पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

लुम्बिनी:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन÷अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ ।” नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । “बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत् यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ ।” उहाँले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताउनुभयो । “पूर्वीय दर्शन र चिन्तन परम्परामा बुद्धको विचार र त्यसको प्रभाव निकै महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मानव सभ्यता र संस्कृतिको विकासमा, ज्ञान निर्माण (आर्जन) र प्रज्ञाको अभ्युदयमा बुद्धको मार्गदर्शन अत्यन्तै प्रभावशाली छ । बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको छ ।” मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्त्वपूर्ण अङ्ग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको छ ।” बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत् उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उहाँले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभयो । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गमस्थल भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको केन्द्र बनाउन ठोस योजना अगाडि बढाएको छ ।” उहाँले बौद्ध विश्वविद्यालयको समग्र ध्यान बौद्धदर्शनको प्रवर्द्धनतर्फ केन्द्रित गर्न निर्देशन दिनुभयो । नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिटै आयोजना गरिने व्यहोरासमेत जानकारी दिनुभयो ।

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले २५६८ औँ बुद्धजयन्ती र किराँत जातीको सांस्कृतिक पर्व उभौलीको शुभकामना व्यक्त गर्नुभएको छ ।   एक शुभकामना सन्देश जारी गर्दै विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।     प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘विश्वका महान् पुरुष गौतम बुद्व हाम्रो धर्तीले जन्माएकामा हामीलाई गर्व छ । बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेछ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ । बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै भातृत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।’   उहाँले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै बुद्घ दर्शनलाई जीवन दर्शन र मानव सभ्यताका रुपमा बुझ्न हामी सबैले जरुरी उल्लेख गर्नुभयो ।   उभौली जस्ता मौलिक सांस्कृतिक चाडपर्वहरूले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोगसमेत गर्ने उहाँको भनाई छ ।    बुद्धजयन्ती र उभौलीको यो दिनमा भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिन सकियोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।  

काठमाडौं:     प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको छ ।

काठमाडौं:     शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।

लेखनाथ:    पोखरा महानगरपालिका ३० मोहोरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण कार्यले गति लिन सकेको छैन ।   ठेक्का सम्झौता अनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशतमात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माण कार्य ‘यम–धुलिखेल–प्याराडाइज जेभी’ले गरिरहेको छ ।   वि.सं.२०७८ असारमा २८ मा ३ वर्षमा निर्माण सक्ने सम्झौता भए पनि निर्माण कार्यले गति लिन नसकेको प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि निर्माण कम्पनीले सोचे जसरी काम देखाउन सकेको जनाए ।   गत आर्थिक वर्षसम्म भवन निर्माणमा १२ करोड ३८ लाख खर्च भइसकेको छ । चालु आवमा थप ५ करोड विनियोजन गरिएको थियो, जसमध्ये हालसम्म ४ करोड बराबरको काम पनि नभएको निमित्त प्रमुख तिवारीले जानकारी दिए । ‘अब जति तीव्र गतिमा काम गरे पनि आगामी असारभित्र १ करोडको काम हुने अवस्था छैन । निर्माण कम्पनीले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा काममा ढिलासुस्ती भइरहेको हो’, उनी भन्छन् । कम्पनीले ३० करोड २० लाखको लागतमा ४ तलाका ३ वटा ‘ब्लक’ निर्माणको ठेक्का पाएको छ । सरकारले प्रदेशकै पहिलो संक्रामक तथा सरुवा रोग अस्पताल भएकाले भवन निर्माणमा बजेट अभाव हुन नदिने बताउँदै आएको छ । निर्माण कम्पनीका प्राविधिक वीरेन्द्र जिसीले भने आगामी असारभित्र विनियोजित बजेट अनुसार काम हुने बताए ।   उनले यसरी नै बजेट विनियोजन गर्दा भवनले पूर्णता पाउन अझै ३ वर्षजति लाग्ने भन्दै बजेट र भुक्तानी प्रक्रियालाई सहज बनाउन आग्रह गरे ।   सुरुको वर्ष जग्गा व्यवस्थापन, पर्खाल र जग निर्माणले समय बढी लिएको उनको दाबी छ ।   “आगामी वर्षदेखि बजेट बढाएमा आफूहरू समयमै काम गर्न तयार छौँ । अहिले पनि ढलानलगायतका काम भइरहेका छन् ।” २० वर्षअघि सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल चार वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।   प्रदेश सरकारले सोही अस्पताललाई सङ्क्रामक तथा सरुवा रोग अस्पतालको रूपमा विकास गरिरहेको छ ।   १५ शय्याबाट सुरु गरिएको उक्त अस्पतालको क्षमता हाल ५० शय्याको छ । अस्पतालले बहिरङ्ग र अन्तरङ्ग सेवा दिँदै आएको छ ।   एक सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल हाल पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ ।    बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति निर्माण थालेको हो ।   गुरुङ लामा बौद्ध एसोसिएसनका अध्यक्ष खेन रिन्पोचे शिर लामाले उक्त मूर्तिको शिलान्यास गरे ।    उक्त ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित २९ फिट अग्लो बुद्धको मूर्ति बनाउन लागिएको समाजका अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।    गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारप्रसार हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको तर्क छ । ‘यसको निर्माणपचि नगरको प्रचारप्रसार र धार्मिक गतिविधि बढेने विश्वास लिएका छौ, उनले भने, ‘त्यसैले गौतम बुद्ध सबैको साझा भएकाले उहाँको मुर्ति निर्माण गर्न लागेका हौं ।’ अध्यक्ष गुरुङका अनुसार बुद्ध मूर्ति निर्माणका लागि करिब १ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । उनले उक्त मुर्ति चन्दा संकलन गरेर निर्माण गरिने जानकारी दिए ।    एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।    साे  ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको संरक्षणका साथै थप प्रवर्द्धन हुने सुनाए ।    प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ ।    पृथ्वीराजमार्गको लेखनाथ तथा म्याग्देबाट देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्ति निर्माण गरिनेछ । एक्लेडाँडाबाट शुक्लागण्डकी–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजना समेत समेटिएको छ ।   

काठमाडौं:   अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।    बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।    भिषा नपाएसँगै लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन् ।    लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।  

लेखनाथ:     पोखरा महानगरपालिका २६ ले संचालन गरेको ब्युटिसियनसम्बन्धि तालिम सम्पन्न भएको छ ।    तालिमको समापन गर्दै पोखरा महानगरपालिका २६ का वडाध्यक्ष नरेन्द्र थापाले सीप र ज्ञानलाई व्यवसायीक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे ।    वडाध्यक्ष थापाले महिला दिदीबहिनीहरुकै माग अनुसार सौन्दर्य सम्बन्धि तालिम प्रदान गरिएको स्पष्ट पार्दै तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे ।    अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि सिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै साबुन बनाउने तालिम समापनको संघारमा रहेको बताए ।    पोखरा महानगरपालिका २६ का वडा महिला सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, वडा सचिव लिलामणि भण्डारी, वडाका सूचना अधिकारी नवराज सापकोटा, कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगाना, प्रशिक्षक रुपकला श्रेष्ठ, प्रशिक्षार्थी दिब्या बराल र मुना सापकोटाले आफ्ना धारणा राखेका थिए ।    ४५ दिनसम्म संचालन भएको तालिममा विभिन्न महिला तथा आमा समूहका ४५ जनाको सहभागिता रहेको थियो । तालिम रुपकला व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो ।   

पोखरा:   कास्की प्रहरीले मोटरसाइकलको स्वरुप परिवर्तन गरी (मोडिफाई) ध्वनी आतंक मच्चाउँदै हिडेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मुस्ताङ स्थायी घर भई हाल पोखरा महानगरपालिका ३ नदीपुर बस्ने २१ वर्षीय मनिष सिस्तेल रहेका छन् ।   उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मोडिफाई गरिएको बा १० प ५२२८ नम्बरको क्रसफायर मोटारसाइकलसहित मंगलबार बेलुकी साढे ६ बजे गैह्रापाटनबाट पक्राउ गरिएको हो ।   उनले गैह्रापाटन क्षेत्रमा क्रसफायरलाई मोडिफाई गरी चर्काे आवाज आउने गरी पड्काउँदै हिडेको भन्ने कास्की प्रहरीलाई प्राप्त सूचनाको आधारमा खोजतलास गरिएको थियो ।    त्यसपछि उनलाई विशेष टोलीले पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार मोटरसाइकलसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।   कास्की प्रहरीका प्रमुख मोहन कुमार थापाले यसअघि नै सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसेको छ ।    पोखरामा स्वरुप परिवर्तन गरी अत्याधिक मात्रामा ध्वनी प्रदुषण गरी सवारी साधन चलाउने गरेको जनगुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अभियानकै रुपमा सरोकारवालाहरुलाई (वर्कसप संचालक, रिकन्डिसन हाउस संचालक) लिएर स्टिकर टाँस्ने तथा सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।   सो समयमा एसपी मोहन कुमार थापाले मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन सम्म थुन्नेसमेत बताएका थिए ।