काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद रु.२५ लाख बराबरको अनुदान प्रदान गर्नुभएको हो । नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार वडा स्तरमा सुन्तलाको पकेट कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायीकरण र उत्पादन वृद्धिमा महानगरले जोड दिएको बताउनुभयो । महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रमुख मनोहर कडरियाले सुन्तला कृषकहरूलाई महानगरपालिकाले विगत पाँच वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । ताकिएको मापदण्ड अनुसार किसानबाट प्राप्त निवेदनका आधारमा प्राविधिक टोलीको स्थलगत अनुगमन पश्चात् योग्य कृषकहरूलाई अनुदान प्रदान गरिएको कडरियाले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपाटन, फेदीपाटन लगायत स्थानका दुई सय ८० किसानलाई अनुदान प्रदान गरिएको छ । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम एक सय ५० का दरले १० हजार ६ सय ५२ बोटका लागि अनुदान वितरण गरेको हो । अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्राङ्गारिक मल अनिवार्य राख्न रु.५०, बोडो पेस्ट गरेबापत रु।४०, बोडो मिक्स्चर स्प्रेबापत रु.३० र बोटको वरपर बाक्लो छापो लगाएबापत रु।३० गरी एक सय ५० प्रदान गरिएको हो । सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१/०८२ मा महानगरपालिकाले ७ं प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने छ ।
पोखरा: पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु.६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो । प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको क्लष्टरमा खेती, वडा स्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदात र साझेदारी लगायतका कार्यक्रमहरू मार्फत महानगरको कृषि प्रवर्द्धन गरिएको उहाँले बताउनुभयो । कृषि उपजको बजारीकरणका लागि समेत महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको उहाँले बताउनुभयो । निर्वाहमुखी कृषिलाई बिस्तारै व्यवसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको उल्लेख गर्दै उहाँले यसप्रति कृषकहरूको आकर्षण समेत बढिरहेको नगरप्रमुख आचार्यले बताउनुभयो । कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोध बहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथैमा रहेको बताउनुभयो । यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले कृषकहरूलाई पेसा प्रति आकर्षण बढाउने उहाँले बताउनुभयो । यस वर्ष पोखरा महानगरपालिका वडा नं.२६ मा ४३९ रोपनी र वडा नं।२७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । सोमबार वडा नं.२६ का १२३ जना कृषकहरूलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ जना कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने, सूचिकृत व्यवसायीक कृषकहरूलाई किसान परिचय पत्र समेत प्रदान गरिएको छ ।
पोखरा: कास्की जिल्ला अदालतले विभिन्न मुद्धामा फैसला सुनाएको १ सय २९ जना फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत असार महिनाभरी विभिन्न मुद्धामा फैसला भएका ति फरार प्रतिवादीहरुलाई पक्राउ फैसला अनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ भने जरिवाना असुल गर्ने प्रतिवादीहरुलाई अदालत पठाएको छ । पक्राउ भएकामध्येका केही प्रतिवादीहरुलाई ९ वर्ष ७ महिना १० दिन कैद सजाय र नगद रु २ करोड ९० लाख ३ हजार ७ सय ८३ जरिवाना स्वरुप असुल गर्न अदालतले फैसला सुनाएको थियो । कुन मुद्धामा कति जना फरार थिए ? १. चेक अनादार – ३३ जना २. बैंकिङ कसूर – ६ जना ३. वन पैदावार (काठ) को अनियमित निकासी – २ जना ४. घरेलु हिंसा – १ जना ५. बिगो – ५ जना ६. सवारी ज्यान – १ जना ७. नकवजनी चोरी – ६ जना ८. अभद्र व्यवहार – ४ जना ९. लागू औषध – ५ जना १०. साधारण चोरी – २ जना ११. केही सार्वजनिक अपराध – १३ जना १२. जुवातास – ९ जना १३. ज्यान मार्ने उद्योग – १ जना १४. पशुपंक्षी सम्बन्धी कसूर – ६ जना १५. सम्बन्ध विच्छेद – १८ जना १६. नाता कायम – ५ जना १७. जालसाजी – ५ जना १८. झुट्टा बखपत्र गरेको – २ जना १९. कुटपिट – १ जना २०. लेनदेन – ४ जना
सङ्खुवासभा: सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
काठमाडौं: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो । मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले राससलाई बताउनुभयो । भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री डा।सुव्रमन्यम जयशङ्करले हार्दिक बधाई ज्ञापन गर्नुहुँदै उहाँको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ‘भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु’ भन्नुभएको छ । यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा. राणालाई मङ्गलबार एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर उहाँसँग काम गर्न आफू तयार रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।
चितवन: गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलालाई बधाई तथा शुभकामना दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्राथमिकता दिन सरकार कटिवद्ध रहेको बताउनुभयो । उहाँले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन पनि लाग्ने उल्लेख गर्नुभयो । त्यसअवसरमा जिल्ला कमिटिका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

