गण्डकी प्रदेशमा निर्माण घोषणा भएका २९ औद्योगिक ग्राममध्ये ३ औद्योगिक ग्राम आगामी आव २०८१/८२ भित्र सञ्चालनमा ल्याइने भएको छ । उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र पूर्वाधारको अवस्था हेरेर थप एउटा स्थानीय तहमा औद्योगिक ग्राम सञ्चालनको तयारी गरिएको हो । मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले ३ औद्योगिक ग्राम सञ्चालनको योजनालाई प्रदेश सरकारको बजेटले समेटेको जानकारी दिए । “आँबुखैरेनी र अर्जुनचौपारीमा उद्योग स्थापनाका लागि सम्झौतासमेत भइसकेको छ, आँबुखैरेनीमा बाँसको फर्निचर र फलामको मेसिनरी उद्योग खोल्ने तयारी छ”, उनले भने, “मन्त्रालयले स्थानीय तहलाई कार्यविधि तोकेर पठाएको छ, सोहीअनुसार औद्योगिक ग्राम सञ्चालनको प्रक्रिया अगाडि बढ्छ ।” उनले प्रदेशका अन्य औद्योगिक ग्राम सञ्चालनका लागि न्यूनतम भौतिक पूर्वाधार निर्माणको काम भइरहेको बताए । समयमा जग्गा व्यवस्थापन नहुनु, अन्तर निकाय र मन्त्रालयबीच समन्वय अभाव, स्थानीय तहको तदारुकतामा कमीजस्ता कारणले औद्योगिक ग्राम निर्माणले सोचे जसरी गति लिन नसकेको उनले बताए । तीनै तहका सरकारको लागत साझेदारीमा औद्योगिक ग्राम खोल्ने नीति छ । औद्योगिक ग्रामका लागि सङ्घ र प्रदेश सरकारबाट बजेट उपलब्ध भएपनि योजना कार्यान्वयनको जिम्मा स्थानीय तहलाई छ । जग्गा व्यवस्थापन गर्न नसकेर कतिपय ठाउँमा योजना नै अघि बढ्न सकेको छैन । कहीँ लगानी भएर पनि कामको उपलब्धि कमजोर छ । प्रदेश सरकारले गाउँठाउँमै उद्योगधन्दा खोली रोजगारी सृजना गर्ने सरकारको लक्ष्यअनुसार औद्योगिक ग्राम निर्माणको योजना अगाडि बढाएको हो । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सृजना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पु¥याउने विश्वास लिइएको महाशाखा प्रमुख आचार्यले बताए । औद्योगिक ग्राममा खानेपानी, बिजुली, नाली, घेरबार, प्रवेशद्वार, प्रदर्शनी, बिक्री र भण्डारण कक्षलगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । निजी क्षेत्रलगायत अन्य सरोकार भएका पक्षसँगको समन्वय र सहकार्यमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइनेछ । औद्यागिक ग्राममा साना तथा मझौला उद्योग रहने महाशाखा प्रमुख आचार्यले जानकारी दिए । स्थानीय स्तरमा पाइने कच्चापदार्थ, कृषि, वन पैदावर, जडीबुटी, खानी, खनिज आदिमा आधारित उद्योग खोल्न सकिने व्यवस्था छ । औद्योगिक ग्रामका लागि सरकारले हिमाली र दुर्गम पहाडी जिल्लामा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराईमा ७ बिघा जग्गाको मापदण्ड तोकेको छ । गण्डकी प्रदेशमा तनहुँको भानु नगरपालिका, ऋषिङ, आँबुखैरनी गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी, कालिगण्डकी गाउँपालिका, चापाकोट, वालिङ नगरपालिका, लमजुङको राइनास नगरपालिका, बागलुङको ताराखोला, मनाङको चामे गाउँपालिका लगायत स्थानीय तहमा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको छ ।
दमक: झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा मङ्गलवार बिहान बस र टिप्पर ठाेक्किदा २१ जना यात्रुहरू घाइते भएका छन् । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ न.को टिप्पर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए । उनका अनुसार घाइतेहरूलाई उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको छ । स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । झापा कमल गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३८ की बिनु लिम्बु र दमक नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४२ का कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसि अस्पताल लगिएको छ ।
पोखरा: हेमजामा जारी भेट्रान्स कप फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । सोमबार भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी बन्यो । खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले समान १ गोल गरे । त्यस्तै अर्को खेलमा पोखरा १३ ले वडा ४ लाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दे अघिल्लो चरणमा प्रवेश गर्याे । खेलको दोस्रो मिनेटमा नै पोखरा १३ का सुरेन्द्र गुरुङले गोल गरे । यस्तै टीमका राज कुमार गुरुङले २, राजेश गुरुङ, विजय कुमार श्रेष्ठ, धनराज तमाङ, दर्शन श्रेष्ठ, भक्त गुरुङ र अम्बर बहादुर गुरुङले पनि समान १ गोल गरे । यता पोखरा ४ का द्रव्यजंग राणाले सान्त्वना १ गोल फर्काएका थिए । हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबारदेखि सुरु भएको अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले नगद रु १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले नगद रु ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र अन्य विधागततर्फ पनि नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशमा अहिले मध्ययम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशमा पनि सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ मौसम विभागले जनाएको छ ।
चितवन: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ स्थित विनोद सुनचाँदी पसलमा चोरी भएको घटनाबारे अनुसन्धान गर्न माग गरेको छ । गत शनिबार करिब बेलुका ८ बजे सुनचाँदी पसलमा मुखमा माक्स लगाएका व्यक्तिहरु प्रवेश गरि हात हतियार देखाई पसलमा डिस्प्ले गरेका सम्पूर्ण गरगहनाहरु उठाएर लगेकाले आवश्यक अनुसन्धान गर्न गृह मन्त्रालय तथा मातहतका प्रहरी कार्यालयलाई महासंघले माग गरेको हो । औपचारिक रुपमै गृहमन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र पठाइसकेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ । आपराधिक मनासयसहित चोरी गरेको घटनाप्रति महासंघले विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको छ । साथै महासंघले प्रहरी समक्ष यथाशिघ्र घटनामा संलग्नलाई खोजी गरी कारवाहीकाे दायरामा ल्याउन र चोरीका धनमाल फिर्ता गर्न माग गरेको छ । 'स्थानीय व्यस्त पूर्वी चितवनको खोलेसिमल बजारमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदासमेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको आज तीन दिनसम्म पनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको छ । साथै यसबाट सुरक्षा संयन्त्र एवं अनुसन्धान निकायको प्रभावकारिता माथि नै चुनौति खडा भएको महशुस गरिएको छ, विज्ञप्तीमा भनिएको छ, 'तसर्थ अनुसन्धान कार्यलाई थप प्रभावकारी रुपमा तीव्रता दिई छिटो भन्दा छिटो उक्त घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितको चोरी भएको धनमाल दिलाई भराई न्याय पाउने व्यवस्थाका लागि अविलम्व आवश्यक पहल हुन सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ ।’
पोखरा: गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा उनीहरुले जित निकालेका हुन् । नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित हात पारेको छ । वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा २ चौका र एक छक्काको मद्धतले २३ रन जोडे । पर्वतका दिपेन्द्र भण्डारीले १३, रोशन गौतमले ११ र सन्देश खड्काले १० रन जोडे । नवलपुरका लागि बलर ऋषी गोविन्द श्रेष्ठले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने कमल परियारले २, सुदिप अर्याल र स्विकार श्रेष्ठले समान १–१ विकेट लिए । ९४ रन पछ्याएको नवलपुरले १३।४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । खेलको म्यान अफ दि म्याच समेत रहेका नवलपुरका प्रमिश अर्यालले ३६ बलमा चार चौका प्रहार गर्दै ३४ रन जोडे । तर अर्का ओपनर गोविन्द विक भने सून्य रनमा पेभिलिएन फर्किए । उनी रन आउट भएका थिए । रिजन काफ्लेले १६ बलमा २ चौकासहित २७ रनमा नटआउट रहे भने दिपक डुम्रेले १४ रनको योगदान दिए । पर्वतका रोशन गौतमले २ विकेट लिए भने विकाश क्षेत्रीले १ विकेट आफ्नो नाममा लेखाए । स्याङजाका किरणले लिए ५ विकेट गोरखा विरुद्धको खेलमा स्याङजाका बलर किरण भट्टराईले ५ विकेट लिंदा स्याङजाले १० विकेटले सम्मानजनक जित दर्ता गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८।१ ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो । अतिरिक्त १३ रन समेत पाएको गोरखाका गौरव पौडेलले ३५ रनको योगदान बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । स्याङजाका किरणले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा दुई मेडनका साथ ७ रन दिएर ५जनालाई आउट गरे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै विपिन राज न्यौपानेले ३.१ ओभरमा ४ रन दिएर ३ विकेट लिए भने अंकित न्यौपाने र तुल्सी भण्डारीले समान १–१ विकेट लिए । यता जवाफी व्याटिङमा उत्रिएको स्याङजाले विस्फोटक व्याटिङ गर्दै ८.४ ओभरमा कुनै पनि विकेट नगुमाई ७५ रनको लक्ष्य भेट्टायो । स्याङजाका ओपनर खेलाडी द्वय इश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट व्याटिङ गर्दै लक्ष्यमात्रै भेट्टाएनन् टिमकालागि २ अंक समेत जोडे । इश्वरले २३ बलमा ३ चौका र ३ छक्काको मद्धतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै ३ चौक र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए । मंगलबार पहिलो खेल पर्वत र स्याङजाका बीच हुनेछ भने दोस्रो खेल पर्वत र नवलपुरबीच हुनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
धनुषा: आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राजनारायण यादवल रहेका छन् । राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका–५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तनहुँ: चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा १ चण्डीमैदानले शुक्लागण्डकी नगरपालिका १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायीत्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो । क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै अध्यक्ष रानाले सन्देश दिने उद्देश्यसहित सहयोग गरेको बताएका थिए । यस्तै विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन् । कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्जुन राना, सिम्ले टोल विकास संस्थाका अध्यक्ष पदमराज वाग्ले, स्थानीय समाजसेवीका साथै विद्यालयका शिक्षिका बुद्धिमाया राना लगायतको उपस्थिति थियो । चण्डी देउराली क्लब विभिन्न खेलकुदसँगै सामाजिक गतिविधिमा क्रियाशिल रहदै आएको छ ।
पोखरा: राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आइतबार विहान पोखरा रंगशालाबाट शुभकामना दिदैं विदाई गरेका छन् । उनले खेलाडिहरुलाई स्वर्ण पदक ल्याउन कोशिष गर्न आग्रह गर्दै अनुशासनलाई पहिलो प्राथमिकता दिदैं हौसला स्वरुम प्रतियोगिताबाट घर फर्किने समयमा मनकामना मन्दिर दर्शनको लागि केबलकारको टिकट आफुले उपलब्ध गराउने बताए । यही असार ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने उक्त प्रतियोतिमा गण्डकी प्रदेशसहित कोशी, वाग्मती, सुदुरपश्चिम गरी ४ प्रदेश र नेपाल आर्मी र सशस्त्र प्रहरीको विभागिय टिम गरी जम्मा ६ समुहकाबीच प्रतिस्पर्धा हुने छ । महिला र पुरुष, सिंगल र समुहमा फोयल, स्यावल र एपे गरी ३ विधामा १२ स्वर्ण पदकको लागि हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट १० महिला र १२ पुरुष खेलाडि सहभागि भएका मुख्य प्रशिक्षक सन्दिप वरालले वताए । खेलाडीको साथमा गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाही र कार्यसमिति सदय शिव शर्मा तथा कास्की जिल्ला फेन्सिङ संघ अध्यक्ष अमृत पोखरेलको सहभागिता रहेको छ ।

