पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:     पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ ।  सोमबारको १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । यसपालि चालु आर्थिक वर्षको भन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजार रुपैयाँले बढेको हो । चालु आर्थिक वर्षका लागि पोखराले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।  आगामी वर्ष बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।  संघीय राजस्व बाँडफाँटबाट  ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख  २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ व्यहोरिने उपमेयर गुरुङले नगरसभामा जानकारी गराइन । नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ ।  पोखराले कृषि क्षेत्रका लागि ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा, खेलकुद तथा यूवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा १ अर्ब ६५ करोड रुपैैयाँ, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन भएको हो ।  एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशिलता तथा जिविकोपार्जन सूधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ ।  पूर्वाधारतर्फ विश्व बैैंककोे सहयोगमा सञ्चालित तालचोकदेखि बेगानस, शिसुवादेखि शिसाघाट र विरौटा दोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि १ अर्ब ६५ करोड, वीपी मार्ग सडक स्तरोन्नतीमा ८ करोड रुपैयाँ विनियोजन भएको छ ।  राजस्व सुधारमा स्वयमसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले २ करोड रुपैयाँको व्यवस्थापन गरेको छ ।  महानगरपालिकाले बहाल कर असोेज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको छ ।   चालु वर्षको बजेटको जेठ मसान्तसम्म ४ अर्ब १२ करोेड ९ लाख ४७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको  ३८.३० प्रतिशत हासिल भएको छ ।  महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँ मात्रै  गरेको हो ।  १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाटबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२ प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको छ । २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार ७८ करोड समपरीक्षण गर्न पेश भएकोमा ५३ करोड  ३० लाख रुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको छ । (पुर्णपाठ)  

पोखरा:      पोखरामा निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनाधिकृत मोवाईल एप (पठाओ, टुटल र इनड्राईभ)को प्रयोग गरी भाडामा यात्रु ओसार–पोसार गर्ने २६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराको विभिन्न क्षेत्रबाट आइतबार २६ सवारीसाधन नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डीएसपी बसन्तकुमार शर्माले पठाओ, टुटल र इनड्राइभ एप प्रयोग गरी निजी तथा सार्वजनिक सवारीमा यात्रु ओसार–पोसार गर्ने २२ वटा मोटरसाइकल र स्कुटर र ४ वटा ट्याक्सी नियन्त्रणमा लिएको बताए ।  ‘निजी तथा सार्वजनिक सवारीले विभिन्न एपको प्रयोग गरी यात्रु ओसारपोसार गरेको गुनासो आएको थियो’, उनले भने, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाइएका विभिन्न एपहरु प्रयोग यात्रुहरु ओसारपोसार गर्ने सवारी धनीहरुलाई नियन्त्रणमा लिएर एकपटक सम्झाई बुझाई गरी छोडेका छौं ।’ यातायात व्यवस्था कार्यालय कास्कीले अनधिकृत रुपमा एप मार्फत ‘राइड सेयरिङ’ प्रयोग गरी यात्रु ओसारपोसार गर्ने कार्य तरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो ।   

पोखरा:    गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।  पोखरा रंगशालाको क्रिकेट मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा स्याङ्जाले कास्कीलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो ।  उपाधि जितेको स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।  टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५ रन जोड्यो । स्याङ्जाका कुशुम गोदारले ३१ बल ३१ रन, जोत्सीका मरासिनीले १८ बलमा १४ र सिमा केसीले ३६ बलमा २४ रनको योगदान दिए ।  बलिङतर्फ कास्कीका सुशिला दिमदुङ र पुर्णिमा गुरुङले समान २/२ विकेट र रचना चौधरी,चन्द्रमाया बराल र रिया तामाङले १/१ विकेट लिए ।   १ सय ६ रनको लक्ष्य पछ्याएको कास्की २० ओभरमा ९ विकेट गुमाउँदै ६० रनमा समेटियो । स्याङ्जाका आकृति तिवारी, सिमाना केसी र रञ्जना साउदले समान ३/३ विकेट लिए । यस्तै जोत्सीका मरासिनीले १ विकेट लिइन् । स्याङ्जा प्रतियोगिताभर अपराजित रह्यो ।    प्रतियोगितामा सर्वाधिक रन जोडेका स्याङ्जाका कुशुम गोदार सर्वोकृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याटर घोषित भइन् । उनले प्रतियोगिताभर ९७ रन बनाईन् । प्रतियोगितामा उत्कृष्ट बलर चन्द्रमाया बराल घोषित भईन । उनले प्रतियोगितामा ७ विकेट हात पारिन् ।  प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीमा व्यवस्थापनमा असार ७ देखि १० गतेसम्म गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।  राउण्डरोविनको आधारमा सञ्चालन भएको खेलमा स्याङ्जा, कास्की, पर्वत र नवलपुरको सहभागिता रहेको थियो । 

बारा:      बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ ।  नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए ।  त्यही कारण ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो । सोमबार मेयर राजन पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए ।।

काठमाडौं:     गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाको सांसद पद तत्काललाई जोेगिएको छ । प्रदेशसभा सदस्यबाट हटाउने नेकपा (माओवादी केन्द्र)को सिफारिस र त्यसबमोजिमको सभामुखको घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सोमबार अन्तरिमसहित विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर देवकोटा गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पार्टीको ‘ह्वीप’ उल्लंघन गरेको भन्दै माओवादी केन्द्र संसदीय दलले गएको जेठ २९ गते उनलाई कारबाही सिफारिस गरेको थियो । त्यही सिफारिसबमोजिम गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले उनलाई दल त्याग गरेका आधारमा सांसद पदबाट मुक्त भएको घोषणा गरेका थिए । ०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा देवकोटासहित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रतिनिधि माओवादी केन्द्रको चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । देवकोटाले आफू माओवादीको सदस्य नै नभएको जिकिरसहित रिट दायर गरेका थिए । नेसपा कुनै दलको छाया नभएर स्वतन्त्र रहेको भन्दै आफूले विश्वासको मत दिन सक्ने उनले जिकिर गरेका थिए । निर्वाचन आयोगमा बुझाइएको मनोनयनपत्र, नेपाल सरकारबाट प्रकाशित राजपत्र, गण्डकी प्रदेशसभा वेबसाइटको अभिलेख र सांसदहरूको टेलिफोन डायरीसहित आफूले पाएको परिचयपत्रमा नेपाल समाजवादी उल्लेख गरिएको उनको भनाइ छ । प्रमाण ऐन, २०३१ ६(ग) ले सरकारी अभिलेखले सुरक्षित दस्तावेजलाई प्रमाणका रूपमा स्वीकार गर्ने भन्दै माओवादीको दाबी र कारबाहीले आफ्नो पद नजाने उनको जिकिर छ । देवकोटाले राजनीतिक दलसम्बन्धी ऐनको एकल चुनाव चिह्नमा एकभन्दा बढी दल लड्न पाउने व्यवस्था निष्क्रिय हुन नदिन र संविधानको बहुलवादलाई प्रभावित नपार्न भन्दै अन्तरिम आदेश माग गरेका थिए । उनले माअ‍ोवादी केन्द्र गण्डकी प्रदेश संसदीय दल, संसदीय दलका नेता हरि चुमान, माअ‍ोवादी केन्द्रको केन्द्रीय कार्यालय र सभामुख धिताललाई विपक्षी बनाएका छन् ।

काठमाडौं:     नेपाल सरकारका निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उहाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरपछि निलम्बित मुख्यसचिव डा अर्याललाई हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सृजना गरी सरुवा गरिएको हो । डा अर्यालविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको थियो । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । डा अर्यालविरुद्ध मुद्दा दायर भएकाले प्रचलित कानुनबमोजिम निज स्वत: निलम्बन हुनुभएको हो । मन्त्री शर्माले कसैका विरुद्ध मुद्दा दायर हुँदैमा पद वा जागिरबाट हट्न नपर्ने भन्दै मुख्यसचिव डा अर्याल निलम्बन भएको स्थितिमा उक्त पद रिक्त नभएको अवस्थामा नयाँ मुख्य सचिव नियुक्त गर्न नमिल्ने भएकाले हाल निमित्त मुख्य सचिवबाट काम कारबाही हुने र निकासका लागि विशेष पद सृजना गरिएको बताउनुभयो । उहाँले आगामी निर्णय विशेष अदालतले गर्ने फैसलाबमोजिम हुने उल्लेख गर्दै डा अर्यालको कार्यकालको अवधिभर विशेष पद सृजना गरिएको र उहाँको कार्यकाल सकिएपछि उक्त विशेष पद स्वतः खारेज हुने बताउनुभयो । बैठकले चालु आर्थिक वर्षमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय समेत गरेको मन्त्री शर्माले बताउनुभयो । चालु आर्थिक वर्षमा रु ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकामा बाँकी रकम रु १६ अर्ब ९९ करोड २२ लाख तत्तत् स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।

पोखरा:     कास्कीको रुपा गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४६ करोड ७६ लाख ८२ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार भएको १५ औँ गाउँ सभामा उपाध्यक्ष लालसुब्बा गुरुङले पूर्वाधार, कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेकी हुन् । बजेटको ठुलो आकार भने चालु खर्चतर्फ छ । चालुतर्फ ३१ करोड ९४ लाख ५७ हजार रुपैयाँ र पुँजीगततर्फ १४ करोड ८२ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । आन्तरिकतर्फ चालु आर्थिक वर्षको अल्या ५ करोड ३० लाख रुपैयाँ र आन्तरिक आम्दानी तर्फ १ करोड ५६ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ । अन्य स्रोत संघ र प्रदेश सरकारबाट आउने विभिन्न अनुदान रकम रहेको उपाध्यक्ष गुरुङले बताइन् । आर्थिक विकास तर्फ ४ करोड ९ लाख रुपैयाँ, सामाजिक विकासमा २२ करोड २० लाख रुपैयाँ, स्वास्थ्य सेवामा ४ करोड २१ लाख ३१ हजार हजार रुपैयाँ, शिक्षामा १६ करोड ९ लाख रुपैयाँ, कृषि तथा पशु सेवाका लागि २ करोड ३२ लाख ६२ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । बजेटले क्षेत्रगत कार्यक्रम अन्र्तगत ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो कार्यक्रमलाई ५२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । मौरीपालक किसानलाई प्राथमिकतामा राखेको रुपाले चालु आर्थिक वर्षको बजेटले १ हजार ९ सय घरधुरीमा मौरीसहितको घार वितरण गरेका उपाध्यक्ष गुरुङले जानकारी दिइन् । आगामी आर्थिक वर्षमा रुपामा २५ हजार लिटर मह उत्पादन हुने उनको भनाइ छ । गाउँपालिकाले ब्राण्डिङ गरेर बजारीकरणमा सघाउनेछ । कटहर खेतिलाई प्रोत्साहन गदै व्यवसायिक बनाउन कार्यक्रम संचालन गर्ने, किसानको खोतीको सुरक्षाका लागि बाँदर नियन्त्रणको लागि बाँदर निर्माण गर्ने उल्लेख छ । गाँउपालिकाको अस्पताल रुपाकोट अस्पतालको स्तरोन्नती गरी १५ शैय्याबाट २५ शैैय्याको बनाउन ५० लाख रुपैयाँ बजेट बिनियोजन भएकोे छ । पूर्वाधारतर्फ ७ करोड रुपैयाँ बिनियोजन गरेको रुपाले वडा नम्बर १ र २ को मुख्य सडक शिचण्डी मोटरबाटो पक्की बनाउन २ करोड ९० लाख रुपैयाँ र वडा नम्बर १ को कार्यालय जोड्ने सडकका लागि १ करोड ६० लाख रुपैयाँ छुट्टिएको छ । आइतबार नै नीति तथा कार्यक्रम प्रस्तुतपछि बजेट पेश भएको हो । नीति तथा कार्यक्रम पेश गदै गाउँपालिका अध्यक्ष नवराज ओझाले कृषिलाई प्राथमिकतामा राख्ने बताए । किसानकोे उत्पादनलाई प्रोत्साहन गर्न उत्पादनसँगै बजारीकरणतर्फ बजेट केन्द्रीत भएको उनको भनाइ थियो । कृषि उत्पादनको विक्रीका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने ओझाले बताए । (पूर्णपाठ)

बर्दिया:     बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो ।  चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुलसी राम अर्यालले जानकारी दिए । 

सिन्धुपाल्चोक:    गएरातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताउनुभयो ।