पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रदेश प्रमुखले यस्तो बताउनुभएको हो । ‘पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग गर्ने विश्वास लिएको छु’ उहाँले भन्नुभयो – ‘विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले मुलुकमा धार्मिक पर्यटन मार्फत् समृद्धिको स्पष्ट खाका आउने विश्वास छ । सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, यहाँका पर्यटकीय गन्तव्यहरुलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्नुका साथै शैक्षिक व्यक्तित्वहरुबीचको यो जमघले यहाँका विश्वविद्यालयको शैक्षिक क्षेत्रको स्तर वृद्धि हुने अपेक्षा पनि उहाँले गर्नुभयो । ‘विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ । नेपाल ऋषिमुनीहरुको तपोभूमि हो ।’ उहाँले भन्नुभयो – ‘मन्दिरै मन्दिरको शहर काठमाण्डौमा हिन्दुहरुको प्रमुख धाम पशुपतिनाथ देखि बुद्ध जन्मभूमि लुम्बिनी हुँदै गण्डकीको मुक्तिनाथसम्मले पर्यटकलाई तान्दछ । नेपालका हरेक स्थानमा पर्यटक लोभ्याउने गन्तव्यहरु छन् । यसको प्रचार प्रसारको आवश्यकता रहेको छ ।’ बुद्धको विचार, मार्गदर्शन एवम् बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै उहाँले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको बर्थिङ सेन्टरका रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्न सकिने बताउनुभयो । नेपाल सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत विभिन्न किसिमका अन्तर्राष्ट्रिय सम्मेलन पनि गरिरहेको जनाउँदै प्रदेश प्रमुख भट्टले शिक्षाको माध्यमबाट अध्यात्मिक पर्यटनको हितका लागि गरिएको यो सम्मेलन महत्वपूर्ण रहने बताउनुभयो । सम्मेलनमा छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान स्थित विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
पोखरा: महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) को आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड लगायतका समाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिनुुभयो । उहाँका अनुुसार महिलाहरूलाई अत्यावश्यक सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीको अध्यक्षता एवम् मञ्चका संस्थापक अध्यक्षतामा जमुना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, मञ्चका पदाधिकारी लगायतको उपस्थिति थियो । मञ्चले स्वदेश एवम् विदेशमा पर्यटन राजधानी पोखरा सहित समग्र देशको पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष भण्डारीले बताउनुुभयो ।
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा बागलुङले म्याग्दीलाई ७–२ गोलअन्तरले हराउन सफल भएको हो । बागलुङले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यसअघि भएको पहिलो सेमीफाइनल खेलमा बागलुङ स्याङजासँग ८–५ गोलले पराजित भएको थियो । म्याग्दी भने, कास्कीसँग ९–० को हार व्यहोरेको थियो । कास्की र स्याङजा भने भोलि उपाधिका लागि भिड्नेछन् । पुरुषतर्फ कास्की, बागलुङ, स्याङजा र तनहुँ सेमीफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा स्याङजाले नवलपुरमाथि २०–४ को फराकिलो जित हासिल गरेको छ । बागलुङले पर्वतलाई १६–५, कास्कीले म्याग्दीलाई १९–१२, तनहुँले गोरखालाई २०–२, स्याङजाले बागलुङलाई ११–८ र पर्वतले नवलपुरलाई १२–९ गोल अन्तरले हराएको हो । पुरुषतर्फ समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् । प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने छन्् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले बताए । पुरुषतर्फको खेल भोलि विहान हुनेछ । पहिलो सेमीफाइनलमा कास्की र बागलुङ तथा दोस्रो सेमीफाइनल स्याङजा र तनहुँबिच हुनेछ । महिला र पुरुष तर्फको फाइनल खेल समेत भोलि नै हुने आयोजकले बताएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताउनुभयो । उहाँका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् । यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताउनुभयो । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसद्मा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकजनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अन्य चारजनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।
पोखरा: पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ । यातायात व्यवस्था कार्यालय ९सवारी० पोखराका प्रमुख डिल्लीराम रिजालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताउनुभयो । “अनधिकृत रुपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौं ।” गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ । साथै यातायात कार्यालयले नै सार्वजनिक सवारीका लागि भाडादर तोक्ने गर्छ । तर हाल सञ्चालनमा रहेका इन्ड्राइभलगायतका निजी सवारीसाधनले भने आफै एप बनाएर भाडादर आफै लागु गर्ने गरेका छन्, तर कानुनअनुसार यस्तो कार्य अवैध हो । “नियमवली बनेपछि मापदण्ड नबन्दा गण्डकी प्रदेशमा राइड सेयरिङ सेवालाई नियमन गर्न सकिएको छैन”, कार्यालय प्रमुख रिजालले भन्नुभयो, “अहिले यातायात कार्यालयको अनुमतिसमेत नलिई आफूखुसी एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य भइरहेको छ, आफै भाडा तोकेर सञ्चालन भएको छ । यातायात कार्यालयले समायोजन गर्ने गरेको भाडाबमोजिम छ कि छैन भनेर पनि निजी सवारीसाधनले हेर्ने गरेका छैनन् । गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा गैरकानुनी छ ।” मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’मा दर्ता हुन पाउने छन् । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’हरु पोखरामा यात्रु भने बढ्दै छन् । यहाँ यी सवारीसाधन लोकप्रिय बन्दै गएका भए पनि नियमन गर्न र वैधानिक बनाउन भने सकिएको छैन । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु, क्याब ट्याक्सीलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएको इनड्राइभलगायत ‘राइड सेयरिङ’ चलिरहेको छ । यातायातसम्बन्धी कानुनअनुसार यसले गण्डकीमा हालसम्म वैधानिकता पाएको छैन । ‘राइड सेयरिङ’ सेवाका लागि दुई पाङ्ग्रे सवारीसाधन दर्ता गर्न रु २५ हजार र नवीकरण शुल्क प्रतिवर्ष रु १२ हजार पाँच सय तोकिएको छ । चार पाङ्ग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क रु ५० हजार र नवीकरण शुल्क रु २५ हजार कायम गरिएको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रेको दर्ता अनुमतिका लागि रु ७० हजार र वार्षिक नवीकरण रु ३५ हजार तोकिएको छ । सार्वजनिक यातायात क्षेत्रमा यात्रु ठगिने र दुःख पाउने अवस्थाको अन्त्यका लागि ‘राइड सेयरिङ’लाई वैधानिकता दिनुपर्ने माग हुँदै आएकाले राइड सेयरिङ एपहरुको नियन्त्रण र व्यवस्थापन जरुरी रहेको बताइएको छ । यातायात व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले राइड सेयरिङ सेवालाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । “जसलाई मन लाग्यो उसैले एप राखेर यात्रु बोक्न पाइँदैन, सरकारले नियमन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “निजी सवारीसाधनले आफूखुसी यात्रु बोकेपछि सार्वजनिक यातायात किन चाहियो ?”
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ना५ख ४३७४ नम्बरको बस अनियन्त्रित हुुँदा सडकको बायाँतर्फ नालीमा दुर्घटना भएको थियो । दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ३० वर्षीया सुनिता गुरुङ, पाँच वर्षीय रेशम सुनुवार, पोखरा महानगरपालिका–३२ बस्ने २५ वर्षीया संगीता तिवारी, २८ वर्षीय सन्दीप तिवारी, धादिङको ज्वालामुखी गाउँपालिका–७ बस्ने ३८ वर्षीय टेकनाथ कँडेल र १० वर्षीया सुरक्षा कँडेल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
पोखरा: फेवातालमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । फेवातालमा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर कास्कीको नौडाडा घर भएका सञ्जय भण्डारीको मृत्यु भएको हो । फेवातालमा पौडी खेल्न भएका ५ जना मध्ये कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाडा घर भएका २५ वर्षीय भण्डारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । पौडी खेल्ने क्रममा मृत्यु भएका भण्डारी लेकसाइडस्थित क्विन पार्कमा काम गर्दै आएको कास्की प्रहरीले जनाएको छ । पौडी खेल्न गएका बाँकी ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । भण्डारीको शवलाई पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

