पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:    कास्कीको मादी गाउँपालिकामा पालिकास्तरीय बाल सञ्जालका पदाधिकारी केन्द्रित बालअधिकारसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बालबालिकासँग सम्बन्धित अनेकौ चुनौती रहेतापनि पालिकाले आगामी आर्थिक वर्षको बजेट योजनाको क्रममा रहेकाले बालबालिकाको क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गर्ने बताए ।  उनले पालिका सदा नमूना बालसंजालको रूपमा पहिचान बनाउन तत्पर रहेकाले बालबालिकासँग सम्बन्धित समस्या तथा आवश्यकताबारे समयमै पालिकामा जानकारी गराउनुसमेत अनुरोध गरे ।  मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले संजालका पदाधिकारी र अन्य बालबालिकालाई आफ्नो पहिचान, अनुशासन र इमान्दारितालाई पहिचान गरेर भविष्यको असल नेतृत्वकर्ता बन्न सुझाव दिइन् । मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले बाल संजालको सफल कार्यकालको शुभकामना दिदैँ अधिकारसँगै कर्तव्यको पालनामा जोड दिन सुझाव दिए । यही ज्येष्ठ १५ र १६ गते मादी–३, याङ्जाकोटमा सञ्चालित उक्त अभिमुखीकरणमा राष्ट्रिय बालअधिकार परिषद्, गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले भने सहजीकरण गरेका थिए । मादी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गुड नेवर्स इन्टरनेसनल नेपाल र नौलो घुम्ती नेपालको साझेदारी रहेको थियो । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा पालिकाका १२ वटै वडाका १३ विद्यालयका २६ बालबालिका तथा बालक्लबका संरक्षक शिक्षकको सहभागिता रहेको थियो । बालबालिकासम्बन्धी नियमावली २०७८ को परिच्छेद ०२ बमोजिम गठित १३ सदस्यीय पालिकास्तरीय बाल संजालका पदाधिकारीको काम, कर्तव्य र अधिकारको विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा धनुवास कालिका मा.वि. मादी ७ का बाल संजालका अध्यक्ष रेनिशाकुमारी शाहीले अभिमुखीकरण लाभदायक रहेको बताइन् । कार्यक्रमको सञ्चालन पालिकाका बाल कल्याण अधिकारी कर्णकुमारी गुरुङले गरेकी थिइन् ।   

पोखरा:   पोखरामा स्वर्णिम एफसीले आयोजना गर्ने पहिलो संस्करणको भेट्रान्स फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । भोलिदेखि (शुक्रबार) ३५ वर्ष माथि उमेर समूहलाई लक्षित गरेर सुरु हुने फुटसल प्रतियोगिताको तयारी करिब पूरा भएको क्लबका कोषाध्यक्ष विकास गुरुङले जानकारी दिए ।   उनका अनुसार अहिलेसम्म कुल १६ टिमको दर्ता भइसकेको छ ।   उनले सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नगद रु ४ हजार ५ सय दर्ता शुल्क निर्धारण गरिएको जानकारी दिए ।   अमरसिंह स्पोर्टस् सेन्टरमा १८ र १९ गते गरि दुई दिन सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई नगद रु ६० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने कोषाध्यक्ष गुरुङले बताए ।    यस्तै उपविजेता टिमले नगद रु ३० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।   

पोखरा:     गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले आर्थिक अनुशासन कायम गर्नका लागि सबै तह उत्तिकै जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिनुभयो । महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक जयराम घिमिरेले प्रतिवेदन प्रदेश प्रमुखलाई पेश गर्नुभएको हो ।   प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताउनुभयो । उहाँले गण्डकी प्रदेशसभाले यस प्रतिवेदनमाथि छलफल गर्ने पनि जनाउनुभयो । उहाँले बेरुजु रकमलाई जति कम बनाउन सकिन्छ उति नै आर्थिक समृद्धि हाँसिल हुने उल्लेख गर्नुभयो ।   बेरुजु फछ्र्योटका सन्दर्भमा प्रतिवेदनले उल्लेख गरेका विषयवस्तुलाई कार्ययोजनासहित कार्यान्वयनको खाँचो पनि उहाँले औंल्याउनुभयो ।   नायव महालेखापरीक्षक घिमिरेले महालेखाले क्षेत्रगत रुपमा औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गरेको खण्डमा बेरुजु न्यूनिकरण हुने बताउनुभयो । उहाँले आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फछ्र्योटमा गम्भिर बन्नुुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव सेवन्त राज दाहाल, महालेखा परीक्षकको कार्यालयका निर्देशक बुद्धिराज बसेल लगायत सहभागी हुनुहुन्थ्यो ।

काठमाडौं:     साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको भिडिओ बनाई ब्ल्याकमेलिङ गर्ने गरेको आरोप लागेको छ । अश्लिल भिडिओ बनाएपछि यौनसम्पर्कका लागि बार्गेनिङ गर्ने र नमाने भिडिओ आफन्तलाई पठाइदिन्छु भन्दै आपराधिक लाभको कसुर गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका किसानलाई आपराधिक लाभको कसुरमा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

काठमाडौं:     संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।  बिहीबार सिंहरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको हो । समिति सभापति रामहरि खतिवडाले विधेयक पारित भएको घोषणा गर्दै सबैको सकारात्मक छलफलका कारण विधेयक पारित भएको बताए। छलफल र बहसबाट सहमति कायम गरि अघि बढ्ने परम्परालाई निरन्तरता दिँदै अन्य विधेयकहरू पनि सहज रुपमा पारित हुने उनले बताए। बैठकमा सञ्चारमन्त्री रेखा शर्माले विधेयकमाथिको पक्ष र विपक्षमा भएको छलफलबाट निष्कर्षमा पुग्न सक्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताइन्। उनले विधेयकमा संवैधानिक परिषद्का अध्यक्षसहित तत्काल बहल रहेका सदस्यको ५० प्रतिशत उपस्थिति भए बहुमत वा गणपुरक संख्या मानिने विषय व्यवहारिक रहेको बताए। विधेयकमा कुनै सदस्य उपस्थित हुन नसके त्यसको कारण २४ घण्टा अघि नै अध्यक्षलाई जानकारी गराउनुपर्ने उल्लेख रहेको समिति सचिव सुरज कुमार दुराले जानकारी दिए । त्यस्तै परिषद्को बैठकको पूर्ण जानकारी विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्ने समेत विधेयकमा उल्लेख छ । 

विराटनगर:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताउनुभयो । “वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।” दीगो विकासका लक्ष्यहरू तथा सरकारको अन्य नीति तथा योजनाले परिकल्पना गरेअनुरूप श्रम क्षेत्रमा पनि स्वास्थ्य र आरोग्यताका लागि काम गरी श्रमिकको हकहित संरक्षण गरिने बताउँदै प्रधानमन्त्रीले रेमिटेन्सबाट अर्थतन्त्रको उत्पादनशिलता बृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागि परेको बताउनुभयो । उहाँले सबै क्षेत्रको संयोजन गरी तत्कालका लागि सुरक्षित र उपलब्धिमूलक वैदेशिक रोजगारी र दीर्घकालीन रूपमा आन्तरिक रोजगारी बढाएर देशको समृद्धि र नागरिकको सन्तुष्टि बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । “सरकारले श्रमिकहरू समस्यामा परेपछि होइन, श्रममा प्रवेश गर्न चाहनेहरूको सीप तथा क्षमता अभिबृद्धि गरेर प्रतिस्पर्धी बनाउनेसमेत लक्ष्य राखेको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “यसको कार्यान्वयनले श्रममा प्रवेश गर्न चाहने धेरै युवा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।” रोजगारीको सिर्जना र मर्यादित श्रम क्षेत्रको विकास गरेर समृद्धिको यात्रालाई तीव्रता दिन सकिने बताउँदै उहाँले त्यसका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास एवं सहकार्यका लागि अपिल गर्नुभयो । ‘श्रमाधान रोजगार मेला’ सरकारको अर्थपूर्ण कार्यक्रम भएको बताउँदै प्रधानमन्त्रीले श्रम र रोजगारीसँग सम्बन्धित सम्पूर्ण अवसर र समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने र नागरिकको रोजगारीको संवैधानिक हक प्रत्याभूत गर्न यसले विषेश भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत मुलुकभित्र रोजगारीका अवसर बृद्धि गर्न धेरै नयाँ कार्यक्रमहरू ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले रोजगार बैंकको अवधारणा, वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको उद्यम विकास, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना, कृषि क्षेत्रको पुनरोत्थान, औद्योगिक विकास, सूचना प्रविधिको विकासलगायत कार्यक्रमबाट रोजगारी सिर्जना हुने बताउनुभयो । नेपालमा उत्पादित वस्तुहरूको उपयोग र खपतका निम्ति प्रोत्साहन, ‘मेड इन नेपाल, मेक इन नेपाल’ को अवधारणा अगाडि बढाइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले डाटा सेन्टर तथा सूचना प्रविधिको विकासमा उच्च प्राथमिकता, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गरिने बताउनुभयो । “स्टार्ट अप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना, स्टार्ट अप बोर्डको गठन र कोष स्थापना, सातै प्रदेशमा बिजिनेस इन्क्युवेसन सेण्टर सञ्चालन गरिनेछ”, प्रधानमन्त्रीले भन्नुभयो, “सार्वजनिक–निजी साझेदारीमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण, महिला उद्यमीद्वारा उत्पादित वस्तु बिक्री गर्न कोसेली घरको स्थापना र सञ्चालन, उद्योग र लगानीसँग सम्बन्धित कानुनमा परिमार्जन गरिनेछ ।” प्रधानमन्त्री प्रचण्डले स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्यम व्यवसाय सञ्चालन, रैथाने कृषि बाली विकास, कृषि प्रदर्शन, साप्ताहिक मेला र हाट बजार सञ्चालन लगायतका धेरै कार्यक्रम आगामी वर्षको बजेटमा सम्बोधन गरिएको जानकारी दिनुभयो ।

सुर्खेत:     सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोट शुभकालिका गाउँपालिका–३ का ४० वर्षीय तन्त बि.क., सोही ठाउँका १७ वर्षीय वीरेन्द्र बि।क,  २७ वर्षीय नवराज बि.क. र दैलेख भैरबी गाउँपालिका-४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । जीपमा ६ जना सवार रहेकोमा दुई जना गम्भीर घाइते छन् । कालीकोटका नरी विक र नरेन्द्र विष्ट घाइते भए हुन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:    सगरमाथा आरोहण गरेर फर्किदै गर्दा पोखराका बिनोदबाबु बस्ताकोटीको निधन भएको छ । पोखरा २६ लेखनाथका बिनोद बाबु बस्ताकोटीको निधन भएको हो । जेठ ९ गते बिहान सगरमाथा आरोहण गरी फर्किने क्रममा सोही दिन साँझ ५ बजे तिर सगरमाथाको चौथो शिविरको माथि बालकुनीको तल लगभग ८२५० मिटरमा आई पुग्दा उनको मृत्यु भएको हो । उनका शेर्पा गाईड उपलब्ध गराएको कम्पनी पाईनयर एड्भान्चरबाट जानकारी दिएका थिए । उनको आधार शिविर व्यवस्थापन गर्ने कम्पनीको क्याम्प म्यानेजर कोही नहुँदा किचनका स्टापहरु मार्फत बेवारिसे अवस्थामा रहेको डफल ब्याग आधार शिविरमा अवस्थित प्रर्यटन विभागको फिल्ड कार्यालयमा बुझाएको छ ।

कास्की:   कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् ।   स्थानीय गिरेन्द्र गुरुङले आफैले बनाएका बन्दुक पड्काएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् ।   ‘रुखमा आएको बाँदर नियन्त्रणका लागि  बन्दुक फड्काउदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो, गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छैनन् ।’   लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्नसमेत खाने, महिला एवम् बालबालिकालाई आक्रमण गर्न लागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको गुरुङले सुनाए ।   उनका अनुसार हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाईप, लगायतका सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाईजरको सहायताले आगो  लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्छ ।    चलाउन सुरक्षित रहेको बन्दुकको मुल्य ७ देखि ८ हजारसम्म पर्ने उनले बताए ।     गुलेली र डेढ बर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युटुबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको उनले सुनाए ।   ‘अहिले त मलाई र बन्दुक देखेपछि बाँदर टाडैबाट भाग्छ । यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रुखै भरि बाँदर हुन्थ्ये अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएको छैन ।’   उनले अहिले बन्दुक मात्र हैन हाते ट्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउने काम गरिरहेका छन् ।