काठमाडौँ: संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएकाे छ । दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए । प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ । यो खबर रातोपाटीमा लेखिएको छ ।
कास्की: कास्की प्रहरीले मार्दी खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा दुई वटा साधनलाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा ४ र ६ को बीचमा रहेको मार्दी खोलामा उत्खनन् गरिरहेको बा २ क ९६४७ नम्बरको जेसिबी र हेमजाबाट पोखरातर्फ आउँदै गरेको प्र ३–०१०२४ च ४२७० नम्बरलाई नियन्त्रणमा लिइएको हो । उक्त जिपमा अवैध रुपमा कटपिस ढुङ्गाहरु फेला पारेकाले सम्बन्धित कागजपत्र नभएकाले आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।
कास्की: गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिँदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवासीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिए । उनका अनुसार तालिममा मादी गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका स्थानका स्थानीय सहभागी थिए । तालिममा डा. रामजी शर्मा, टीकाराम सापकोटा, दीपेन्द्र पहारी, सरस्वती गौतम र तारानाथ पहारीले प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले मादी गाउँपालिकामा गाउँ पर्यटनका धेरै सम्भावना भएको उल्लेख गर्दै यसलाई उजागर गर्नुं अपरिहार्य भएको बताए । गाउँले गाइड तालिमसँगै यहाँको गाउँ पर्यटनको व्यवसायिक विकास हुने उनले विश्वास व्यक्त गरेका थिए । भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मादी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हुमनाथ अधिकारी, भिटोफ गण्डकीका सल्लाहकार एवम् प्रशिक्षक टीकाराम सापकोटा, भिटोफ गण्डकीका निवर्तमान अध्यक्ष उदय सुवेदी, भिटोफ गण्डकीका प्रथम उपाध्यक्ष रमेश न्यौपाने, द्वितीय उपाध्यक्ष सुशिला भण्डारी, सचिव लक्ष्मण पहारी, मादी गाउँपालिका होमस्टे एशोसिएसनका अध्यक्ष भीमबहादुर गुरुङ, प्रशिक्षार्थीहरू केशव अधिकारी र चोकबहादुर गुरुङ लगायतले बोलेका थिए ।
कास्की: हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका १२ र वडा १३ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा पोखरा १२ ले वडा ६ लाई पेनाल्टी सुटआउटमार्फत पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का विष्णु बहादुर लामिछाने भए । त्यस्तै दोस्रो खेलमा पोखरा १३ ले वडा ५ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्याे । खेलको ३२ औं मिनेटमा राजकुमार गुुरुङले पहिलो गोल गरे । साथै देभभक्त गुरुङले ४९ औं मिनेटमा दोस्रो गोल गरे त्यस्तै नरेन्द्रजंग गुरुङले ५३ औं मिनेटमा थप १ गोल गर्दै वडा १३ लाई ३ गोलको अग्रता दिलाए । वडा न ५ का अनिल राज कोइरालाले ५६ औ मिनेटमा १ गोल गरेका थिए । सो खेलमा पोखरा १३ का अमित परियार म्यान अफ दि म्याच घोषित भएका थिए । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा: नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा आजदेखि दोश्रो एड्भेन्चर फेस्ट ( असार ५ गते पोखराको शान्तिबन बाटिकामा शुरु हुँदै छ। उक्त एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलाप का साथ कार्यक्रम सन्चालन हुनेछ। कार्यक्रममा बालबालिका तथा युवाहरुलाई शारीरिक, मानसिक रुपले प्रयोगात्मक सीपसहित विभिन्न विपद्का घडीहरुमा उद्दार कार्यमा डर र होस गुमाउनु हुदैन भन्ने ध्ययेका साथ उद्दारमा सक्षम बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेस प्रमुख आयुक्त सागर पौडेलले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तिन हजार विद्यार्थीहरु र अन्य विध्यार्थीहरु गरि ५ हजार देखि ७ हजार विध्यार्थीहरु सहभागिता हुनेछन् । कार्यक्रममा ओमेगा जम्प, सुपरम्यान जम्प, रिभर क्रसिङ, टायर जम्पिङ, रक क्लाइम्बिङ, मङ्की बृज, प्यारा जम्प, नेट क्रसिङ, हर्ष राईडिङ, टार्जन जम्प, आर्चरी लगायतका विभिन्न २५ वटा साहसिक कृयाकलापहरु सन्चालन हुदैंछन् ।
पोखरा: पोखरा महानगरपालिका १४ (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले नगद रु १० लाख सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन केसीले बताउनुभयो । उहाँका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने केसीको विश्वास छ । गौशालालाई उक्त सहयोग उपलब्ध गराएर बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पाएकामा आफूहरूलाई गर्व लागेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताउनुभयो । स्व.सिताराम के।सीको सक्रियतामा पोखराबाटै स्थापना भई सञ्चालनमा रहेको माछापुच्छ्रे बैङ्क नेपालको बैङ्किङ क्षेत्रको अग्रणी वित्तीय संस्था मध्येको एक हो । सहयोग ग्रहण गर्दै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार भागवत आदि शास्त्रका वाचक युवा पण्डित कमलनयन गौतमले बैङ्क प्रति आभार प्रकट गर्नुभयो । गोकुलधाममा रहेका पशुचौपायहरुको पालनपोषणका लागि विभिन्न दाताहरूबाट सहयोग आउने क्रममा जारी रहँदा बैङ्कले गरेको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बापत नगद रु .१० लाख बराबरको सहयोग निकै महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले सरोकारवाला सबैलाई घचघच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको बताउनुभयो । “यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठ मात्र होइन, नजरले हेर्यो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चीकै गौशाला हुन्छ, गौतमले भन्नुभयो, यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउन होइन यो, कान्जी हाउस पहिला थियो, अव यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।” गोबर र गौमुत्रको प्रशोधन गरी दशौँ रोपनी बन्जर जमिनलाई अर्ग्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उहाँले बताउनुभयो । गोबंस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन भन्ने कुरा जगतलाई स्मरण गराउनका लागि यो अभियानको थालनी गरिएको उहाँले बताउनुभयो । गौशाला विशुद्ध गौ मातासँग जोडिएर गर्न सकिने उपचारका पद्धतिहरू, अध्ययनका विद्याहरू, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामाग्रीहरू उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशा तर्फ लैजाने योजना समेत गौतमले सुनाउनुभयो । गौमाताकोमहिमा अपरम्पार रहेको बताउँदै गौतमले विषपान गरेर पनि अमृत प्रदान गर्ने गौहरूको आश्रय स्थल गौशालालाई जीवन्त पाठशालाका रूपमा चित्रण गर्नुभयो । पोखरा आउने पर्यटकहरू, भ्रमणका लागि आउने विभिन्न स्वदेशी तथा विदेशी समूहहरू, विद्यार्थीहरू सवैसवैलाई गौशालासम्म पुग्ने अवस्थाको सृजना गरिने उहाँले बताउनुभयो । पवित्र उद्देश्यले थालिएको असल कर्मलाई भगवान्ले पूर्णता प्रदान गर्ने उल्लेख गर्दै भागवत भास्कर गौतमले असल कर्मका लागि उद्धत हुन प्रेरणा समेत प्रदान गर्नुभयो । हाल गौशालामा २५० बढी गाईहरू संरक्षित छन् । पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित गौशाला सडकमा छोडिएका पशुचौपायहरुको आश्रय स्थल बनेको छ । साथै महानगर क्षेत्रमा पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपायका धनीहरूलाई जथाभाबी रूपमा सडकमा पशुचौपाय नछोड्न महानगरपालिकाले पटक पटक आग्रह गर्दै आइरहेको छ ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताउनुभयो । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । पचहत्तर रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातका आलुखेती गरिएकामा जनकदेव र रोजिटाको उत्पादन प्रशस्त भएको पुनले जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको फार्ममा खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्राण्ड स्थापित गर्नेगरी संस्थाको नाम, ठेगाना र परिमाण उल्लेख गरी बजारमा लैजाने तयारी गरेको उहाँले बताउनुभयो । फार्ममा आबद्ध आलु उत्पादक समूहले आफ्नोबाहेक स्थानीय किसानद्वारा उत्पादित आलु बजारीकरणमा सघाउने जनाएको छ । समूहले जनकदेव र रोजिटा जातका आलुको आकारअनुसार मूल्य तोकेको छ । सानालाई प्रतिकेजी रु ३५, मध्यमको रु ४० र ठूलो आलु प्रतिकेजी रु ५० मा खुद्रा बिक्री गर्ने समूहले जनाएको छ । समुद्र सतहबाट एक हजार छ सयदेखि तीन हजार पाँच सय मिटरको उचाइसम्म रोजिटा आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्ने भएकाले आलुको बीउ कृषि ज्ञान केन्द्रले सिफारिस गरेको कृषि प्राविधिक सहायक श्यामशरण कर्मीले बताउनुभयो । उन्नत जातका आलुमा रोग, कीराको प्रकोप नहुने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसप्रति आकर्षित भएका उहाँले बताउनुभयो । जिल्लाको मुसुङ, भुकभुके, भकिम्ली क्षेत्र आलु उत्पादनका लागि उपयुक्त भएकाले केन्द्रले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत किसानलाई आलुखेतीमा लाग्न प्रोत्साहन गरेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आवमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । केन्द्रका अनुसार म्याग्दीमा वार्षिक २५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।
नवलपरासी: नवलपरासीको प्रतापपुर गाउँपालिका–२ घोडाहास्थित सडकबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादव रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एवाई ५४५० नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । उनको साथबाट अवैध लागुऔषध खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं: साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म ुईश्वरुको ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण कम्पनीले सामाजिक संजाल युट्युबमार्फत सार्वजनिक गरेको हो । राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ । राजु गिरीले निर्देशन गरेको फिल्मको ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन् । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई हरिबहादुर थापाले निर्माण गरेका हुन् । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । अभिनेत्री अनु शाहले ५ वर्षपछि यसै फिल्मबाट अभिनयमा कमब्याक गरेकी छन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो । फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । रामेश्वर हुँमागाईको छायांकन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ ।

