पोखरा: पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा महिला समाजसेवा समिति दोस्रो र शुभकामना महिला विकास केन्द्र तेस्रो भए । परोपकार सर्वेश्वर नारी समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुन सफल समूहले क्रमस १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी गणेश योग केन्द्रले उत्कृष्ठ नृत्य, सिर्जनशिल महिला समूहले समय व्यवस्थापन र रामकृष्ण टोल मिसा पुचले उत्कृष्ठ भेषभूषामा पुरस्कार प्राप्त गरे । उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने, समय व्यवस्थापन गर्ने र उत्कृष्ठ भेषभूषा पुरस्कार प्रापत गर्ने समूहले उनीहरुले ३÷३ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका हुन् । प्रतियोगितामा विभिन्न १३ समूहले प्रतिस्पर्धा गरेका थिए भने, सहभागी समूहलाई २÷२ हजार रुपैयाँ र प्रमाणपत्र दिइएको थियो । उनीहरु सबैलाई वडाध्यक्ष देवकृष्ण पराजुलीसहित वडाका जनप्रतिनिधिले नगदसहित प्रमाण पत्र प्रदान गरेका हुन् । यस अगाडि प्रतियोगिताको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले वडा नम्बर ४ ले सबै जातजातिको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रसंशा गरे । प्रतियोगिताको उद्घाटन सत्रमा वडामा उत्कृष्ठ काम गर्ने कर्मचारीहरु सहायक चौथो मेनुका पौडेल र सहायक पाँचौं मनमायाँ रानालाई सम्मान गरिएको थियो । त्यसैगरी लाखे नाँच प्रतियोगितामा दोस्रो र सान्त्वना हुन सफल समूहलाई सम्मान गरिएको थियो । उनीहरु सबैलाई महानगरका प्रमुख धनराज आचार्य, वडाध्यक्ष पराजुली र उपस्थित जनप्रतिनिधिले खादा, प्रमाण पत्र र नगदसहित सम्मान गरेका हुन् । प्रतियोगिताको आयोजक पोखरा ४ का वडाध्यक्ष पराजुलीले विकास आवशयकताको आधारमा हुने भन्दै संस्कृति संरक्षणमा वडा नम्बर ४ लागि परेको बताए । गण्डकी प्रदेशसभाकी पूर्व सांसद प्रभा कोइरालाले हेर्न र सुन्न पनि नसकिने गीतले संस्कृति संरक्षण गर्छन भन्न नसकिने बताइन् । उनले तीजको भावना र मर्म अनुरुपका गीत गाउनुपर्नेमा जोड दिइन् । उद्घाटन सत्रमा वडा नम्बर २ का वडाध्यक्ष एवं महानगरमा कांग्रेस दलका नेता दिवशमान प्रधानांग, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोला, नविन मावि व्यवस्थापन समितिका अध्यक्ष शिरोज कोइराला, वडा सदस्य पार्वती माकाजु लगायतले शुभकामना थिए । पोखरा ४ गणेश गुठी परिसरमा भएको प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरु कृष्ण सुवेदी, सुनिता नेपाली र दुर्गा कोइराला लगायतको बेजोड प्रस्तुति समेत रहेको थियो ।
सङ्खुवासभा: पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भन्नुभयो । प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
चितवन: गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिनुभयो । यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । धेरै पानी पर्नासाथ खोला बढ्ने गरेका छन् । अधिकांश खोलामा पुल निर्माण भइसकेका छन । घाँघर, बगई र मगुईखोलामा पुल निर्माणको चरणमा रहेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । उहाँले छिटो काम सम्पन्न गर्न हुलाकी सडक आयोजनालाई आग्रह गरिरहेको बताउनुभयो । यो खण्डमा पर्ने पतरेखोलामा भने अझै पुल निर्माणको काम सुरु भएको छैन ।
पोखरा: गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भए । द्वितीय भएको म्याग्दीको प्रगति सफल कृषक समूहले २० हजार र तृतीय भएको तनहुँको बेदकालिका कृषक समूहले १० हजारसहित प्रमाण प्राप्त गरे । प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राईनास नगरपालिका वडा नम्बर–३ र पर्वतको विहादी आईपिएम कृषक समूह विहादी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे । सान्त्वना स्थान प्राप्त गर्ने दुबै समूहले ५/५ हजारसहित प्रमाणपत्र प्राप्त गरे । बिजेताहरुलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताको लागि जिल्ला जिल्लाबाट छनौट गरेर ग्राण्ड फिनालेका लागि कृषक समूहहरुलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा पोखरा बोलाइएको थियो ।
दैलेख: दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उहाँले जानकारी दिनुभयो । गर्भवतीको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयले कठायतलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । “अकालमा ज्यान जान दिनु भएन, त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । अत्यधिक रक्तश्राव भएपछि सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन आठबिस नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।
पोखरा: पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ । यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ स्कुल ब्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधिसहित नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै सङ्गीत’ नाराका साथ ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’ गरिएको हो । यसैगरी ग्लोबल कलेजियट माविले द्वितीय स्थान हासिल गरी नगद रु ५० हजार तथा फिस्टेल एकेडेमीले तृतीयसहित नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियागिताको ‘बेष्ट भोकल’ कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्ट लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी तथा बेष्ट लिड गिटारिष्ट प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए । त्यस्तै, बेष्ट ड्रमर प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्स लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजर कालिका मावि भए । प्रतियोगितामा पब्लिक च्वाइस गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइस मदरल्याण्ड मावि (बी) घोषित भए । विधागत रूपमा उत्कृष्ट भएकालाई नगद रु पाँच–पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १९ स्कुल ब्याण्ड छनोट भएर प्रतिष्पर्धा गरेका थिए । विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष हर्कराज गुरुङलगायतले पुरस्कार वितरण गरे । महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । गीत सङ्गीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको उनले बताए ।
पोखरा ४, सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो साधारणसभामा संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले अध्यक्षको प्रतिवेदन पेस गरे । यस्तै, कोषाध्यक्ष घननाथ सापकोटा र लेखा सुपरीवेक्षण समितिका संयोजक केशवराज अधिकारीले क्रमश: कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेस गरे । सो अवसरमा उत्कृष्ट कारोबारी र कर्मचारीलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार उत्कृष्ट कारोबारीतर्फ राजकुमार श्रेष्ठ, बुद्धिमाया कार्की, टीकाराम कामी, पार्वती सिग्देल मर्सानी, सचिन अधिकारी, प्रवीण खेतान, कल्याणप्रसाद मल्ल, रेशम थापामगर, समीता अधिकारी, यज्ञ खत्री छन् । कर्मचारीतर्फ बजार प्रतिनिधि अनीशा पौडेललाई सम्मान गरिएको थियो । सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्कीले उद्घाटन गरेको कार्यक्रममा पूर्व अध्यक्ष श्यामप्रसाद पौडेल, निवर्तमान अध्यक्ष ठाकुरप्रसाद पोखरेल, चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने, सम्मानित व्यक्तित्वतर्फबाट राजकुमार श्रेष्ठ, शेयर सदस्यतर्फबाट सीमा कोइराला, सूर्य लम्सालले मन्तव्य व्यक्त गरे । सहकारी अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले स्वागत र सदस्य सुलोचना देवकोटाले सहकारीका सात सिद्धान्त वाचन गरे । संस्थाका सचिव सञ्जय पौडेलले संचालन गरेका थिए ।
खोटाङ: देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट बिरामी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी एञ्जिला परियारको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ । मस्तिष्कघातबाट प्यारालाइसिस भएपछि हाल नोबेल अस्पताल विराटनगरमा आइसीयूमा राखेर उपचार गराइरहेकी एञ्जिलाको सहयोगार्थ बाराहापोखरी सेवा समाज खोटाङ, काठमाडौँको पहलमा सहयोग सङ्कलन सुरु गरिएको हो । विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै रु सात लाख उपचार खर्च लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताउनुभयो । एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो । एञ्जिलाको साउन ३२ गतेदेखि नोबेल अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको बुबा मनोज परियारले जानकारी दिनुभयो । “घरकी माइली छोरी एञ्जिलालाई सुरुमा केही दिन ज्वरो आएको थियो । औषधोपचार गरेपछि ठिक भएको थियो । पुन: तीन/चार दिनपछि कडा ज्वरो आएपछि देब्रे हात र खुट्टा चल्नै नसक्ने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “एञ्जिलालाई अझै दुई हप्ता आइसीयूमा राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । घरको अर्थावस्थाले धान्ने स्थिति छैन । त्यसैले छोरीको जीवनरक्षाका लागि सबैसँग हात फैलाएका हौँ ।” एञ्जिलालाई सहयोग गर्न बराहापोखरी सेवा समाजको खातामा जम्मा हुनेगरी क्यूआर गरेर सहयोग रकम प्रदान गर्ने व्यवस्था मिलाइएको छ । एञ्जिलाको सहयोगार्थ स्वदेशदेखि विदेशसम्म अभियान्ता तोकिएको संयोजक लिमेलले बताउनुभयो । परिवारको अर्थावस्था दयनीय भएको भन्दै वडा कार्यालय बराहपोखरीले पनि आर्थिक सहयोग गर्न भदौ २ गते सिफारिस दिएको थियो । वडा कार्यालयले दिएको सिफारिसका आधारमा ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको संयोजक लिमेलले जानकारी दिनुभयो ।
दमौली: तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । व्यास नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय गर्न भनिएको गैरेले बताउनुभयो । व्यास नगरपालिका–११ का पूर्ववडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरै कार्यकालमा यहाँ परीक्षणका रुपमा प्याराग्लाइडिङ गरिएको थियो । अब दर्तागरी सञ्चालनको तयारीमा पुगेका छौँ ।” उहाँले स्थानीयवासीको भेलागरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । वडाध्यक्ष दलबहादुर दुराले यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । छ वर्ष अगाडि पोखरास्थित ‘टिम फाइभ’ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गर्नुभएको थियो । तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवाबाट पाँच किलोमिटर र त्यहाँबाट तीन/चार किमिको दूरीमा यस ठाउँ पर्छ । यस ठाउँमा केही घरमा घरबास सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यस ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठको भनाइ छ ।

