पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

रुकुम पश्चिम:    रुकुम पश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो । बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ । घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

झापा:     झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।  सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो। घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रहरीले बस चालक इलाम माई नगरपालिका वडा नम्बर ८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका वडा नम्बर २ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ। बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ। 

चितवन:     चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये १३ जनाको शव भेटिएको छ । नवलपुरमा नौवटा शव भेटिएका छन् । चितवनमा तीन र नवलपरासी, बर्दघाट–सुस्तापश्चिममा एउटा शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले हिजो मात्रै जिल्लामा चारवटा शव भेटिएको जानकारी दिनुभयो । नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । हिजो बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । यस्तै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिनुभयो । जिल्लाको गैँडाकोट–७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताउनुभयो । माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गर्नुभएको थियो । माझी काठमाडौँबाट रौतहट जाने गणपति डिलक्स र परियार वीरगञ्जबाट काडमाडौँ जाँदै गरेको एन्जल डिलक्समा सवार यात्रु भएको जनाइएको छ । शनिबार गैँडाकोट–७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिनुभयो । यस्तै आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको पहिचान भएको छ । गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर–२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गर्नुभएको थियो । सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु हुनुहुन्छ । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका–४ का १७ वर्षीय राहुम मियाको भएको उहाँका बुवा इस्लम मियाले पहिचान गर्नुभएको छ । पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस–४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ । हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए ।

रुकुम पश्चिम:   गएरातीको अबिरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख रबी केसीले बताउनुभयो । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । त्यस्तै बाढीबाट अन्य सातजना घाइते भएका छन् । घाईते हुनेमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

काठमाडौं:     नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी गएरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो । मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः रु एक सय ६८ रुपैयाँ ५० पैसा, एक सय ७० र एक सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ र एक सय ६० कायम भएको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल रहेका छन् । निगम सञ्चालक समितिको आजको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ४८ पैसा र डिजेलमा दुई रुपैयाँ ८३ पैसाले बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिपो(कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलिम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

काठमाडौं:     सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि उहाँले बताउनुभयो । साउन महिनामा विशेषगरी हरियो कपडा र चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

तनहुँ:   १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा २ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भिमाद नगरपालिका–५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।    तनहुँ प्रहरीका अनुसार उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।      सरोकारावालाहरुबीच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा आज (सोमबार) भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका हुन् ।    मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षती व्यहोर्नुपरेकाले सबै संवेदनशिल हुन जरुरी रहेको बताए ।     मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि आग्रह गरे ।    स्थानीय सरकार, संघ सरकारसँगका कार्यालयहरुसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारलेपनि विपद् व्यवस्थापनका कार्यहरु गर्दै आएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।    विपद्का कारण क्षति व्यहोर्नुपरेका, ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयहरुबाट वितरण भइरहेको र सहज प्रक्रियाबाट तत्कालै पितरण गर्न निर्देशन दिए ।    विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचार माध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले संचारक्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन तथा प्रशारण गर्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे । मनसुन सुरु भएपश्चात गण्डकी प्रदेशभित्र बाढी, पहिरो लगायत विपद्का कारण भएको क्षति, राहत वितरण, उद्धार, उपचार, पुर्नस्थापना लगायतका विषयमा सरोकारवालाहरुबीच छलफल गरिएको थियो ।   यस्ता छन् निर्णयहरु १. मनसुनजन्य विपदबाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे बैठकमा सरोकारवालाहरुबीच जानकारी एवम् छलफल गरियो।   २. मनसुनजन्य विपदबाट थप क्षति हुन नदिन सम्भावित जोखिममा रहेका बासिन्दालाई पूर्व जानकारी गराउने, सम्बन्धित निकायहरुबाट सचेतनामूलक सन्देशको प्रकाशन तथा प्रसारण गर्ने।   ३. विपद्को अवस्थामा आपतकालीन खोज, उद्धार, राहत लगायतका कार्यलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारका सबै मन्त्रालयरआयोगरनिकाय र स्थानीय तहमा रहेका विपद् उद्धारमा प्रयोग गर्न सकिने सवारी साधन एवम् एम्बुलेन्सलाई समन्वयत्मक रुपमा परिचालन गर्ने र यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्बन्धित सबै निकायमा अनुरोध गर्ने।    ४. मनसुनजन्य विपद्को सम्भावित अवधिभर खानेपानीरसिँचाईरपूर्वाधार विकासरस्वास्थ्य आदि विषयगत प्रदेश सरकार मातहतका मन्त्रालयरनिर्देशनालयरनिकाय तथा जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवम् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति बिना कार्यक्षेत्र नछोड्न लेखी पठाउने।    ५. विपद्को सम्भावित क्षेत्रको भौगोलिक अध्ययनको लागि भूगर्वविद् सहितको टोलीलाई खटाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मा लेखी पठाउने। यससँग सम्बन्धित टोली परिचालनको समयमा सडक, खानेपानी तथा सरसफाई हेर्ने लगायतका प्रदेशरजिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्ने।   ६. मनसुनजन्य विपद्को कारण सडक पूर्वाधार, खानेपानी तथा सिंचाईका संरचनामा पुगेको क्षति र मर्मतसंभार सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले तयार गरी आवश्यकतानुसार मर्मतसंभार एवम् पुनर्निर्माण गर्ने।   ७. मनसुनजन्य विपदबाट भएकोरहुने सक्ने क्षतिलाई तत्काल न्यूनीकरण गर्न आपतकालीन रुपमा प्रयोग गर्नुपर्ने पाईप, तारजाली तथा अन्य सार्वजनिक निर्माण लगायतको विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यहरुको खरिद प्रक्रिया यथासम्भव छिटो छरितोरुपमा सम्पन्न गर्न तयारी अवस्थामा रहने। त्यस्ता तार, जाली तथा पाइप वा अन्य सामग्री वितरण गर्दा सम्बन्धित स्थानीय तह वा वडाको सिफारिस तथा विपद्को फोटो अनिवार्य समावेश गरेर मात्र वितरण गर्न कार्यालयलाई निर्देशन दिने।  

काठमाडौं:     नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।  त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए । साथै पार्टी केन्द्रिय कार्यालय च्यासला पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।