पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र २२ गते लेकसाइडको वाराहीघाटमा उक्त महोत्सव हुनेछ । सो अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहस लगायत कार्यक्रम हुने छन् । महोत्सवको पहिलो दिन तीज पर्व नै भएकाले बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको ¥याली हुनेछ । वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा बिहान ११ बजे औपचारिक उद्घाटन हुनेछ । साथै, सांस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुनेछ । दोस्रो दिन बिहानैदेखि खेलकुदका कार्यक्रम हुनेछन् । त्यसपछि तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल डिस्कसन हुनेछ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपानेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहनेछन् । सहजीकरण पत्रकार दुर्गा अधिकारीले गर्ने छिन् । कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले तीज गीत प्रतियोगिताका लागि हालसम्म १६ टिमले दर्ता गरिसकेको र महोत्सव सुरु हुँदासम्म करिब ३० टिम पुग्न सक्ने बताइन् । ‘पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ । प्रथमले ३० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार सान्त्वना १० टिमलाई ५÷५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था छ । एउटा टिममा बढीमा ७ जनासम्म कलाकार हुनुपर्नेछ । ७ मिनेटमा गाएर सक्नुपर्नेछ । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेरमात्र नहुने सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए । उनले पोखराको पर्यटन प्रवद्र्धनमा टेवानले विविध कार्यक्रम गर्दै आएकोमा यो महोत्सवले पनि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिए । संस्थाका सल्लाहकार बोबरजंग गुरुङले अचेल पदयात्रा मासिदै गएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धनमा यसखालका मेला महोत्सवले सघाउ पुग्ने बताए । संस्थाका निवर्तमान अध्यक्ष रेणु थापाले महोत्सव सफल पार्न हरेक निकायबाट सहयोगको अपेक्षा गरिन् ।
दमौली: ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ जाँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
पोखरा: कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । ‘अनेकतामा एकता, स्याङ्जालीको विशेषता’ भन्ने नारासहित २०७६ सालदेखि क्रियाशिल समाजले दर खाने तथा पुर्नमिलन कार्यक्रमको सम्पन्न गरेको हो । उक्त कार्यक्रम तमु धिं नेपालमा आयोजना गरिएको सहसंयोजक राजन पाण्डेले जानकारी दिए । उनका अनुसार सो समाजमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थायी घर भई हाल पोखरामा रही विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिहरु समाजमा आबद्ध छन् । कार्यक्रम संयोजक टिका बहादुर झेडीले एकताको सुत्रमा गोलबन्द हुने लक्ष्यसहित सुरु भएको सो समाजले आफ्ना सदस्यहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको बताए । ‘हामीले यसरी नेपालीहरुको पर्वलाई विशेष कार्यक्रम गरी मनाउँदै आएका छौ, उनले भने, ‘यसले हामीलाई एकताको सुत्रमा बाँध्न सघाउ पुर्याएको छ ।’ नारीहरुको विशेष पर्व तीजलाई विशेष बनाउनका लागि समाजमा आवद्ध चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरिएको झेडीले बताए । समाजका अध्यक्ष जीवलाल न्यौपानकोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा करिब १ सय ५० जनाको सहभागिता रहेको थियो । कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाज सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहेको छ ।
पोखरा: नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको अध्यक्षमा किशोरप्रसाद गौतम सर्वस्म्मत चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल चयन हुनुभयो । यसैगरी सदस्यहरुमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भीमसेन क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी गण्डकी प्रदेशस्तरीय हेभी इक्युपमेन्ट अपरेटर संघको प्रथम भेलाले प्रेमबहादुर थापा(कास्की)लाई अध्यक्षमा चयन गरेको छ । नवगठित संघको प्रदेश समितिको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री(बाग्लुङ),महासचिव देवेन्द्र चोखाल(म्याग्दी) र कोषाध्यक्ष गुरुप्रसाद धमला(कास्की) चयन हुनुभयो । यसैगरी सदस्यहरुमा अवतार शर्मा(म्याग्दी),कुमार श्रेष्ठ(गोरखा), सुवोध गौचन(मुस्ताङ), हरिप्रसाद भुसाल(पर्वत), सन्दीप पौडेल(पर्वत) चयन हुनुभयो । प्रदेश समितिको विशेष सल्लाहाकारमा श्यामनन्द शर्मा र सुशील कुमार वाग्ले शर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यसअघि अधिवेशन तथा भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीका अध्यक्ष टंकराज बरालले निर्माण व्यवसायी र अपरेटहरुको सम्बन्ध नङ र मासुको जत्तिको रहेको चर्चा गर्नुभयो । अपरेटरहरुका समस्या समाधानका लागि संघ प्रतिवद्ध रहेको बरालले बताउनुभयो । “निर्माण व्यवसायी र अपरेट फरक हुन् भन्ने सोच्नु आवश्यक छैन । व्यवसायी र अपरेटर सँगै हिँड्ने छौँ ।” बरालले भन्नुभयो । नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले अपरेटहरुले व्यवसायीबाट पाउनुपर्ने पारिश्रमिक लगायतका समस्या भए संघमा जानकारी गराउन आग्रह गर्दै संघले २४ घण्टाभित्रमा समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघका पूर्व अध्यक्ष एवं भेलाका संयोजक सुशील वाग्ले, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्कीका सचिव भीम केसी, अटोवेज प्रालिका प्रेमराज पौडेल, कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलकप्रसाद रिमाल, अपरेटर संघ स्याङ्जाका अध्यक्ष म्याग्दी अध्यक्ष देवेन्द्र चोखाल, बाग्लुङका अध्यक्ष गणेश श्रेष्ठ, संघ कास्कीका सचिव किशोरप्रसाद गौतम, संघका सदस्य एवं कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेल, संस्थाका पूर्वउपाध्यक्ष एवं संघ कास्कीका सदस्य उमानाथ आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाका अवसरमा संघलाई सहयोग गर्ने सहयोगदाता तथा आजीवन सदस्यहरुलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
पोखरा: नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा बल बहादुर रोकामगर सर्वसम्मत चयन भएका छन् । शनिबार भएको २० औं जिल्ला अधिवेसनबाट रोका मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । सो समितिको उपाध्यक्षमा कवितामा घर्तिमगर, सचिवमा दिपाल थापा मगर, सहसचिवमा प्रमिला थापा मगर र कोषाध्यक्षमा इन्द्रा थापा मगर निर्विरोध चयन भए । यस्तै सदस्यहरुमा करण पुन मगर, जीत बहादुर राना मगर, मिलन रोका मगर, मनोज खासु मगर, अस्मिता बुढाथोकी मगर, विजय बरम मगर, गुँरास राना मगर, कृपा थापा मगर, विना पुन मगर, सृजना घर्ति मगर, लक्ष्मी थापा मगर, सविना सोती मगर, दिपिका पुन मगर, चन्द्र बहादुर रोका मगर र तविना सेरपुन्जा मगर चुनिए ।
काठमाडौं: दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’ ले केही हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ । आईएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीन हल, गोंगबुस्थित बीएसआर मुभिज, सामाखुसीस्थित क्यूएफएक्सको सिटी स्क्वायर हल र नेपालगञ्जको सिने रोयलमा हलमा फिल्मले शनिबार ५१ दिन मनायो । यो खुसीयालीमा निर्माताले शनिबार बेलुका समारोह आयोजना गरेका थिएँ, जहाँ केक काट्नेदेखि प्रदर्शनमा सघाउने सबैलाई सम्मान प्रदान गरियो । उक्त समारोहमा उपसभामुख इन्दिरा राना, कलाकार, निर्माता, निर्देशकसहित फिल्मको टोली सहभागी थियो । असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको पनि अभिनय छ । फिल्मले ५१ औं दिनसम्म साढे ५ करोडको व्यापार गरेको जनाइएको छ । फिल्म दुई करोड रुपैयाँको लागतमा निर्माण भएको हो । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित फिल्मलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
दमौली: तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा दैनिक सर्वसाधारणको घुइँचो लाग्छ । स्वस्थ जीवनका लागि व्यायाम अतिआवश्यक रहेको र वडाले निर्माण गरेको खुला व्यायामशाला सर्वसाधारणको ध्यान खिच्न सफल भएको व्यास नगरपालिका–३ सिर्जनाटोलका त्रिभुवन श्रेष्ठले बताउनुभयो । स्थानीय प्रेमप्रसाद पौडेलले खुला व्यायामशालाको संरक्षण महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणको बाक्लो उपस्थितिले यसको संरक्षणमा चुनौती थपिएको छ । यहाँ टिकट प्रणाली लागू गरेर यसको संरक्षणमा ध्यान दिनुपर्छ ।” शारीरिक स्फूर्ति र शरीरका लागि आवश्यक व्यायामका लागि बनाइएको खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।” उहाँका खुला व्यायामशालामा बालबालिका, युवा र वृद्धवृद्धा व्यायाम गर्न आउने गरेका छन् । जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आकर्षण बढ्ने विश्वास गरिएको छ । रु १३ लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको हो । यहाँ विभिन्न १६ प्रकारका व्यायाम सामग्री जडान गरिएका छन् । व्यायामशाला क्षेत्रलाई सुरक्षित बनाउन तारबारसहित सिसी क्यामेरा जडान गरिएको छ । व्यायामशालाको नजिकै प्रसिद्ध व्यास गुफा क्षेत्र रहेकाले धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको वडा सदस्य दधिराज घिमिरेले बताउनुभयो ।
लेखनाथ नेवा: खलको आह्वानमा गगन नेवा खल:द्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवा: खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवा: खल तेस्रो तथा मिलीजुली नेवा: खल पोखरा–३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुुनेले क्रमश: रु ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन नेवा: खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बन्नुभयो भने वेशभूषामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवा: खलकी सोनिसा श्रेष्ठ पुरस्कृत बन्नुभएको छ । प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए । तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवा: खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताउनुुभयो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुुपर्नेमा जोड दिनुभयो । नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालकिा वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगन नेवा: खलका सचिव शरणकुमार प्रधानलगायतले तायमचाको सांस्कृतिक महत्वसँगै यसको जगेर्ना गर्नुपर्ने लगायतमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

