पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

तनहुँ:    तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ ।  उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ।  सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार  पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने  भन्दै उनले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग उनले गरेका छन्। गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकामा पुनस्मतगणना हुने फैसला थियो। निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख छ।  जसअनुसार अदालतले असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै तिथि मिति  नै तोकिदिएको थियो। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले धाँधली भएकाले पुनः मतगणनाको माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका थिए। मुद्दा दर्ता भएको दुई वर्षमा मात्रै उच्च अदालतले यस्तो फैसला गरेको थियो । 

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडामा ट्रकले ठक्कर दिँदा पैदल यात्रु मृत्यु भएको छ ।  नौडाँडामा ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदल यात्रुलाई ठक्कर दिँदा ७० वर्षीय दुर्गा प्रसाद दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  बिहिबार दिउँसो ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा ग १ क २६२५ नम्बरको ट्रकले पैदल यात्रु दाहाललाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएका दाहालको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।  दुर्घटनापछि ट्रक  र चालक लेख बहादुर श्रेष्ठलाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको  छ ।   

काठमाडौं:     प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल, सोविता गौतम, निशा डाँगी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी र नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैँक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न उक्त विधेयक ल्याउनुपरेको बताउनुभयो ।  उहाँले नेपालको संविधान तथा प्रचलित कानुनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्रको व्यवस्थित कार्यन्वयन गर्न, हालैका दिनमा प्रदेश सरकारले पनि प्रदेश बैंकहरु खोल्न सुरु गरिसकेका सन्दर्भमा विधेयकको आवश्यकता औँल्याउनुभयो । मन्त्री पुनले भन्नुभयो, “नेपालको समग्रमा बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धी गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाइ स्थायित्व कायम गर्न, बंैक तथा वित्तीय संस्थाको स्थापना र सञ्चालन व्यवस्थापन नियमन कार्यलाई व्यवस्थापन गर्न विधेयक ल्याउनुपरेको हो ।”

सुनसरी:     नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकोमा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गतेमात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

काठमाडौं:     स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १ हजार ८ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु १ लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला रु १ लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो ।  यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु १ लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु १ लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य आज रु १ हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु १ हजार आठ सय २५ रहेको थियो ।

काठमाडौं:     फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई०बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९:४५ बजे खेल हुनेछ । यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको । फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल एक सय ७८औँ स्थानमा छ । नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् । यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन् । फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन् ।

म्याग्दी:     गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर  ढलान भएको छ ।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९÷०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो ।  “प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ”, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक  महेन्द्र बानियाले  भन्नुभयो, “सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।”  बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् ।  निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य  छ ।  राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताउनुभयो । 

काठमाडौं:     नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर विदुर शिवाकोटी १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । उनी अहिले प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।

बझाङ:    चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो ।  सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो । साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको रासस प्रतिनिधिलाई  बताउनुभयो । टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी थिए । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका उनले  जानकारी दिए ।    नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्नसहमतिभएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले  संयुक्त रूपमा नाका पुनःसञ्चालनको घोषणा गरे ।