काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ । समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको युगान्डाले बिहीबार भएको खेलमा भने पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको हो । पीएनजीको भने यो लगातार दोस्रो हार हो । पीएनजीले दिएको ७८ रनको लक्ष्य पूरा गर्नका लागि युगान्डालाई हम्मेहम्मे परेको थियो । युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । १ रन हुँदा युगान्डाले रोजर मुकासालाई गुमाएको थियो । उनी खाता नखोल्दै आउट भएका थिए । दोस्रो विकेटको रुपमा १ रन बनाए रोविनसन ओबुया आउट भए । ६ रन हुँदा तेस्रो विकेटको रुपमा १ रन बनाएर सिमोन सेसाजी आउट भए । यसैगरी अल्पेस रमजानी टिमको स्कोर २५ रन हुँदा चौथो विकेटको रुपमा पभेलियन फर्किए । उनले १० बलमा ८ रन बनाएका थिए । गुगान्डाको ६.३ ओभरमा २६ रन हुँदा पाँचौं विकेट पतन भएको थियो । पाँचौं विकेटको रुपमा दिनेश नकर्नी आउट भए । त्यसपछि रियाजत अलि साह र जुमा मियागीले ३५ रनको साझेदारी गरेपछि युगान्डा लक्ष्य नजिक नजिक पुगेको थियो । १३.४ ओभरमा १३ रन बनाएका जुमा मियागी रन आउट भए । उनी आउट हुँदा युगान्डाको स्कोर ६–६१ भएको थियो । सातौँ विकेटको रुपमा सर्वाधिक रन बनाउने रियाजत आउट भए । उनले ५६ बलमा ३३ रनको पारि खेले । टिकेर खेलेका उनले एक चौका मात्रै प्रहार गरेका थिए । उनी १७.५ ओभरमा सातौँ विकेटको रुपमा पभेलियन फर्किएका हुन् । त्यसपछि केन्नेथ वासिवाले र कप्तान ब्रेन मासिवाले खेल जिताए । केन्नथले ७ रनको नटआउट पारि खेल्दा कप्तान ब्रेनले खाता नखोली साथ दिए । पीएनजीका लागि एली नाओ र नोर्मान भानुआले समान दुई –दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सवै विकेट गुमाएर ७७ रन बनाएको थियो । पीएनजीले खराब सुरुआत गरेको थियो । टप अर्डर नचल्दा मिडिल अर्डरले केही प्रयास गरे पनि सार्थक भएन । कप्तान असद भाला खाता नखोल्दै आउट भए भने अर्का ओपनर टोनी उराले १ रन बनाए । सेसे बाउले ५ रन बनाए । लिगा साइकाले १२ रन बनाउँदा हिरि हिरिले सर्वाधिक १५ रनको पारि खेले । चार्लेस अमिनिले ५रन बनाउँदा किप्लिन डरोगाले १२ रन जोेडे । त्यसैगरी, चाद सोपरले ४ रन बनाउँदा नोर्मान भानुआ र एलियो नाओले पाँच पाँच रन जोडे । युगान्डाका अलिपेस रमजानी, कसमम केयुटा, जुमान मियागी र फ्रांक नसबुगाले समान दुई दुई विकेट लिँदा बरिन मसाबाले एक विकेट लिए ।
पोखरा: तनहुँको भिमादमा आगामी शुक्रबार र शनिबार गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही जेठ २५ र २६गते प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सह–आयोजनामा तनहुँको भिमादमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ३६ स्वर्ण,३६ रजत र ७२ काश्य गरि १ सय ४४ पदकका लागि पुरुष स्पाईरिङ तर्फ २० देखि ८५ केजि तौल समुहमा प्रतिस्पर्धा हुने प्रदेश सदस्य तथा कार्यक्रम व्यवस्थापक विशाल बुढामगरले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिला तर्फ २० देखि ६५ केजि समुहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरि महिला तथा पुरुष प्याट्रन तर्फ हरियो,निलो,रातो कलर वेल्ट तथा प्रथम,दोस्रो र तेस्रो डान समुहमा प्रतिस्पर्धा हुने छ । तनहुँ , बागलुङ , कास्की , पर्बत , स्याङ्जा , नवलपुर , लमजुङ लगाएत सात जिल्लाका खेलाडीहरुले सहभागिता जनाउदै छन् । प्रत्येक सहभागि जिल्लाबाट ३० जना खेलाडी र प्रशिक्षक तथा अफिसियल गरि २ सय ५० भन्दा बढीको सहभागिता हुने छ । प्रतियोगिताले ग्रामिण क्षेत्रमा खेलकुदको विकास र विस्तारले महत्वपुर्ण भुमिका खेल्ने प्रदेश उपाध्यक्ष आकाशचन्द्र घर्तीमगरले विश्वास व्यक्त गरे । उनले यो पटक भिमादमा हुने प्रदेश स्तरिय कार्यक्रमले यहाँका विभिन्न पर्यटकिय गन्तव्यहरुलाई खेलकुदका माध्यमबाट पर्यटनसंग जोड्ने बताए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा विश्व वातावरण दिवसको अवसरमा गुराँस पार्क निर्माण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क स्थापनासँगै ३ सय वटा गुराँसको बिरुवा रोपिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय घान्द्रुक, संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुक तथा मेश्रम बराह माविको सयुक्त पहलमा लालीगुराँस पार्क निर्माणसँगै पार्कमा गुराँससँगै अन्य विभिन्न प्रजातिका फूलहरु रोपिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) घान्द्रुकका प्रमुख जगन गुरुङले पार्क निर्माणसँगै जङ्गल र गुराँसको संरक्षणमा सबैको चासो बढ्ने बताए । ‘विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क निर्माण गरिएको छ, जंगल र गुराँसको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो’, गुरुङले भने, ‘पार्कले घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउँछ, यसको व्यवस्थापन र संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ ।’ कार्यक्रममा मेश्रम बराह मावि घान्द्रुकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले विद्यालय परिसरमा खाली रहेको जग्गामा वृक्षारोपण गर्दा सकारात्मक सन्देश जाने बताए । ‘विद्यालय परिसरमा नै वृक्षारोपण गर्दा सकारात्मक सन्देश हामीले दिएका छौं, वन जंगल फडानी र डढेलोले विश्वमा असर पु¥याएको छ, गुरुङले भने, ‘पार्क निर्माणसँगै गुराँस लगायत अन्य फूलहरुले पार्कको महत्व बढाउँछ ।’ विश्व वातावरण दिवसको अवसरमा मेश्रम बराह माविको विद्याललय परिसरमा रहेको खाली जग्गामा संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकको सक्रियतामा वृक्षारोपण गरिएको अध्यक्ष गुञ्जमान गुरुङले बताए । गुराँस पार्कमा चौतारी निर्माणसँगै पार्कमा घुम्नका लागि गोरेटो बाटो निर्माण गर्ने समेत उनले बताए । मेश्रम बराह मावि घान्द्रुकका प्रधानाध्यापक यामप्रसाद भण्डारीले विश्व वातारण दिवस औपचारिक कार्यक्रम मात्र नभएर स्थानीय र विद्यार्थीको लागि पार्क निर्माणसँगै वृक्षारोपण महत्वपूूर्ण सिकाई भएको बताए । पार्क निर्माण गर्न ओभर ल्याक जर्मनीले विद्यालय मार्फत आर्थिक सहयोग प्राप्त भएको संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकले जनाएको छ ।
पोखरा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताए । उनले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए । “भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो परियोजना मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ ।” उनले म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा कस्तुरी–मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गर्नेगरी नयाँ सोचका साथ बजेट निर्माण गरिएको बताए । मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिकस्थल दर्शन गर्ने व्यवस्था मिलाउने योजनासहित सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गर्ने, गण्डकीलाई पर्यटनको हब बनाउने महत्त्वपूर्ण काम अगाडि बढाइने बताए । भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले मुग्लिङ्ग–पोखरा सडक खण्डको विस्तार कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने गरी सरकार अगाडि बढेको बताए । घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण गर्ने एवम् बन्दीपुरको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र संवर्द्धन गर्न विविध कार्यक्रम सञ्चाल गरिने बताउँदै प्रधानमन्त्रीले तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने बताए । गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण, मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार, टाकुरा पर्यटकीय गन्तव्यको विकास जस्ता कार्यक्रमले यस क्षेत्रमा रोजगारी सिर्जना गर्नुका सार्थ आयआर्जनमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।
पोखरा: सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले पोखरामा बुधबार कार्यकर्तालाई प्रशिक्षण राखेको छ। गण्डकी प्रदेश स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण बुधबार मध्याह्न सभागृहमा सुरू भएको हो। पार्टीको गण्डकी प्रदेश समितिले गरेको प्रशिक्षणमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङलगायत नेताहरू पनि सहभागी छन्।
चितवन: जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्। जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ। एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको दुध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन्। सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ। दुग्ध विकास संस्थानको मङ्सिरयताको २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन्। जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ। जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्ररुपमा हिमशृङ्गखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका वासीन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरु थपिँदै गएको उल्लेख गरे । राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य: भूमि पुनस्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाईसमेत प्रष्ट पारेको उल्लेख गरे । उनले गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरसले नेपालको भ्रमणका अवसरमा भनेको स्मरण गर्दै भने– ‘नेपालका हिमालले भोग्नु परेको संकटका लागि विश्वसामु अझ जोडदार ढंगले प्रस्तुत गर्नु भएको थियो । उहाँकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भूमरीमा फसेका छन् जस्को सृजनामा उनीहरुको आफ्नै योगदान नगण्य छ । म आव्हान गर्न चाहन्छु की यस गम्भिर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ । हामीलाई अझै ढिला गर्ने सुविधा छैन ।’ जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरूको सम्बोधनमा नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्यहरू गर्दै आएको बताउदै सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशीलता हासील गर्न सहयोग गर्ने बताए । उनले सो कार्यक्रमले उच्च हिमशृङखला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकिकृत र सन्तुलित रुपमा सम्बोधन हुने बताए । राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको यस अवसरलाई जीवन, समृद्धि, र आशाको शक्तिशाली प्रतीकको रूपमा बिरुवा रोपेर मनाउँन गइरहेको उल्लेख गर्दै यो एउटा प्रतीकात्मक इशारा हो जसले भावी पुस्ताहरूका लागि वातावरण संरक्षण गर्ने हाम्रो अटल समर्पणलाई झल्काउँने बताउने । राष्ट्रपति पौडेलले वातावरण संरक्षणका लागि चौतारी र पोखरीको हाम्रो पुरानो सभ्यताको जगेर्ना गर्न आवश्यक रहेको बताए । सो क्रममा राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पौडैलले पलाँसको बिरुवा रोपेर वृक्षरोपणको शुभारम्भ गरेका थिए । सो कार्यक्रममा उपराष्टपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले पनि वृक्षरोपण गरेका थिए । कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदुत तथा दातृ निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
डोटी: दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जीप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उहाँले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी(सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताउनुभयो । यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उहाँले जानकारी दिनुभयो । “प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ ।सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ”, तिमिल्सिनाले भन्नुभयो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट । यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन हिजो साँझ पोखरा आउनुभएको हो ।

