काठमाडौं: अविरल वर्षासँगै खसेको पहिरोको कारण त्रिभुवन राजपथको नौविसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ । केहीवेर अघि सो सडक खण्डको पिपला मोड नजिकै सडक भन्दा माथिल्लो भागको डाँडा खस्दा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडकका कारण संघीय राजधानी प्रवेशका लागि तराईका जिल्लाहरुबाट आएका सवारी साधन र राजधानीबाट बाहिरिने सवारी साधनहरु दुबैतर्फ ठप्प रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भएको छ । सो सडक खुलाउने प्रयास भइरहेको तर पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ ।
दाङ: दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो । बिहान करिव १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनिहरु अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । लगत्तै दमारगाउँ प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए । त्यसपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले विक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो । दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताउनुभयो ।
काठमाडौं: इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए । “मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट सुरक्षा जाँच केन्द्रअगाडि पल्टिएपछि आगलागी भएको इरानको एक राष्ट्रिय टेलिभिजनले जनाएको छ । “बुधबार विहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्,” इरानी टेलीभिजनले समाचारमा उल्लेख गरेको छ। याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताउनुभएको छ । मालेक–जादेहले भन्नुभयो, “मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन् । घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य सात जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ ।” गत वर्ष इराकको कर्बला शहरमा हुसेन र उहाँका भाइ अब्बासलाई गाडिएको स्थानमा करिब दुई करोड २० लाख तीर्थयात्रीले उक्त स्मृतिसभा सहभागीता जनाएका हुन् ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो । यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ३५ निर्धारण भएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ । ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिनुभयो । यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गर्नुभयो । “हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौं । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।” उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने बताइएको छ ।
दाङ: मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आउनुभएको छ । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आउनुभएको छ । सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम सुरु गरेकोे बताउनुभयो । “घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ”, उहाँले भन्नुभयो । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उहाँ बताउनुहुन्छ । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उहाँमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आउनुभएको छ । यो व्यवसायबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक रु २०–२५ हजार बढीको कारोबार गर्दै आएको उहाँले बताउनुभयो । “ मासिक रु १०–१२ हजार बचत हुने गरेको छ”, उहाँले भन्नुभयो । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उहाँले बताउनुभयो ।
तनहुँ: बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो । केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन् । एक हजार चार सय ३६ ग्राहकबाट रु तीन करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ । आर्थिक वर्ष २०७९/८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा रु एक करोड ८४ लाख ६५ हजार चार सय ५२ बक्यौता सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला रु तीन करोड ६४ लाख ५७ हजार छ सय ८२ बक्यौता उठ्नुपर्ने थियो । केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा रु ५४ करोड २० लाख ६० हजार दुई सय ७८ विद्युत रकम सङ्कलन भएको थियो । केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो । विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताउनुभयो ।
जुम्ला: अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो खस्दा आज बिहानदेखि उक्त राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले बताउनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ सूचना अधिकारी जिटीले बताउनुभयो । पानी पर्नेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो खस्ने गरेको छ ।
पोखरा: पोखरामा कर्मचारी मिलन केन्द्रले सुरु गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृङ्खला आज बेगनासतालको सरसफाइ गरेर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई सरसफाइ गर्नेगरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुभयो । केन्द्रका संरक्षक कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्राकृतिक सम्पदाको संरक्षण हामी सबैको दायित्व भएको बताउँदै यस किसिमका कार्यक्रमले सरसफाइप्रति सर्वसाधारण जागरुक हुने विश्वास व्यक्त गर्नुभयो । आजको सरसफाइ बेगनासताल अगाडिको उद्यान, बाँध हुँदै तालको किनार र आसपास केन्द्रित गरिएको थियो । सरसफाइमा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका अग्ुवा, स्थानीय पर्यटन व्यवसायीलगायत सहभागी थिए ।

