पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:    नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस कमिटिले पोखरामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ ।    पोखरा महानगरपालिका–२ भिमकालिपाटनस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि नेविसंघले  सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग र गिरीबन्धु टि स्टेट प्रकरण छानबिनको माग गर्दै पुत्ला दहन गरेको हो ।         

गण्डकी:     गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब १३ अर्बको स्रोत सुनिश्चित गरेको छ ।  प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि आर्थिक मामिला मन्त्रालयबाट १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको हो ।  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा प्रस्ताव गरेका एक सय २७ सडक, ३० पक्की पुल र नौ झोलुङ्गे पुल आयोजना बहुवर्षीयका लागि छनोटमा परेका पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले जानकारी दिए। उनका अनुसार प्रदेशका सडक आयोजनामा रु आठ अर्ब ६८ करोड २१ लाख ९४ हजार र पाँचवटा संघीय समपूरक सडकका लागि दुई अर्ब १५ करोड ९६ लाखको स्रोत सुनिश्चित गरिएको हो ।  तीसवटा सडक पुलका लागि रु एक अर्ब ८८ करोड र चारवटा झोलुङ्गे पुलका लागि एक करोड ७१ लाख बजेटको स्रोत सुनिश्चित भएको निमित्त निर्देशक डा बानियाँले बताए। नौ झोलुङ्गे पुलमध्ये पाँच संघीय समपूरकतर्फका रहेका छन् ।  ‘एक सय ६६ नयाँ आयोजनालाई यही वर्ष बहुवर्षीय ठेक्का लगाउने लक्ष्य छ’, उनले भने, ‘अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि ११ वटै जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएका छन् ।’ १२ अर्ब पूँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना वहुबर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । बढीमा  २५ करोड लागतसम्मका आयोजना बहुवर्षीय ठेक्काका लागि स्वीकृत गरिएको हो । अधिकांश तीन वर्षका र केही दुई वर्षका आयोजना बहुवर्षीय ठेक्कामा लगाएको छ ।  चालु आवमा टुक्रे योजना कटौती गरेको मन्त्रालयले बहुवर्षीय आयोजना छनोट प्रक्रियालाई पनि थप व्यवस्थित बनाएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए। संघीय सरकारले पठाएका टुक्रे प्रकृतिका योजनासमेत फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला आयोजनाका लागि व्यवस्थापन गरिएको उनको भनाइ छ ।  संघीय सरकारले चालु आवमा रु ३० लाखभन्दा कम बजेटका एक सय ७४  आयोजनाका लागि रु १६ करोड २५ लाख विनियोजन गरेको थियो । सो बजेट दायित्व सिर्जना भएका संघीय सशर्तका आठवटा सडक आयोजनामा रकामान्तरण गरिएको छ । आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा सडकतर्फ न्यूनतम रु ५० लाखभन्दा बढी बजेटका योजना बनाउने प्रदेश सरकारको तयारी छ ।  बहुवर्षीयमा छानिएका एक सय ६६ पूर्वाधार आयोजनामध्ये म्याग्दीमा आठ सडक र दुई पक्की पुल रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिए । ती आयोजनाका लागि  एक अर्ब २० करोड बजेट सुनिश्चित भएको छ । बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चित भएका सात नयाँ आयोजनालाई कार्यान्वयनमा लगिएको प्रमुख पौडेलले बताए ।  प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र, एक सडक’, स्थानीय तहका केन्द्र जोड्ने सडक, रणनीतिक महत्वका सडक र प्रदेश गौरवका सडक आयोजनालाई अगाडि बढाएको छ । ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको कुल दुई सय ७९ किमी सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ ।  प्रदेश निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने लक्ष्यसहित सरकारले आव २०७५/७६ को नीति तथा बजेटमा उक्त कार्यक्रमलाई समावेश गरेको थियो । त्यसयता हरेक आवको बजेटमा उक्त कार्यक्रमले प्राथमिकता पाउँदै आएको छ ।  सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिसका आधारमा सडक आयोजना छनोट गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेश गौरवको आयोजनाका रूपमा स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणलाई पनि गति दिएको छ । उक्त कार्यक्रमअन्तर्गत ११ सडक आयोजनाको कुल ८९ किमी सडकको स्तरोन्नति भइरहेको पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा बानियाँले जानकारी दिए।  प्रदेश सरकारले प्रदेशका ८५ वटै स्थानीय तहका केन्द्रलाई सडक सञ्जालले जोड्ने लक्ष्य लिएको छ । मन्त्रालयले अहिलेसम्म सडक नपुगेको गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिका केन्द्रमा सडक पुर्‍याउन विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गरिसकेको छ । मार्ग खोलिएका सडकको स्तरोन्नति र कालोपत्र गर्ने योजनालाई अगाडि बढाइएको छ ।  प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजनाको कुल २७९.७१ किमी सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गइसकेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमअन्तर्गत ११ सडक आयोजनाको कुल ८९.३७ किमी सडकको स्तरोन्नति भइरहेको निमित्त निर्देशक डा बानियाँले जानकारी दिए।  ‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाको १२२.५५ किमी सडक स्तरोन्नति गर्ने काम अघि बढेको उनको भनाइ छ । गण्डकीमा गत आवसम्ममा ६७४.०६ किमी पक्की र ५६६.८५ कच्ची सडक बनेको मन्त्रालयले जनाएको छ ।  प्रदेश सरकारको लगानीमा पछिल्लो ६ वर्षमा ८५ पक्की पुल बनेका छन् भने ५३ पुल निर्माणाधीन छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा रहेका मन्त्रालयले जनाएको छ । पुल निर्माणले प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालन गर्न सहज हुनेछ । पुलका लागि चालु आवमा रु ३४ करोड १५ लाख विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।  सडकको पहुँच पुगे पनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएको थियो । पुल निर्माणले गति लिन थालेपछि प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालन गर्न  सहज भएको स्थानीयवासी बताउँछन् ।  चालु आवमा कास्कीमा तीन, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँच/पाँचवटा, गोरखामा चार, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई/दुईवटा र मनाङमा एउटा पुल निर्माणाधीन छन् । यस वर्ष बहुवर्षीयमा गएकासहित कुल ५३ पुल निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार निर्देशनालयले जनाएको छ । 

काठमाडौं:     सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको विषयमा छलफल सुरु भएको छ। बिहीबार कार्यदलको बैठक बसेको हो। बैठकले कार्यादेशको टुङ्गो लगाउने अपेक्षा गरिएको छ। यसअघि पटकपटक बसेको कार्यदलको बैठक निष्कर्षबिहीन बनेको थियो।  कार्यदलका संयोजक एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बैठक बोलाउनुभएको हो।  कार्यदल सदस्यमा नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्की र जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ। 

मुगु:   बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।  आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग १ ज ८२४९ नम्बरको जीप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ । घाइते चालक तथा जीप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जी प सडकबाट २५ मिटर तल खसेको थियो ।

मुगु:    मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक कर्मचारी घाइते भएका छन् ।  यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् ।  जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए । 

काठमाडौं:    बलात्कारको मुद्दामा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इनटरपोलबाट रेड नोटिस जारी भएका एक नेपाली रोमानियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिकाका २४ वर्षीय गौरव नेपाली रहेका छन् । नेसनल सेन्ट्रल ब्यूरो रोमानियाको सहयोगमा उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको हो । जबरजस्ती करणी मुद्दामा उनी फरार थिए । नेपाली फरार भएर विदेश पुगेको पाएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।

पोखरा:    नेपाली कांग्रेसले सर्वोच्च अदालतले मुद्दा किनारा नलगाएसम्म गण्डकी प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ।  वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत लिँदा सभामुख कृष्ण धितालले बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेस सर्वोच्च अदालत गएको थियो। ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० मत आए पनि सभामुख धितालले मुख्यमन्त्रीले बहुमत पाएको घोषणा गरेका थिए। त्यसअघि प्रदेश सभामा बहुमत ल्याउन ३१ सांसद चाहिने अभ्यास थियो। सर्वोच्चमा दायर रिटबारे निरन्तर सुनुवाइ भइरहेको र जेठ १८ गते अन्तिम सुनुवाइ हुने भएकोले त्यसअघि प्रदेश सभा बैठकमा सहभागी नहुने कांग्रेसले निर्णय गरेको हो। ‘अदालत अन्तिम फैसला आउन बाँकी रहेको र २०८१ वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिएको समयमा अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ सरकारले मिति २०८१ जेठ ११ गते अपराह्न ३ बजे प्रदेश सभा बैठक आह्वान गरेर आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भिर असहमति रहेको छ,’ कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा कांग्रेसको सहभागी नहुने पनि प्रमुख सचेतक न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।  ‘जेठ ११ गते अपराह्न ३ बजेका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सहभागी नहुने कांग्रेस संसदीय दलको निर्णय छ। अदालतको आदेश विपरीत कार्य गरे गराइएमा कांग्रेस संसदीय दललाई मान्य नहुने व्यहोरा अवगत गराउँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार र आदेश उल्लंघन गर्ने पक्ष नै हुनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।    

पोखरा:     पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकद्वारा आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्।  सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले होटल सरोवरमा उपलब्ध आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।  साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।  बैंकले नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटिएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ। 

काठमाडौं:       हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उहाँको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ । बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित उहाँका विदेशमन्त्री र अन्य छ जनाको मृत्यु भएको थियो । उहाँको अन्तिम विश्रामस्थल उत्तरपूर्वी शहर मशादमा रहेको एक महत्त्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो । इरानी सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको तस्बिरमा मशादका अधिकारीहरू अन्त्येष्टिको अन्तिम दिनको तयारी गरिरहेको देख्न सकिन्छ । अन्त्येष्टिको तयारी भइरहँदा इरानको दोस्रो ठूलो सहर मशादस्थित इमाम रेजा दरगाहको वरिपरि राईसी, कालो झण्डा र शिया प्रतीकहरूको ठूलो फोटोहरू राखिएको छ । राजधानी तेहरानमा बुधबार दिवङ्गत राष्ट्रपति रायसीलाई अन्तिम श्रद्धाञ्जलि दिन ठूलो भीड जम्मा भएको थियो । इरानी अधिकारी र सञ्चारमाध्यमले रायसीलाई ‘शहीद’ को संज्ञा दिएका छन् । बुधबार तेहरानमा भएको श्रद्धाञ्जलि सभामा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले दुर्घटनामा ज्यान गुमाएका राष्ट्रपति रायसी र अन्य आठ जनाको कफिनअगाडि घुँडा टेकेर उनीहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका थिए । रासस/एएफपी