भोजपुर: आफ्नै आमा ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङ रहेका छन् । अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज (सोमबार) भएको फाइनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै कास्की च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै कास्कीले नगद रु २ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको तनहुँले नगद रु १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्याे । निर्धारित समय गोलरहित बराबरीमा सएिकपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडीका रुपमा तनहुँका शन्त बहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार हात पारे । त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलरक्षक, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका भिषन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकमा कास्कीका सन्तोष केसी घोषित भए । उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा गण्डकीका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, आग्रज समाजसेवी टिका कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: जनप्रिय बहुमुखी क्याम्पसले पोखरालाई पर्यटनको राजधानी घोषण गरेपछि अब के ? भन्ने विषयमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले प्राकृतिक, साँस्कृतिक र भौलिक रूपले विश्वसामु चिनिएको पोखराले पर्यटकलाई अधिकतम सेवा दिएर सिटी कर लगाउन सुझाब दिदै सहरी सरसफाइ, अनुशासन, सडक सुरक्षा र तथ्याङ्क राख्न पर्यटन व्यवसायीलाई आग्रह गरे । गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडाले राजधानी घोषणपछि पोखराको ब्रान्डिङ र प्रमोसनमा सहयोग पुग्ने हुँदा तीन तहका सरकार, नागरिक समाज र उद्यमी व्यवसायीले समन्वयात्मक भूमिका निर्वाह गर्न जोड दिए । खतिवडाले दीगो पर्यटनका लागि स्थानीय उत्पादन बढाउने, जनशक्ति मुलुकभित्रै टिकाउने, मुग्लिन, राम्दी र एयरपोर्टमा तथ्याङ्क सङ्कलन केन्द्र राख्नुपर्ने बताए । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्रै उपलब्धि हासिल हुँदैन्, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले ठोस योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सुवेदीले पर्यटन व्यवसायी एक दशकसम्म द्वन्द्वमारमा, त्यसपछि महाभूकम्प, नाकाबन्दी , कोभिड–१९ को महामारी र आर्थिक मन्दीजस्ता समस्याले शिथिल भएको जनाए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने आधारका बारेमा पर्यटनविद् डा. रामजी शर्माले गण्डकी प्रदेश नेचर, कल्चर र एड्भेन्चरमा अगाडि रहेकाले २० वटा सूचाङ्कमा सुझाव दिएको बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेले पोखरालाई सस्तो गन्तव्य बनाउनु्भन्दा गुणस्तरीय सेवा दिएर खर्च गर्ने पर्यटक आमन्त्रण गरी डाटा सिस्टममा जान पर्यटन व्यवसायीलाई आग्रह गरे । पर्यटन व्यवसायी दोर्जे लामाले आफ्नो ४ दशक लामो अनुभव सुनाउँदै राजधानी घोषणासँगै सरसफाइ र सुरक्षित आवागमनसँगै व्यवहारिक अभ्यास गर्न सुझाए । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जनप्रिय बहुमुखी क्याम्पसको स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्टको आयोजनामा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम गरिएको हो । समूह छलफलको सहजीकरण दिपेन्द्र पहारीले गरेका थिए । निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको अध्यक्षामा भएको कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्यलक्ष्मी चालिसेले स्वागत मन्तव्य राखेकी थिइन भने विष्णु तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: पोखराको जिरो किलोमिटरदेखि हल्नचोकसम्म पुग्दा सडकको बीचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ । यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग सडक डिभाइडरमा पुगेको छन् । ठेकेदारले रोपेका बिरुवाहरु मर्दै गएपछि सडकलाई हरियाली बनान उपयुक्त फुलका बिरुवा बोकेर पोखरा ६ र ७ का अगुवाहरु रोप्न पुगेका हुन् । वातावरण संरक्षणका अभियान्ताहरु जगन्नाथ तिमिल्सिना, होमनाथ पहारी (माइला बा), राम बहादुर लामिछाने, ठाकुर बराल, सन्जय पौडेल, दामु बराल, राजेन्द्रराज रेग्मी, गंगाप्रसाद तिवारी पुगेका छन् । उनीहरुले लेकसाइडको डिभाइडरबाट फुलका कटिङहरु लगेर सारेका हुन् । अहिले सम्म १ हजार कर्बिर फुलका विरुवा सारी सकेको अभियानका सदस्य दामु बरालले बताए । उनले अझै १ हजार भन्दा बढि कर्बिर फुलका विरुवा रोप्ने तयार पारेको बताए । विरुवा सार्नका लागि सहयोग गर्न हेम्जा बासिलाई बरालले अनुरोध गरे । कर्बिरका दुई थरी रातो र सेतो फुल्ने फुल सारेको उनले बताए । पोखरा २५ का वडा अध्यक्ष मोती तिमिल्सिनाले उनीहरुको कामलाई धन्यवाद दिदै फेसबुकमा अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । फुल हुर्काउन निकै मेहनत गर्नु पर्ने अभियानका सदस्य जगन्नाथ तिमिल्सिनाले बताए । उनकै नेतृत्वमा विरुवा सार्ने काम भएको छ । यो बिरुवा हरियालि र सौन्दर्यकरणका लागि उपयुक्त भएको उनले बताए ।
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहल र ह्याण्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिब दुई वर्षपछि यस्तो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिंदै पाठकले उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाको सहभागिता हुने बताए । करिब १४ लाख खर्च हुने प्रतियोगितामा विजेता टिमलाई नगद रु ५० हजार, उपविजेतालाई नगद रु ३० हजार र तेस्रो हुने टिमलाई नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । उक्त प्रतियोगितबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा खेलाडी छनौटसमेत गर्ने तयारी भइरहेको पाठकले बताए । प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।
स्याङ्जा: स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन् । जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ । विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो । “विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ”, प्रअ पराजुलीले भने, “आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।” भविष्यमा स्वदेशमै व्यावसायिकरुपमा आफूले जानेको सीपको प्रयोगमार्फत आम्दानीसित जोडिनका लागि सहयोग पुग्ने दाबी उनको छ । वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उनले बताए । “विद्यालयले व्यवहारिक ज्ञान सीप बाँड्ने अभियानमार्फत पहिलोपटक कपाल काट्ने सीप सिकाउन सुरु गरेको हो”, उनले भने, “आगामी दिनमा विद्यार्थीको रुचिअनुसारका तालिम सञ्चालन गर्दै अगाडि बढ्छौँ ।” विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक कार्ययोजनाअन्तर्गत छात्रछात्रा लक्षित कपाल काट्ने सीप सिकाइएको हो । प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्त्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताए । विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालोरुपमा कपाल काट्न सिकाउँदै आएका छन् ।
पोखरा: पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाईन्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। महानगरले विभिन्न संघसंस्थाहरुसंग मिलेर कार्यक्रम सञ्चालन गरिहेको छ । 'न्यायिक समितिसंग विद्यार्थी' कार्यक्रम अन्र्तगत आइतबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको सिमलचौरमा रहेका जनप्रिय बहुुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले वार्षिक कार्यक्रममा समावेश गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन्। गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको सुनाइन् । स्थानीय तहमा सृजना भएका विवादलाई स्थानीय स्तरमा समाधानका लागि न्यायिक समिति गठन गरिएको बताइन् । 'स्थानीय विवादहरु अदालत पुुग्ने अवस्थाले समय र पैशा दुवै खर्च हुने भएकाले सहज रुपमा न्याय पाउने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरिएको हो,' उनले भनिन् ।
बझाङ: बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) को क्रममा डुबेका सशस्त्र प्रहरीको मृत्यु भएकाे छ । सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त कृत्रिम अभ्यासका क्रममा डुबेका सशस्त्रका जवान नरेन्द्र धामीकाे मृत्यु भएकाे हाे । बेहोस अवस्थामा फेला परेका उनलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियाे ।
काठमाडौं: सन्दीप लामिछाने टि –ट्वान्टी विश्वकपमा नेपालले वेस्टइन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जनाएको छ । सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्ने सम्भावना देखिएको छ । नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई दुवै पटक भिसा दिन अस्विकार गरेपछि सन्दीपले विश्वकप को पहिलो नेदरल्याण्डबीचको खेल गुमाएका थिए । उक्त खेल नेपालले ६ विकेटले हार व्यहोरेको थियो । अब नेपालले दोस्रो खेल भोलि (मंगलबार) श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।

