काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ । त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सय निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९० निर्धारण गरिएको छ ।
पोखरास्ग ण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्याङजा जिल्ला अस्पतालको निरीक्षण गरेका छन् । आइतबार अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पिआइसियु र एनआइसियु को सेवा शुभारम्भ गर्दै उनले निरीक्षण गरेका हुन् । मन्त्री थापाले हिजो भन्दा आज अस्पतालको सेवामा विस्तार भएको जानकारी पाउँदा खुशी लागेको बताए । ‘हिजो भन्दा आज स्याङजा अस्पतालले प्रवाह गर्दै आइरहेको सेवामा विस्तार भएको रहेछ, खुशी लाग्यो । नागरिकको स्वास्थ्य उपचारमा अस्पतालको काम प्रशंसनिय छ । यसलाई अझै प्रभावकारी र विश्वसिनय बनाउँदै लैजानुहोला ।’, उनले भने । अस्पतालमा शुभारम्भ गरिएको पीआइसियु र एनआइसियु जस्तो सेवाले बालबालिकाको उपचारमा सहयोग मिल्ने विश्वास उनको छ । मन्त्री थापाले स्याङजा अस्पतालको विभिन्न विषयलाई प्रभावकारी रुपमा संचालन गर्न ३ करोड ८ लाख २६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको जानकारी गराए । सिमित स्रोतसाधनका बीच पनि प्रदेश सरकारले स्याङजा अस्पतालको स्तरोन्नतिमा कुनै कसर बाँकी नराखेको भनाई उनको छ । मन्त्री थापाले अस्पतालमा देखिएको जनशक्ति अभावको विषयलाई प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्य सचिवलाई निर्देशन समेत दिएका छन् । ‘स्याङजा अस्पतालमा देखिएको समस्यालाई समाधान गर्न सचिवज्यूलाई मेरो आग्रह छ । आवश्यक जनशक्तिको उपलब्धतामा जोड गर्नुहोला । नागरिकको स्वास्थ्य उपचारमा कुनै समस्या सिर्जना नहोस् ।’, उनले भने । पूर्वमन्त्री सिता सुन्दासले स्वास्थ्यको क्षेत्रमा सबै संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरिन् । स्याङजा जिल्लामा देखिएको स्वास्थ्य समस्यालाई सुधार गर्न सबै एक हुनुपर्ने भनाई उनको छ । गण्डकी प्रदेशका सांसद सुधिर कुमार पौडेलले स्याङजा अस्पताल पुग्ने सडक संजालको विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले अस्पतालमा काम गर्ने कर्मचारी देखि चिकित्सक सम्मका परिवारले सरकारी अस्पतालबाट नै उपचार गर्नुपर्ने र अस्पताल प्रतिको विश्वास बढाउनुपर्ने बताए । सांसद महेश भट्टराईले स्याङजा जिल्लाको स्वास्थ्य र शिक्षामा सुधार ल्याउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । स्वास्थ्य मन्त्रालयको सचिव विनोदविन्दु शर्माले गण्डकी प्रदेशको दश वर्ष अगाडिको स्वास्थ्य अवस्था र अहिलेको स्वास्थ्य अवस्थामा आमुल परिवर्तन आएको उल्लेख गरे । स्याङजा जिल्ला अस्पतालमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न आफु र मन्त्रालय लागिपर्ने उनले बताए । अस्पतालका मेसु सुशिल कुमार मरासिनीले २०५७ सालमा स्थापना भएको स्याङजा अस्पतालबाट ५६ शैयाको सेवा प्रवाह गरिरहेको जानकारी गराए । अस्पतालको ८४ जना कर्मचारी कार्यरत रहेकोमा १३ जना मात्रै स्थायी दरबन्दी कर्मचारी रहेको उल्लेख गरे । अस्पतालको भौतिक संरचना जीर्ण रहेको र यसको सुधारमा चाँसो दिन प्रदेश सरकारलाई उनको आग्रह छ । कार्यक्रममा स्याङजा जिल्लाकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाली, बालरोग विशेषज्ञ डा. विनोद गैरे लगायतले बोलेका थिए ।
सर्लाही: सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् । टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताउनुभयो । “घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशंका छ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो, “लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।” घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ ।
काठमाडौँ: काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने दाउका साथ मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो । लिगको अन्तिम खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई ३–२ सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा कीर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो । लिगमा अपराजित रहेको श्रीलङ्का तीन खेल जित्दै आठ अङ्क जोडेर शीर्षस्थानमा रह्यो । दुई जित र एक हारबाट पाँच अङ्क जोडेको कीर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अङ्कसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो । लिगमा पहिलो श्रीलङ्का र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल खेल पनि आजै हुनेछ ।
म्याग्दी: अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भन्नुभयो, “सडकखण्डमा जोखिम टरेको छैन, वर्षात् र साँझबिहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छाँै, पहिराले अवरुद्ध हुनेबित्तिकै पन्छाउने प्रयास गरे पनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएका थिए । पहिरो पन्छाएपछि आइतबार साँझदेखि बेनी–दरवाङ सडक खुलेको छ ।” मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अबदेखि यात्रुलाई सास्ती नहुनेगरी काम गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको बताउनुभयो । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको जनाइएको छ । उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौती मानिन्छ । पश्चिम म्याग्दीको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग सो सडकले जोड्छ । यसैबीच फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिने भएको छ । सांसद खमबहादुर गर्बुजाले उक्त सडकको वैकल्पिक मार्गको खोजी भइरहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोका समस्या समाधान गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । सडकमार्ग खोल्नुपूर्व नै पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिनुभएको छ । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज बिहान उहाँले सो जानकारी गराउनुभएको हो । उहाँले भन्नुभएको छ, “ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ । बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।” बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएका जनाउँदै त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको उहाँले बताउनुभएको छ । मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा राणाले बताउनुभयो । आइतबार मात्र हवाईमार्गबाट एक सय १५ र काँकडभिट्टा नाका भएर तीन सय पाँचजना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । आइतबार बिहान फर्किएका ५७ जना नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रका अधिकारीले स्वागत गरेका थिए । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छभने ढाकास्थित नेपाली दूतावासलाई निमियत सम्पर्कमा राखिएको छ । यस विषयमा परराष्ट्रमन्त्री डा राणाले पनि ढाकास्थित नेपाली राजदूतावासलाई निरन्तर सम्पर्क गरी त्यहाँका नेपालीहरूका बारेमा जानकरी लिइरहेको बताउनुभएको छ । आइतबारसम्म बङ्गलादेशबाट एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले आइतबार जानकारी दिएको छ । बङ्गलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।
काठमाडौं: प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएकोे छ ।” चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गर्नुभयो । पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध छ भन्नुभयो । उहाँले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताउनुभयो । “शान्तिप्रिय राष्ट्र नेपालको सबै देशसँग मैत्री कायम गर्ने नीति छ । हाम्रो परराष्ट्र सम्बन्ध पनि यसै आदर्शबाट अभिप्रेरित छ”, उहाँले भन्नुभयो । नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध पारस्परिक विश्वास, सहयोग, सहकार्यका साथ निरन्तर अगाडि बढिरहेको बताउनुभयो । चिनियाँ राजदूले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । दूतावासका सैनिक सहचारी लिउ गोझेङले चिनियाँ जनमुक्ति सेनाको स्थापना अगस्त १, १९२७ देखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिँदै मातृभूमिको रक्षार्थ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभएको थियो । समारोहमा सांसद, गृहसचिव एकनारायण अर्याल, बलाधिकृत रथी अशोक सिग्देल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं सैनिक सहचारी, पत्रकार, राजनीतिज्ञलगायत समाजका प्रतिष्ठित व्यक्ति सहभागी हुनुहुन्थ्यो । साथै जनमुुक्ति सेनाको इतिहास र गतिविधि झल्कने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । यसैबीच, चीनले नेपालको आर्थिक उन्नति तथा विकासलाई नै प्राथमिकता दिँदै आएको सन्दर्भमा मुलुकको पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले चीनको यो साथ र सहयोगको नेपाल सरकार तथा जनताले सधै उच्च मूल्याङ्कन गर्नुका साथै सहयोगको यो निरन्तरता भविष्यमा पनि जारी रहने विश्वास गरेका बताउनुभयो ।
चितवन: वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार दिउँसो घुससहित पक्राउ गरेको हो । आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई रु एक लाख ५० हजार नगद र रु चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिनुभयो । कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उहाँको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ ।
काठमाडौं: नेपाली महिला राष्ट्रिय भलिबल टोली मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेट रसियाले २५–१७ ले जितेको थियो भने दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा प¥यो । नेपालले काभा नेसन्स लिगको तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो । यही साउन १७ गतेदेखि राखेप कभर्डहलमा हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र माल्दिभ्स सहभागी हुँदैछन् । नेपालले रसियासँग भोलि दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

