जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन् प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनी राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नेछन् । जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
तनहुँ: मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ । पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किमि सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१ दशमलव ७ किमि र पश्चिमतर्फ ३८ दशमलव ८८ किमी सडक विस्तार भइरहेको छ । आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किमि चार लेन र छ किमि दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनले भने, “पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्र गरिएको छ ।” पूर्व खण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उनले जानकारी दिए । विसं २०८१ बैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः एक सय ५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो । कोभिड-१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्जिनियर पाण्डेले बताए । त्यसैगरी पश्चिम खण्डमा २६ प्रतिशत कार्य प्रगति भइसकेको छ । दुई लेनको २० किमि सडक कालोपत्र गरिएको छ । सम्झौता अनुसार विसं २०८१ भदौ ११ सम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । उनका अनुसार यस सडकखण्डमा वर्षायाम अगावै नालासहित एकतर्फी सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ ।
सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। उनीहरू निदाएका बेला पहिरो खसेको हो। मंगरबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको छ। पुरिएर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ।
काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा)नेपालको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएको छ । जनकपुरमा जारी महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियामा हालसम्मको विवरणअनुसार जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ । यस्तै सहअध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत, रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा रामकुमार शर्मा, मनिष सुमन, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन् । रामकुमार शर्मा हालै माओवादीबाट जसपा नेपालमा प्रवेश गरेका छन् । त्यस्तै, उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । जसपा नेपालका एक नेताले हालसम्म अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जानकारी दिँदै समय अझैँ बाँकी रहेपनि सो पदमा अरूको दाबी नदेखिएको बताए । जसपा नेपालको विधानअनुसार २०१ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय पदाधिकारी २० जना हुनेछन् भने त्यसमा खुला १६ जना र चार जना महिला अनिवार्य हुने व्यवस्था रहेको छ । यस्तै केन्द्रीय सदस्य १८१ जनामध्ये खुला १२१ जना छन् भने ६० जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।
काठमाडौं: आइसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १/१ अंक बाँडे । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७ः३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन । नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ । अब बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंकाको अंकगणितीय सम्भावना रहनेछ । यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २/२ अंक छ । नेपालले अब शुक्रबार दक्षिण अफ्रीका र आइतबार बंगलादेशको सामना गर्नेछ ।
पोखरा: यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गतेसम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल गरि ६ खेलमा सात प्रदेशका ७६÷७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा सुरु भएको हो । व्याडमिन्टनमा छात्र÷छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेशबाट छात्र चार र छात्रा चार आठ जनाका दरले ५६ जनाले प्रतिस्पर्धा गदैछन् । व्याडमिन्टनको पहिलो दिनको खेल सकिदा पहिलो चरणका ५८ बटा खेलहरु सम्पन्न भएका छन् । बुधबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु हुने श्रेष्ठले जानकारी दिए ।यसै गरि दोस्रो दिन बुधबार ३७ र तेस्रो दिन नौ गरि कुल एक सय पाँच बटा खेलहरु हुनेछन् । प्रतियोगिता अन्र्तगत बुधबार छात्र÷छात्रा सिंगल्स सगै मिक्स डबल्सतर्फका सेमिफाईनलका खेलहरु सगै अन्य विधाका क्वाटरफाईनलका खेलहरु हुनेछन् ।
पोखरा: जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखे विचारमा प्रजातन्त्रवादी र कामले क्रान्तिकारी भएको बताए । मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १९ औं स्मृति दिवसका सन्दर्भमा बोल्दै विजुक्छेले भने, २०३९ सालमा पृथ्वीनारायण क्याम्पसमा म उहाँको चेला थिएँ, २०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ । पारिवारिक रूपमा नातेदार र आफ्ना राजनीतिक गुरु भए पनि उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्धा खेपेका छौं । क्याम्पस कै लागि ज्यानको आहुति दिएका पालिखे शिक्षा मै सहादत पाएका क्रान्तिकारी व्यक्तित्व थिए । सिर्जना विकास केन्द्रका अध्यक्ष एवम् सञ्चालक समितिका सदस्य विष्णुप्रसाद बरालले क्याम्पस स्थापना गर्दा अमेरिकाबाट उच्चशिक्षा लिएका स्व.प्रेमनारायण बराल संस्थापक अध्यक्ष र जर्मनीबाट व्यवस्थापन विषयमा उच्चशिक्षा लिएका स्व. गणेशमान पालिखे संस्थापक क्याम्पस प्रमुख पाउँदा नै क्याम्पसले गतिलिएको बताए । बरालले शिक्षक कर्मचारी संस्था र समाज केन्द्रित भए व्यक्तिगत समस्या नरहने हुँदा क्याम्पसको हितमा काम गर्न आग्रह गरे । पूर्व क्याम्पस प्रमुख माधवप्रसाद घिमिरेले गणेशमान पालिखेको जीवनी व्यक्तित्वमाथि प्रकाश पार्दै पालिखेले नेपालभरि कै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरिका सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए । सल्लाहकार डा.वीरबहादुर कार्की, निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्का, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, प्रशासक एकनारायण अर्याल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगर, कर्मचारी सङ्घ जनप्रिय एकाइका अध्यक्ष देवी पनेरु लगायतका वक्ताले क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका निम्ति संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यसम्पादन गर्दा गन्तव्यमा पुगिने विचार राखे । स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण गरिएको छ । पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले कोष स्थापना भएको जानकारी सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए । समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ । २०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्मा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम.कम. पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।
अर्घाखाँची र गुल्मीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताए । अर्घाखाँची जिल्ला क्षत्रदेव गाउँपालिका–७ देउराली स्थित देउराली तम्घास भित्री सडकखण्डमा सोमबार राति पौने १० बजे टिपर दुर्घटनामा भएको हो । दुर्घटनामा छत्रदेव–७ का ३३ वर्षीय रिसभ केसी र शीतगंगा नगरपालिका-२ का २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन् । घाइते भएका दुई जनालाई गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।
पोखरा: फिल्म ‘दयारानी’ निर्देशन गरेर चर्चामा आएका निर्देशक माओत्से गुरुङले अब नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले नयाँ फिल्म ‘पेन्सनपट्टा’ को उनले निदेशन गर्ने भएका हुन् । फिल्ममा कथा पनि उनको नै छ । यो फिल्मको छायांकन दशैं अगाडि नै गर्ने तयारी उनको छ । यो फिल्मका लागि कुनै पनि कलाकार तय नगरिएको निर्माणपक्षले बताएको छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा डीबी गुरुङ र माओत्से गुरुङको लगानी रहनेछ । एउटा लोभी युवक कसरी दानी बन्छ भन्ने कथामा यो फिल्म निर्माण हुन लागेको हो । माओत्सेको माग अभिनयमा पनि निकै छ । अधिकांश हिट फिल्ममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

