पोखरा: काठमाडौंबाट बेनी जाँदै गरेको बस कास्कीको लेवाडेमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट बेनी जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आज बिहान अन्दाजी ३:४० बजेको समयमा दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् । बस दुर्घटना हुँदा बसमा सवार १३ जना यात्रु मध्ये ७ जना यात्रु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । घाइते ७ जनाको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटना हुँदा बसका चालक पर्वतको जलजला गाउँपालिका–८ बस्ने ३६वर्षीय बलबहादुर फगामीमगर, म्याग्दीको मालिका गाउँपालिका घर भएका ३९ वर्षीय टकबहादुर कामीघाइते भएका छन् । यस्तै मंगला गाउँपालिका घर भएका ४५ वर्षीय प्रेम पुन, ५७ वर्षीय तिलक शर्मा, म्याग्दी घरका रञ्जना हमाल, मालिका दर्बाङ घर भएका १५ वर्षीय सबिता हमाल, ५७ वर्षीय हरी केसी म्याग्दीको मालिका गाउँपालिका–६दर्वाङ बस्ने १७ वर्षीय भिमसेन अधिकारी घाइते भएका छन् ।
सुर्खेत: सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जीप सडकबाट तीन सय मिटर तल खसेको थियो । जीपमा ६ जना सवार रहेका थिए । ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको जानकारी दिए । घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ ।
सुर्खेत: सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । डा. गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।
पोखरा: पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा हुने प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा यही १८ र १९ गते सञ्चमलन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार अहिले १५ टिम दर्ता भइसकेको छ । सो प्रतियोगितामा दर्शकका लागि भने प्रवेश निशुल्क गरिएको छ । अनुमानित २५ बढी टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने थापाले बताए । उनका अनुसार खुल्ला भेन्ट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन् । खेल जीवनलाई ताजा बनाइराख्न र आपसी भाइचारालाई कायम गर्नका लागि ३५ वर्ष माथिका खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको युुनाइटेड किङ्स क्लबले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो । सोमबार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
पोखरा: पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेश आचार्यको मृत्यु भएको छ । गएराति बागलुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल पिर्केपुल नजिक सडकको बीच भाग रहेको डिभाइडरमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका बागलुङ नगरपालिका–१२ अमलाचौरका अन्दाजी ४१ वर्षीय गणेश आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ: दाङमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो दुर्घटनामा परेको थियाे । गढवा–कोइलाबास सडक खण्डमा पर्ने गढवा गाउँपालिका( ५ चिसापानीमा बस पल्टिएको हो। घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको छ। घाइते सबै खतरामुक्त छन्। बसका चालकले ओरालोमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भएर पल्टिएको बयान दिएका छन् ।
पोखरा: गण्डकी प्रदेशका न्यायप्रेमी प्रगतिशील युवाले गणतन्त्र दिवसको अवसरमा नेपाल स्काउटलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई सम्बोधन गर्दै नेपाल स्काउट रास्ट्रिय परिषद् सदस्य शिवबहादुर भण्डारीमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल स्काउटमा पछिल्लो समय राजनीति हाबी हुदै गइरहेको ठहर गर्दै राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन प्रगतिशील युवा समूहको माग छ । सो समूहले बुझाएको पत्रमा भनिएको छ, ‘पछिल्लो समय नेपाल स्काउटमा निर्वाचित पदाधिकारी, आयुक्तहरुमा विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधीमासमेत सकृय रहेको कुरा प्रष्ट देख्न सकिन्छ । जुन कुरा नेपाल स्काउटको मुल मर्म विपरित रहेको छ । त्यसैले समयमै यसलाई नियन्त्रण गर्न नसके नेपाल स्काउट कुनै दलको भातृ संगठन नहोला भन्न सकिन्न ।’ नेपाल स्काउट ऐन ,२०५० को दफा १८ (क) उपदफा (१) (ख) (ग)मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धि व्यवस्थामा नेपाल स्काउटको सदस्यले कुनै राजनितिक दलको सदस्य नलिएको र राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्यागी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ । युवा तथा खेलकुद मन्त्रालयले प्रचलित ऐन कार्यान्वयन गराउन गत वैशाख ३१ गते विज्ञप्ती नै जारी गरेको थियो ।

