पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

म्याग्दी:   म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग र संसारको सातौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरेका छन् ।  घराम्दीका भलिबल खेलाडीको १९ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलाबाट त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेका फोहर व्यवस्थापन गरेका हुन् ।       कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर जलाइएको सरसफाइ कार्यक्रमको अगुवाई गर्नुभएका धनकुमार पाइजाले बताउनुभयो । यही असोज १७ गते आधार शिविरतर्फ गएको १९ जनाको टोली आज बिहान फर्किएको छ ।      “पर्यटक आगमन बढ्न थालेसँगै मौरिस हर्जोग पदमार्गमा फोहर बढ्न थालेकाले सरसफाइका लागि सन्देश दिन कार्यक्रम गरिएको हो”, पाइजाले भन्नुभयो, “यहाँको सुन्दरतालाई कायम गर्न फोहर व्यवस्थापनप्रति पर्यटकसहित सरोकार भएका सचेत हुनुपर्ने छ । अहिले गरिएको सरसफाइ कार्याक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।”      घराम्दी गाउँको विकास र प्रवर्द्धनमा सहयोग गर्दै आउनुभएका हाल बेलायत निवासी पाइजा र फगामीले भ्रमण तथा सरसफाइ टोलीको सबै खर्च व्यक्तिगत रुपमा व्यवस्थापन गर्नुभएको थियो । आठ हजार मिटर अग्लो पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं–४ मा पर्दछ ।       फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो ।      मौरीस हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो ।        गत वसन्तयाममा २५ जनाले अन्नपूर्ण आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ । चालु शरदयाममा भने कसैले पनि अन्नपूर्ण आरोहणको अनुमति लिएका छैनन् । मौरिस हर्जोग पदमार्गका अभियान्ता गुरुङले दैनिकजसो आन्तरिक पर्यटकहरु आधार शिविर जान थालेका बताउनुभयो ।        हुमखोला हुँदै गुरासेडाँडा, फुतफेते झरना, सम्धीखर्क, भुसकेत, नारच्याङ पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामाकरण गरिएको उहाँले जानकारी दिनुभयो ।      नारच्याङबाट ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किमी सडकको मार्ग खोलिएको छ । विसं २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सवसमेत आयोजना गरिएको थियो ।       अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रुपमा रहेको छ ।       होटल तथा लजको सुविधा नभएको यस पदमार्गमा पदयात्रीले आफैँ खाने सामग्री लैजानुपर्छ । पाँच ठाउँमा आश्रयस्थल निर्माण भएका छन् । अष्ट्रेलियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ ।       अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा आश्रयस्थल, सार्वजनिक शौचालयलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको रु एक करोड बजेट कार्यान्वयनको तयारी भइरहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो ।

नवलपरासी:   पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।      गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ ।       शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो । 

काठमाडौं:   स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६१ हजार निर्धारण भएको छ ।      यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले बढेको छ ।  शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु क हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ । 

काठमाडौं:   नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुुई करोड सहयोग गरेको छ ।       नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गर्नुभयो । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।      सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गर्नुभयो ।      यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।      मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी छ ।

काठमाडौं:    काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।  चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ ।  हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् ।  काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो रु सात सय २० देखि  सात सय ५५, पहाडका खसी रु छ सय ७० देखि सात सय पाँच, बोका रु छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सयमा बिक्री भइरहेका छन् ।  काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिनुभयो । सिङमा हरियो रङ छिटेको हेर्नुस् यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ ।  टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहनुभएका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले रासससँगको कुराकानीमा भन्नुभयो, “स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।”  विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाउनुभयो । 

काठमाडौं:     हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।  “बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ”, उहाँले भन्नुभयो । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् । बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताउनुभयो ।

म्याग्दी:    ‘आकाशैको मुलीमा तारा भुइँमा खस्यो सरस्वती गुरुज्यू शिरैमा चढाउला...’  रघुगङ्गा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस् सरस्वती माता भन्ने भावलाई गीतबाट प्रस्तुत गर्नुभयो । उहाँको साथमा रहेका महिला कलाकारले उहाँलाई साथ दिनुभएको थियो ।  कछाड र भाङ्ग्रामा सजिएका दुई जना (मादले)ले थजालीको भाकामा कम्मरमा भिरेको मादल बजाउँदै नाच्न थाले । महिलाको पहिरनमा सजिएका थप दुई जना (मारुनी) कलाकार पनि मादलेसँगै लय मिलाएर नृत्यलाई निरन्तरता दिए । ‘सोह्र सय गोपीनीले यमुना नुुहाउँदैछन् कृष्णजी अयोध्याबाट आउँदैछन्...’ जस्तै विभिन्न धार्मिकग्रन्थका विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिने पुख्र्यौली गीत र नाच म्याग्दीका मगर समुदायको मौलिक सांस्कृतिक पहिचान भएको थजालीले बताउनुभयो ।  “पुख्र्यौली गीत र नृत्यले देवीदेवताको सम्मान गर्छ, यसमा प्रेमका विषय हुँदैनन्”, झिँका अगुवा मारुनी कलाकार रेशमबहादुुर थजालीले भन्नुभयो, “जस्तै हन्दू धर्मग्रन्थको रामायणमा राम र सीताको बिहे भएकोदेखि वनबास गएको र रावणसँगको युद्धका विषयलाई गीत र नृत्यका माध्यमबाट प्रस्तुत गर्नु नै ‘पुख्र्यौली’को प्रमुख विषेशता हो ।” अनौठो मौलिक नाच  सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवरलगायत शुभकार्यमा अनिवार्य देखाउने चलन छ । दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । गीतको भाका र नाच्नेबीच मादलको ताल मिल्नुपर्छ । पुख्र्यौली सात रात सात दिनसम्म पनि गाएर÷नाचेर नसकिने मान्यता छ ।  पुख्र्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरू कोही–कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भाङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर ९मादले मारुनी० नाच देखाउँछन् ।  विशेषगरी यो नाच सुुरु गर्नुपूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरू एक्कासी काम्ने गर्छन् । पूर्ण रूपमा अचेत नभए पनि स्वतःस्फुर्त रूपमा मादलको तालले उनीहरूका शरीरमा कम्पन ल्याउने र काम्ने गरेको पुख्र्यौली नाच्ने कालकारको भनाइ छ ।  नाच सुरु हुनुपूर्व नै स्थानीय पुख्र्यौली भाकामा गाउने गीतसँगै मादलको तालमा काम्न सुरु गर्नेहरूमा मादलको २२ ताल पुगेपछि मात्रै आफैँ कम्पन हराउने झिँका अगुवा मारुनी कलाकार थजालीले बताउनुभयो । उहाँका अनुसार नृत्य प्रस्तुत भइरहँदा कार्यक्रममा सहभागी केही–केही पत्याउनै गाह्रो पर्नेगरी एक्कासी काम्न सुरु गर्ने यो नृत्यमा हराउने गर्दछन् । संरक्षणका लागि पुस्तान्तरण  अन्य सार्वजनिक कार्यक्रममा समेत गुञ्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई म्याग्दीका धेरै बस्तीका मगर समुदायले पुस्तान्तरण गरेर जोगाएका छन् । पुख्र्यौली नाच संरक्षणका लागि अग्रज र पाका कलाकारहरूबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुँदै आएको छ ।  रघुगङ्गा गाउँपालिका–५ झिँका ३५ वर्षीय टकबहादुर गर्बुजाले मनोरञ्जन र रमाइलोसँगै पुराना संस्कृति जोगाउन मारुनी नाच सिकेको बताउनुभयो ।  “केही वर्ष अघिसम्म बूढापाकामात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौँ”, उहाँले भन्नुभयो, “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुख्र्यौली संस्कृतिको ज्ञान, सीप र मौलिकता हस्तात्रण गरेर लोप हुन दिँदैनौँ ।” युवावर्ग वैदेशिक रोजगारीमा जाने क्रमले पछिल्लो युवापुस्ता र पुरानो पुस्ताबीचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालिम, सहजीकरणलगायत माध्यमबाट संस्कृति संरक्षणमा पहल गरिएको रघुुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो ।  “पुख्र्यौली संस्कृति पुर्खाको सम्पत्ति र हाम्रो लागि गहना हुन्”, उहाँले भन्नुभयो, “युवापुस्तालाई यसप्रति आकर्षण गर्ने र संस्कृति जोगाउने प्रयास गरेका छौँ ।”

काठमाडौं:    जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ । 

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।   युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।   जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४ रुपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०७ पैसा तोकेको छ ।   भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।  वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।