पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

बागलुङ(गलकोट):   पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ ।  बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो ।  जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन । चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पुहँचमार्ग नहुँदा सञ्चालन हुन सकेको थिएन । ढिलै भए पनि बसपार्क सञ्चालनमा आएपछि जग्गादाता खुसी भएका छन् ।       बागलुङ नगरपालिकाले केही महिनाअघि बसपार्कको पहुँचमार्ग विस्तार गरेको थियो । पहुँचमार्ग साँघुरो हुँदा बस आउजाउमा समस्या भएको थियो । हाल बसपार्क सञ्चालनमा आइसकेको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।       नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।       बसपार्कको औपचारिक उद्घाटन हुन भने बाँकी छ । २०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ  । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने सम्झौता छ ।  “नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याइसकेपछि बाँकी दाताको जग्गा फिर्ता गर्ने योजनामा छ, चार बर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई ऋणको साँवा र ब्याज भुक्तानी गरिरहेको छ, बसपार्क सञ्चालनमा ल्याएपछि नगरपालिकालाई आर्थिक भार घट्नेछ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “यातायात व्यवसायीसँग समन्वय भइरहेको छ, बसपार्क सञ्चालनमा आउनासाथ बागलुङ बजारको ट्राफिक समस्या आधा घटेर जान्छ, अहिले सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई अन्य कामका लागि प्रयोग गरिनेछ ।”      बागलुङ नगरपालिका–४ मा बनाइएको बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक नजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन ।  हाल बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएका छन् ।  नगरपालिकाले बसपार्क बनाएर बाँकी रहेको जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको छ ।       नगरपालिकाले बसपार्कमा व्यावसायिक सटर बनाएकाले बसपार्कबाट नगरपालिकाले आम्दानी गर्न सक्नेछ । अहिले नगरपालिकाले वार्षिक एक करोडका दरले ऋणको साँवा तथा ब्याज नगर विकास कोषलाई तिरिरहेको छ । बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको विकल्पमा दाबगरामा आधुनिक बसपार्क बनाइएको हो ।       बसपार्क सञ्चालनमा आएपछि जग्गाधनीले छिटो जग्गा फिर्ता पाउने आशामा रहेको जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउनुभयो । राजभण्डारीले ५१ परिवारले दिएको जग्गामा बसपार्क बनाएर बाँकी जग्गा फिर्ता गर्न नक्सा तयार भइसकेको जानकारी दिनुभयो ।       दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । यहाँ एकै पटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्किङको सुविधा छ ।     बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोरमा चल्ने लामा दुरीका बस यही बसपार्कमा रोकिने भएकाले पर्यटन क्षेत्रमा समेत बागलुङले फड्को मार्ने बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले विश्वास व्यक्त गर्नुभयो । 

चितवन:    डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।   चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।     जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।  तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।

काठमाडौं:     भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।  पितृसम्मान दिवस यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ । ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतसमेतबाट हजारौँ भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन् ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारको सँयुक्ता टोलीले पोखरा १० इन्द्रमार्गबाट एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका १० इन्द्रमार्ग बस्ने २९ वर्षीय अनिश गुरुङ रहेका छन् ।   उनलाई आफ्नै कोठाबाट लुकाई राखेको ड्रग्सहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।    डिएसपी शर्माका अनुसार अनिशको कोठाबाट लागूऔषध डाइजापाम २३ एम्पुल, फेनेरागन ४१ एम्पुल, नुर्फिन ३३ एम्पुल र ब्रुफिन २२ एम्पुल गरी जम्मा ११९ एम्पुल र नाईट्रोभ्याट ३० चक्की, गाँजा ९ सय ७० ग्राम र डिजिटल तराजु १ थान बरामद गरिएको छ ।    पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:    सिटिवान टेलिभिजनले आयोजना गरेको तेस्रो संस्करणको खुला तीजगीत प्रतियोगिताको उपाधि मेट्रोपोलिटान एकेडेमीले जितेको छ ।    ४८ टीमलाई पछि पार्दै मेट्रोपोलिटानले उपाधि जितेको हो ।   प्रतियोगितामा दित्तिय पुरस्कार देविस्थान भजन महिला समूह पोखरा २५ हेम्जाले प्राप्त गर्यो , त्यस्तै तृतीय पुरस्कार  राष्ट्रिय मावि पोखरा १ बगरले हात पारे भने सान्त्वना पुरस्कार सक्षम अभियान नेपाल समुहले हात पार्यो ।      विजेताहरुले क्रमशः रु पचास हजार, तीस हजार २० हजार र १० हजार प्राप्त गरे ।   प्रतियोगीतामा उत्कृष्ट शब्द कमल जोशी आमा समुह, उत्कृष्ट भेषभुषा भिजन एकेडेमी नवलपरासीको टिम तथा उत्कृष्ट नृत्य सफल उद्द्यमशील महिला समूहले हात पारे । उनीहरुले जनहि ५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे ।     “तीजको वेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीज गीत प्रतियोगितामा कास्की र नवलपरासीका कुल ४२ समुहले प्रतिष्पर्धा गरेका थिए ।     सहभागी समुहहरुले  महिला शसक्तिकरण,  महिला हिसां, पर्यटन प्रवर्धन,  बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुव्र्यसनी, शिक्षा जस्ता सामाजिक  विषयमा गीत गाएका थिए ।    गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा शनिवार सम्पन्न कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार सांस्कृतिक गतिविधिको संरक्षणमा लाग्ने भन्दै सद्भाव पुर्ण रुपमा हरितालाीका तिज मनाउन सवैलाई आग्रहृ गरेका थिए ।    उनले संस्कृतिलाई समाजमा व्याप्त असमानता, बेथिति र विविध समस्याहरुबारे आवाज उठाउने उद्देश्यले आयोजना गरिएको तीज गीत प्रतियोगिता उदाहरणीय रहेको बताए ।   प्रतियोगीतामा निर्णायकहरुमा विवि अनुरागी, सिता केसी र शंकर विरही गुरुङ रहेका थिए ।  

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ ।   हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा आयोजक कालोले मणिमुकुन्द टिम बिलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइलनमा पुगेको हो ।   आयोजकको जीतमा म्यान अफ द म्याच भएका निश्चल थापाले २ गोलको योगदान दिए । भने, निर बहादुर सोमै र मनिक गाहाले समान १ गोल गरे । यता हार व्यहोरेको मणिमुकुन्दको तर्फबाट नर बहादुर रावलले सान्त्वना १ गोल फर्काए ।    अब आयोजकले १८ गते दमकडा एफसीको सामना गर्नेछ । भने, भोलि (सोमबार) पहिलो सेमफाइनल खेल अन्तर्गत सराई एफसी र मणिमुकुन्द टिम ए बीच प्रतिस्पर्धा गर्नेछ ।    यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ ।     यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।   कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।    

पोखरा:   सातौं संस्करणको निट डेन्टल केयर प्रिजेन्ट्स मिस मगर नेपाल–२०२४ का अन्तिम ११ प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् ।    शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही पियानो बजाउने, अभिनय र विषयगत प्रस्तुती राखे ।    विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन्  । उनका अनुसार सेल्फ ट्यालेण्ट राउण्डको निर्णायकमा राहुल थापा मगर, जसु गरुङ र थमनसिंह थापा मगर रहनुभएको थियो ।    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह चन्दले अहिलेका युवा पुस्तालाई विदेश पलायन हुने सपना नदेख्न सुझाव दिनुभयो ।      आफ्नै देशमा बसेर केही गर्ने सोंच बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले पैसालाई मात्रै सबैथोक ठान्न नहुने धारणा व्यक्त गर्नुभयो ।    आफ्नो मातृभाषा, संस्कार, संस्कृतिबारे युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिस मगरको आयोजना गरेकोमा खुशी लागेको जनाउँदै प्रहरी नायब महानिरीक्षक चन्दले मगर समुदायलाई नीति निर्माण तहमा पु¥याउन स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने र महिलाहरु उद्यमशिलता तिर अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।   उहाँले उक्त कार्यक्रमले महिला सशक्तिकरणलाई टेवा पुग्नेसमेत बताउनुभएको थियो ।   यस्तै नेपाल मगर संघका केन्द्रीय सल्लाहकार एवं युवा नेता बालकृण्ण काउछाले मगर समुदायको पहिचानलाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै युवा पुस्तामा आफ्नो पहिचानप्रति चासो जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।    नेपाल मगर संघ, कास्कीका अध्यक्ष राम बहादुर थापाले मिस मगर नेपालको माध्यम बाट मगर जातीको भाषा, भेषभुषा, संस्कार र संस्कृतिलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेको र प्रतियोगीहरूलाई देशको नेतृत्व गर्ने जनशक्ति   बन्ने गरी अघि बढ्न शुभकामना दिदै मगर समुदायको हितमा हुने कार्यका लागि नेपाल मगर संघ सधैं साथमा रहेको धारणा व्यक्त गर्नुभयो ।    कार्यक्रममा मिस मगर नेपालका कार्यक्रम संयोजक रुद्र श्रीसले कार्यक्रमका बारेमा प्रकाश पार्दै स्वागत मन्तब्य गर्नुभएको थियो ।    एम बी आश्थाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिस मगर नेपाल २०२२ की थर्ड रनरअप तथा टिम संयोजक प्रियंका गर्बुजाले गर्नुभएको थियो ।    “मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनद्वारा आयोजित सातौं संस्करणको मिस मगर नेपालको ग्राण्ड फिनाले भने यही भाद्र २२ गते होटल पोखरा ग्राण्डीमै भब्य साँस्कृतिक कार्यक्रम सहित हुने कार्यक्रम निर्देशक सुरज थापाले जानकारी दिनुभयो ।   कार्यक्रमलाई निट डेन्टल केयर प्रा.लि. आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङवयेज, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट आदीको सहयोग रहेको छ ।     अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट ११ प्रतियोगिहरुले करिब एक महिना सम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । सुस्मिता पुन, बिनु राना, दिवा पाईजा, कबिता थापा, दिक्षा थापा र उमा पुनको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आले (रामेछाप) आशिका गर्बुजा (बेगखोला, म्याग्दी), अनुजा पुन (तंग्राम, बाग्लुङ) नरिशा पुन (मुदी, म्याग्दी), सरिता थापा (मन्थली, रामेछाप), माया दर्लामी (वालिङ, स्याङ्जा), रश्मि आले (गौशाला, महोत्तरी), जानकी राजकोटी (बर्दीबास, महोत्तरी), अश्मिता बुढा (जेल्बाङ, रोल्पा), कृष्टीना पुन (दग्नाम, म्याग्दी) र जेरुशा सारु (काठमाण्डौं) रहेका छन् ।   कार्यक्रमको मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ ।    

पोखरा:   सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले सामाजिक विकृति विरुद्ध तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।   नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजमा रहेका विकृति विसंगति न्युनिकरण गर्न खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको हो ।   प्रतियोगितामा लागुऔषध सुधार आमा समुहले प्रथम स्थान हासिल गरेको छ । विषय वस्तुमा आधारित हुँदै प्रस्तुति दिएको समुहले ४ सय अंकमा २८० अंक प्राप्त गर्दै प्रथम भयो । सो समुहले नगद २५ हजार रुपैयाँ हात पारे ।    यस्तै २७८ अंकका साथ सक्षम अभियान नेपाल दोस्रो हुँदै १५ हजार रुपैयाँ प्राप्त ग¥यो । एकलधारा सिर्जनशिल समुह तेस्रो हुँदै १० हजार तथा धरहरा आमा समुहले सान्त्वना स्थान हासिल गर्दै पाँच हजार रुपैयाँ प्राप्त ग¥यो ।    भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी संघका प्रमुख डीआइजी दुर्गा सिंह, प्रदेश प्रहरी पोखराका प्रमुख एसएसपी धु्रवराज राउत, पोखरा महानगरपालिका वडा नम्बर ९ की वडा सदस्य लक्ष्मी पहारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम महासचिव घनश्याम तिमिल्सिनाले सञ्चालन गरेका थिए ।    यस्तै प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कृत गरिएको थियो । महासचिव तिमिल्सिनाका अनुसार उत्कृष्ट नृत्य अन्नपुर्ण आमा समुह, उत्कृष्ट भेषभुषा शिवशक्ति आमा समुह, उत्कृष्ट शब्द दिदीबहिनी समुह तथा उत्कृष्ट स्वर दृष्टिविहिन दिदीबहिनी समुह र नवदुर्गा आमा समुह घोषित हुँदै नगद पुरस्कार प्राप्त गरे ।   प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सोही क्रममा लोकदोहोरी गायक प्रजापति पराजुलीलाई सम्मान समेत गरिएको थियो । 

काठमाडौँ:     जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ ।   देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा जगाउने उद्देश्यले गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र आर्थिक विकासलाई गति प्रदान गर्ने मूलभूत उद्देश्य लिएर अघि बढेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउनुहुन्छ ।   लामो राजनीतिक पृष्ठभूमिसहित मुख्यमन्त्री र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभवबाट खारिनुभएका मन्त्री गुरुङ सूचना प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।   मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगलाई व्यवस्थित गर्न नीतिगत एवं विभिन्न कार्यक्रमको कार्यान्वयनमा मन्त्री गुरुङले जोड दिनुभएको छ । सरकार गठन भएको डेढ महिनाको अवधिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मन्त्रालयमा सय दिने कार्ययोजना बनाएर डिजिटल विकासमा सक्रिय रुपमा काम गर्दै आउनुभएको छ ।   प्रस्तुत छ, सूचना विकास र प्रविधिको क्षेत्रसँग सम्बन्धित जिज्ञासाबारे मन्त्री गुरुङसँग कुराकानी :   -वर्तमान सरकार गठन भएको डेढ महिना पूरा भएको छ, सरकारको गति कस्तो छ ?   हामी सरकारमा आएपछि जनता धेरै आशावादी भएका छन् । तुरुन्तै परिणाममुखी कार्य देख्न चाहन्छ्न्, जुन स्वाभाविक पनि छ । तर, आन्तरिक कार्यसम्पादन हेर्ने हो भने स्थिति त्यस्तो छैन । किनभने यसअघि भत्किएका, बिग्रिएका र लथालिङ्ग भएका धेरै कुराहरुलाई सुधार गर्दै विकासको गति समाउनुपर्ने भएको छ । यसलाई अझ यसरी बुझौँ, हामी अहिले आफ्नो मेसिनरीलाई ठीक गरेर मात्रै विकासको गति अगाडि बढाउनेतर्फ लाग्दैछौं ।   -सरकारको मुख्य प्राथमिकता के–कस्ता रहेका छन् ?   जनतासँग जोडिएका सबै जिम्मेवारी पूरा गर्नुपर्ने यो सरकारको दायित्व छ । यति मात्रै होइन, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको मुद्दा विगतमा जति ओझेल परेका थिए, त्यसलाई सुधारेर एउटा सन्तुलित परराष्ट्र नीतिको सिद्धान्त अवलम्बन गर्नुपर्ने हाम्रो पहिलो प्राथमिकतामा रहेको छ ।   परराष्ट्र नीतिअन्तर्गत दुवै छिमेकी मुलुकहरुसँग र अरु हाम्रा सहयोगी मुलुकहरुसँगको सम्बन्धलाई सन्तुलित, व्यवस्थित र मर्यादित बनाउने काम हामीले सुरु गरिसकेका छौँ । त्यसको पहिलो सङ्केतका रुपमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भारत भ्रमणलाई लिएका छौँ ।   परराष्ट्रमन्त्री राणाको भारत भ्रमणले अहिलेसम्म नेपाल र भारतको सम्बन्धलाई अलिकता ट्र्याकमा ल्याउने काम गरेको छ । सम्भवतः भारतको प्रधानमन्त्रीको पनि नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कुरा पनि तय हुन्छ भन्ने लाग्छ । यसले सरकारका कूटनीतिक पक्षमा विस्तारै गति लिन थालेको देखिन्छ ।   -नयाँ सरकार गठनपछि देखिनेगरी केही काम गर्न सकेको उदाहरण छन् कि ?   थुप्रै छ नि । म उदाहरणको रुपमै भन्न सक्छु, एकदमै थिलोथिलो बनेको, झन्डै आर्थिक सङ्कटको डिलमा पुगेको अर्थतन्त्रलाई अलिकति तन्दुरुस्त बनाउने काम गरिरहेका छाँै । अहिले राजस्व विस्तारै बढ्न थालेको छ । मूल्यवृद्धि नियन्त्रणमा आउन थालेको छ ।   आयात–निर्यातको असन्तुलनको विषय त ‘ओभरनाइट’मै व्यवस्थित हुन सम्भव छैन तर अर्थतन्त्रको जे समस्या छ त्यसलाई विस्तारै सही गतिमा ल्याउने सरकारको अर्को प्राथमिकता हो । यसको परिणाम आउन भने समय लाग्छ । तेस्रो कुरा यो पुँजीगत खर्च गर्न नसक्नु, राष्ट्रिय गौरवका योजना समयमै सम्पन्न गर्न नसक्नु, छरिएर रहेको बजेटलाई एकीकृत गरेर बहुप्रतिष्ठित योजनामा लगाउन नसक्नुलगायत विषयलाई गम्भीर रुपमा लिएका छौँ ।   लामो समयदेखि अवरुद्ध भएर बसिरहेको विकास निर्माणका कामलाई गति दिने कार्य सरकारको प्राथमिकता छ । कुनै राष्ट्रिय योजना जहाँको त्यहीँ अधुरो अवस्थामा छन् । कतिपय योजना १५/१७ वर्षदेखि अलपत्र छन् । यस्ता योजनाहरुलाई गति दिनुपर्छ भन्ने पक्षमा छौँ ।   छरिएर रहेका बजेट व्यवस्थापन गर्ने, बग्रेल्ती रहेका बुहप्रतिष्ठित योजनाहरुको प्राथमिकताका आधारमा छनोट गरेर सम्पन्न गर्नेतर्फ हामी केन्द्रित हुन्छौँ । उत्तर–दक्षिण करिडोरको निर्माण, पूर्व–पश्चिम मदन भण्डारी राजमार्गजस्ता महत्वपूर्ण राजमार्ग निर्माणको धिमा गतिलाई तीव्र बनाउनु छ ।    यस सम्बन्धमा के भइरहेको छ ?   सरकारको साझा नीति कार्यक्रम भन्नाले हाम्रो सातबुँदे सहमति मूल साझा नीति हो । समय अभावले नयाँ नीति कार्यक्रम र बजेट ल्याउने सरकारको स्थिति छैन ।   यही नीति कार्यक्रम र बजेटलाई व्यवस्थित गर्ने र परिणाममुखी बनाउने ढङ्गले अघि बढ्छौँ । नयाँ नीति कार्यक्रम र बजेट ल्याउँदा समय लाग्ने र त्यसले काम गर्ने समय नहुने भएकाले त्यतातिर जान आवश्यक देखेनौँ ।   विगतमा लामो समय अड्किएको शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्साका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्ले हालै पारित गरेको छ र राष्ट्रपतिबाट पनि प्रमाणीकरण भएको छ ।   -यसले शान्ति प्रक्रियालाई कसरी निष्कर्षमा पुर्‍याउँछ भन्ने लाग्छ ?   विस्तृत शान्तिसम्झौता भएको यति लामो अवधिसम्म पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा ल्याउन फलामको चिउरा चपाए जस्तै कठिन रहेको थियो । नेकपा (माओवादी)का अध्यक्ष नै प्रधानमन्त्री हुँदासमेत उहाँले यो विषयलाई टुङ्गोमा पु¥याउन सक्नु भएन ।   हामी सरकारमा आएपछि जनतामा एकखाले विश्वास भयो र विधेयक स्वीकृत गर्न सफल भयौँ । विधेयक संसद्बाट पारित भई राष्ट्रपतिबाट पनि प्रमाणीकरण भइसकेको छ । अब कार्यान्वयनमा जाने कुरा मात्रै हो । सङ्क्रमणकालीन आयोग बनाएपछि त्यसमा कस्ता मान्छे राख्छौँ भन्ने अबको महत्वपूर्ण विषय हो ।   हामी समझदारीमै राम्रा मान्छे राख्छौँ । त्यही आयोगले काम गर्छ । टिआरसी विधेयक पास हुनु सरकारको महत्वपूर्ण उपलब्धि हो । यसले यो सरकारको आयु लामो छ भन्ने सङ्केत गर्छ ।   बिहानीले दिउँसोको झल्को दिन्छ भने जस्तै शान्ति प्रक्रियाअन्तर्गत लामो समयदेखि सङ्कटमा परेको सङ्क्रमणकालीन न्यायसम्बन्धीको विधेयक पारित गराउन सफल र सक्षम यो सरकारले नै अब मुलुकको भाग्य र भविष्य निर्माण गर्छ भन्ने सङ्केत गरेको छ ।   -नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थालाई कसरी हेर्नु हुन्छ ?   नेपालको सञ्चार क्षेत्र अरु मुलुकको दाँजोमा राख्दा कमजोर देखिँदैन । तर, अझै मर्यादित हुन सकेको भने छैन ।   यो क्षेत्रले जे मागेको छ, त्यो माग पूरा हुन सकेको छैन । अन्तर्राष्ट्रिय आमसञ्चारको अवस्थालाई यहाँको परिस्थितिसँग ठ्याक्कै मेल खाँदैन । सार्क क्षेत्रमै नेपालको प्रेस सबैभन्दा धेरै स्वतन्त्र छ । खुला समाजमा हुनुपर्ने पत्रकारिता भरपुर भए पनि नीतिगत हिसाबले व्यवस्थित नभएको देख्छु ।   हालै मलेसिया, सिङ्गापुरजस्ता विकसित मुलुकका पत्रकारिताको अवस्था प्रत्यक्ष नियाल्ने अवसर पाएको थिएँ । त्यहाँ सीमित मिडिया छन् । हाम्रो समाज बहुलवादी खुलापनमा विश्वास गर्ने भएकाले प्रेस स्वतन्त्रताको हिसाबले कमजोर छ भन्न मिल्दैन ।   संरचनागत सुधार र नीति व्यवस्थापन भने गर्नुपर्ने छ । कुनै पनि स्वतन्त्रता निश्चित सीमाभित्रै हुन्छ र राज्यभित्रै हुन्छ । यद्यपि नेपालमा त्यस्तो किसिमको नियन्त्रित लोकतन्त्र छैन ।   तर, यसको नियमन, मर्यादित गर्न भने जरुरी छ । त्यो पनि राज्यले नियन्त्रण गर्ने होइन, सरोकारवालाहरुकै सल्लाह र सुझावका आधारमा मिडियालाई मर्यादित र व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउँदैछौँ । प्रेस स्वतन्त्रता नियन्त्रित होइन, व्यवस्थित बनाउन सरकार तयार छ ।   सञ्चारसँग सम्बन्धित केही विधेयकहरु संसद्मा विचाराधीन छन् । ती विधेयकहरु यसै अधिवेशनबाट पारित गराउन सम्भव होला ? मन्त्रालयको कामको चापले गर्दा समय पाएको छैन ।    -संसद्मा सञ्चार क्षेत्रसँग सम्बन्धित कुनै नयाँ विधेयकलाई पनि लैजाने तयारी पनि छ कि ?   सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक बनाउँदैछौँ । छलफलका क्रममा छ । त्यस्तै छलफलकै क्रममा रहेको मिडिया विधेयक पास हुन भने केही समय लाग्न सक्छ ।   आमसञ्चार विधेयक पनि हामी ल्याउँदैछौँ । दूरसञ्चार विधेयक संशोधन गर्नुपर्ने छ ।   अर्थ मन्त्रालयले खर्च व्यवस्थापन गर्नका लागि दूरसञ्चार तथा सूचना प्रविधि (साइबर क्राइम) विधेयक गाभ्ने सुझाव दिएको छ । यो विधेयक अरुभन्दा बृहत् पनि छ । यो वर्ष हुलाकदेखि लिएर सञ्चारसँग जोडिएका सबै कानुन बन्दैछन् । तसर्थ यो वर्ष चाहिँ मन्त्रालयले कानुन तथा नीति निर्माण गर्ने वर्ष मानेर काम गरिरहेको छ ।   अघिल्लो सरकारले सामाजिक सद्भावमा प्रतिकूल प्रभाव पारेको भन्दै टिकटकलाई प्रतिबन्ध लगाएको थियो । तर, वर्तमान सरकारले त्यो प्रतिबन्ध खुला गरेको छ, यसमा मन्त्रीज्यूको भनाइ के छ ?   सामाजिक सद्भाव खल्बलाएको भन्दै एउटा घटनाले गर्दा अघिल्ल्लो सरकारले टिकटक बन्द गरेको रहेछ । बन्द गरेकै दिनदेखि टिकटक सञ्चालन गर्ने कम्पनीबाट खोल्नुपर्छ भन्दै थुप्रै निवेदन आएका रहेछन् । ती निवदेन यत्तिकै थाती राखिएको रहेछ ।   म आएपछि त्यसलाई बुझ्ने प्रयास गरेको छु । फेसबुक, इन्स्ट्राग्राम, टिकटकलगायत थुप्रै सामाजिक सञ्जालबाट हजारौँको सङ्ख्यामा युवाले रोजगार पाएका छन् । टिकटक बन्द हुँदा अलिकति भने पनि प्राप्त गरिरहेको अर्थोपार्जन खोसिँदै गएपछि युवामा निराशा आउनु स्वाभाविकै हो ।   मैले यसमा के रहेछ भनेर दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षलाई सोध्दा टिकटक चलायो भने राज्यलाई करिब रु तीन अर्ब राजस्व बढ्छ, भन्नुभयो । पहिले नै सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी निर्देशिका बनेको रहेछ ।   त्यो निर्देशिकाको दफा ३ मा टिकटक प्रयोगकर्ता वा संस्था दर्ता हुनुपर्छ भन्ने रहेछ । दर्ता गरेपछि निर्देशिकाको दफा ६ मा उल्लेख भएअनुसार ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्छ । यी दुई शर्त पूरा भएपछि टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने भनिएको छ ।   यसका साथै टिकटक सञ्चालक कम्पनीका प्र्रतिनिधिलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नु भनेर प्रस्ताव गरेको छु ।   हाम्रा यी सबै प्रस्तावमा उहाँहरु सकारात्मक हुनुहुन्छ । आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।   त्यस्तै, सामाजिक दूरभावना फैलाउने खालका ‘कन्टेन’भित्र रहेका शब्द, वाक्यहरुको अङ्ग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेशन’ र ‘मोडरेशन’ गर्नुपर्छ भनेका छाँै । यी सबै शर्तहरु पूरा गर्ने शर्र्तमा हामीले टिकटक खोल्ने निर्णय गरेका हौँ ।   यी शर्तहरु अरु सामाजिक सञ्जालको हकमा पनि लागू हुन्छ । टिकटकलगायत विभिन्न सामाजिक सञ्जाललाई व्यवस्थितगरी सञ्चालन गर्न सकिएमा हजारौँ युवाले रोजगारी पाउने र राज्यलाई पनि करोडौँ राजस्व प्राप्त हुने देखिन्छ ।