पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:     सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।  उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई निर्देशन दिनुभएको थियो । समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो सयमसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ ।  यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरुको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरुले दैनिक बिरामी हेरेको सङ्ख्या, प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ । समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, सोही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए÷नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

काठमाडौं:   भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर) ले जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन् । राउरकेला सरकारी अस्पताल ९आरजिएच० मा १० र सुन्दरगढ जिल्ला मुख्यालय अस्पतालमा चार जनाको मृत्यु भएको थियो । “आरजिएच पुग्दासम्म आठ जनाको मृत्यु भइसकेको थियो, बाँकीको त्यहाँ उपचारका क्रममा मृत्यु भयो । आरजिएचका अधिकारीहरूले शव परीक्षणपछि मृत्युको वास्तविक कारण आज पत्ता लगाउने छन्,” एआइआरले भनेको छ । उडिसाले तीव्र गर्मीको लहर अनुभव गरिरहेको छ । राज्यका प्रमुख भागहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । झारसुगुडा राज्यको सबैभन्दा तातो ठाउँ थियो । बिहीबार त्यहाँ अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस रहेको प्रतिवेदनले देखाएको छ । अधिकारीहरूले सर्वसाधारणलाई गर्मीसम्बन्धी रोगहरूको उपचारका लागि अस्पतालहरूमा भर्ना गरिएको बताएका छन् । भारतको मौसम विभागले सर्वसाधारणलाई गर्मीको जोखिमबाट बच्न, चिसो ठाउँमा बस्न र पर्याप्त पानी पिएर हाइड्रेटेड रहन सुझाव दिएको सिन्ह्वाले जनाएको छ । त्यसैगरी बिहारको औरङ्गाबाद जिल्लाको एक अस्पतालमा गर्मीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यसअघि १२ जना पुगेको बिहारको औरङ्गाबादमा तातो लहरका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म १७ जना पुगेको छ । राज्यका अन्य जिल्लाजस्तै औरङ्गाबाद सहर पनि रेकर्ड तोड तापक्रमका साथ अभूतपूर्व गर्मीको लहरसँग लडिरहेको छ । उत्तरपश्चिम र मध्य भारतका केही भागमा चरम तापक्रम जारी रहँदा गर्मीको लहरले मानिसहरूको दैनिक जीवनमा बाधा पुर्‍याइरहेको छ । बिहारमा २४ जनाले ज्यान गुमाएका छन् । राज्यले तीव्र गर्मीको लहरको अवस्था अनुभव गरेको छ । त्यहाँ तापक्रम ४४ डिग्री सेल्सियसभन्दा बढी छ । बिहीबार पनि कैमुर जिल्लामा चुनावी काममा खटिएका एक कर्मचारीसहित चार जनाको मृत्यु भएको बताइएको छ । बिहारको भोजपुर जिल्लाको आराहमा पनि अत्यधिक गर्मीका कारण तीन जनाको मृत्यु भएको एएनआईले उल्लेख गरेको छ । राज्य सरकारले सबै निजी र सरकारी विद्यालय, कोचिङ संस्थान र आँगनवाडी केन्द्रहरूलाई जुन ८ सम्म बन्द गर्न आदेश दिएको छ । गर्मीका कारण दर्जनौँ विद्यार्थी बेहोस भएपछि यस्तो निर्णय गरिएको हो ।

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ र सकारात्मक जीवन महत्वपूर्ण रहेकाले यसका लागि अध्यात्मिक ज्ञान आवश्यक रहेको बताउनुभएको छ ।  सभ्य समाज निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा उहाँले आभार पनि व्यक्त गर्नुभयो ।   प्रदेश प्रमुख भट्टको स्वागत तथा सम्मानमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय पोखराले आयोजना गरेको परिचयात्मक स्नेह मिलन कार्यक्रममा प्रदेश प्रमुख भट्टले आफू यस विश्वविद्यालयको अभियानसँग लामो समयदेखि परिचित रहेको र नजिकबाट चिनेको बताउनुभयो ।  उहाँले अध्यात्म चिन्तनबाट समाजलाई सकारात्मक रुपान्तरण र शान्ति स्थापना गर्नका लागि सक्रिय रुपमा महत्वपूर्ण भूमिका खेलेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको माननीय प्रदेशप्रमुखले मुक्तकण्ठले प्रशंसा पनि गर्नुभयो । ‘समाजमा देखिएका विकृति, विसंगति, वेथितिलाई निरुत्साहित गर्नका लागि अध्यात्मिक ज्ञान आवश्यक छ । सुशासन कायमसँगै सकारात्मक समाज निर्माणका लागि ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो देन छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो । सुन्दर विचारले जीवन सार्थक बन्ने भन्दै विचार सुन्दर पार्न ध्यान, प्रार्थना, योगको महत्वपूर्ण योगदान दिने बताउनुभयो ।  प्रदेश प्रमुख भट्टलाई निर्देशक तथा अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परनीता दिदी, महासचिव ब्रह्माकुमार शैलेषराज बराल, क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शोभा दिदी, ब्रह्माकुमार लोकनाथ काफ्ले लगायतले स्वागत तथा सम्मान गर्नुभएको थियो ।   प्रदेश प्रमुख भट्टले पोखराको फूलबारीमा बन्दै गरेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रको निर्माणाधिन भव्य भवनको पनि अवलोकन गर्नुभयो । ३५ करोड बढी लागतमा क्षेत्रीय कार्यालय भवन निर्माण भइरहेको छ ।

पोखरा:   पोखराको अमरसिंह स्पोर्टस् सेन्टरमा पहिलो संस्करणको भेट्रान्स (३५ प्लस) फुटसल प्रतियोगिता सुरु भएको  छ ।   कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगितामा आज  (शुक्रबार ) सेमिफाइनलको समिकरण पूरा  भएको क्लबका सचिव अनुपम गुरुङले जानकारी दिए ।   उनका अनुसार पहिलो क्वाटरफाइनल खेलमा एट टु नाइनले आयोजक स्वर्णिम एफसी हरियोलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एट टु नाइन सेमिफाइनलमा प्रवेश गर्याे ।   दोस्रो खेलमा गार्डेन एफसीले भाइब्रेन एफसीलाई ३–१  गोल अन्तरले हरायो ।   तेस्रो खेलमा नाफालाई  टेन टु इलाभेनले ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्याे ।   अन्तिम क्वाटरफाइनल खेलमा  स्वर्णिम एफसी रेडले  दिपेन्द्र एफसीलाई ७–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा स्थान बनायो ।   अब सेमिफाइनल र फाइनल खेल शनिबार हुने क्लबका कोषाध्यक्ष विकास गुरुङले जानकारी दिए ।   उनका अनुसार शनिबार पहिलो सेमिफाइनल गार्डेन एफसी र (स्वर्णिम एफसी रेड) आयोजकबीच हुनेछ भने दोस्रो सेमिफाइनल एट टु नाइन र टेन टु इलाभेनबीच हुनेछ ।   कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेतालाई नगद रु ६० हजारको साथमा शिल्ड, मेडल  तथा प्रमाणपत्र प्रदान गरिने छ ।    यस्तै उपविजेता टिमले नगद रु ३० हजारको साथमा  शिल्ड, मेडल तथा  प्रमाणपत्र  प्राप्त गर्नेछ ।   प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको  व्यवस्था गरिएको आयोजकले  जनाएको  छ ।  

पोखरा:     पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(शुक्रबार) देखि प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता सुरु भएको छ ।   पूर्व खेलाडीहरुबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित खेलकुदको क्षेत्रमा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा आजदेखि भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको हो ।   समाजसेवी गंगा बहादुर खड्काको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा पहिलो चरणका खेल सकिएको कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए ।   उनका अनुसार एपिएफको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै विश्वकर्मा समाजलाई २–० को सोझो सेटमा हराउँदै जिएम ब्रदर्श क्वाटरफाइनलमा प्रवेश गर्याे ।    अर्काे खेलमा छन्त्याल भेट्रान्सलाई २–० को सोझो सेटमा हरिनास भेट्रान्सले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।    आँधीखोला हङकङले आयोजक बिलाई २–० को सोझो सेटमा पराजित गर्दै आँधीखोला क्वाटरफाइनमा प्रवेश गरेको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।   उनका अनुसार अर्काे खेलमा पोखरा २० मोहरियाको अनुपस्थितिमा पोखरा भेट्रान्स वाकओभरमार्फत विजयी बन्यो ।    यस्तै व्यास तनहुँको अनुपस्थितिमा गलकोट र धवलागिरी टिमको अनुसस्थितिमा आयोजक बिजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।   अब शनिबार पोखरा भेट्रान्स र गलकोट, जिएम ब्रदर्श र आयोजक क्वाटरफाइनलमा भिड्नेछन् । यस्तै आँधीखोला र हरिनास भेट्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।   कुल १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

काठमाडौं:      सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान निषेध गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरी निषेध गरिएको जानकारी दिइन् । यात्रा अनुमति प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरिएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको जग्गा मध्ये पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं अचल सम्पत्तिको खोज र लगत संकलन गरी प्रतिवेदन पेश गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले क्रिकेट सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरे पनि भिसा प्राप्त नभएको भन्दै भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको भएको बताइन् । उनले अहिलेको मुलुकको आर्थिक अवस्थाका कारण बजेटमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएको स्पष्ट पारिन् प्रवक्ता शर्मा प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदा आवश्यक भन्दा बढी मत आएकाले अहिले सरकारलाई अप्ठेरो पर्ने अवस्था नरहेको जिकिर गरिन् ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ ।  सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो । वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राख्नुभएको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।” आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उहाँले दलका नेताहरुबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताउनुभएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले ठूलो अन्योलको बीचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसद्मा बजेट प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिनुभयो । “बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ । बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ”, प्रधानमन्त्री दाहाललको भनाइ उद्धृत गर्दै मुख्य सचेतक पाण्डेले भन्नुभयो । बैठकमा माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री दाहालले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसद्मा रहेका महत्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताउनुभएको उहाँले जानकारी दिनुभयो । बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तु बारे जानकारी गराउनुभएको थियो । उहाँले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकाङ्क्षा समेटिएको स्पष्ट पार्नुभएको थियो । बैठकमा १२ सांसदले बजेटका सबन्धमा टिप्पणी गर्नुभएको थियो ।

काठमाडौं:      प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ ।  समितिको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको हो । बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकेर सर्वसम्मत पारित गरेको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।  राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुनेछ । त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ ।

पोखरा:      गण्डकी प्रदेशको मुख्य न्यायधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले म्याग्दीका शर्मालाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई नियुक्त गरे । उनले दिउँसो २ बजे सपथ ग्रहण गर्नेछन् । पहिलो पटक मुख्यमन्त्री हुँदा पनि  सुरेन्द्रराज पाण्डेले शर्मालाई नै मुख्य न्यायधिवक्ता बनाएका थिए । शर्मा २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको मेयरमा पराजित भएका थिए । यसअघि निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मुख्य न्यायाधिवक्तामा लमजुङका एमाले नेता कृष्ण अधिकारीले नियुक्त गरेका थिए । खगराज अधिकारीको सरकार ढलेसँगै अधिकारी पदमुक्त भएका हुन् । शर्मा गण्डकीका छैठौं मुख्य न्यायधिवक्ता बनेका छन् ।