काठमाडौं: नामिबियाले आईसीसी टी–२० विश्वकप–२०२४ मा ओमानलाई सुपर ओभरमा हराउँदै विजयी सुरुवात गरेको छ । समूह बी को पहिलो खेलमा नामिबियाले ओमानलाई हराउँदै अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ । सुपर ओभरमा खेल जित्न ओमानले २२ रन बनाउनु पर्नेमा ओमान १ विकेट गुमाउँदै १० रनमा समेटिएपछि खेल नामिवियाले जितेको हो । यस अघि ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । मेहरन खानको उत्कृष्ट बलिङपछि ओमानले टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नामिबियाविरुद्ध बराबरी गरेको थियो ।।
पोखरा: पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । कास्की प्रहरीका अनुसार आज (सोमबार) बिहान पोखरा महानगरपालिका–१३ गौडाकोमुखस्थित लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएकी थिइन् । घाइते मध्ये गम्भीर भएकी रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो अहिले मोटरसाइकल चालक थापाको भने उपचार भइरहेको छ । दुर्घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
गण्डकी: उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उनले सो कुरा बताएका हुन् । आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागेको बताए । उनले राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आफ्नो समुदाय र देशमा नेपालको पर्यटनबारे प्रचारप्रसार गरिदिन आग्रह गरे । ‘अतिथि देवो भवः’को आदर्श वाक्य उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालीहरु आतित्थ संस्कारका दृष्टिले विश्वभर चिनिएको बताए । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै अग्लो शिखर सगरमाथालगायत अनेकौँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा हेर्न विश्वभरका पर्यटक नेपाल आउने गरेको उनको भनाइ छ । उपप्रधानमन्त्री श्रेष्ठले पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटन गतिविधिमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास भइरहेको उल्लेख गरे । उनले ध्यान, योग र आध्यात्मिक पर्यटनका माध्यमबाट पनि पोखराको थप विकास गर्न सकिने दाबी गरे । अन्नपूर्ण दिवसका अवसरमा आइतबार नै विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए । विश्वमै पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा उक्त पदयात्राको आयोजना गरिएको थियो । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा बर्सेनि अन्नपूर्ण दिवस मनाउने गरिन्छ । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रमसहित आज ७४औँ अन्नपूर्ण दिवस मनाइँदैछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए । “तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा कार्यक्रम निर्माण गर्न, दलित सशक्तीकरण कार्यक्रम बनाउन, छुवाछूत विरूद्धको ऐन प्रभावकारी कार्यान्वयन गर्न सबैमा विशेष अपील गर्दछु”, सन्देशमा भनिएको छ । दलित समुदायलाई छुवाछूत र विभेदबाट मुक्त गर्दै बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै विगतको राज्य संयन्त्रले गरेको अन्यायको परिपूरण र समानताको आधारशिला खडा गर्न सकिने र त्यसका लागि राज्यका सबै संयन्त्र गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए । दलित समुदायको समग्र विकासको लागि दलित विकास प्राधिकरण गठन गर्ने नीति र कार्यक्रम ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, “सरकारले यसलाई कानुन नै बनाएर संस्थागत गर्नेछ, यसमा दलित आन्दोलनले पनि निरन्तर सङ्घर्ष र खबरदारी गरिराख्नुपर्दछ ।” उनले छुवाछूतको समूल नष्ट गर्न राज्यका तीनै तहमा छुवाछूत निगरानी तथा अनुगमन संयन्त्र आवश्यक रहेको र आफूले यस विषयलाई गम्भीररूपमा लिएको बताएका छन् ।
पोखरा: गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदै छ। पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान)को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम छ। मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेश निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरुको सूचीकरण र रोजगारीका अबसरको पहिचान गरिने बताए । मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, बैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तिमा ३५ वटा स्टल तथा बुथहरु हुनेछन् । मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे सम्वाद समेत हुनेछ। सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।
पोखरा: नेपालले केन्यालाई पराजित गर्दै बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ५९–५५ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । ४० मिनेटको निर्धारित समय नेपाल र केन्या ५०–५० अङ्कले बराबरी खेलेपछि खेल पेनाल्टी (५ रेडमा ) धकलिएको थियो । नेपालले पेनाल्टी (५ रेडमा) केन्यालाई ५९–५५ अङ्कले पराजित गरेको हो । उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए । कप्तान रोकामगर जारी प्रतियोगितामा पाँचौ पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् । नेपालको राष्ट्रिय कबड्डी टिममा गण्डकीका बिशाल थापामगर पनि रहेका छन् । यस्तै पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशले थाइल्याण्डलाई ४१–१८ अङ्कले पराजित गर्दै फाइनल पुगीसकेको छ । बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले समूह चरणको ५ खेल मध्ये ४ खेलमा विजयी हुँदै समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया, इन्डोनेसिया माथि जित निकालेको थियो । भने, बंगलादेशसँग पराजित भएको थियो ।
पोखरा: बागलुङको बलेवास्थित धौलागिरी बहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन्दै गईरहेको छ । तीन वर्षे डिप्लोमा अन्तरगत शिक्षालयले यि दुई विषयमा देशभरीका ४० जना विद्यार्थीलाई पढाउँदै आईरहेको छ । यहाँबाट शिक्षा प्राप्त गरेका विद्यार्थीहरुले स्थानीय तहमा कृषि तथा पशु प्राविधिक पदमा जागिर खाईरहेका छन् भने कतिपय विद्यार्थी स्वरोजगार भईरहेका छन् । ‘हाम्रो शिक्षालयका अधिकाँश उत्पादन खाली बस्नु परेको छैन ।’ शिक्षालयका प्रिन्सिपल राजन नेपाली भन्छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आंगिक क्याम्पसको रुपमा सञ्चालित यो शिक्षालयले बाली विज्ञान तथा पशु विज्ञानमा अध्यापन गर्न ४०÷४० जनाको कोटाको अनुमति पाएको छ । तत्कालीन शिक्षामन्त्री तथा यसै क्षेत्रका सांसद दिननाथ शर्माको पहलमा २०७४ सालमा स्थापति धौलागिरी बहुप्राविधिक शिक्षालयमा शुरुआती वर्षहरुमा कोटा अनुसार नै विद्यार्थी भर्ना भईरहेका थिए । तर अहिले भने विद्यार्थी भर्नादर कम भएको प्रिन्सिपल नेपाली बताउँछन् । स्थानीय बासिन्दाले यस क्षेत्रमा वहुप्राविधिक शिक्षालयको आवश्यकता महसुस गरेर तत्कालीन शिक्षामन्त्री शर्मासँग माग राखेका थिए । ‘शुरुमा कोटा अनुसार नै विद्यार्थी भर्ना थिए, तर अहिले भने २२ जना विद्यार्थीलाई पढाउनु परिरहेको छ ।’ नेपालीले भने । शुरुका वर्षहरुमा यस शिक्षालयमा बागलुङ, पर्वत तथा म्याग्दीका विद्यार्थीहरुको बाहुल्यता रहेको थियो । प्रिन्सिपल नेपालीका अनुसार अहिले यहाँ पुर्वदेखि पश्चिमसम्मका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । टाढाका छात्राहरुलाई लक्षित गरेर शिक्षालयले १०० जना क्षमताको छात्राबास पनि सञ्चालन गरेको छ । छात्राबासमा छात्राहरुलाई मात्रै बस्ने सुविधा छ । खानाको पैसा भने विद्यार्थीले तिर्नुपर्ने हुन्छ । छात्रहरुले भने खाने बस्ने व्यवस्था आँफै मिलाउनुपर्ने नेपालीको भनाई छ । शिक्षालमा बिहान १० बजेदेखि ५ बजेसम्म सैद्धान्तिक र प्रयोगशालाको पढाई हुन्छ । प्रिन्सिपल नेपालीका अनुसार बाँकी विहान र बेलुकाको समयमा विद्यार्थीले प्रयोगात्मक अभ्यासहरु गर्ने गर्दछन् । ‘यहाँ प्रयोगात्मक अभ्यासको लागि, कुखुरा फार्म, माछा पोखरी, बाख्रा फार्म, गाई गोठ, प्लाष्टिक टनेल, बारी छन् ।’ उनले भने, ‘नियमित सैद्धान्तिक कक्षापछि विद्यार्थीहरुले यहाँ प्रयोगात्मक अभ्यास गर्ने गरेका छन् ।’ यसका लागि शिक्षालयसँग छात्राबास सहित १ सय १५ रोपनी जमिन रहेको छ । सैद्धान्तिक र प्रयोगात्मक कक्षा समानान्तर हुने भएकाले यहाँका विद्यार्थीहरु आफ्नो क्षेत्रमा अब्बल ठहरिएको नेपालीको दावी छ । यि विद्यार्थीहरुलाई पढाउन १८ जना प्राविधिक शिक्षक सहित २७ जना कर्मचारी छन् । शिक्षालयले प्रति विद्यार्थी ५० हजार शुल्क लिँदै आएको छ । ‘एक वर्ष ५० हजार तिरेपछि तीन वर्षे डिप्लोमा कोर्ष पुरा हुन्छ ।’ उनले जानकारी दिए । तीन वर्ष यहाँ अध्ययन गरेपछि ईच्छुक विद्यार्थीले चाहेमा विश्वविद्यालयको अध्ययन अगाडी बनाउन सक्ने नेपालीले बताए । ‘यहाँको मान्यता भनेको प्लस टु सम्मको हो, पास गरेपछि विद्यार्थीले वि एस्सी एजी पढ्न सक्छ ।’ उनले भने । बहुप्राविधिक शिक्षालय सञ्चालन भएपछि यस क्षेत्रमा पानीको अभाव छ । जसका कारण प्रयोगात्मक कक्षाको लागि पर्याप्त पानी पुग्दैन । माछा सम्बन्धि प्रयोगात्मक अध्ययन गर्नुपर्यो भने, कहिलेकाही त पोखरी रित्तै हुने नेपालीको दुखेसो छ । गण्डकी प्रदेशमा विभिन्न संघसंस्था र विद्यालयहरुले बाली र पशु विज्ञान विषय अध्यापन गराईरहेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेशका सूचना अधिकारी शरद कोइरालाका अनुसार यस प्रदेशमा ३० वटा सामुदायिक विद्यालयले प्राविधिक धारतर्फ बाली र पशु विज्ञान विषय पढाईरहेका छन् । यसैगरी ३ वटा साझेदार संस्थाहरुले यि विषय पढाईरहेका छन् भने, परिषद आँफैले आँगिक कलेजको रुपमा ८ वटा शिक्षालय सञ्चालन गरिरहेको छ । तर पनि प्रदेशका सबै वडाहरुमा कृषि तथा पशु प्राविधिकहरुको अभाव कायमै छ । गण्डकी प्रदेशमा रहेका ८५ वटा गाउँपालिकाका ७ सय ५९ वडा मध्ये अधिकाँश वडामा कृषि तथा पशु प्राविधिक छ्रैनन् । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सूचना अधिकारी ज्योती क्षेत्रीका अनुसार सबै वडामा प्राविधिक पुर्याउन लोक सेवा आयोग मार्फत परीक्षा लिईएको र छिट्टै प्राविधिकहरु वडा वडा जानेछन् ।
गलकोट: सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले । आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि पर्यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो । बागलुङ जिल्लाको गलकोट नगरपालिका(४ चमुवा फाँटमा हाते ट्र्याक्टरले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो । गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेको स्थानीय रतनबहादुर सुनारले बताउनुभयो । चमुवा फाँटमा अहिले पाँच हल गोरु रोपाइँमा प्रयोग भइरहेका छन् । “हाते ट्र्याक्टरले जोत्दा माथिमाथि मात्रै जोत्दो रहेछ, गहिरो नजोत्दा उत्पादनमा समस्या भयो, गहुँ र मकै ढल्ने समस्या देखियो । हेर्दा छरितो भए पनि दीर्घकालीनरुपमा गोरुले जोत्दा खेतीयोग्य जमिनलाई राम्रो हुने हामीले महसुस गर्यौँ,” सुनारले भन्नुभयो, “चमुवामा हाते ट्र्याक्टर नआउँदा १० हल गोरु थिए, हाते ट्र्याक्टर आएपछि धेरैले गोरु बिक्री गरे । पछि गोरुले जोत्दा बाली राम्रो भयो, हाते ट्र्याक्टरमा हाल्ने पेट्रोलको भाउसमेत दोब्बर भयो, त्यसैले गोरुले जोत्न थालियो ।” चमुवामा छ दिनको मेलो रोपाइँको तयारी गर्नुभएका शेरबहादुर न्यौपानेले गोरुकै सहायताले खेतमा धान रोप्न लागेको बताउनुभयो । पेट्रोलको मूल्य दोब्बर हुनु र उपकरण बिग्रिरहने समस्याले किसानहरु हाते ट्र्याक्टर छोडेर पुनः गोरु पाल्न थालेको बताउँछन् । गोरु लोप हुन थालेपछि पछिल्लो एक वर्षयता बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनसमेत गर्न थालेका छन् । एक हल गोरु पाल्ने किसानलाई १० हजारका दरले अनुदान दिन लागिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । बागलुङ नगरपालिकाले गोरु किसानलाई प्रोत्साहन गर्न चार लाख बजेट विनियोजन गरेको नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । कृषिमा आधुनिकीकरणका कारण गोरु लोप हुन थालेपछि गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा गोरुको महत्व बढेको छ । थ्रेसर मेसिन र ट्र्याक्टरले उत्पादन लागत घटाउने भए पनि पेट्रोलको मूल्य बढेपछि हाते ट्र्याक्टरको प्रयोग बिस्तारै घट्न थालेको छ ।
चितवन: चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना ४ च ८८५५ नम्बरको जीप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै भारतको महाराष्ट्र प्रान्तको मुम्बईको बेण्डाली थानाका रहेका प्रहरीले जनाएको छ । घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशङ्कर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर तथा ६२ वर्षीय पङ्कज गुप्तेश्वर रहेका छन् । घाइते पर्यटकको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको छ । चितवनको रत्ननगर नगरपालिका–४ घर भएका चालक ४५ वर्षीय सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

