पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:    आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको हो । नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो ।  नेदरल्यान्डसका लागि म्याक्स अनवार्डले अर्धशतक बनाए । ४८ बलको सामना म्याक्सले एक छक्का र चार चौकाको मद्दतमा ५३ रन जोडे । उसका लागि विक्रमजीत सिंहले २२ रन बनाए ।  नेपालका लागि सोमपाल कामी, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए ।  सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । ३७ बलको सामना गरेका पौडेलले ५ चौका प्रहार गरे ।  नेपालले ओपनर कुशल भुर्तेललाई ७ र आशिफ शेखलाई ४ रनमै गुमाएको थियो । अनिल शाह १२ बलमा ११ रन जोड्दै आउट भए । कुशल मल्ल ९ बलमा ९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ६ बलको सामना गर्दै मात्र १ रन जोडे ।  करन केसीले १२ बलमा १७ तथा गुल्सन झाले १५ बलमा १४ रनको योगदान दिए ।  नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले तीनतीन विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले दुईदुई विकेट हात पारे । 

पोखरा:  आइसिसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा आज नेपालले समूह चरणको पहिलो खेल  नेदरल्याण्डसँग खेल्दैछ ।    उक्त खेल पोखरा महानगरपालिकाले पोखरा ९ लखनचोक (पृथ्वीचोक) स्थित ठुलो डिसप्लेमा देखाउने भएको मेयर धनराज आचार्यले  फेसबुकमार्फत जानकारी दिएका छन्।   उनका अनुसार पोखरा महानगरपालिकाको व्यवस्थापन तथा परिचय एड्भरटाइजिङ र एसकेसाउन्डसँगको सहकार्यमा उक्त खेल देखाइने छ ।   नेपाल र नेदरल्याण्डबीचको उक्त खेल राती ९ बजे बाट सुरु हुनेछ ।   यसअघि नेपाल सन् २०१४ मा टि–२० विश्वकप खेलेको थियो ।   पोखराको मुख्यचोक भएकाले सवारी आवागमनलाई अवरोध नहुने गरी खेल हेर्न मेयर आचार्यको आग्रह छ ।

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौँ महानगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए ।  “हामी काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौं । एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौँको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,” सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भने, “काठमाडौँलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनुहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।” सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा  स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गरे । उनले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको बताए ।  “गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको छ”, सांसद भट्टराईले भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण जनताका धेरै विषय सदनमा उठाउन नसकिएको समेत बताए ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे । ‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ’, उनले भने, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु ।’ नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ः१५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

पोखरा:      पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति सहितको अध्ययन प्रतिवेदन महानगरपालिकाले बुझेको छ ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाएको हो ।  प्रतिवेदनमा महानगर क्षेत्रको ७ सय कि.मी सडक तथा राजमार्ग, झन्डै ६९ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने छ ।  सहरी वन विकास तथा हरियाली प्रवर्द्धनका लागि वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत बिरुवाहरू लगाइने छ ।   महानगर क्षेत्रमा २ लाख २६ हजार २६१ बिरुवाहरू लगाइनेछ । जस अन्तरगत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ४९० र सडक, नदी तथा खोला किनारमा १ लाख ५२ हजार ७७१ वटा बिरुवाहरू लगाउन सकिने कार्यदलका संयोजक डा।भण्डारीले बताउनुभयो । सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्थाहरू कार्यान्वयनको  कमजोर अवस्था लगायत चुनौतीहरू रहेको प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनमा बिरुवा रोप्ने खाडल र बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षारोपण अभियानमा सृजनात्मक तरिका तथा प्रोत्साहनजनक कार्यहरू, मल्चिङ, बिरुवाको नाम लगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायहरूको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाइएको छ ।  महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षारोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित स्थानहरुको पहिचान गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।  हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छता प्रति स्थानीय सरकारको प्रतिबद्धता समेत भएको बताउनुभयो । प्रतिवेदनले पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न माइल स्टोनको रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफूहरू यसको कार्यान्वयनका लागि तत्काल काम थाल्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।  नगर प्रमुख आचार्यको विशेष पहलमा पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न, सम्भावित वृक्षारोपण स्थलहरू पहिचान गर्न, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न, उपयुक्त वनस्पति प्रजातिहरू पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षारोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उप प्राध्यापक डा.भण्डारी सहित उप प्राध्यापक सुमन भट्टराई र उप प्राध्यापक विकास अधिकारी सम्मिलित अध्ययन टोली गठन गरिएको थियो । रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्ययता बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजाति, पोखरा महानगर भित्र राम्रोसँग हुर्किरहेका प्रजाति, हावाहुरीबाट सजिलै नभाँचिने प्रजातिका आधारमा वृक्षारोपण गरिने बिरुवाका प्रजातिहरू छनौट गरिएको कार्यदलले बताएको छ ।   

काठमाडौं:    नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ स् १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड प्रेरीमा जारी टी(२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।

पोखरा:     चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ अन्तर्गत क्रमशः पुरुष र महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र खोटाङकी निर्मला राईले उपाधि जितेका छन् ।  ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुकको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा अन्नपूर्ण पदमार्गमा सोमबार म्याराथन सम्पन्न भएको हो। पुरुषतर्फका विजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दूरी चार घण्टा १६ मिनेट २४ सेकेन्डमा पूरा गरे। श्रेष्ठ गत वर्षका उपविजेता हुन्। गत वर्ष सो दूरी उनले चार घण्टा १२ मिनेट ५१ सेकेन्डमा पूरा गरेका थिए। यसैगरी, दोस्रो भएका सोलुखुम्बुका अर्जुङ कुलुङले चार घण्टा ३५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गरे। उनी पाँच दिनअघि सम्पन्न एभरेस्ट म्याराथनका विजेतासमेत हुन्। तेस्रो भएका जुम्लाका धीरबहादुर बुढाले चार घण्टा ४३ मिनेट ६ सेकेन्डमा दूरी पूरा गरे। बुढा गत वर्षका विजेता हुन्। गत वर्ष उनले चार घण्टा १० मिनेट ५१ सेकेन्डमा दूरी पार गरेका थिए। यसैगरी, महिलातर्फकी प्रथम राईले पाँच घण्टा ३७ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। आर्मीकी सुनसरी रोका पाँच घण्टा ४५ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र ओखलढुंगाकी छोकी शर्पा पाँच घण्टा ५६ मिनेट ५९ सेकेन्डको दूरी पार गर्दै तेस्रो भए। शेर्पा गत वर्षसमेत तेस्रो भएकी थिइन्। चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, तउल, घुजुङ चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न भएको आयोजक समितिका अध्यक्ष संयोजक ललित गुरुङले जानकारी दिए। ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ। सोही दिनको अवसर पारी पदयात्रा मार्गमा म्याराथन आयोजना गर्दै आइएको अध्यक्ष गुरुङको भनाइ छ।

काठमाडौं:     ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।  उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्।  गोदावरीको ढुं‌गा–गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको उनीहरूमाथि आरोप छ।  उनीहरूविरूद्ध एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग गरेको छ।

गुल्मी:    गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । उहाँका अनुसार घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ ।