पोखरा: कास्की बचत तथा ऋण सहकारी संस्थाले वार्षिक नीति तथा बजेट निर्माणसम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ । तालिममा कास्की बचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष केशवशरण पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा नेफ्स्कुन पूर्व कार्यकारी प्रमुख कुवेर निरौलाले सहजिकरण गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिका सहकारी महाशाखाका अध्यक्ष रविरमण तिवारीले सहारीको ऐन नियम र कानुनको उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताए । यस्तै कास्की बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार सुदिप ढकालले सदस्य केन्द्रीय भएर संस्था सञ्चालन गरेको बताउदैसहकारी समस्यामा नपर्ने बताए । कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष भेषराज बराल, सहभागि डम्वरसिंह वस्नेत, शान्ती अधिकारी संस्थाका उपाध्यक्ष ईश्वर प्रसाद सुवेदी र सचिव मिनराज तिमिल्सिना लगायतले बोलेका थिए ।
पोखरा: न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलमा एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, बास्केटबल अनलाइन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो । फुटसलतर्फ बिटी ट्रेनी सेन्टर प्रथम भए । यस्तै रतुवा एफसी द्धितीय भएका थिए । प्रथम बनेको बिटीले नगद ३० हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे । यस्तै दोस्रो बनेको रतुवालाई १५ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिएको प्राध्यापक डा. रामजी शर्माले जानकारी दिए । उनका अनुसार छात्र बास्केटबलतर्फ कोटगाउन म्याग्दी प्रथम र मेसा दोस्रो भए । प्रथम र द्धित्तिय बनेका टिमले क्रमश २० हजार र १० हजारसहित ट्रफि मेडल प्राप्त गरे । छात्रा बास्केटबलतर्फ मर्दि हिमाल प्रथम हुदै नगद रु ८ हजारसहित ट्रफि र मेडल हात पार्याे भने दोस्रो भएको पश्चिमाञ्चलले नगद रु ५ हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे । यसैगरी अनलाइन प्रश्नोत्तरतर्फ प्रथम हुने अनुसा श्रेष्ठ, द्धितीय हुने दिपिका थापा र तृतीय हुने विपिन अधिकारीलाई नगद १५ हजार, ८ हजार र ५ हजार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले बताए । विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभाकी उपसभामुख विना कुमारी थापाले शिक्षामा निजी क्षेत्रले गरेको लगानी अतुलनीय रहेको धारणा राखेकी थिइन् । न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिशन गण्डकी प्रदेशका अध्यक्ष खड्गबहादुर रानाभाट विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, मिस एसइइ गण्डकीका निर्देशक सुरज मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पोखरा: नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले धर्मराज थापालाई पक्राउ गरेको छ । नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले थापालाई शनिबार जिरोकिलोमिटरमा पक्राउ गरेको हो । पोखरामा रहेको आर्मी फिटनेस सेन्टरका सञ्चालक धर्मराज थापाले नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु एक युवकलाई झुठ्ठा आश्वासन दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आर्मी फिटनेस सेन्टरका सञ्चालक थापाले बागलुङ घर भएका एक युवकलाई नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु सजिलै भर्ती गराईदिन्छु भनेर झुठ्ठा आश्वासन दिएर पटकपटक गरी १ लाख ७० हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
अछाम: कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चडको भने मृत्यु भएको छ। अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए। खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। पुलको दाँहिने तर्फको जाली लत्रिएको थियो । खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ। उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए।
पोखरा: पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधि नजिक पुगेका छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमीफाइनलबाट उपाधि भिडन्त हुने टिमको टुङ्गो लागेको हो । आज सम्पन्न पहिलो सेमीफाइनलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजिब श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिए पनि तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्त बहादुर गुरुङले टिमका लागि गोल गरे भने ३५ औं मिनेटमा दिपेश आलेले तनहुँका लागि अर्को गोल थपे । उक्त खेलमा तनहुँका लक्ष्मण थापा म्यान अफ दि म्याच घोषित भए । यता एक अर्को सेमीफाइनलमा कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गरी उपाधि नजिक पुगेको छ । कास्कीका लागि किशोर गुरुङ र राज कुमार कुंवरले समान २–२ गोल गरे । किशोरले ४१ र ५९ औं टिमका लागि गोल गरे भने राज कुमारले ४४ र ४७ औं मिनेटमा गोल गरेका थिए । सो खेलमा कास्कीका राजकुमार म्यान अफ दि म्याच प्राप्त गर्न सफल रहे । फाइनल खेल सोमबार दिउसो १ बजे सञ्चालन हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिएका छन् । प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको शीतल निवासले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन् । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्किने कार्यक्रम छ ।
पोखरा: कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । शनिबार पोखरा महानगरपालिका–१७ बिरौटामा आयोजित रक्तदानमा ४० युनिट रगत संकलन भएको कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष जीवलाल न्यौपानेले जानकारी दिए । रक्तदान मानवीय काम भएकाले सम्पर्क समाज कास्कीले सामजिक उत्तरदायित्व पूरा गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष न्यौपानेले बताए ।
पोखरा: पोखरामा अवैध रुपमा चिरुवा काठ (फल्याक) बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले शनिबार अवैध रुपमा चिरुवा काठ बोकेर याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ट्रक नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका–१ चौबारीस्थित पोखरा–बागलुङ सडक खण्डमा याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ग १ ख ६११५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकमा लोड गरि ल्याइएको चिरुवा काठ (फल्याक)को प्रयोजन खुल्ने कागजात नभएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचनाअधिकारी एवम् प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताए । अवैध काठसहित नियन्त्रणमा लिएको ट्रक थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाएको उनले बताए ।

