पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

तनहुँ:   तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।  खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो ।  असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो ।  उहाँका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो । “संस्थाका चार र बाहिरबाट नौ जना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्”, व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ ।”  डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिनुभयो ।  नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उहाँले बताउनुभयो । लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।  सानाठुला गरी चार आयोजनाबाट पानी सङ्कलन गरी व्यास(१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो । खरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर सङ्कलन हुँदै आएको थियो । अहिले पानी सङ्कलनमा समस्या भएपछि वितरण बन्द भएको हो”, उहाँले भन्नुभयो ।  यसअघि बिहान र बेलुका दुई(दुई घण्टा पानी वितरण हुँदै आएकोमा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताउनुभयो । “खिरखाँदी मुहानको पानी नियमित सङ्कलन नहुँदासम्म आपूर्तिमा सहज हुने देखिएको छैन”, उहाँले भन्नुभयो ।  उक्त मुहानको पानी पूर्णरुपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ ।

काठमाडौं:     ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ । बङ्गलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो । कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः+ 880180691013 र + 8801745407958 मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । दूतावासले आज सूचना जारी गर्दै बङ्गलादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीको शान्ति, सुरक्षा सनिश्चित गर्न बङ्गलादेश सरकारका निकाय एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ ।

काठमाडौं:     गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ । रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहनुभएको छ । आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ । बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गर्नुभएको हो ।   प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गर्नुभएको छ । उहाँले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गर्नुभएको छ ।  “विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख  गर्नुभएको छ । गत असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको होे ।

पोखरा:   अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परि देशभर गत जेठ २८ गतेदेखि साउन १ गतेसम्म कुल १ सय २० जनाले ज्यान गुमाएका छन् ।   प्रहरी हेडक्वाटरको तथ्याङ्क अनुसार विपद्मा परि काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी कुल १ सय २० जनाको मृत्यु भएको हो ।    यस्तै विपद्मा परी १ सय ३५ जना घाइते भएका छन् ।   प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा २९ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ३५ जना घाइते भएका छन् ।    घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।   बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।    बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।   ५ सय ८१ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ६ सय ५२ घर परिवार विस्थापित भएका छन् ।   साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत प्रहरीले गरिरहेको छ ।

काठमाडौं:    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ । दुई वर्षअघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।

काठमाडौं:     मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

पोखरा:    पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले मंगलबार दिउँसो फेला पारेको छ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिंखडा पौडी खेल्ने क्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले डिप ड्राइभ गरी झण्डै २० फिट गहिराइबाट उनको शव बाहिर निकालेको हो ।  उनको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

काठमाडौं:    महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता डा। पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयो । महान्यायाधिवक्ता डा. पोखरेलले प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएपछि पदबाट राजीनामा दिनुभएको हो । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि उहाँले  पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।