दाङ: दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा पार्टीको कुनै पनि कमिटीमा अधिवेशनमा उठ्ने उम्मेदवारले प्यानल बनाउन नपाइने उल्लेख गरिएको छ । ‘प्रत्येक उम्मेदवारले आपूmलाई व्यक्तिगत रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने । कसैले पनि प्यानल बनाएर प्रचार–प्रसार नगर्ने,’ कार्ययोजनामा उल्लेख छ । कार्ययोजनामा आगामी ११औँ महाधिवेशनसम्म १० लाख सदस्यता पु(याउने लक्ष्य लिइएको छ । कार्ययोजनामा १० लाख सदस्यता पु(याउन पार्टीले जनसङ्गठन र सम्पर्क मञ्चका क्रियाशील व्यक्तिलाई आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । पार्टीले आगामी वर्षदेखि अभिलेखीकरणको काम सङ्गठन विभागको निर्देशनअनुरूप ‘अनलाइन’मार्फत गर्ने भएको छ । कार्ययोजनामा पार्टी प्रवेशबाट आएका र नयाँ सदस्यता प्राप्त सबै पार्टी सदस्यका लागि अनिवार्य आधारभूत तहको प्रशिक्षणको व्यवस्था मिलाउने र जिल्ला कमिटीले सदस्यहरुको मागका आधारमा तोकिएको ढाँचामा पार्टी सदस्यता ‘कार्ड’ मुद्रण गरी वितरण गर्ने ‘सर्कुलर’मा राखिएको छ । पार्टीको विधानले तोकेको अवधिभित्र अधिवेशन सम्पन्न नभएका कमिटीहरू स्वतः सङ्गठन कमिटीमा रूपान्तरण हुने व्यवस्था गरिएको छ । अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरूलाई पार्टी जिम्मेवारी प्रदान गर्नुपूर्व आधारभूत तहको प्रशिक्षण अनिवार्य गर्ने र नयाँ पार्टी सदस्यलाई पार्टी सदस्यको शपथग्रहण समारोहपूर्व आधारभूत प्रशिक्षण प्रदान गर्ने योजना कार्ययोजनामा राखिएको छ । कार्ययोजनामा पार्टीको आर्थिक बक्यौता रहेकाहरू कसैलाई पनि अधिवेशनहरूमा र जननिर्वाचित निकायहरूमा उम्मेदवार बन्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भनिएको छ । पार्टी तथा जनसङ्गठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीका तर्फबाट राजकीय तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रश्नको प्रकृति हेरी पार्टीका तर्फबाट तत्काल अध्ययन गरी सो सम्बन्धी धारणा सार्वजनिक गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।
काठमाडौं: उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ ।
मुस्ताङ: चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् । यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ्ग’ गुफा । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा यस गुफामा मानव बस्ति थियो, त्यसैले प्राचिन मानव सभ्यता झल्काउने सङ्केत अहिले पनि देख्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “गुफाभित्र रहेका सामग्री र अग्रजको भनाइअनुसार दुई हजार वर्ष पहिले बस्ती विकास हुनुअघि यस गुफामा मानिस बसेका थिए । प्राचिन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।” समुन्द्रि सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित जोङ्ग गुफाका नामले चिनिने यस गुफालाई स्थानीयले ‘सिजा जोङ्ग’ भन्दछन् । भुइँसहित छ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन् । हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन् । एउटा तलादेखि अर्को तलामा उक्लने झ¥याङ छ । गुफाका हेरालु छिरिङ गुरुङले पर्यटकीय याममा दैनिक ५० जनाभन्दा बढीले गुफा अवलोकन गर्ने गरेको बताउनुभयो । असोज, कात्तिक, चैत, वैशाख र जेठ महिनामा यहाँ पर्यटकको चहलपहल हुन्छ । “यो गुफामा कहिले मानिस बसे भन्ने आधिकारिक तथ्य र प्रमाण हामीसँग छैन”, उहाँले भन्नुभयो, “परापूर्वकालमा दुस्मनबाट बच्नका लागि पनि एकैठाउँमा गाउँभरिका सबै परिवार बस्नका लागि यो गुफा प्रयोग गरेको बाबु बाजेले सुनाउनुहुन्थ्यो ।” किंवदन्तीअनुसार परापूर्वकालमा तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा गएर लुकेर बसेका थिए । आक्रमणकारी समूहले पानीको मुहान थुनिदिए छन् तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट लखेटेपछि त्यसको प्रतिकारमा आतङ्ककारी समूहले गुफाभरि तेल पोखिदिएको थियो । त्यसैकारण अचेल पनि गुफाभित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ । गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहेको भन्ने गरिएको स्थानीय सोनु टसीले बताउनुभयो । मुस्ताङमा रहेका अन्य गुफाभन्दा सिंजा जोङ्ग ठूलो र फरक पहिचान भएको गुफा मानिने गरेको उहाँको भनाइ छ । यहाँस्थित व्यवस्थापन समितिले गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग रु एक हजार तथा स्वदेशी पर्यटकसँग रु एक सय शुल्क लिने गरेको छ । गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलैगौडाबाट आएका सन्देश भट्टराईले गुफा अवलोकन गर्दा ढुङ्गे युगको जस्तो कल्पना भएको प्रतिक्रिया दिनुभयो । “बाहिरबाट हेर्दा सामान्य लागे पनि भित्र पस्दा अनौठो र आश्चार्य लाग्यो”, उहाँले भन्नुभयो,“परापूर्वकालमा मानिसको बसाइँ कस्तो थियो भन्ने झल्को यो गुफाले दिन्छ ।” लोमान्थाङ गाउँपालिकाले यहाँ आउने पर्यटकको सहजताका लागि अत्यावश्यक पूर्वाधार बनाएको छ । गुफा परिसरमा सार्वजनिक शौचालय र प्रतिक्षालय भवन निर्माण गरेको अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो । “जोङ्ग गुफाको संरक्षण र आम्दानीलाई व्यवस्थित गरी सोही ठाउँको प्रवर्द्धनमा परिचालन गर्न स्थानीयसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन,” उहाँले भन्नुभयो “जमिनदेखि पहाडको भित्तामा रहेका गुफामा पुग्ने पक्की र तला उक्लने काठको भ¥याङ पनि गाउँपालिकाले नै बनाएको छ ।” बेनी–जोमसोम–कोरला सडकको लोमन्थाङ नेचुङ खण्डदेखि जोङ्ग गुफाको परिसरसम्म गाडीमा पुग्न सकिन्छ । चीन र नेपालको सिमानामा रहेको कोराला नाका जाने अधिकांश पर्यटकले यो गुफा अवलोकन गर्छन् । यसरी अवलोकनका लागि आउनेहरूले यहाँ राखिएको पुस्तिकामा अवलोकनपश्चात अर्कै संसारमा पुगेको अनुभूति हुने गरेको विचार व्यक्त गरेका छन् । कतिपयले ‘आश्चर्यजनक प्राकृतिक सम्पदा’ भनेर आफ्ना विचार व्यक्त गरेका छन् । यस गुफाबारे अनुसन्धान गरी ऐतिहासिक महत्व र तथ्यको पहिचान तथा तिनको संरक्षण गरिनुपर्ने स्थानीयको माग छ । यसो गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीमा समेत हुने सम्भावना छ । हाल भइरहेको आम्दानीलाई पनि गाउँपालिकाले सङ्कलन र परिचालन गरी सोहीअनुसार गुफाको संरक्षण, विकास र प्रवर्द्धनमा लाग्नुपर्नेमा धेरैको जोड छ ।
तुलसीपुर: कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो । अचेल त्यही पुल प्रयोगविहीन बनेको छ । करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन हुन पुगेको स्थानीय शान्तकुमार बुढाले बताउनुभयो । “पहिले यही पुल नै हाम्रो लागि नदी वारपार गर्ने माध्यम थियो । त्यसताका बरदानजस्तै बनेको थियो झोलुङ्गे पुल”, उहाँले भन्नुभयो, “तर अचेल नजिकै मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुगेको छ ।” विगतमा राजपुर गाउँपालिकासँग राजमार्ग नजोडिएकाले यही पुलले सम्बन्ध जोडेको थियो । हाल प्रयोगविहीन भएकाले त्यसलाई अन्य आवश्कता भएको ठाउँमा लैजान सकिएमा त्यसको उपयोगिता हुने स्थानीको भनाइ छ । “धेरै ठाउँमा पुल छैनन्, तर यहाँ एकै ठाउँमा दुईवटा पुल भए । त्यसैले झोलुङ्गे पुल नभएको ठाउँमा लैजान सकिए नागरिकलाई सहज हुन्थ्यो”, बुढाले भन्नुभयो । यहाँ चार वर्षअघि रु ३५ करोडको लागतमा दुई सय ८० मिटर लामो मोटरेवल पुल बनेको छ । उक्त पुल बनेपछि सवारीसाधन सञ्चालन र स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । यही पुल तरेर हुलाकी राजमार्ग जान सकिन्छ । यहाँ पुल निर्माण भए पनि सडक स्तरवृद्धि भने हुन सकेको छैन ।
बाँके: “हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा नै अस्पताल पुगिन्छ भन्ने विश्वास जागेको छ”, यो भनाइ हो बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कि मिना वलीको । मीनाले धेरैपटक राजमार्गमा भएका दुर्घटना नजिकबाट देख्नु र सुन्नुभएको छ । प्रायः रातिको समयमा दुर्घटना हुने हुँदा समयमै उपचार नपाउँदा कतिपयले ज्यान गुमाएको पनि उहाँको सम्झनामै छ । त्यसैले यहाँका स्थानीयले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालनका लागि आवाज उठाइरहेका थिए । तीमध्ये मीना पनि एक हुनुहुन्थ्यो । पछिल्लो समय यहाँ चौबिसै घण्टा सेवा दिने गरी एम्बुलेन्स सञ्चालनमा आएपछि पहिलेको जस्तो समस्या नहुने उहाँको विश्वास छ । मीनाजस्तै सोही गाउँपालिका–८ का रामशरण थारुले पालिकामा एम्बुलेन्स सेवा सुरु भएपछि खुसी हुनुहुन्छ । “निकुञ्जसँगै जोडिएको राजमार्गका कारण यहाँ सवारी दुर्घटनाका साथै वन्यजन्तुको आक्रमणबाट पनि बेलाबेला समस्या हुने गरेको छ । विगतमा धेरैले दुःख पाएका छौँ । कतिले समयमा अस्पताल पु¥याउन नसक्दा ज्यान गुमाएका पनि छन्”, उहाँले विगत सम्झिँदै भन्नुभयो,“ अब आफ्नै पालिकामा चौबिसै घण्टा एम्बुलेन्स सेवा सुरु भएको छ । अब समयमै अस्पताल नपुर्याएका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने विश्वास जागेको छ ।” सोही पालिका–२ का कार्यवहाक वडाध्यक्ष दीर्घबहादुर बुढाक्षेत्री पनि विगतमा सवारीसाधनको अभावमा समयमै अस्पताल पु¥याउन नसक्दा धेरै घाइते तथा बिरामीले ज्यान गुमाएको स्मरण गर्नुहुन्छ । “अकस्मात कुनै घटना भइहालेमा कोहलपुर मेडिकल र नेपालगञ्ज मेडिकल कलेजसम्म पुग्न समस्या हुने गथ्र्यो । समयमा अस्पताल पुर्याउन नसक्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको आफ्नै आँखाले देखेको छु । त्यही समस्या समाधान गर्न पालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । अब केही राहत हुनेछ”, उहाँले भन्नुभयो । बाँकेको राप्तिसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्रका लागि भन्सार तीरेर ल्याइएको एम्बुलेन्सलाई सञ्चालनको जिम्मा सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणलाई दिएको छ । असोजको १ गतेदेखि सशस्त्र प्रहरी बलले एम्बुलेन्स सञ्चालनको जिम्मा लिएको हो । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर ल्याइए पनि केही प्राविधिक कारणले सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेसँगै सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । “पूर्वपश्चिम राजमार्गमा हुने सवारी सडकलगायत समस्यामा उद्धार तथा भैपरी आउने दैविक प्रकोपको उद्धारमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको छ । पक्कै पनि सोहीअनुसार सञ्चालन हुनेछ”, अध्यक्ष पौडेलले भन्नुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा त्यसले विपद्का समयमा निकै सहयोग पुग्ने बताउनुभयो । “दुरीका हिसाबले पनि यस पालिकामा हुने दुर्घटनाका घाइते वा बिरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो हुन्छ । अब एक्बुलेन्सका कारण सो समस्या समाधानमा सहयोग पुग्नेछ”, उहाँको भनाइ छ । सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणका गणपति क्षेत्रीले पालिकाले विश्वास गरेर एम्बुलेन्स हस्तान्तरण गरेकाले सोहीअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । सम्झौताअनुसार हालका लागि एम्बुलेन्स सेवा पालिकाको वडा नं २, ८ र ९ मा सञ्चालनमा आएको छ । सम्झौतामा उल्लेख भएअनुसार उक्त एम्बुलेन्स चालक र एम्बुलेन्सको संरक्षण सशस्त्र प्रहरीले गर्नेछ भने एम्बुलेन्सको ईन्धन र मर्मतलगायतका अन्य खर्चको जिम्मेवारी पालिकाले नै बेहोर्ने छ ।
पर्वत: वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको भएपनि दैनिकजसो नदीमा डोजरले बालुवा निकालिरहेका छन् । अनुगमन समिति निष्क्रिय रहँदा प्राकृतिक स्रोत संरक्षणमा चुनौती थपिएको छ । कुश्मा नगरपालिकाको मालढुङ्गा आसपास, दमुवाखोला, जलजला गाउँपालिकाको लस्ती, मिलनचोक, खनियाघाट, केरावारी, बगरफाँट र मोदीखोलाको दोबिल्लालगायत स्थानमा नदीको धार नै परिवर्तन गरेर उत्खनन गरिएको पाइएको छ । नदीबाट निकालिएको बालुवा, ढुङ्गा, गिट्टी मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, दोबिल्ला–फलेवास सडक किनारमा उरुङ लगाइएको छ । कालीगण्डकी किनारमा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योगले लुकिछिपी बालुवाका झिकेर अनधिकृत दोहन गरेका स्थानीय हरेमबहादुर खत्रीले बताउनुभयो । कहिलेकाँही प्रहरीले एकदुई जनालाई पक्राउ गरेर सम्बन्धित पालिकामा बुझाएपनि कारबाही नगर्दा उनीहरू हतोत्साही नभएका उहाँले बताउनुभयो । सर्वोच्च अदालतले कालीगण्डकी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन अवैध भएको भन्दै नदीजन्य पदार्थ मेसिन प्रयोग गरेर निकाल्न निषेध गरेको छ । अदालतको आदेशपछि कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न पाएका छैनन् । गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड कार्यविधि, २०७५ तयार गरे पनि त्यो पालना भएको छैन । कार्यविधिअनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्र, संवेदनशील क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, उत्खनन गर्दा ‘डोजर, स्काभेटर, लोडर’जस्ता भारी उपकरण प्रयोग गर्न पाइदैन । कुश्मा नगरपालिकाकी राजश्व शाखा प्रमु डिलकुमारी शर्माले नदी तथा खोलाबाट निर्माण सामाग्री उत्खनन गरेर सडक किनारमा थुपारिएको गुनासोको अनुसन्धान जारी रहेको बताउनुभयो ।
काठमाडौं: अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । यस्तो अवस्थामा अब पर्यटन क्षेत्र थप चलायमान बन्दै जाने व्यवसायीको विश्वास छ । मौसम खुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल ९हान०का अध्यक्ष विनायक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो छ, चाडपर्वसँगै बिदा मनाउनेहरू गन्तव्यमा निस्किएका छन् । अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।” हानकानुसार अहिलेको अवस्थामा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार बनिसकेका छन् । तारे होटल र चेन होटल धमाधम थपिँदैछन् । शरद ऋतु पदयात्राका लागि पनि उपयुक्त मौसम पनि हो । अन्नपूर्ण, लाङटाङ, खुम्बु, मुस्ताङ, मनाङ, खप्तडलगायत गन्तव्यमा पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक निस्कन्छन् । यही सिजनमा मनास्लुलगायत हिमालको आरोहणमा आरोहीको आकर्षण हुन्छ । पर्यटकीय सिजन सुरु भएको र महत्वपूर्ण चाडपर्व नजिकिएकाले पर्यटन चलायमान बन्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० दीपकराज जोशीले बताउनुभयो । “मौसम पनि पर्यटनमैत्री बन्दैछ, पर्यटकीय सिजन पनि सुरु भएकाले यो क्षेत्र चलायमान बन्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “अब पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर नीतिगत सुधार र प्रवर्द्धनका कामलाई प्रभावकारी रूपमा अगाडि बढाइने छ । त्यसले पनि व्यवसायीमा थप उत्साह थप्ने विश्वास लिएका छौँ ।” बोर्डले विदेशी पर्यटक आगमन बढोत्तरीका लागि अन्तर्राष्ट्रियस्तरमा आक्रामक रूपमा बजारीकरण गर्ने योजना रहेको जनाएको छ । “पर्यटक आगमन सुधार गर्न बोर्डले पहिलो प्राथमिकता ‘एग्रेसिप मार्केटिङ प्रमोसन’ गर्ने हो, विद्यमान बजार मात्रै नभएर नयाँ नयाँ गन्तव्य पहिचान गरेर प्रभावकारी बजारीकरण गर्ने योजना छ”, बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले भन्नुभयो । बोर्ड र निजी क्षेत्रको सहकार्यबाट पर्यटकीय गतिविधिलाई चलायमान बनाउन लागि पर्ने उहाँले उल्लेख गर्नुभयो । जोशीले पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम बनाइरहेको जानकारी दिनुभयो । होटललगायत पर्यटकीय पूर्वाधारमा ठूलो लगानी रहेको र पर्यटक आगमनमा झिनो सुधार भएकाले सन् २०२४ मा कोभिड महामारी पूर्वको पर्यटक आगमन अवस्थामा पुर्याउन लागिपर्ने उहाँले बताउनुभयो । हानका अध्यक्ष शाहले अहिले होटल बुकिङ राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय सिजन भएकाले बुकिङ र पर्यटकको चासो राम्रो छ, पर्यटकीय पूर्वाधार, गन्तव्य प्रवर्द्धनका साथै हवाई तथा सडक यातायातलाई चुस्त र प्रभावकारी बनाउन सकिएमा आगामी दिनमा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।” नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०का अध्यक्ष कुमारमणि थपलियाले पर्यटकीय सिजन सुरु भएकाले पर्यटन क्षेत्रमा चहलपहल बढेको बताउनुभयो । “सिजन सुरु भएको छ, ट्राभलका लागि बुकिङ बढेको छ, यसले व्यवसायीलाई उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटक बढाउन हवाई सेवालाई सर्वसुलभ बनाउदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई सवलीकरण गरेको खण्डमा पर्यटक बढ्ने छन् ।” सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । बोर्डकानुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । मौसम खुलेकाले धुलिखेल, नगरकोट, चन्द्रागिरि हिल्स, जरसिङ्ह पौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यमा पर्यटकीय चहलपहल बढेको व्यवसायीले बताएका छन् । होटल व्यवसायी दिनेश बस्नेतकानुसार उपत्यकाका पवित्र तीर्थस्थल, धार्मिक तथा पुरातात्त्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ । पशुपति क्षेत्र, स्वयम्भू, चाँगुनारायण, दक्षिणकालीलगायत धार्मिकस्थलमा तीर्थालु भक्तजनको घुइँचो लागेको छ । त्यस्तै प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन् । त्यसो त यो सिजन पदयात्रा र पर्वतारोहणका लागि पनि उपयुक्त हो । यतिखेर उल्लेख्य सङ्ख्यामा पर्यटक गन्तव्यतिर निस्केका छन् । मौसमले साथ दिएकाले पर्वतारोहण र पदयात्रा सहज भएको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाकानुसार मनास्लु आरोहणका लागि हालसम्म २८ आरोही समूहका तीन सय आठ आरोहीले अनुमति लिएका छन् । मकालु र धौलागिरीमा समान एक आरोही समूहले अनुमति लिएका छन भने अन्य हिमाल तथा चुली आरोहणमा अझै आरोहीले धमाधम अनुमति लिइरहेका छन् । सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन बाहिरिने सङ्घारमा रहेको बताउनुभयो । नेपालमा सरदर १३ जुनमा मनसुन सुरु हुन्छ । अक्टोबर २ बाट मनसुन बाहिरिन्छ । यसवर्ष भने १० जुन अर्थात् सरदर तीन दिनअघि नै मनुनी वायु प्रवेश गरेको थियो । मौसमले साथ दिएकाले अहिले पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको नेपाल पर्वतारोहण सङका महासचिव मोहन लम्सालले बताउनुभयो । “पर्यटकीय चहलपहल राम्रै बढेको छ, बीचमा मौसमले केही समस्या आए पनि पछिल्ला दिनमा मौसम सफा रहेसँगै पर्यटकलाई आवागमन र दृश्यावलोकनलाई सहज तुल्याएको छ”, उहाँले भन्नुभयो । मौसम खुलेसँगै हवाई उडान विशेषगरी पर्वतीय उडान ९माउन्टेन फ्लाइट०मा पनि आकर्षण बढेको छ । अक्टोबर र नोभेम्बर पर्वतीय उडानका लागि राम्रो मानिन्छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र हिमशृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्ने बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभयो । पर्यटन बोर्डलाई सक्रिय बनाउने तथा दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजाबाहकको सवलीकरण र अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरण गरेर विदेशी पर्यटक आकर्षण गर्न सके भूमम्प, कोरोना महामारीका समयमा शिथिल बनेको पर्यटन क्षेत्र अब पूर्ण लयमा फर्किने व्यवसायीको विश्वास छ ।
काठमाडौं: उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरश: कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । संविधान दिवस–२०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना गर्न नहुने बताउनुभयो । उपराष्ट्रपति यादवले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेका समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशीतालगायत प्रावधानलाई सबैले पालना गर्न सक्नुपर्नेमा जोड दिनुभयमे । “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँड गर्न अझै पनि विलम्ब हुनुले सङ्घीयताप्रति नै वितृष्णा बढेको जस्तो देखिएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधानसम्मत अधिकारसम्पन्न गराउन अतिआवश्यक र अपरिहार्य छ,” उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ । उहाँले संविधानको मर्म र भावनाअनुसार प्रत्येक नेपाली नागरिकलाई स्वदेशमै रोजगारका अवसर प्राप्त हुनेगरी काम गर्न सबैलाई संविधान दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ । उपराष्ट्रपति यादवले संविधानको प्रस्तावनामै ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य’ उल्लेख हुनु र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत हुनुले संविधानको गरिमा र जनताको सर्वोच्चतालाई पुष्टि गरेको उल्लेख गर्नुभएको छ । संविधानले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा पनि परिभाषित गरेको जनाउनुहुँदै उहाँले नेपाली नागरिकलाई न्याय, समानता र स्वतन्त्रताको प्रत्याभूति गर्दै एकता र बन्धुत्व भावलाई बढावा दिने प्रयास संविधानले गरेको उल्लेख गर्नुभएको छ । “सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानता र न्यायसम्बन्धी हक तथा शिक्षा, स्वास्थ्य, खाद्य, रोजगार, स्वच्छ वातावरण र सामाजिक न्यायलगायत अधिकार ‘मौलिक हक र कर्तव्य’ मै समावेश गरिनु सकारात्मक त छँदैछ, यसले संवैधानिक उच्चता र गरिमालाई पनि दर्शाउँदछ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ पटक–पटक भएका जनआन्दोलन, विद्रोह र अधिकार प्राप्तिका सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली, घाइते र अङ्गभङ्ग भएकाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले लोकतन्त्र, समावेशीता एवं अग्रगामी परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सम्पूर्ण अग्रजप्रति सम्मानका साथ संविधानको कार्यान्वयनमार्फत् नेपाली नागरिक र राष्ट्रहित तथा मुलुकको समृद्धि एवं दिगो विकासको शुभकामना व्यक्त गर्नुभएको छ ।

