पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत बिऊ रोप्ने (जर्मिनेसन) तथा गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको विद्यालयमा प्रावि तहमा कक्षा नर्सरीदेखि एकसम्मका सम्पूर्ण विद्यार्थीहरुले शिक्षिकाहरुको साथमा बिऊ रोप्ने कार्य सम्पन्न गरिएको हो । हिले महिना असारको अवसर पारेर साना बालबालिकाहरुलाई बिऊ रोप्ने र उमार्ने तरीका सिकाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको प्राध्यानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आधारभुत (जुनियर) तर्फ भएको गणित हाजिरीजवाफ प्रतियोगितामा अन्नपूर्ण सदनबाट सिद्धान्त केसीको समूह प्रथम र कञ्चनजङ्घा सदनबाट मुस्कान भण्डारीको समूह द्वितीय भए । उनीहरुलाई विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन गणित शिक्षक लिलाबहादुर बिकले गरेका थिए ।
गायन रियालिटी शो 'नेपाल आइडल' सिजन ५ को ग्राण्ड फिनाले भोलि (शनिबार) हुँदैछ। एपीवान टेलिभिजनको स्टुडिओमा बेलुका ६ बजेबाट सुरू हुने फिनालेमा टाइटलका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन्। बर्दियाका करण परियार, पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेल प्रतिस्पर्धामा छन्। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिनेछ। भोलि बेलुका ८ बजेसम्मका लागि भोटिङ खुला छ। यसपटक फिनालेमा पहिलो सिजनदेखिका प्रतिभावान प्रतिस्पर्धी, जो अहिले सांगीतिक क्षेत्रमा चर्चामा छन्, उनीहरूको समेत प्रस्तुति रहने निर्देशक सुरेश पौडेलले बताए। उनका अनुसार प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल, प्रविन बेडवाल, अफसर अली लगायतले फिनालेमा प्रस्तुति दिनेछन्। फाइनलिस्टसहित उत्कृष्ट १४ भित्रका अन्य १० प्रतिस्पर्धीको समेत प्रस्तुति रहनेछ। फिनालेका लागि सेट समेत परिवर्तन गरिँदैछ। फिनालेलाई एपीवान टेलिभिजन र नेपाल आइडलको युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने निर्देशक पौडेलले बताए। शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छ भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन्। सातै प्रदेशमा गरिएको अडिसनबाट १ सय ५२ जना प्रतिस्पर्धीहरू छनोट भएका थिए। प्रि–थिएटर, थिएटर, पियानो, गाला राउण्डमा प्रस्तुति दिँदै प्रतियोगीहरू फिनालेसम्म पुगेका हुन्। विजेताले २५ लाख रूपैयाँसँगै अन्य विभिन्न पुरस्कार पाउनेछन्। फस्र्ट र सेकेन्ड रनरअपले क्रमशः १० र ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्।
पाल्पा जिल्लाको रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट ल्याएको छ । नगर सभाको १५ औं अधिवेशनबाट ७३ करोड ८५ लाख चार हजारको बजेट सार्वजनिक गरेको हो । चालु तर्फ ५६ करोड ३१ लाख ४४ हजार र पुँजीगततर्फ १७ करोड ५३ लाख ६० हजार गरी ७३ करोड ८५ लाख चार हजार बजेट विनियोजन गरिएको गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र दुई करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड विनियोजन गरिएको छ । सार्वजनिक गरेको बजेटले कृषि उत्पादनमा वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ । नगरपालिकाले आयतर्फ सङ्घीय समानीकरण अनुदान १२ करोड ६ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट ११ करोड ६ लाख, सङ्घीय समपूरक पुँजीगत एक करोड ३५ लाख, सशर्त चालुतर्फ ३४ करोड ५३ लाख चार हजार, सङ्घीय सशर्त पुँजीगत एक करोड २० लाख, प्रदेश समानीकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँट ८१ लाख ४० हजार, प्रदेश समपूरक एक करोड पाँच लाख, प्रदेश सशर्त एक करोड र आन्तरिक स्रोतबाट नौ करोड ९५ लाख ९५ हजार जुटाउने अनुमान गरेको छ ।
बुटवल मिलनचोकको डेल्टा एजसकेसन मार्टमा बिहीबार भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ । साँझ ७ बजेतिर लागेको आगो मध्यरातमा बल्ल नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट सुरु भएको आगलागी निभाउन बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १० वटा दमकल प्रयोग गरिएको थियो । मार्टको तेस्रो तलामा किताब, कापीसहित स्टेशनरी सामान र खेलकुदका सामान, दोस्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी ड्रेस र भुईं तलामा नेपाली कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । आगलागीबाट सबै तलाका सामान जलेर नष्ट भएका प्रहरीले जनाएको छ । १० वटा दमकलसँगै नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी अन्यत्र फैलिनबाट राति नै नियन्त्रणमा आएपनि मार्टको भुईं तलाको आगो भने बिहान ७ बजेसम्म दुई वटा दमकलले निभाइरहेका डीएसपी भट्टले बताए । मार्टको आसपासमा घना वस्ती र पेट्रोल पम्प समेत नजिकै भएकाले आगलागी वस्तीमा फैलिने डरले स्थानीयहरु भयभीत भएका थिए । मार्टका सञ्चालकले विद्युत सर्किट सर्ट भई आगलागी भएको अनुमान गरेपनि प्रहरीले अहिले नै यही कारणले हो भन्ने पत्ता नलागेको बताएको छ । मार्टका सञ्चालकहरुले करिब ४० करोडको क्षति भएको जानकारी दिए पनि डीएसपी भट्टले भने क्षतिको यकिन अझै नभएको बताए ।
नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएपछि फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन्। नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट देवकोटा निर्वाचित भएका थिए। ह्विप उल्लंघन गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिएको भन्दै माओवादीले गत जेठ ३२ गते देवकोटालाई कारबाही गरेको थियो। सोही दिन सभामुख कृष्ण धितालले देवकोटामाथि कारबाहीको पत्र प्रदेश सभामा पढेर सुनाएका थिए। त्यसपछि प्रदेश सभा सदस्य र गण्डकीको ऊर्जा मन्त्रीबाट देवकोटा पदमुक्त भएका थिए। देवकोटाले गत जेठ २८ गते मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका थिए। देवकोटाको सहयोगमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका थिए। आफू नेपाल समाजवादी पार्टीको नेता र प्रदेश सभा सदस्य रहेको दाबी गर्दै त्यसबेला देवकोटाले नेसपा केन्द्रकै निर्देशनअनुसार मुख्यमन्त्रीलाई विश्वास मत दिएको बताएका थिए। नेसपा प्रवक्ता कृष्ण शर्माका अनुसार देवकोटाले बिहीबार सर्वोच्चमा रिट दिएका छन्।
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् । मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिनुभयो । मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।
कास्की प्रहरीले फार्मेसीबाट अवैध रुपमा लागुऔषध विक्री गर्ने र किनेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा ७ प्रगति टोलस्थितमा सुमधुर फार्मेसीबाट विक्री गर्ने गोरखा सिरानचोक गाउँपालिका ४ घर भई हाल पोखरा १५ बस्ने २२ वर्षीया कुमारी कुमाल र ड्रग्स किन्ने पोखरा ९ वस्ने २२ वर्षीय दिपेश गुरुङ र सोही स्थानकै विपिन परियार रहेका छन् । प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र सिआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट टपेन्टाडोल (१ सय एमजी) १८ चक्की र उक्त फार्मेसीमा खानतलासी गर्दा टपेन्टाडोल (१ सय एमजी) १४७ चक्की र टपेन्टाडोल (५० एमजी) ६७ चक्की गरी कुल २१४ चक्की गरिएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार लागूऔषध डाक्टरको सिफारिस विना किनेको पाइएकाले दुव्यसनीको प्रयोग गर्ने देखिएपछि अनुसन्धान थािलएको हो । पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७)े म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

