पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

चितवन:   भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ ।   उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो ।   महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाज बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको महानगरले जनाएकाे छ  ।   यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन,  झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राईभिङ,एड्भान्स सिलाई कटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायतका तालिम दिएकाे थियाे ।   तालिमहरु एक दिने देखि ४ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ ।   श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ ।   भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताउनुभयो ।   अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाँउमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।   तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ रहेको छ ।   महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।

काठमाडौं:   नेपाल सुनचाँदी व्यवसायी महासंघ,नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सँयुक्त रुपमा विज्ञप्ती जारी गरेको  छ ।   काठमाडौंको शुक्रपथ विशालबजारको ठेगाना दिई गहना व्यवसाय गर्ने एक फर्मले “सुनको मूल्य अत्याधिक बढेकोले ज्याला र जर्तिमा भारी छुट” को आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरुलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य गरेको भन्दै तिन महासंघले उपभोक्ताहरुलाई भ्रममा नपर्न आग्रह गरेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यवहाक अध्यक्ष अर्जुन रसाईली, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘राज्यले गहना व्यवसायको संचालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्दति अनुरुप मुलुकभर व्यवसाय संचालन एवं यस सम्बन्धि विषयहरु व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आँफू खुशी “धमाका अफरहरु” दिएर गरिने भ्रमात्मक विज्ञापनले राज्य, आम उपभोक्ताको साथै यस क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढबीच विश्वासको संकट पैदा गराउने स्पष्ट छ ।’   कानून विपरित उपभोक्तालाई भ्रम छर्ने उद्देश्यले गरिएको विज्ञापन तत्काल बन्द गर्नुपर्ने तीनै महासंघको ठहर छ ।    ‘मजदुरको पारिश्रमिक, निर्माण क्षति (जर्ती), ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएकाले  साथै नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम छ, विज्ञप्तीमा भनिएको छ, ‘टक्सार विभागमा सिक्का टकमरी गर्दा ७.२ प्रतिशत जर्तिको व्यवस्था रहेको छ । माथिका यी व्यवस्थाहरूलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना बिक्री गर्ने विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट छ ।’   हेर्दा नाफा नहुने तर घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणाली बाहेकको अनौपचारिक रुपमा भित्रिएको कमसल सुनको प्रयोग गर्ने र कालीगढको मुनासिव ज्यालामा संकुचन गरी अपारदर्शी र विधि विपरीत नाफा लिने प्रवृत्ति हावी हुन सक्ने भएकोले यस्ता अवान्छित क्रियाकलापलाई रोक्नुपर्ने महासंघको बुझाई छ ।   महासंघले उपभोक्तालाई भ्रम छर्ने खालको विज्ञापन फिर्ता लिन र अब आइन्दा यस्तो काम नगर्न/नगराउन साथै आगामी दिनमा यस्तो कार्य नदोहोरोस् भन्नका लागि सम्बन्धित सबै व्यवसायीहरुमा विज्ञप्तीमार्फत सचेत गराएको छ ।   साथै हालसम्मको साथ सहयोगका लागि आम उपभोक्ताप्रति आभार व्यक्त गर्दै सस्तो लोकप्रियताको भ्रमपूर्ण विज्ञापनको पछाडि नलाग्नसमेत  अनुरोध महासंले सँयुक्त रुपमा अनुरोध गरेको छ ।   नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२को बजेटमार्फत सुनको आयातमा लगाउदै आएको भंसार शुल्कमा वृद्धि गरि २० प्रतिशत पुर्याएकाले पुरानै दर कायम राख्न, कोटा प्रणाली खारेज गर्न र आयातमा एकाधिकारको अन्त्य गर्नुपर्ने लगायतका माग गर्दै अर्थमन्त्री वर्षमान पुनलाई यसअघि भेट गरिसकेको छ ।  

पोखरा:  पोखराको पर्यटन प्रबद्र्धनका लागि विदेश भ्रमणमा रहेका पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोलीले थाइल्यान्डस्थित नेपालको राजदूतावासमा अन्तरक्रिया सम्पन्न गरेको छ ।    पोखराको पर्यटन, पर्यटकीय गन्तव्य, पर्यटन व्यवसायी, स्थानीय सरकारलगायतले गर्नुपर्ने भुमिकाबारे सुझावलगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।   सो अवसरमा बोल्दै नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीले पोखराको आकर्षण प्रकृति भएकाले पोखराले आफ्नो प्राकृतिक सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।   उनले भने, ‘प्रकृति भनेको नै पोखरा हो, यहाँको प्रकृतिमा रम्न पर्यटक पोखरा आउने हुन् त्यसैले प्रकृतिलाई जोगाउदै पोखराको पर्यटन प्रबद्र्धन गरिनुपर्छ’ । उनले कुनै समय पोखरा घुम्न पुगेको स्मरण गर्दै बिरामी व्यक्ति पनि स्वस्थ बनाउन सक्ने विशेषता पोखराको प्रकृतिमा भएको सुनाए ।    थाइल्यान्डको पर्यटकीय गतिविधि, सरकारले अपनाएको नीतिबारे जानकारी दिदै राजदूत ओलीले पोखराले आफ्नो स्थानीय रुपमा उत्पादित मौलिक खाना जोड दिनुपर्ने बताए । विदेशबाट प्रकृतिमा रम्न पुगेका पर्यटकलाई पोखराले आफ्नै मौलिक खाना खुवाउनुपर्ने उनले सुझाए ।    थाइ नेपाली संघका संरक्षक कुमार कार्कीले थाइल्याण्डमा पर्यटन प्राथमिकता भएजस्तै नेपालमा पनि पर्यटनको क्षेत्र उच्च प्राथमिकतामा हुनुपर्नेमा जोड दिए ।   उनले पोखरा घुम्नका लागि प्रवर्द्धनात्मक गतिविधिको खाँचो रहेको औल्याउदै पर्यटनको क्षेत्रमा थुप्रै अवसर रहेको सुनाए ।    गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष रविन्द्र बस्नेतले पर्यटनमा लगानीको आवश्यकता रहेको बताउँदै नेपालमा लगानी गर्ने वातावरण सुधार्नुपर्नेमा जोड दिए ।   उनले पोखराको पर्यटन प्रवर्द्धनात्मक कार्यमा सघाउने वाचा पनि गरे । थाइल्याण्डस्थित नेपाली राजदूतावासका प्रथम सचिव कुमार रेग्मीले पर्यटक भित्रिएसँगै पोखराले वातावरण सरसफाइमा ध्यान दिनुपर्नेमा सुझाव दिए ।   उनले सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था, सरसफाइ पर्यटकका लागि अति नै आवश्यक रहेको बताए ।    टेवानकी अध्यक्ष कमला गिरिले पर्यटकीय राजधानी घोषणा भएसँगै पोखरामा पर्यटकको संख्या बढाउनुपर्नेमा जोड दिइन् । उनले पोखरा प्राकृतिक मात्र नभएर आतिथ्यता र आत्मियताको शहर पनि रहेको बताइन् । पोखराको   प्रबद्र्धनका लागि थाइल्याण्डमा हुने कार्यक्रममा पोखराको प्रचारात्मक सामग्री राख्न पनि अध्यक्ष गिरिले आग्रह गरिन् । टेवानकी सचिव शोभा अधिकारी पौडेलले बैंककमा फस्टाएको पर्यटनजस्तै अब पोखराको पर्यटनलाई पनि राम्रो बनाउनुपर्ने दिइन् ।     टेवान टोलीले पोखराको प्रवर्द्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री राजदूतावासलाई प्रदान गरेको थियो । १० दिने भ्रमणमा रहेको टेवानले थाइल्यान्डसँगै सिंगापुर र मलेसियामा पोखराको प्रबद्र्धन कार्यक्रम, भेटघाट गर्ने सचिव पौडेलले जनाइन् ।   महिला पर्यटन उद्यमी आबद्ध रहेको टेवानले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ पोखराको पर्यटन प्रवर्द्धन लागि स्थानीय, प्रदेशस्तरिय गतिविधि गर्दै आएको छ ।

पोखरा:  सुरौदी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।   कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगपालिका ३३ बरपौवाका ९ वर्षीय गणेश बिक रहेका छन् ।   शनिबारदेखि बेपत्ता भएका बालकको शव कालिका गण मालेपाटनबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखेरको टोलीले आज बिहान साढे ८ बजे सुरौदी खोलामा निर्माणाधिन पुलको खाल्डोमा फेला पारेको हो ।   सो विषयमा थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।   गत हप्तामा फुस्रे खोलामा डुबेर कुश्मा नगरपालिका पर्वतका २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको थियो ।   यो पनि पढ्नुहोस   फुस्रे खोलामा डुबेर कुश्माका सुवेदीको मृत्यु           

पोखरा:  गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन् ।   पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन् ।   शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ विरुद्ध कठिन जित निकालेको छ । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम दुई बल बाँकी हुँदा तनहुँले जित निकालेको हो ।     पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारीको सुरुवात गर्दै १८.५ ओभरमा १० विकेट गुमाउँदै ७५ रनमा समेटियो ।   कास्कीका कृष्ण पौडेलको धारिलो बलिङमा म्याग्दी चार जनालाई पेभिलियन फर्काए । म्यान अफ दि म्याच समेत रहेका कृष्णले ३.३ ओभरको बलिङ स्पेलमा १७ रन दिएर ४ विकेट हात पारे । म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।   म्याग्दीको पारीमा कास्कीले २२ एक्स्ट्रा रन दिएको थियो ।   कास्कीका लागि सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले समान २–२ विकेट लिए भने विपिन खत्री र आदित्य थापाले १–१ विकेट लिए ।   यता कास्कीका लागि जवाफी व्याटिङ गर्दै अर्जुन कुमालले ३१ बलमा ५ चौका प्रहार गर्दै ३६ रन बनाएर नट आउट रहे भने अर्का ओपनर सोहेल कुंवर भने सून्य रनमा आउट भए । तीन बलको सामना गरेका सोहेल आयुष खत्रीको बलमा विशाल आचार्यको हातबाट क्याच आउट भए ।   कास्की सिव्रीन श्रेष्ठ १० बलको सामना गर्दै एक छक्का र दुई चौकाको सहयोगमा १६ रनको योगदान दिए भने ११ बल खेलेका रोहित चन्द एक छक्का र एक चौका प्रहार गर्दै व्यक्तिगत २१ रन बनाए । तर आयुष सैंजु भने १ रनमा पेभिलिएन फर्किएका थिए । बागलुङका लागि केशव साउदले १५ रन खर्चिएर २ विकेट लिए ।   यता दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई पारीको सुरुवात गर्न निम्तो दियो । बागलुङले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १२३ रन बनायो । बागलुङको पारी सुरुवातमा नै दवावमा पर्यो । ओपनरद्वय अर्जुन रायमाझी १ र किसन सुनार सून्यमा आउट भएका थिए ।   तेस्रो क्रममा बागलुङका लागि पारी सम्हाल्दै कप्तान आराश तामाङले ३० बलको सामना गर्दै ५ चौका र एक छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको योगदान दिए भने चन्द्रदिप यादवले २५ रन बनाए । उनले समान २ चौका र २ छक्का प्रहार गरे । टिमका लागि अनिश जिशीले १६ रनको योगदान दिंदा विवेक नेपालीले १७ रन जोडे ।   तनहुँका लागि क्रिश ऐरले ३ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए भने चन्द्रकान्त पौडेलले २ विकेट लिए ।   यता तनहुँ जितका लागि १२४ रन पछ्याउँदा अन्तिम ओभरको चौथो बलमा जितको यात्रा तय गर्यो । खेल १९.४ ओभर सम्म आइपुग्दा तनहुँले ८ विकेट गुमाइसकेको थियो । उपहारको रुपमा तनहुँले २४ रन एक्स्ट्रा पायो भने व्याट्सम्यानहरुले खेलमा १ सय रन जोडेका थिए ।   खेलमा म्यान अफ दि म्याच समेत रहेका चन्द्रकान्त पौडेलले टिमका लागि सर्वाधिक २२ रनको योगदान दिए भने सदित्य वञ्जाराले १९ र समिर कंडेलले १५ रन मात्रै जोडे । तनहुँका सदित्य र इशान श्रेष्ठ रिटायर्डहर्ट हुँदै पेभिलिएन फर्किएका थिए । इशानले ३ रन मात्रै जोडे । बागलुङका लागि अश्विन थापाले २ विकेट लिए ।   यो जित संगै कास्की र तनहुँले समान ४–४ अंक बटुलेका छन् भने म्याग्दी र बागलुङ जितको प्रतिक्षामा छन् । आइतबार कास्की र तनहुँका बीचमा पहिलो खेल र दोस्रो खेल बागलुङ र म्याग्दीका बीचमा हुनेछ ।   दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।   यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

पोखरा:   पोखरामा कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण शनिबारबाट सुरु भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।   उक्त प्रशिक्षण कार्यक्रमको सुरुवात गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले कुनै पनि खेलकुदको जग विद्यालय भएकोले परिषदले आफ्ना प्रशिक्षणका कार्यक्रमहरुलाई सोही अनुरुप तय गरेको बताए ।   परिषदले खेलकुद विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको जनाउँदै सोही अनुसार कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत रहेकोले गण्डकीमा यूवा खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे ।   कार्यक्रममा परिषदकी सदस्य एवं कार्यक्रम संयोजक निर्मला बरालले अनुशासित नागरिक उत्पादन गर्न खेलकुदको भूमिका रहेको जनाउँदै खेल शिक्षक लक्षित प्रशिक्षणले विद्यालयहरुमा प्रतियोगिताहरु आयोजना गर्न सहज हुने बताइन् ।   गण्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवन कुमार प्रजापतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कबड्डी संघका सचिव हरि जिशीले समेत आफ्ना भनाई राखेका थिए ।   प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाका ३० जना खेल शिक्षकहरुको सहभागिता रहेको सचिव जिशीले जानकारी दिएका छन् ।   तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा अखिल नेपाल कबड्डी संघका सचिव एवं प्रशिक्षक तर्कराज भट्ट र गण्डकी प्रदेश कबड्डी संघका सचिव एवं प्रशिक्षक हरि जिशीले सहजिकरण गर्ने भएका छन् ।    

पोखरा:    पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ ।   पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म हुने कार्यक्रम पोखरा सभागृह हलमा हुने जनाइएको छ ।   ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।   पहिलो संस्करणमा ईन्टर कलेज व्याण्ड कम्पिटिसन आयोजना गरेको संघले यसपटक प्रतियोगितालाई परिमार्जन गर्दै ईन्टर स्कुल व्याण्ड कम्पिटिसन गर्न लागेको उनले प्रष्ट्याए ।   स्कुल र कलेजका विद्यार्थीबीच प्रतिष्पर्धा गराउँदा लेभल मिलेन,उनले भने,‘त्यसैले यस पटकदेखि विद्यालय स्तरिय प्रतियोगिता गर्ने निर्णय ग¥यौं’–उनले भने । ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ ।   प्रतियोगितामा सहभागिताका लागि स्कुल लेभलका व्याण्डहरुले फारम भर्नुपर्ने संघले जनाएको छ ।   फारम भरेकाहरुले भिडियोमार्फत डिजिटल अडिसन दिनुपर्ने र सो प्रस्तुतीका आधारमा छनौट गरिने संघका अध्यक्ष गुरुङले जानकारी दिए । त्यसपछि फिजिकल अडिसन दिनुपर्ने र सो राउण्डमा स्कुल व्याण्डहरुले गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ ।   त्यसमा छनौट भई फाईनलमा पुगेकाहरुले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकहरुको गरेर दुईवटा गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको अध्यक्ष गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ ।   प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने ।   संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ ।   पत्रकार सम्मेलनमा सहभागि प्याव्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले स्कुल स्तरमा संगीतको माहौल बनाउन प्रतियोगिता सहयोगी भएको बताए । स्कुलमा संगीत पहिलेपनि सिकाउने गरिन्थ्यो,उनले भने,‘तर सिकाएको परिणाम कस्तो छ भन्ने थाहा हुँदैनथ्यो । प्रतियोगिताले हाम्रो स्तर र सुधार्नुपर्ने कुरा उजागर गरेको छ ।   यसले स्कुलमा संगीतको माहौल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले प्रतियोगिताका लागि प्याव्सन कास्कीले न्यूनतम ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमापनि सहयोगलाई निरन्तरता दिने बताए ।   प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।  

पोखरा:   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट ल्याएको छ । गण्डकी प्रदेश सभाको छैटौं अधिवशेनको १३ औं बैठकमार्फत अर्थमन्त्री डा. टकराज गुरुङले आज (शनिबार) बजेट सार्वजनिक गरेका हुन् ।   उनले सार्वजनिक गरेको बजेटको पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ र चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार विनियोजित गरिएको छ ।   सो बजेटमा कृषि, पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ ।   हेर्नुहोस् पूर्णपाठ:-  

पोखरा:  नेपाल परिवार नियोजन संघ कास्की शाखाले सामुदायिक महिला स्वास्थ्य स्वयसेविकाका लागि यौन तथा प्रजनन् स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ ।   संघले पोखरा महानगरपालिका वडा नं २८ का स्वयंसेविकाका लागि सौर्यस्थित माझठाना स्वास्थ्य चौकीमा कार्यक्रम गरेको हो । कार्यक्रममा वडाभित्र कार्यरत स्वयंसेविकाको सहभागिता रहेको थियो ।   कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीले संचालन गरिरहेको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा बारेमा जानकारी दिइएको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।   कार्यक्रममा शाखाका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले सहजिकरण गर्नुभएको थियो ।   कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।   नेपाल परिवार नियोजन संघका केन्द्रीय महासचिव अर्जुन सिग्देलले यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई महत्व दिएर सेवा संचालन गरेको उल्लेख गर्नुभयो ।   नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम माझठाना स्वास्थ्य चौकी प्रमुख विनोद तिवारीले संचालन गर्नुभएको थियो ।