पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:   पोखरा ६ लेकसाइडस्थित चकटी रेष्टुरेन्टबाट १ किलो गाँजासहित दुई युवक पक्राउ परेका छन् ।   कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा बाग्लुङ जैमिनी नगरपालिका ४ घर भएका २० वर्षीय संजोग क्षेत्री र पोखरा महानगरपालिका१७ बस्ने १८ वर्षीय कल्याण महर्जन छन् ।    उनीहरुलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।   उनीहरुको साथबाट १ केजी गाँजा बरामद भएकोे छ ।   उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा सम्पन्न नि:शूल्क आँखा शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका छन् ।   पोखरा ११ स्थित नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति माविको आयोजनामा बुधबार विद्यालयमा भएको शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका हुन् ।   कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचार्यले उद्घाटन गरे । उनले शारीरिक स्वस्थता मानिसको आवश्यकता रहेको बताए । उनले आँखाको नानी जीवनको केन्द्र रहेको बताउँदै आँखा सुरक्षासम्बन्धी सचेतना विद्यालय तहबाटै बढाउन आवश्यक रहेको बताए ।   हिमालय आँखा अस्पतालका निर्देशक धर्मेन्द्रकुमार घोडासैनीले विद्यालय स्तरमा आँखा सुरक्षासम्बन्धी कार्यक्रम निकै प्रभावकारी कार्यक्रम रहेको औल्याउँदै शरिरको सबैभन्दा संवेदनशिल अंग आँखाको सुरक्षामा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे ।   जुनियर यूवा रेडक्रस समिति संयोजक रमेशराज भण्डारीले कार्यक्रमका हिसावले नमुना विद्यालयको रुपमा शिवशक्तिलाई लिएको बताउँदै यस्तै उदाहरणीय कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे ।   कार्यक्रममा सल्लाहकार सूर्यप्रसाद तिमिल्सिना, शिक्षक गोविन्द प्रसाद अधिकारी, गुरुप्रसाद तिवारी, राजकुमार गुरुङ लगायतले बोलेका थिए ।   कार्यक्रममा डा प्रेरणा भण्डारी, सन्ध्या ढकाल, एलिना अधिकारी र प्रमिला पौडेलसहितको टोलिले आँखाको चेकजाँच गर्नुका साथै आँखा स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५ जनालाई निःशूल्क चस्मा वितरण गरिएको शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।   ने.यू.रे.स. शिवशक्ति माविका अध्यक्ष यूवती जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक शर्मिला बराल सापकोटाले गरेकी थिइन् ।

कास्की:   हेमजा भेट्रान्स कपको फाईनलमा  पोखरा १२ र १३ प्रवेश गरेको छ ।   आज भएको सेमिफाइनल  खेलमा पोखरा १२ ले १० लाई ७–० को गोल अन्तरले पराजित गर्दे फाईनलमा  प्रवेश  गर्याे  ।   उक्त खेलको म्यान अफ दि म्याच पोखरा १२ का नितिस श्रेष्ठ घोषित भए ।   यस्तै दोस्रो सेमिफाइनल खेलमा पोखरा १३ ले १७ लाई  ३–१ गोल अन्तरले  पराजित गर्दे फाईनलमा वडा १२ सँगको भेट पक्का गर्याे।  उक्त खेलको म्यान अफ दि म्याच पोखरा १३ का नरेन्द्रजगं गुरुङ घोषित भए ।   अब शुक्रवबर उपाधिका लागि पोखरा १२ र १३ भिडने छन् ।    प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्  ।                    

पोखरा:  घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ ।   पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९.३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।   कास्कीको पारीको सुरुवात खासै जम्न सकेन ।   कास्कीका भरपर्दाे मानिएका अर्जुन कुमाल ३ रन जोडेर अंकित न्यौपानेको बलमा बोल्ड हुन पुगे भने सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाए । उनलाई करण पगेनीले रन आउट गरे ।   मुस्कान थापाले ३ रन बनाउँदै आउट भए भने अभिशेक थापाले २५ बलमा १७ रन बनाए । सोहेल कुंवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिए ।   बागलुङका लागि ३.४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने सन्दिप खत्री क्षेत्री, विपिन न्यौपाने, किरण भट्टराई र करण पगेनीले समान १–१ विकेट लिए  ।   जवाफी व्याटिङका लागि उत्रिएको स्याङजाका ओपनर इश्वर क्षेत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किए । विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिंदै सुरुवातमा नै कास्कीले स्याङजालाई दबावमा राख्ने प्रयास गर्यो ।    स्याङजाका लागि करण पगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अनिष ताम्राकारले ७ रन बनाए । उनी सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट भए ।   स्याङजाका अर्का व्याट्स्म्यान सन्दिप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड गर्नु अघि विस्फोटक पारी खेल्दै २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडे । सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै ९ बलमा १० रन बनाए । उनलाई अभिसेक थापाले बोल्ड गरे भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहे । खेलमा स्याङजाका करण पगेनी फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।   यहि असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुँदा खेल अविधमा १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगद सहित ट्रफी हात पारे ।   प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, क्यानका केन्द्रिय सदस्य सुदिप पौडेल, यू–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, परिषदका सदस्य केशव पाठकलगायतले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।  

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुने भएको छ।   राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकामा कक्षा १० को आवेदन फाराम इन्ट्री पुस १ गतेदेखि मसान्तसम्म हुने उल्लेख छ।   प्रश्नपत्र छपाई र ढुवानी फागुन १ गतेदेखि मसान्तसम्म हुने पनि उक्त कार्यतालिकामा उल्लेख छ।   कार्यतालिका अनुसार परीक्षा तालिका प्रकाशन माघ १ गते र माघ पहिलो हप्ताभित्र भने परीक्षा केन्द्र निर्धारण हुनेछ।

पोखरा:   जिल्ला प्रशासन कार्यालय कास्कीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड भएपछि सूचना जारी गर्दै कास्कीका विभिन्न ५ स्थानबाट सेवा वितरण गर्ने बताएको छ ।   सूचनामा भनिएको छ, ‘राष्ट्रिय परिचयपत्रको आवेदन संकलन गर्ने,फोटो खिन्चे प्रयोजनको लागि कास्की जिल्ला स्थायी ठेगाना भएका नागरिकहरुले तपशिल बमोजिमको स्थानबाट सेवा लिनुहुन अनुरोध छ ।’   जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका भित्रका वडा नम्बर १को कार्यालय, वडा नम्बर १७ को कार्यालय र वडा नम्बर २७ को कार्यालयबाट सेवा लिन सक्नेछन् ।   यसैगरी अन्नपूर्ण र मादी गाउँपालिकाका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय र रुपा गाउँपालिकाका नागरिकहरुले इलाका प्रशासन कार्यालय लेखनाथबाट सेवा लिन पाउँनेछन् ।    उल्लेख गरिएका स्थानबाट नागरिकले राष्ट्रिय परिचय पत्रको आवेदन र फोटो खिच्नेमात्रै सेवा प्राप्त गर्नेछन् ।   यो पनि पढ्नुहोस   विपद् व्यवस्थापन गर्ने नयाँ सिडियोको योजना   नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्यता गर्ने बताएपछि देशैभरका प्रशासन कार्यालयमा भीड बढेको छ ।   गत महिना मात्रै  कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा आएका भरतमणि पाण्डेले मुख्य रुपमा विपद् व्यवस्थापन र ग्राहकमुखी सेवा प्रदान गर्ने योजना सुनाएका थिए ।  

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध 'ड्रग्स' सहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ७ स्थायी घर भई हाल पोखरा १४ मझेरीपाटनका ४३ वर्षीय रवि पौडेल रहेका छन् ।   वडा प्रहरी कार्यालय रामबजारलाई लागुऔषधको सञ्चय तथा विक्रीवितरण गरी रहेको भन्ने प्राप्त सूचनाका आधारमा पौडेललाई डाइजापाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी जम्मा २२५ एम्पुल लागुऔषधसहित पक्राउ गरिएको हो ।   कास्की प्रहरीका अनुसार पौडेलले कुखुराको खोरमा उक्त लागुऔषध लुकाएका थिए ।   हाल पक्राउ परेका रविलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

कास्की:   जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका भित्र अवैध रुपमा बस्दै आएका पर्यटकलाई आवश्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पाठाएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटक प्रहरीसँग समन्वय गरी बुधबार पोखरा ६ लेकसाइड बस्दै आएका क्यानेडियन नागरिक र पोखरा १८ सराङकोट बस्दै आएका जर्मनी नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।    उनका अनुसार पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिल महिनादेखि हालसम्म गैरकानूनी रुपमा नेपालमा बस्दै आएका युके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोष्टारिका र रिपब्लिक अफ कंगोका गरी कुल १२ जना विदेशी नागरिकलाई सम्बन्धित देशमा फिर्ता पठाउनको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाएको थियो ।  

पोखरा:    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार  गएको पुसको मध्यदेखि हालसम्म देशभर १ हजार १ सय ७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।   हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन ।   उक्त तथ्यांक अनुसार  बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।   जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।   गत वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र रहेको बताइएको छ ।