पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:     तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङजाका दुजिक थापा मगर च्याम्पियन भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा १४.३१ मिटरको दुरी फाल्दै उनी च्याम्पियन बनेका हुन् । यसै गरी प्रतियोगितामा पर्वतका किरण विक दोस्रो भएका छन् । उनले १४।२६ मिटरको दुरी फाले भने पर्वतका राजेन्द्र हमालले १३।०० मिटरको दुरी फाल्दै तेस्रो बने । च्याम्पियन भएका दुजिकले नगद रु १५ हजार, किरणले नगद रु १० हजार र राजेन्द्रले नगद रु ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पारे । गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न मौलिक र परम्परागत खेलहरुको संरक्षण, प्रवर्द्धन र जर्गेना गर्न परिषदले विगत तीन वर्ष देखि लगातार यस प्रकारका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै बेनी नगर पालिकाका प्रमुख सुरत बहादुर केसीले समग्र म्याग्दीको खेल विकासका लागि यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै स्रोत अभावका कारण बेनी नगरपालिका भित्रका धेरै खेल पूर्वाधारहरु निर्माण कार्य अधुरो रहेको गुनासो पोखे । परिषदका सदस्य एवं परम्परागत तारा खेलका संयोजक योगेन्द्र शेरचनको अध्यक्षतामा भएको समापन कार्यक्रममा परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसीलगायतले विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाका १५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।  

सुनसरी:     सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिए ।  पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५  बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् । सहप्रवक्ता थापाका अनुसार सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो । बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ । सहप्रवक्ता थापाले रकमसँगै कार र  चालक अन्सारीलाई नियन्त्रणमा लिइएको बताए ।  प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत खुलाउन नसकेको उनको भनाइ छ । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहिका लागि राजश्व कार्यालय इटहरीमा अनुसन्धानका लागि बुझाउने प्रक्रियामा रहेको छ ।

मुगु:       बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।   मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।   शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी  क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते  प्रवेश खुला गरेको हो ।

पोखरा:     गण्डकी प्रदेशमा यहि जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा हुन लागेको हो । मेलाको आवश्यक तयारी पुरा भएको छ । उक्त मेलाको संयोजन होटल संघ नेपाल ९हान० र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् । मेलाबारे जानकारी दिन श्रम तथा रोजगार कार्यालय पोखरामा आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव शारदा भण्डारीले तयारी अन्तिम चरणमा पुगेको बताइन । आन्तरिक रोजगारी प्रवर्द्वन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्वोधन गर्दै रोजगारीको लागि अनुकुल वातावरण सृजना गर्नु मेलाको उद्देश्य रहेको उनको भनाइ छ । मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरुबीच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उपसचिव भण्डारीले बताइन । श्रम तथा रोजगार कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेलाको तयारी अन्त्मि चरणमा पुगेको बताए । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेश निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरुको सूचीकरण र रोजगारीका अबसरको पहिचान गरिने बताए । मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, बैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तिमा ३५ वटा स्टल तथा बुथहरु हुनेछन् । प्रदेश भित्रका ठूला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी तर्फबाट ८ देखि १० वटा र निजी क्षेत्रका २० देखि २५ वटा स्टलहरु हुनेछन् ।   श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरकृया कार्यक्रम हुनेछन् । जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् । श्रमाधान रोजगारको संयोजक समेत रहेकी उपसचिव भण्डारीले मेलाले बाध्यात्मक वैदेशिक रोजगारी कम गर्न सहयोग पुग्ने बताइन । ‘मेलाले आजको भोली नै देशभित्र नै रोजगारी दिन्छ भन्ने होइन् । यो सुरुवात हो । यसले बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाईको बाध्यता विस्तारै कम गर्ने सरकारको उद्देश्य हो । यो सुरुवात मात्रै हो,’ भण्डारीले भनिन । सीप र विकासलाई रोजगारदाता र रोजगार खोज्नेहरुसँग जोड्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । होटल संघ नेपाल कास्कीका अध्यक्ष हरी शर्मा गैरेले मेलाले कामदार खोजिरहेका नीजि क्षेत्रका लागि महत्वपूर्ण भएको बताए । श्रमाधान रोजगारमेलामा सहभागीहुन अनलाइन दर्ता प्रणाली  मार्फत रोजगारदाता सुचीकरण हुन र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न सकिने व्यवस्था छ । साथै मेलाको भ्रमण गरी त्यही म्यानुअलमा  र अनलाइनबाट समेत दर्ता गर्ने सकिने व्यवस्था रहेको छ ।

पोखरा:  युनाइटेड किङ्स क्लब पोखराले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगितामा एपिएफ पोखराको टोली च्याम्पियन बनेको छ ।   पोखरा  महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(शनिबार) भएको फाइनल खेलमा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको हो ।   उपाधिसँगै एफिएफले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको गलकोट भेट्रान्सले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारे ।     सो प्रतियोगिताबाट एफिएफका कृष्ण गाहामगर सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यस्तै उत्कृष्ट स्पाइकरबाट टेक बहादुर पुन र उत्कृष्ट सेटरका रुपमा मिलन राना ट्रफि र नगद राशीबाट पुरस्कृत भए ।   कुल १६ टिमबाट विजेता तथा उपविजेता बनेको टोलीलाई समापन समारोहका प्रमुअ अतिथिसमेत रहेका गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, आयोजक संस्थाका अध्यक्ष धिरज गुरुङ, प्रायोजकले पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवार र आयोजक संस्थाको तर्फबाट विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।    युनाइटेड किङ्स क्लबका अध्यक्ष धिरज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अशोक थापाले गरेका थिए ।  

काठमाडौं:     जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’, भनेको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।

पोखरा:     पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको छ । सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो ।  सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो । सामाजिक सञ्जालको बढ्दो प्रभावका बिच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण हुने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । ‘सामाजिक सञ्जालको प्रभावका दिनानुदिन बढ्दो छ, आचार्यले भन्नुभयो, यो मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको छ, तर यसको सदुपयोगीता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक छ ।’ सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिङ्गो समाजमा नकारात्मक प्रभाव र भ्रमहरू सृजना हुने भएकाले सचेत रहन आवश्यक रहेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उल्लेख गर्दै उहाँले यसलाई समयमा नै चिन्न र जान्न सके जीवनमा सकारात्मक ऊर्जा र सफलताहरू प्राप्त गर्न सकिनेमा जोड दिनुभयो । कतिपय अवस्थामा यसलाई अपराधको अर्को सजिलो हतियारका रूपमा समेत लिने गरेको पाइएको भन्दै उहाँले राज्यको तहबाट नियमन गर्न जरुरी रहेको बताउनुभयो । ‘सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी छ ।’ उहाँले भन्नुभयो । विना कारण कतिपय व्यक्ति वा समुहरु सामाजिक सञ्जालको सिकार हुनु परेको भन्दै उहाँले यसको दुरुपयोग रोक्नुपर्ने बताउनुभयो । ‘यो आधुनिक मानिसका लागि नयाँ जीवन बन्न पुगेको छ । यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने हो भने यो २१ औँ शताब्दीका मानिसहरूका लागि वरदान नै हो । हिजोको जस्तो कठिनताको विकल्पका रूपमा विकसित सामाजिक सञ्जालको उपयोग सकारात्मक, रचनात्मक र विवेकपूर्ण तवरले गर्नुपर्दछ ।’ नगर प्रमुख आचार्यले भन्नुभयो । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले युवाहरूको मानसिकता र दृष्टिकोण निर्माणमा सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।  युवाहरू इन्फरमेसन र डिसइन्फर्मेसनबाट बचाउन निकै चुनौतीपूर्ण रहेको बताउँदै उहाँले यसको आवश्यक ज्ञान तथा जानकारीका लागि यस प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मा र आइटीका जानकार विश्वराज पौडेलले सामाजिक सञ्जाल प्रयोगबारे युवाहरूसँग चर्चा परिचर्चा र परिसंवाद गर्नुभएको छ । 

पोखराः    गण्डकी प्रदेशमा रहेका सार्वजनिक तथा सामुुदायिक पुस्तकालयहरुको दुई दिवसीय सम्मेलन पोखरामा शनिवारदेखि सुरु भएको छ ।  सम्मेलनको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन  गर्दै आफ्नो दोस्रो पटकको कार्यकालको पहिलो औपचारिक कार्यक्रम पुस्तकालय जस्तो पवित्र संस्थाको कार्यक्रमबाट सुरु गर्न पाएकोमा  खुशी व्यक्त गरे ।  उनले पुुस्तकालय बचाउनुु पर्छ, यसको दायरा फराकिलो बनाउनुु पर्छ भन्दै आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको  उल्लेख गरे ।उनले समयानुुकुुल परिवर्तनसँगै परामर्श केन्द्रका रुपमा समेत पुुस्तकालयले काम गरिरहेकाले चुनौतिको सामना गर्दै नयाँ प्रविधिकासाथ अगाडि बढ्र्न पे्ररित गरे ।         पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राध्यापक डा. विश्व श्रेष्ठको अध्यक्षतामा सुुरु भएको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले पठन संस्कृतिको विकासका साथै नियमित अध्ययन अनुसन्धानको अवसर, लेखक–पाठक बीचको अन्तरक्रिया र पुस्तक समीक्षा, चित्रकला, कथा, कविता प्रतियोगिता,नेतृत्व विकास, बाल यौन हिंसाबारे सचेतना,युवा उद्यमशील तालिम,कम्प्युटर तालिम लगायतका  पुस्तकालयका गतिविधिका तारिफ गरेका थिए । दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष समाजसेवी कृष्णहरि भण्डारीले स्वागत गर्दै जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालयको महत्वलाई जोड दिंदै किशोरीहरूलाई डिजिटल प्रविधिमा आधारितशिक्षा, सीप विकास, नेतृत्व कौशल, आत्म–विश्वास र सफलता सुनिश्चित गर्ने एक आदर्श प्लेटफर्म टेक एज गल्र्स  कार्यक्रम तथा ठगी र अरु समस्यामा परेकाहरूलाई मनोसामाजिक परामर्श दिदै किशोरी र महिलाहरूको स्वास्थ्यसम्बन्धी सचेतनार कानुनी साक्षरता  लगायतका कार्यक्रमले पुस्तकालयको महत्वलाई अझै बढाएको उल्लेख गरे । शिक्षामन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख उपसचिव यादवचन्द्र निरौलाले संविधानले औंल्याएका र हालसम्म बनेका नीति,निर्देशिकाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिदै पुस्तकालयलाई हेर्ने दृष्टिकोण बदलिनु पर्ने बताए । नेपाल सामूदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले समग्रमा समाजिक–सांस्कृतिक रुपान्तरणमा पुस्तकलायहरुको ठूलो योगदान रहेको बताए । पोखरा सार्वजनिक पुस्तकालयका  सचिव सुर्य क्षत्रीले पुस्तकालय यात्राको आरम्भ मल्लकालीन अवधिमा भएको मानिएपनि  वृहत रूपमा पुस्तक सङ्कलनको अभियान पृथ्वीनारायण शाहले गरेका उनका पनाति गीर्वाणयुद्धविक्रम शाहले वि.सं. १८६९ मा लालमोहर जारी गरी संस्थागत गरेको इतिहाँसलाई स्मरण गराउँदै २००७ सालको क्रान्तिको जग निर्माणमा ‘मकै पर्व’ र ‘पुस्तकालय पर्व’ को महत्त्वपूर्ण योगदान रहेको बताए । उनले पुस्तकालयको संस्थागत विकासका लागि ऐन, कानुनमा ध्यान दिन आग्रह गरे । गण्डकी प्रदेशमा २००३ देखि २०८० सालसम्म स्थापित सार्वजनिक पुस्तकायहरू करिब १०० को हाराहारीमा रहेको देखिन्छ । अहिले गण्डकीमा पूर्णकालीन र आंशिक रुपमा चलेका पुस्तकालयको संख्या ४१ रहेको छ ।दुुई दिनसम्म चल्ने सम्मेलनले पुस्तकालयको संस्थागत विकासबारे सम्बद्ध पक्षहरु बीच ऐक्यबद्धता कायम गर्दै पुस्तकालय सम्बन्धी ऐन, नियम निर्माणका लागि प्रदेश सरकार एवं स्थानीय तहलाई अनुरोध गर्ने  गरी घोषणापत्र जारी गर्ने बताइएको छ । 

पोखरा:   पोखरामा साइकल चोरी गरेको आरोपमा नाबालकसहित ४ जना पक्राउ परेका छन् । साइकल चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामले २ नाबालकसहित ४ जनालाई जिरोकिलोमिटरबाट पक्राउ गरेको हो ।   पोखरा महानगरपालिका ५ जिरोकिलोमिटर स्थित फर्निचर उद्योगमा चोरीका साईकल किनवेच गरिरहेको अवस्थामा चोरीका ६ थान साईकलसहित ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोकका ५१ वर्षीय भिमसेन थामी, स्याङजाका २४ वर्षीय मदन सुनार र कास्कीका १४ वर्षीय र १७ वर्षीय दुई बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए । उक्त साइकल कसैको चोरी भएको भएमा प्रमाण लाग्ने कागजातसहित सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।