पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

म्याग्दी:     चालु आर्थिक वर्ष २०८०/८१ मा यहाँका किसानलाई अनुदान वितरण गर्न रु नौ करोड छ लाख बजेट प्राप्त भएको छ ।  गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रमार्फत रु तीन करोड ३३ लाख २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट रु दुई करोड ५२ लाख २१ हजार र सङ्घीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट रु तीन करोड २१ लाख ६८ हजार बजेट प्राप्त भएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट छिमेकी जिल्ला मुस्ताङ, पर्वत र बागलुङका किसानले पनि सुविधा पाउनेछन् । कूल लागतको ५० देखि ८५ प्रतिशत अनुदान प्राप्त हुने कार्यक्रमका लागि तीन वटै कार्यालयले सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेका छन् ।     खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलले बताउनुभयो ।        खायन आलु उत्पादन तथा प्रवद्र्धन कार्यक्रमलाई रु एक करोड २० लाख छ हजार, फलफूल बाली विकास र रैथाने बाली प्रवद्र्धन आयोजनाका लागि रु २१÷२१ लाख, तरकारीबाली प्रवद्र्धन आयोजनाका लागि रु १५ लाख पचास हजार, पोषण सुरक्षण कार्यक्रमका लागि रु २० लाख, सुन्तला जात फलफूल विकास आयोजनालाई रु ६७ लाख विनियोजन भएको छ ।    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा भरत रेग्मीले मासु, दूध, अण्डा उत्पादन वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कार्यक्रम आएको बताउनुभयो । पशुलाई पूर्ण खोप कार्यक्रमका लागि सबैभन्दा बढी रु ८० लाख बजेट प्राप्त भएको छ ।  यसैगरी बृहत्तर पशु विकास प्रवद्र्धन कार्यक्रमलाई रु २० लाख, दूध उत्पादक किसानलाई अनुदानका लागि रु १० लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडापाडी हुर्काउने किसानका लागि रु तीन लाख, घुम्ती गोठ संरक्षणका लागि रु चार लाख, बाँझो जग्गामा घाँसखेती गर्नेलाई रु पाँच लाख, कृषि ऋणमा ब्याज अनुदान रु एक लाख, मत्स्य पोखरी निर्माण तथा क्षेत्र विस्तारका लागि रु तीन लाख बजेट प्राप्त भएको छ ।   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले म्याग्दी, बागलुङ र पर्वतमा सञ्चालन भएको सुन्तला तथा मुस्ताङको स्याउ जोन क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि रु ६० लाख विनियोजन भएको जानकारी दिनुभयो ।  बङ्गुरपालक किसानका लागि नश्ल सुधार तथा उत्पादन वृद्धि, यान्त्रिकरण र मासु पसल सुधारका लागि रु १८ लाख, सुन्तला जोन कार्यक्रममार्फत सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि रु १६ लाख, कृषि उपज सङ्कलन केन्द्रलाई रु आठ लाख, बजारीकरणका लागि रु १५ लाख र यान्त्रिकरणका लागि रु दश लाख बजेट प्राप्त भएको छ ।  पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रममा अधिकतम ८५ प्रतिशत, यन्त्र उपकरण, पाइप तथा ड्रम, बीउ, बेर्ना, विषादीलगायत सामग्री खरिदमा अधिकतम ५० प्रतिशत अनुदान सहयोग हुने कृषि अधिकृत बस्यालले बताउनुभयो । 

काठमाडौं:    म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ ।  बोटविरुवा देखेपछि मलाई माया लाग्छ, मलाई देखेपछि बोटविरुवाले पनि माया गर्छन् । मैले बारी कस्तो बनाएको थिएँ भने कुुटो कोदालो होइन कि हातका औँला घुुसारेर त्यसको गोडमेल गर्ने गर्थें । अरु साथीहरुले लगाएको चाहिँ त्यति राम्रो नफल्ने । साथीहरुले हामीले पनि उही काम गरिराखेका छौँ भन्थे । मैले तपाईंहरुले त्यसलाई माया कम गर्नु भएको छ, उसले बुझ्छ भन्ने जवाफ दिन्थेँ ।       म पोखरा जेलमा हुँदा अलिअलि खेती गर्थें । मैले रोपेको तरकारी, फलफूल राम्रो फल्थ्यो । अनि अरुहरु छक्क पर्थे । खासमा बोटविरुवाले मान्छेले कत्तिको माया गरेको छ भन्ने याद गर्छ ।  गाई, भैँसीलाई पनि माया गरे नगरेको थाहा हुन्छ । रिसायो भने गाई भैँसीले दूध लुकायो भन्छन् । खुसी भएन, प्रशन्न भएन भने दूध दिँदैन । उसको भकारो सोहोर्ने, मान्छेले सुम्सुम्याउने मान्छेले दुयो भने बढी नै दूध दिन्छ । दूध जतिबेला पनि आउँदैन, ऊ खुसी छैन, नाखुश छ भने पगारे पनि लुकाइदिन्छ ।  अहिले त मेसिनले चुसेर, तानेर भएजति तान्ने गरिन्छ । हामीले कृषि बालीको कुरा किसानहरुलाई सिकाउनुपर्छ कि खुसी हुनुपर्छ, यसलाई माया गरेको हुनुपर्छ, त्यो माया गरेपछि यसले प्रतिफल धेरै दिन्छ भनेर बुुझाउनुपर्छ । साँच्चै कस्तो वातावरण छ भनेर पशुबालीले हेर्छ । बाजा, सङ्गीत, गीत आदि इत्यादि त्यसलाई मनपर्छ । मन नपर्ने खालको क्रसर राख्दियो भने त्यसले मन पराउँदैन भने कर्कश आवाजले पनि त्यसलाई राम्रो गर्दैन ।       मत्स्यपालनका सन्दर्भमा अहिलेको उत्पादन कति छ ? कति माछापोखरी छन् ? कति खोलाबाट निकालिन्छ ? खोलाबाट निकालिने कुराको धेरै भर नपरौँ । खासमा भन्ने हो भने खोलाबाट धेरै माछा निकाल्ने पनि होइन, त्यहाँ यसलाई खेल्न दिने हो । भरपर्ने त तालका माछामा हो । खोलाका माछा त्यतिकै समाउन पाइँदैन नि । मत्स्यपालनसम्बन्धी लक्ष्य तोक्नुस् ।  चराको मासु खानु छ भने पालेको हुनुप¥यो । जङ्गलमा गएर फ्याट्टफ्याट्ट मार्न हुँदैन । खोलामा माछा मार्नु, जङ्गलमा चरा मार्नु ‘इकोसिस्टम’ विरोधी कुरा हो । फलफूल खानु छ भने फलाएको हुनैप¥यो । गाई र भैँसीबाटै दुग्ध उत्पादन हुने हो । गाईको दूधबाहेक मलमूत्र मात्रै काम लाग्ने हो । भैँसीमा जोड दिने तपाईंहरुले जोड दिएको पनि ठीक छ । भोलि गएर कतिपयले गाईको मात्रै दूध खाने, भैँसी, चौँरीको दूध नखाने भन्ने पनि हुनसक्छ । त्यसकारण डेरीको दूध नखाने स्वाभाविक हुन्छ । त्यहाँ गाईको पनि हुन्छ, भैँसीको पनि हुन्छ । त्यसो भएर गाईको दूध मात्रै भोलि कारोबार हुनसक्ने स्थिति नहोला भन्न सकिन्न । दूध खाँदा भैँसीको मीठो हुन्छ तर घ्यू गाईकै मीठो मानिन्छ ।       फलपूmल क्षेत्रमा के गर्ने र कहाँ कहाँको के भिन्नता छ ? हाम्रो उपलब्धि के हो ? हाम्रो लक्ष्य के हो ? गत वर्षको भन्दा यो वर्षको लक्ष्य र उपलब्धि अलिक माथि हुनुप¥यो । हामीले सबै क्षेत्रमा विगतका रेकर्ड तोड्नेछौँ । गत वर्षको भन्दा उत्पादन, बिक्री वितरणमा वृद्धिसँगै आम्दानीमा पनि रेकर्ड तोड्छौँ ।       कृषि क्षेत्रमा शिक्षाको ठूलो समस्या छ । यसमा १४ देखि ६५ वर्षको सक्रियता कम भएको छ । बूढाबूढी मात्रै त्यसमा निर्भर छन् । त्यो सक्रिय जनशक्ति होइन । बालबच्चा पनि कृषिमै निर्भर गरेका हुन्छन् । कूल जनशक्तिको ६० प्रतिशत वा त्योभन्दा बढी कति चाहिँ कृषिमा निर्भर छ स्पष्ट छैन ।  मानिसले व्यवसाय किसान लेखेको हुन्छ तर कृषिमा भर परेको हुँदैन । छोराबुहारी जागिर खाइराखेका हुन्छन्, आम्दानीको मुख्य स्रोत जागिर भइराखेको हुन्छ । त्यो जागिर कृषिले दिँदैन । कृषि त बाँच्ने पेट पाल्ने कुरा हो नी । सबै प्रणाली पेटबाट सुुरु हुन्छ । हरेक जीवित चिजलाई प्रकृतिले यस्तो बनाइदिएको छ ।       माटो पनि जीवित हो । माटो म¥यो भने उर्भरत हुँदैन । प्रकृतिमा यस्तो गुण हुन्छ कि जसले त्यसलाई ग्रहण ग¥यो, त्यसैसँग मिल्ने हुन्छ । त्यही चामल बाख्राको पाठोलाई दिनुस्, त्यो त्यही चामल बाख्रो हुन्छ । त्यही चामल खाएर मान्छे हुन्छ, त्यही चामल खाएर गाई हुनसक्छ । यो अनुकूलन प्रकृतिको विशेषता हो ।  यस अनुकूलनलाई हामीले प्रकृतिको ‘इकोसिस्टम’ भन्छौँ, यो त्यही इकोसिस्टम हो, सर्कल । एउटाको खाना अर्काको मल, अर्काको खाना अर्काको मल । अर्काले परित्याग गर्छ, अर्काले खान्छ । अलिक रुपान्तरित हुन्छ । हामी मल हाल्छौँ, त्यो मलबाट स्याउ फल्छ ।  त्यो चिज हामी खान्छौँ र त्यो मल फेरि उसैलाई काम लाग्छ । एउटाको मल अर्काले ग्रहण गर्छ, अर्काको अर्कोले ग्रहण गर्छ र रुपान्तरित हुन्छ । हरेक क्षेत्रमा फरक ल्याउनका निम्ति तपाईंहरुले ‘एक्सिलेन्स सेन्टर’हरु खोल्नुस् । अथवा कृषि टे«डिङका उपायहरु हुन् । गाउँगाउँमा गएर यसरी बाली लगाइन्छ है, यसरी लगाएपछि आम्दानी बढी हुन्छ र त्यसले बजार पाउँछ भनेर किसानहरुका प्रशिक्षित गराउन आवश्यक छ ।       हिजो परिवार उत्पादनको एउटा एकाइ हुन्थ्यो । आज परिवारमा उत्पादनको एकाइ छैन । मेरो हजुरबाको एउटा खेत, एउटा बारी, एउटा गोठ थियो । आफ्नै खेतमा धान, मकै, आलीमा मास, बारीमा तोरी उत्पादन हुन्थ्यो ।  पशुपालन आफ्नै गोठमा, आफ्नै चरिचरनमा सबै चिज हुन्थ्यो । एउटा नूनबाहेक केही पनि किन्न पर्दैन्थ्यो । एउटा परिवारको उत्पादन, परिवारको उपभोगमै हुन्थ्यो र अर्थतन्त्र त्यतिमै चल्थ्यो । तर अब सबै कुरा नकिनी नहुने अवस्थामा हामी पुग्यौ । उत्पादनको प्रवृत्ति, ढाँचा र तरिकामा फरक प¥यो ।  फरक परेको चिजलाई हामीले परिवर्तन गरेनौँ भने बाँझा बारी, बाँझा खेत भनेर हुँदैन । त्यसलाई अब व्यावसायिकतामा लैजानै पर्छ । दुनियाँ कहाँबाट कहाँ पुग्यो । परिवारलाई उत्पादनको एकाइ बनाउने हो भने एकै प्रकारको खेती उनीहरुले गरुन् । कान्लाभरि रुख, फलपूmल लगाऔँ, बारी र खेतभरि अन्न लगाऔँ ।       म सम्झिँन्छु, म सानो हुँदा सुन्तलाको बगैँचा आफ्नै घरमा हुन्थ्यो । दुई÷चार रुख नास्पातीका हुन्थे । असारमा पाक्ने ठूलो नास्पतीदेखि मङ्सिरमा पाक्ने नास्पाती हुन्थ्यो । सानो नास्पातीको स्वाद अनौठो हुन्छ । अम्बा कान्लाभरि जताततै हुन्थ्यो । केराघारी आफ्नैमा हुन्थ्यो ।  अनार पनि रोपिदिए राम्ररी फल्थ्यो । यी सबै खालका फलहरु आफ्नै बारीमा हुन्थे । अब त्यस हिसाबले चल्दैन । मैले अनार पनि लगाउँछु, अम्बा पनि लगाउँछु भनेर व्यक्तिगत हिसाबमा हिजो जसरी अब चल्दैन ।  किसानहरुले एउटा एउटा बाली लगाएर हुँदैन । यसरी लगाउँदा बालीको आफ्नोपन पनि बिग्रिन्छ । त्यसकारण यस्तोमा सहकारी भयो भने सहकारी, सहकारी भएन भने सामूहिक खालको खेतीमा जानुपर्छ । त्यसोगर्दा बजार पाउन सजिलो हुन्छ । एकैखालको खेती लगाएपछि ठूलोमात्रामा उत्पादन हुन्छ । त्यसले बजार पाउँछ ।       मैले सुनेको थिएँ–कैलालीमा पोहोर वा परार किसानहरुले घिरौँला खेतबारीमा फ्याँके, किनभने बिकेन । सबैको घरमा घिरौँला, कसले किन्छ ? कसैले किन्दैन । डोकामा बजार लग्यो, घरघरमा घिरौँला छ, कसले किन्छ, कसैले किन्दैनन् । यदि त्यो घिरौँला एक÷दुुई ट्रक भएको भए काठमाडौँ आउन्थ्यो ।  बिक्री नभएपछि बारीमा फ्याँक्नुको विकल्प हुँदैन । ठूलो परिमाणमा गोलभेंडा उत्पादन भयो भने त्यसको अचार उद्योग स्थापना गर्न सकिन्छ । गोलभेँडाको स्लाइस, जुस उद्योग, गोलभेँडाको चप उद्योग वा अनेक चिज उत्पादन गर्न सक्छन् । त्यसैले ठूलो परिमाणमा ध्यान दिऔं । नयाँ इनोभेसनमा ध्यान दिऔँ । नवप्रवर्र्तनभन्दा इनोभेसन शब्द ठीक छ, सजिलो छ । हरेक ठाउँमा नयाँ मार्क लगाउनेगरी नयाँ ‘इनोभेटिभ’ विचार लगाउनुस् । चिस्यान केन्द्र कति ठाउँमा खोल्न सकिन्छ, पशु स्वास्थ्य केन्द्र खोल्न सकिन्छ त्यतातिर ध्यान दिऔँ ।      सन् २०२० पछि अमेरिकाले मलेरिया उन्मूलनको काम ग¥यो । त्यसबेला उसले इन्स्पेक्टर र स्प्रेहरु राखेको थियो । स्प्रे गरेकाले घर नम्बर लेख्नु पर्दथ्यो । घरको परिवारको सङ्ख्या उनीहरुको खातामा हुन्थ्यो । घरको एउटा ठाउँमा रङ लगाएर लेखेको हुन्थ्यो र त्यहाँ सही गर्नु पर्दथ्यो । स्प्रेयरले सही गर्दथ्यो । इन्स्पेक्टर आउँन्थ्यो र स्प्रेयरको मुनि उसले पनि सही गर्दथ्यो ।  कहिले आउँछ इन्स्पेक्टर थाहा छैन तर घरघरमा आउँछ । जाँच गर्दा कसरी ग¥यो भन्ने मुख्य कुरा हो । हाम्रो प्रोजेक्ट राम्रो भएको छ कि छैन ? उदाहरणका लागि काठमाडौँबाट हेलिकप्टर लिएर अचानक जनकपुर गयो, एउटा स्कुलको मैदानमा हेलिकप्टर रोकेर वरिपरिका गाउँमा गयो, कुनकुन महिनामा जाँच भएको छ, कुनकुन महिनामा जाँच भएको छैन, कुनकुन घरमा पुगेको छ, कुनकुन घरमा पुुगेको छैन भनेर नमूनाका रुपमा पाँच÷सात घर हे¥यो ।  अर्को ठाउँमा पुुग्यो, त्यसैगरी हेरेर आयो । त्यहाँ उसले भने अनुसारको हस्ताक्षर गर्ने ठाउँ खम्बा वा भित्तामा हुन्थ्यो र त्यसमा गरेको हुन्थ्यो । त्यसो गरेर पक्का गर्दथ्यो । त्यसो भएपछि गएँ भनेर झुुट बोल्न पाएन । कुन घरमा कुन मितिमा गयो, त्यो घरमा सही गर्नु पर्ने । त्यहाँ भित्तामा ठाउँ बनाएर सही गर्नुपर्ने । हामीले त्यस्तै प्रणालीको किन विकास गर्न नसक्ने ? एक÷दुुई ठाउँमा नमुना हेरेपछि थाहा भइहाल्छ । यस्ता कुराहरुमा अप्रत्याशित र अनपेक्षित ठाउँमा गएर गर्ने छड्के नै जाँच गर्नुपर्छ । त्यसो भएपछि उनीहरुले ढाट्ने ठाउँ हुँदैन । यो कुरालाई क्षेत्र क्षेत्रको योजना बनाऔँ ।       कृषिमा परिवर्तन र रुपान्तरण नल्याई हाम्रो देशको विकास सम्भव छैन । सन् १९३० मा अमेरिकामा हरित क्रान्ति आयो, युरोपमा सन् १९४० मा आयो । भारतमा सन् १९६८ मा आयो । सन् १९६८ मा अमेरिकाले हरित क्रान्तिलाई धेरै अगाडि बढायो ।  त्यसकारण अहिले डेढ अर्ब जनसङ्ख्यालाई खुवाएर पनि बाहिर पठाउँछ, हामीलाई बेच्छ । हाम्रो जनसङ्ख्या तीन करोड मात्रै छ तर हामीले उत्पादन गरेको वस्तुले खान पुग्दैन । पहिलेको जस्तो ढाँचाले होइन, अहिले भारतीय प्याज हेर्नुभयो जापान र चीनको जस्तै भएको छ । जापान र चीनले ठूलो फलाउँछन् । अहिले भारतले पनि त्यही गर्छ । त्यो सन् १९६५ बाट सुरु गरेर १९६८ सम्ममा ग्रिन रिभुलुसन अगाडि बढायो ।  उसका भैँसी गुजराती भनेर चिनिने भए । बेलायतबाट ल्याएको गाई भनेर टाटेपाटी गाईलाई भन्ने चलन थियो । अहिले जर्सी गाई भन्छन्, उहिले बेलायती भन्थे । बैठक कक्ष अलिक गतिलो बनायो भने बेलायती हुन्थ्यो । गतिलो भएपछि बेलायती गाई, बेलायती कुकुर । केही अलि सप्रियो भने यो त बेलायती नै रहेछ नि भन्थे । भारतले बेलायतका र अन्यत्रबाट केही ल्यायो ।  अरु देशले प्रगति गरिरहँदा नेपालमा त चकमन्न थियो । पञ्चायतकाल आयो, महेन्द्रले विकास गर्न खोजेको अलिक देखियो । तर, महेन्द्रको विकासको गति २०२० देखि २०२४ सालसम्म रफ्तारमा चल्यो । अहिले पनि धेरै भवनहरु तिनैताका बनेका हुन् । पञ्चायतकालीन भवनमै हामी चलिराखेका छौँ । त्यतिबेला विश्वविद्यालय एउटै मात्र थियो होला तर पर्याप्त नै थियो नि त्यस बेलाको विकासको तहमा ।  अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा भनेर सुरु गरे । पाँच कक्षासम्म त मान्छेले अनिवार्य तथा निःशुल्क रुपमा पढ्न पाएका थिए । त्यसबेला उत्साह के थियो भने एसएलसी पास गरेका शिक्षकहरु पाइँदैन्थे । कोही कोही माविहरुमा त एसएलसी पास नगरेका शिक्षकहरु थिए र प्रधानाध्यापक नै एसएलसी पास गरेका थिए । आइए पास गरेका त यदाकदा थिए हाइस्कुलमा ।  त्यहीका तेज विद्यार्थीले त्यहीका विद्यार्थीलाई क्लास लिन्थे शिक्षक नभएर । तर नतिजा राम्रो थियो । पूर्वाधार थिएन, ज्ञान सम्प्रेषणको कला अलिक बढी हुन खोज्थ्यो । नजान्ने शिक्षकले इतिहास घोकाइदिन्थे । अब घोकाउने थालेपछि घोक्नै सकेन भने याद त हुने भयो नि । त्यसो भएर त्यो जमानाबाट हामी भर्खरै भर्खरै आयौँ । अब हामीले आमूल परिवर्तन ल्याउनुु छ, कृषिमै ल्याउनुु छ । त्यसकारण म तपाईंहरुसँग क्षेत्रगत रुपमा के के गर्ने योजना बनाउनुस् । सिँचाइका क्षेत्रमा के गर्नु पर्छ ? फलपूmलमा के गर्ने ? अन्नबालीमा पनि धान, गहुँ, मकै, फापर, कोदोलगायत विभिन्न बालीमा के गर्न सकिन्छ ? यसका हाम्रो लक्ष्य के हो ? गन्तव्य के हो ? तोकेर त्यसमा नीति बनाऔँ । त्यो नीति कार्यान्वयन गर्न कार्यक्रम बनाऔँ । कार्यक्रम बनाएपछि लक्ष्य तोकेर त्यसलाई हासिल गर्नेगरी अगाडि बढौँ । यसबाट नै सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियान पूरा गर्न सकिन्छ । (सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन ३२ मा कृषि तथा पशुपक्षी मन्त्रालयका पदाधिकारीहरुलाई दिनुभएको निर्देशनको सम्पादित अंश)

पोखरा:     गृह सचिव एकनारायण अर्यालले उपभोक्ता अधिकार संरक्षणमा क्षतिपूर्तिसहित अधिकारको व्यवस्था भएकाले सेवा र वस्तुमा उपभोक्तालाई ठग्ने काम नगर्न आग्रह गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि सञ्चालनमा ल्याइएको ‘क्यूआर कोड’ सहितको अनलाइन सेवाको आज उद्घाटन गर्दै अर्यालले उपभोक्ता ठग्नेलाई कारबाही गर्ने बताउनुभयो ।  चार्डपर्व सुरु भएसँगै खाद्य सामग्री र सार्वजनिक यातायातमा चर्को भाडा लिने काम हुँदै आएकाले यसलाई नियन्त्रण गर्न र त्यस्ता व्यक्ति वा संस्थालाई कडा कारबाही गर्न प्रशासनले जोड दिनुपर्ने उहाँको भनाइ छ ।  अझैपनि राजमार्गका होटलमा खानाको गुणस्तर नहुने र चर्को मूल्य लिने काम भइरहेकाले प्रशासनको ध्यान त्यसतर्फ जानुपर्ने उहाँले बताउनुभयो ।  नेपालमै पहिलो पटक जिल्ला प्रशासन कास्कीले सञ्चालनमा ल्याएको यस्तो सेवाले निरन्तरता पाउनुपर्ने बताउँदै अन्य जिल्लामा पनि सेवा विस्तार गर्न उहाँको सुझाव छ । उपभोक्ता संरक्षण अधिकारलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले दुर्गम गाउँका उपभोक्ता बढी मात्रामा ठगिने गरेकाले गाउँ तहसम्म उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रशासन कास्कीबाट सुरु भएको सेवाले निरन्तरता पाउनुको साथै यसको प्रभावकारिता गाउँगाउँसम्म पुग्नुपर्नेमा उहाँको जोड थियो ।  उपभोक्ता हित संरक्षण मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हित संरक्षण ऐन प्रभावकारी बन्न नसक्दा र अनुगमन प्रणाली प्रभवकारी नहुँदा बजारमा गुणस्तरहीन वस्तु र मूल्य नियन्त्रण हुन नसकेको धारणा राख्नुभयो ।  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ‘क्यूआर कोड’लाई निरन्तरता दिँदै पर्यटकीय राजधानी पोखरामा पर्यटक ठगिएका गुनासा आएकाले ठगी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौं:    पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।  डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पु¥याउँदा अन्य ११ जना  घाइते भएका छन्  भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार जुलाई–१ देखि अगस्ट–१७  सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् । पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताउनुभएको छ ।  बलुचिस्तानले जुलाई–१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाहरूको सामना गरेको डन न्यूजले जनाएको छ । बर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ । सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड भएको छ । सोहबतपुरकी बलुच उपायुक्त फरिदा तरीनले जुडाइर नदीमा जल सतह बढेको बताउँदै  यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको जानकारी दिनुभयो ।  बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्गहरू खुला रहेको र अधिकारी र ठेकेदारहरूले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताउनुभयो । RSS

नवलपरासी:    कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।       पहिरोका कारण आज बिहान साढे ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।   यस खण्डमा अहिले लगातार वर्षा भएकाले वर्षा रोकिएपछि मात्र सडक खुलाउने कार्य हुने बताइएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा र स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।      साथै गएरातिदेखिको वर्षाले नवलपरासी९बर्दघाट सुस्तापूर्व०का विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ भने पहाडी क्षेत्रमा पहिरोका कारण अहिले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।         खहरे खोलामा पानीको बहाव बढ्दा मध्यविन्दु नगरपालिका–९ वसन्तपुमा मोटरसाइकल बगाएको छ । हुप्सेकोट गाउँपालिका–३ गिरुबारीका देवबहादुर फालमगर र उहाँकी छोरी तुलसी फालमगर बोडी बेच्न जाँदा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएकामा बाबु र छोरीलाई सकुशल उद्धार गरिएको तर मोटरसाइकल खोलाले बगाएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।       पछिल्लो तीन घण्टामा जिल्लास्थित डण्डा वर्षा मापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप हुनसक्ने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।       जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत दिउँसो १२ बजेसम्म नारायणी नदी, यसका सहायक नदी र अन्य ससाना खोलामा बहाव उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

काठमाडौं:     उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको बताउनुभएको छ ।      संयुक्त राष्ट्रसङ्घले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालले पनि न्यून राजस्व सङ्कलन र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण सिर्जित समस्या भोगिरहेको बताउनुभएको हो ।  “राजस्वको अधिकांश भाग सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकास गतिविधिमा सरकारको लगानी सङ्कुचित हुने देखिएको छ । यसले दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्पलाई टाढा धकेल्ने जोखिम बढेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।      ‘दिगो विकासको लक्ष्य हासिल गर्ने अभियानमा कोही पनि नछुटुन्’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घले विकासका लागि वित्त परिचालन गर्न जोड दिँदै आएको छ । विकासोन्मुख र अल्पविकसित मुलुकमा लगानीका लागि स्रोतको कमी मुख्य चुनौतीका रुपमा देखापरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।  जलवायु परिवर्तनको प्रभावबाट ती मुलुक बढी प्रभावित बनेका छन् । उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको घट्दो प्रवृत्तिले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा रहेको अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो । विकास वित्तका नवीन तथा वैकल्पिक उपायहरुको उपयोग गर्नुपर्ने देखिएको पनि उहाँको भनाइ छ ।       आन्तरिक स्रोतको अलावा निजी पुँजी तथा विकास सहयतालगायत सम्भाव्य सबै स्रोतको अधिकतम उपयोग गर्नेगरी विकास वित्तको खाका तय गर्नुपर्ने आवश्यकता पौडेलले औँल्याउनुभयो ।  कूल गार्हस्थ्य उत्पादनको तुलनामा राजस्वको अनुपात तुलनात्मक रुपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको उहाँको भनाइ छ । “प्रत्यक्ष वैदेशिक लगानी र बाह्य क्षेत्रबाट हुने पुँजी प्रवाह तुलनात्मक रुपमा न्यून छ । सार्वजनिक ऋण सुरक्षित तहमा नै भए पनि आगामी दिनमा यसमा चुनौती थपिने देखिन्छ । उच्च व्यापार घाटा र न्यून आर्थिक वृद्धिदर र लामो समयदेखि संरचनात्मक समस्याका रुपमा अर्थतन्त्रमा विद्यमान छन्”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट प्रत्यक्ष रुपमा प्रभावित भएको छ । हामीले कार्बन उत्सर्जनमा नगन्य योगदान रहे पनि हामीलाई गैरअनुपातिक असर परेको हुँदा अनुकूलनमा निकै ठूलो रकम छुट्याउनु पर्नेछ । यसैले नेपाल विकास वित्तका लागि नयाँ स्रोत र उपकरण जुटाउनुपर्ने पक्षमा उभिएको छ ।” विकास साझेदारहरुसँग यी विषयमा पर्याप्त अन्तरक्रिया गरी अगाडि बढ्न सरकार दृढ रहेको पनि उहाँले बताउनुभयो ।            अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई नेतृत्वदायी भूमिकामा राखेको पनि उहाँले उल्लेख गर्नुभयो । “सोह्राँै आवधिक योजनाले निजी क्षेत्रको भूमिकालाई अधिक महत्व दिएको छ ।  निजी क्षेत्र सरकारको साझेदार हो । हाम्रा लक्ष्य अलग छैनन् । सरकार निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आवश्यक वातावरण बनाउन प्रतिबद्ध छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “निजी पुँजी आकर्षित गर्नेगरी विकास वित्तको खाका निर्माण तथा प्रतिफलयुक्त आयोजनाको सूची तयार गरी लगानी जुटाउनु आवश्यक छ ।”      स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयत्नरत रहेको पनि उहाँले उल्लेख गर्नुभयो । सरकारी र निजी लगानी बढाउनसकेमा स्वदेशमा नै कामका अवसर बढाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  आन्तरिक मात्र नभई वैदेशिक लगानी भित्र्याउनका लागि पनि सरकारले सहजीकरण गर्ने पौडेलको भनाइ छ । “नेपालको विकास प्रयासमा स्वदेशी पुँजी र प्रविधि मात्र पर्याप्त पर्याप्त छैन । सरकार विदेशी पुँजी र प्रविधि भित्र्याउन सबै नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न कटिबद्ध छ । कानुनी सुधार र नीतिगत स्पष्टताका लागि थप कामहरु गर्दै लगिनेछ”, उहाँले भन्नुभयो ।      सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नत हुने लक्ष्य रहेको तथा  त्यसका लागि सङ्क्रमणकालीन रणनीति विकास गरिसकेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले विकासोन्मुख मुलुकमा देश उक्लिएपछि अवसरहरूको उपयोग गर्न र थप लगानी आकर्षित गर्न देशले चाँडै नै सार्वभौम साख मूल्याङ्कन ‘सोभरेन क्रेडिट रेटिङ’ गर्न लागेको बताउनुभयो । सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नीतिगत प्रयास थालिएको उहाँले उल्लेख गर्नुभयो । मौजुदा कर व्यवस्थालाई थप प्रगतिशील बनाउने, करका आधारहरू सुदृढ र विस्तार गर्ने, राजस्व प्रणलीलाई विद्युतीकरण गरी विनियोजन र खर्च क्षमता बढाउनेलगायतका काम सरकारले गरिरहेको उहाँको भनाइ छ ।            नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था निकै कमजोर रहेको बताउनुभयो ।  “प्रत्यक्ष वैदेशिक लगानी हाम्रो कूल गार्हस्थ्य उत्पादनको शून्य दशमलव दुई प्रतिशत मात्रै छ । हाम्रो जस्तो देशका लागि यो एकदमै न्यून सङ्ख्या हो । वैदेशिक अनुदान पनि लक्ष्यअनुसार आएको छैन”, उहाँले भन्नुभयो, “यो अवस्थाले ऋणमा निर्भरता बढाएको छ । सार्वजनिक ऋण पछिल्लो नौ वर्षमा दोब्बर भएको छ । ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा दिगो हुँदैन र यसले हाम्रो आर्थिक स्थायित्वमा ठूलो जोखिम खडा गर्छ ।” हाम्रो देश अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा ऋणमा बढ्दो निर्भरताले अरु चुनौती थप्ने उहाँले बताउनुभयो ।

बागलुङ (बलेवा):    बागलुङको वर्षे आलु उत्पादन  अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ ।  गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो ।  विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा  कमी आएको हो । बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ । कात्तिकमा लगाएर फागुन–चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन । ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउनुहुन्छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ ।  कुल एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्याङ्क छ । रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका हुन् । खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताउनुभयो । ताराखोला–२ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भए पनि यस वर्ष उत्पादनमा समस्या आएको बताउनुभयो । विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । यसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरीलगायत समस्यामा राज्यले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।  घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् ।  कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टि र असिनाको क्षतिमा न्यूनीकरण गर्न नसकेको हो ।    “असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भए पनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन”, पुन भन्नुहुन्छ, “व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।” केन्द्रको तथ्याङ्कमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ ।  बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार छ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको हो ।  त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्याङ्क छैन । यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ ।  जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताउनुभयो ।

दाङ:    लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्दै छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।    सङ्घमा सत्ता समीकरण फेरिएसँगै गत  साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ  । आचार्यलाई  एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ ।

रुकुमपश्चिम:     रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् ।       पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।      उहाँका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको नेतृत्वमा आज बिहान प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना शङ्कास्पद देखिएपछि प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको खुलेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।       “प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बुढाले मादक पदार्थ सेवन गरेर सन्तोषकी श्रीमतीलाई अपशब्द बोलेर हातपात गरेको र त्यसको प्रतिकार गर्ने क्रममा सन्तोषकी श्रीमतीले दाउराको चिर्पटले प्रहार गर्दा बुढाको मृत्यु भएको खुलेको छ”,  प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “यसमा सन्तोषको पनि संलग्नता देखिएको छ, थप अनुसन्धानबाट खुल्नेछ ।” घटनास्थलको प्रारम्भिक अनुसन्धान सकाएर शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।