख आफैँ निरीक्षणमा      विभिन्न बहाना बनाएर यात्रुसँग बढी भाडा उठाउने सवारीलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र प्रहरी उपरीक्षक दीपेन्द्र शाहीसहित सुरक्षा निकायको टोली निरीक्षणमा खटिएको छ ।       अप्ठ्यारो सडक, जामको पीडालगायत विभिन्न बहानामा राजमार्ग क्षेत्रमा यात्रुसँग बढी भाडा असुल्ने गरेको गुनासो आएपछि त्यस्ता सवारीको आफैँले छड्के चेकजाँच गरी कारबाही गरिरहेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।      प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार साँझ पृथ्वी राजमार्गमा छड्के चेकजाँच गरेको छ । केही दिनदेखि यो टोलीले राजमार्ग क्षेत्रमा रात्रिकालीन छड्के चेकजाँच गरिरहेको छ । यात्रुवाहक सवारीले खाजा खाना खुहाउने होटल र खाद्यान्न पसलहरुको समेत चेकजाँच गरिरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।      शुक्रबार साँझ यात्रु लिएर सल्ल्यानटारबाट धादिङबेँसी हुँदै काठमाडौँ आउजाउ गर्ने विद्युतीय माइक्रोबसले रु सात सयसम्म भाडा लिएको पाइएपछि कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । काउन्टरबाट तोकिएको भाडामा टिकट काटिए पनि बीच बाटोमा पुगेर यात्रुसँग भाडा थप गरेर लिने गरेको गुनासो यात्रुहरुले गरिरहेका छन् ।

ललितपुर:    गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् ।  तर उनीहरुमा जति बाढीका कारण पाएको दुःख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता पनि छ ।            बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ । बाढीका कारण ढल फुटेको छ । आफूहरुले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितको भनाइ छ । यसले महामारी फैलने जोखिम बढाएको उनीहरुको चिन्ता छ ।            ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्धमा केही कमी आए पनि खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नं ४ का मिलन यसमाइली मगरले बताउनुभयो ।  उहाँले भन्नुभयो, “औषधि छर्केदेखि दुर्गन्ध अहिले कम भएको छ, तर पूर्ण रुपमा हटिसकेको छैन । यस्तै दुर्गन्ध रहिरह्यो भने महामारी फैलिन्छ कि भन्ने त्रास छ ।”           नगरप्रहरीले तीन दिनयता निरन्तर खोलामा औषधि छर्केको वडा नं १३ का वडाध्यक्ष गणेश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् अवरुद्ध भएको सबै ठाउँमा विद्युत् सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ । बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने समस्या छ । हामी व्यवस्थापनमा जुटेका छौँ ।”           हावा चलेको  समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नं २५ खोलामा बस्दै आएकी रेणुको लिम्बूले बताउनुभयो ।  उहाँले भन्नुभयो, “दुर्गन्ध निकै छ । बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ । गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ ।”

सप्तरी:   सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका(१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आउनुभएका उहाँ बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।      “अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको रु ३५ हजारसम्म खर्च भएको थियो”, उहाँले भन्नुभयो ।  केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उहाँ मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक हुनुहुन्छ उमेश माझी । “घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो”, उहाँले भन्नुभयो । कोशी ब्यारेजकै किसान लक्षमण प्रमाणीले दसैँ लगत्तै धान काट्ने सोचमा हुनुहुन्थ्यो । तर अघिल्लो साता लगातार परेको वर्षाका कारण आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ ।  “चार  बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ”, उहाँले भन्नुभयो, “हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।” त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ ।  यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कबिरले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उहाँले बताउनुभयो । किसान सुकदेव राउतको अवस्था पनि उस्तै छ । बाढीले २५ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी कोशी नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गको उतरपट्टी हनमाननर कङ्कालिनी नगरपालिका–१ भारदहमा पाँच सय बिघामा लगाइएको धानखेत बगरमा परिणत भएको छ ।  स्थानीय बुदुर राम र फुदुर रामको दुई÷दुई बिघाको धानबाली पूर्णरुपमा नष्ट भएको छ । यस्तै भारदह गाउँकै अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुसहरु राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन्  ।  धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिनुभयो । उक्त ठाउँमा कोशी नदीबाट भासेर आएका जलकुम्भी, बिभिन्न झारपातले भरिएको छ ।  पूर्वी पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण विभिन्न नदी हुँदै सप्तकोशी नदीमा आएका बाढीले केही घरमा क्षति पु¥याउनका साथै कैयौँ बिगाहा जमिनमा रोपेको धान बाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्र राजविराजका सप्तरीका अनुसार जिल्लाको पूर्वीभेगका हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ८, ९, ११ र १४ वडामा बाढीले धान खेतिमा क्षति गरेको छ  ।  त्यस्तै जिल्लाको तिलाठी कोइलाडी, कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिकामा समेत हजारौँ बिघाको धानबाली नष्ट भएको छ । यस क्षेत्रमा कोशी, जीता, मोहुली जस्ता नदीहरुमा आएको बाढी पसेको हो  ।   

नवलपरासी:     पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ ।       बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो ।  सडकको मर्मतपछि  आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।       उहाँले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताउनुभयो ।  तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो ।