काठमाडौं: नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो । यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । अझै ३९ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । उक्त घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री लेखकले नेपाल र अमेरिकाबीच विगत ७० वर्षदेखि रहिआएको द्विपक्षीय सम्बन्ध सौहाद्र्रपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनजस्ता विषयमा दुवै देशको साझा धारणा रहेको बताउनुभयो । नेपालको सामाजिक–आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको बताउँदै गृहमन्त्री लेखकले अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । जलवायु परिवर्तनको असरका कारण नेपाल उच्च जोखिममा रहेको र यस विषयमा नेपालको उच्च चासो र चिन्ता रहेको उल्लेख गर्दै उहाँले यस विषयमा समर्थन गर्न आग्रह गर्नुभयो । राजदूत थम्पसनले गृहमन्त्री पदमा नियुक्त हुनुभएकामा लेखकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपालको सामाजिक–आर्थिक विकासका विविध क्षेत्रमा सहयोग गर्न अमेरिका सधैँ इच्छुक रहेको उल्लेख गर्दै उहाँले नेपालको आर्थिक विकासमा एमसिसी परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत थम्पसनले एससिसी परियोजना कार्यान्वयनमा नेपाल सरकारका तर्फबाट सधैँ सहयोग रहने आफूहरूको अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो ।
मनाङ: हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले तिमाङ खोलामाथि २४ दिनपछि शुक्रबार नयाँ काठेपुल राखेपछि डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार काठेपुल निर्माण भएपछि सवारीसाधन सञ्चालनमा अएको हो । उहाँले भन्नुभयो, “तिमाङ खोलामा पानीको सतह कम हुनासाथ पर्खाल लगाएर काठेपुल निर्माण गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले यातायात सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गरेको छ । मनाङको मेरुदण्डको सडक निर्माणका काम पनि यस योजनाले नै गरिरहेको छ । जसले गर्दा पनि योजनाले काम समयमा गरेको हुनसक्छ ।” प्रजिअ लामिछानेले तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको बताउनुभयो । तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुङ्गा खसेर पुलमा क्षति पुर्याउँदा सञ्चालन आउन सकेको थिएन । यहाँ योजनाले नयाँ पुलका लागि पनि काम गर्ने जिम्मा पाइसकेको डुम्रे–बेँसीसहर–चामे योजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सदरमुकाम जानुपर्ने काममा पनि सकस भएकाले चाँडो यहाँको यातायात तथा पैदलयात्रा गर्ने वातावरण बनाउने लक्ष्य पूरा भएको छ । पर्यटकीय क्षेत्र भएकाले जोखिम मोलेर पनि केही पर्यटक आवतजावत हुने भएकाले चाँडो पुल निर्माण गर्नुपर्ने र तल्लो मनाङ तथा माथिल्लो मनाङबीचको विच्छेद भएकामा सहज बनाउन २४ दिन लागेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा मनाङमा एक सय १६ पुल बनाउने तयारी भइरहेको पनि उहाँले जनाकारी दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ । एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटी आज सुझावपत्र बुझाएको हो । सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताकोे अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू विषय रहेका छन् । यस्तै झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ । नेपाली कांग्रेससँग गत असार १७ गते भएको सहमतिपछि अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा डेढ साता अगावै एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले पार्टीका विभिन्न २८ विभागसँग सरकारले गर्नुपर्ने कामका विषयमा सुझावसहित प्रतिवेदन मागेको थियो । सोही प्रतिवेदनको आधारमा एमालेले सरकारलाई सुझावपत्र दिएको हो । उपमहासचिव ज्ञवालीका अनुसार असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको छ । उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो । एमालेले यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने कार्यक्रमहरू, सम्बन्धित मन्त्रालयमा गर्नुपर्ने नीतिगत र कानुनी सुधारहरू, हाल संसद्मा विचाराधीन सम्बद्ध मन्त्रालयसँग सम्बन्धित विधेयकको अवस्था र त्यससम्बन्धी दृष्टिकोण, निर्वाचन घोषणापत्र २०७९ मा त्यस क्षेत्रसँग सम्बन्धित पार्टीका मुख्य प्रतिबद्धताहरू, सम्बन्धित मन्त्रालयबाट हुने सेवा प्रवाह र विकास निर्माणमा देखा परेका मुख्य अवरोध र समाधानका उपाय तथा महिला, युवा, सहरी जनमत, प्रवासी नेपाली र भूमिहीन लगायतलाई आकर्षित गर्न सकिने नयाँ र सिर्जनशील कार्यक्रमलगायत विषय सुझावमा समावेश गरिएका छन् ।
मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ । ढुम्बाको कुछपतेरङ्गा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा मजदुरको शव माटोबाट बाहिर निकालिएको हो ।
काठमाडौं: नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउदै पूरा गर्यो । नेपाललको लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पुजा महतोले समान सात÷सात रनको योगदान गरे । बलिङतर्फ युएईकी कभिशा इगोडागेले तीन विकेट लिइन भने लभन्या केनीले एक विकेट लिइन । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । युएईका लागि खुसी शर्माले ३९ बल दुई चौका प्रहार गर्दै ३६ रन बनाइन । त्यस्तै कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन । रिथिका राजित छ तथा लावन्या केनी दुई रनमा अविजित रहे । नेपालको लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक÷एक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही साउन ६ गते पाकिस्तानसँग खेल्नेछ ।
काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ । फैसलाको पूर्णपाठमा भनिएको छ, “आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी कार्ड राजन राणाले गरेको वकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरुबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि हुन आएन ।” फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ । त्यस्तै, उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभई सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ । फैसलाको पूर्णपाठको भनिएको छ, “प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।” पीडितले प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख गरिएको छ । अदालतले मिसिल संलग्न सिसिटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर छ । फैसलामा भनिएको छ, “प्रतिवादीलाई पीडित बालक ठहर गरी जबर्जस्ती करणी गरेको ठहर्याइ काठमाडौँ जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।” फैसलामा पीडित आफैँले प्रतिवादीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएको, प्रतिवादीलाई ‘स्न्याप च्याट’मार्फत फोटो पठाउने गरेको, प्रतिवादी आफूले क्रिकेट खेल्न विदेश गई दुई महिनापछि फर्केर आएर भेट्नेभन्दा पीडितले मलाई सहयोग गर्नुपर्यो भनेर तुरुन्तै भेट्न चाहेको विषयलाई पनि अदालतले लामिछानेमाथि जबर्जस्ती करणीको कसुर प्रमाणित नहुने आधारका रूपमा व्याख्या गरेको छ । फैसलामा लामिछानेले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा पीडित गाडीमा गइबसेको, नगरकोट जाँदासमेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाउँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी ९सन्दीप०ले ‘बुक’ गराएको भन्ने तथ्य पुष्टि नभएको जस्ता आधारमा टेकेर अदालतले सन्दीपलाई सफाइ दिएको उल्लेख छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने र गौशाला २६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो । सो फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटन जानुभएको थियो । सो अदालतमा उक्त मुद्दाको सुनुवाइपछि लामिछानेलाई सफाइ हुने ठहर गरेको हो । गौशाला २६ माथिको बलात्कारको अभियोगमा लामिछानेविरुद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि उहाँलाई गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । उक्त मुद्दामा लामिछानेलाई अदालतले सफाइ दिएको छ ।
पोखरा: पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित होटल युनिक एण्ड भान्साघरमा भएको हत्याकाण्ड सुन र आइफोन लुट्नको लागि भएको प्रहरीले निष्कर्ष निकालेको छ । गतसालको मंसिर ५ गते नागढुङ्गास्थित होटल युनिक एण्ड भान्साघरमा तनहुँको भिमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत फेला परेकी थिईन् । विकको हत्या भएको ८ महिनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले सुन र आइफोन लुत्ने योजनासहित हत्या गरेको अभियुक्तले साबिती बयान दिएको बताएको छ । । सुकु विकको हत्या गरेको अभियोगमा प्रहरीले बागलुङको गलकोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विकलाई पक्राउ गरेको हो । ... त्यसपछि भयो हत्या तनहुँको भिमादकी ३८ वर्षिया सुकु विकको साथमा मंसिर ५ गते होटल युनिकमा गएका सञ्जयले सुकुको हत्या गरेर फरार रहेको खुल्न आएको कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए । ‘गतवर्षको मंसिर ५ गतेसँगै होटलमा गएका सञ्जयले सुकुको हत्या गरेको साबिती बयान दिएका छन्, प्रहरी उपरीक्षक थापाले भने, ‘हत्या लुटपाटको लागि भएको देखिएको छ, सञ्जयको पृष्ठभुमी अपराधिक किसिमको देखिएकाले हत्यापछि सुन र आइफोन लुटेर गएका छन् ।’ होटलमा सुकुको हत्यापछि सञ्जयले आइफोन १३ प्रो म्याक्स र सुनको २ थान टप र सिक्री लुटेर गएको देखिएको छ । त्यसपछि उक्त फोन काठमाडौंमा गएर ४० हजार ५ सय बेचेपछि अनुसन्धानको क्रममा सञ्जयले नै हत्या गरेको खुल्न आएको एसपी थापाले बताए । यो पनि पढ्नुहोस नागढुंगाको युनिक होटलमा भिमादकी सुकु मृत फेला, अनुसन्धानका लागि ५ जना नियन्त्रणमा युनिक होटलमा सुकु मृत्यु प्रकरण: अझै खुलेन रहस्य नागढुङ्गा सुकु हत्याकाण्ड: हत्या गरेर भारत छिरेका थिए सञ्जय फलोअप: सुकुको ‘आइफोन १३ प्रो म्याक्स’ बेचेपछि सञ्जयसँग ठोक्कियो अनुसन्धान ‘सुकुको हत्यापछि सञ्जयले लुटेको मोबाइल काठमाडौंमा गएपछि महोत्तरीका एक व्यक्तिलाई ४० हजार ५ सय बिक्री गर्छन, उनले भने, ‘बिक्री भएको फोन केन्द्रिय अनुसन्धान ब्यूरोले राजेश बुढाथोकीको साथबाट फेलापछि उक्त फोन सञ्जयले बिक्री गरेकाले उनले नै हत्या गरेको अनुसन्धानको खुल्न आएको हो ।’ अनुसन्धानको क्रममा प्रहरीले सुकु वि.कलाई होटल लैजाने र आइफोन बिक्री गर्ने व्यक्ति सञ्जय नै एकिन भएकाले उनको कोठा खान तलासी गर्दा हत्या गर्दाको समयमा लगाएको कपडा र मोबाइल बराम भएको एसपी थापाले बताए । सञ्जयको कोठामा बरामद भएको मोबाइलमा सुकु विकको मोबाईल स्क्रिनसट गरी राखिएको तस्वीर र विकको आइफोन समाई फोटो खिचेको तस्वीर समेत फेला परेको उनले बताए । एसपी थापाका अनुसार सञ्जयको पृष्ठभुमी आपराधिक गतिविधिको भएकाले सुन र आइफोन लुत्नको लागि सुकुको हत्या गरेको हुन सक्ने बताए । अनुसन्धानको क्रममा संकलन भएको कागजातको आधारमा सुकु वि.कको हत्या संजय विकले नै गरेको पुष्टी भएपछि जाहेरीवालाबाट जाहेरी दिएपछि जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर टोली खटाएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई चितवनको गैडाकोट नगरपालिका १२ हर्कपुरबाट गत २ गते पक्राउ गरेको हो । सञ्जय यसअघि २०७२ सालमा चोरी मुद्धामा २ वर्ष जेल सजाय भोगेर निस्केका थिए । भने उनीविरुद्ध २०७३ साल ५ महिना १ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार कसुरमा मुद्धा चलेको थियो ।
पोखरा: पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पनखोलामा पौडी खेल्न गएका २ जनाको डुबेर मृत्यु भएको छ । शुक्रबार हर्पन खोलामा पौडी खेल्न गएका १८ वर्षीय प्रकृत बुद्धचार्य र स्वयं ताम्राकारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने प्रकृत बुद्धचार्य र पोखरा–२ बस्ने १८ वर्षीय स्वयं ताम्राकार रहेका छन् । ६ जनाको समूहमा हर्पन खोलामा पौडी खेल्न गएका ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । यस्तै पोखरा महानगरपालिका–२६ गुदेतालमा एक बालकको डुबेर मृत्यु भएको छ । लमजुङको मध्य नेपाल करापुटार घर भई पोखरा–२६ बस्ने ३४ वर्षीइ बिकाश परियारको ६वर्षीय छोरा सचिन परियारको गुदेतालमा डुबेर मृत्यु भएको हो । बुवासँग माछा मारेको हेर्न गएका सचिन अचानक तालमा डुबी रहेको अवस्थामा बुवा र स्थानीयले देखेपछि उद्धार गरेर उपचारको लागि लेखनाथ सिटी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको कास्की प्रहरीले जनाएको छ ।

