पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।  आइतबारको बैठक अवरुद्ध नहुनेगरी शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति जुटेको थियो।    यद्यपि कांग्रेसले माग गर्दै आएको संसदीय दलको समितिको टीओआरमा सहमति जुट्न नसक्दा पुनः संसद् बैठक अन्योलमा परेको हो।  टीओआरमा सहमति जुटाउनेगरी अहिले पनि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा छन्। कार्यदलको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि पुगेका छन्।

काठमाडौं:     आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लामिछानेलाई संसद्को आजको बैठकमा बोल्न दिने निर्णय गरेको हो । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि बैठक सुरू हुन सकेको छैन । बैठकअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाउनु भएको थियो । छलफलमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू, प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायतको सहभागिता थियो । सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको छ । हिजो शनिबार शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ । अहिले कानून मन्त्री पदम गिरीसहित सत्ता र प्रतिपक्षी दलका प्रतिनिधिहरूबीच संसदीय समितिको कार्यादेशबारे छलफल भइरहेको छ । यद्यपी कार्यादेशबारे निर्णय भने भइसकेको छैन ।

काठमाडौं:    प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उहाँ ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिनुभएको थियो ।

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताउनुभएको छ ।  शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले गरेको प्रदेश स्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले किसानले गरेको उत्पादनको बजार ग्यारेन्टी र वीमा लगायतको सुविधाको व्यवस्था सरकारले गर्ने खुलाउनुभयो । यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गर्ने उहाँको प्रतिवद्धता थियो ।   ‘बजेट बनाउँदा किसानहरूले गरेको उत्पादनको मूल्य सके गण्डकी प्रदेशका ८५ वटै पालिकामा नभएपनि ११ जिल्लाका एउटा पालिकाको दरले बजारको ग्यारेन्टी हामी गर्छौ’ उहाँले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले सकेसम्म स्वदेशी कच्चा पदार्थबाट निर्माण गरिएका वस्तुको प्रयोग गर्न आग्रह गर्नुभयो । स्वदेशी वस्तुको प्रयोग गर्ने र प्रयोग गर्न उत्प्रेरित गर्नेलाई पुरस्कृत समेत गर्ने तयारी गरिएको जनाउनुभयो । ‘सकभर आफ्नै उत्पादन प्रयोग गर्नुहोस्, मालामा र खादामा पैसा खर्च नगर्नुहोस्’उहाँको आग्रह थियो । महिला र पुरुषले पाउने श्रमको मूल्यमा समेत फरक देखिने गरेको भन्दै समान कामको समान ज्याला पाउनुनैपर्ने यदी कतै विभेद भएको भए कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । विदेशी पुँजीको दबदबाको अन्त्य गर्न राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले सुनाउनुभयो । जसका लागि केन्द्र सरकारले आवश्यक नीति बनाउनुपर्छ ।  ‘नेपाली उत्पादनलाई सहुलियत दिनेछौं, बजारको व्यवस्था गर्नेछौं भनेर सरकारले नीति बनायो भने मात्र राष्ट्रिय पुँजी वृद्धि हुन सक्छ’ उहाँले भन्नुभयो ।   सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवा नेपालमा ६ प्रदेशका २ सय ८४ सामाजिक उद्यमी महिला सहकारी साथै कृषि र पशुविकास सहकारी संस्थाहरू सदस्य रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेशमा रहेका सेवा नेपालका सदस्यहरू सहभागी बनेका थिए ।

काठमाडौं:    सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ । दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

बुटवल:      पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् । एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् ।  पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् ।  दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।  प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय भए । अच्युतकृष्ण खरेल चौँथो र लक्ष्मण मल्ल पाँचौ भएको आयोजकले जनाएको छ । खरेलले एक घण्टा ४८ मिनेट १० सेकेन्ड र मल्लले एक घण्टा ५२ मिनेट ५१ सेकेन्डमा दौड पुरा गरेका थिए ।  महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय भए । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट १ सेकेन्डमा २० किलोमिटर दूरी पार गरेका थिए । सोफिया विक चौँथो र प्रेमा परियार पाँचौ भए । सोफियाले दुई घण्टा २१ मिनेट १२ सेकेन्ड र प्रेमाले दुई घण्टा ३९ मिनेट ३ सेकेन्डमा दौड सकेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।  प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ३०/३० र २०/२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । चौँथो र पाँचौ हुनेले क्रमश ः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।  पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने । उनीहरुले १०/१० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए । दौडमा सहभागी हुनेमध्ये पोखराभित्रका खेलाडी जो सुरुमा फिनिसिङ लाइन पुग्छ उसले पोखरा च्याम्पियनको उपाधि पाउँछ । सोफियाले महिलातर्फ चौँथो भएकोमा १० हजार  र पोखरा च्याम्पियन बनेकोमा थप १० हजार गरेर २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार हात पारिन् ।  पोखरा महानगरपालिका १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र रन फर फन विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए । रन फर फन विधामा सहभागी खेलाडीले प्रमाणपत्र प्रदान गरियो ।  पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्स्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो । कास्की जिल्ला साइक्लिङ संघ र नेपाल साइक्लिङ संघको पहलमा प्रतियोगिताको लागि यो नयाँ रुट तय भएको हो ।  विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा १७ कि वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, पोखरा–१७ का वडा सदस्यहरुले पुरस्कार हस्तान्तरण गरे ।  प्रदेश सांसद कार्कीले विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्र नभएको र खेलाडी उत्पादन पनि राष्ट्रका लागि उपलब्धी भएको बताए । ञविकास भनेको बाटो बन्ने मात्र हो । खेलकुदमा राज्यको ध्यान जति पुग्नुपर्ने हो पुगेको छैन । मेरो ठाउँबाट जे गर्न सक्छु मैले गर्छु’ उनले भने । कार्कीले विश्वभर नै बिरामी हुनै नदिन खेलतर्फ अग्रसर गराउन अस्पताल छोडेर खेल मैदान बनाउने अवधारणा आइरहेको र नेपालमा पनि त्यसको खाँचो रहेको बताए ।  पोखरा १७ कि वडाअध्यक्ष राधिका शाही योगीले पोखरा पर्यटकीय राजधानी घोषणा भएकाले पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आवश्यक भएको बताइन् । उनले रानीवनभित्रको रुट धेरै साइकलिष्टको रोजाइँमा पर्ने गरेको र नयाँ रुट थपिनु सकारात्मक भएको बताइन् ।  

पोखरा:     पोखरा महानगरपालिका वडा नं.२ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २२६ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।  शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवि गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने बताउनुभयो । ज्ञान र अनुभव सहितको अभिभावकत्व परिवारका लागि आवश्यक पर्ने भन्दै उहाँले ज्येष्ठ नागरिकहरूलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।  वृद्ध उमेरका उनीहरूलाई गरिने व्यवहारमा सम्मान र हार्दिकता हुनु पर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्य मानव जीवनको पहिलो प्राथमिकताको विषय भएकाले आम नगरवासीहरूको स्वास्थ्य सुरक्षा प्रति महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । महानगरपालिकाका हरेक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेतबाट नागरिकहरूलाई सरल र सुलभ सेवा प्रदान गर्ने कार्यमा महानगरपालिका लागि रहेको उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो ।  उनीहरूको स्वास्थ्य पहुँच सहज नहुने, आफै अस्पताल जान नसक्ने र नियमित स्वास्थ्य परीक्षणको सुविधाबाट वञ्चित भएका ज्येष्ठ नागरिकहरूलाई वडामा नै सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण सहित १ महिनालाई पुग्ने औषधी समेत निःशुल्क उपलब्ध गराइएको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो । शिविरमा सुगर प्रेसर, मुटु सम्बन्धी जाँच तथा परामर्श र जनरल हेल्थ चेकअप लगायत सेवा दिइएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपेन्द्र सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका क्षेत्रमा रक्तचापको समस्या पहिलो र मधुमेहको समस्या तेस्रो नम्बरमा रहेको छ । यसको नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिन उहाँले सुझाव समेत दिनुभयो ।  कार्यक्रममा सदस्य तथा सहरी स्वास्थ्य केन्द्र २ को सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष गोमा सुवेदी र सचिव याचना श्री खवास लगायतले स्वास्थ्य सचेतना र ज्येष्ठ नागरिकहरूको स्याहार सुसारका सन्दर्भमा विशेष ख्याल गर्न आग्रह गर्नुभएको थियो । 

पोखरा:    बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको एक कार्यक्रमका बीच आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयो ।      कार्यक्रममा मुख्यमन्त्री अधिकारीले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुुभयो ।      धार्मिक पर्यटनको आफैंमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले बेगनास ताललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने धारणा राख्नुुभयो । बेगनास र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि बढीरहेको बताउँदै उहाँले विकास क्रममा आइपर्ने समस्यासँग डराएर नभै समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुुभयो ।      बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुबनाथ अधिकारीले लेखनाथ क्षेत्रका सात ताल मध्येको ठूलो बेगनास ताल जल सम्पदा, प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् साधन स्रोतका दृष्टिबाट महत्वपूर्ण सप्दा भएको बताउँनुभयो ।       तालसँगै यहाँस्थित धार्मिक महत्वको बराह मन्दिरका साथै लक्ष्मी नारायण मन्दिरलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार निर्माण कार्य अघि बढीरहेको उहाँले जानकारी दिनुभयो ।       यस क्षेत्रको समग्र विकासका लागि २०७५ साल मंसिरमा सञ्चालित महायज्ञसँगै संकल्प गरिएका अधिकांश कामहरू सम्पन्न भएको बताउँदै उहाँले स्थानीयवासी, तीनवटै तहका सरकारसँगको समन्वय र सहकार्यमा यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोच राखिएको जानकारी दिनुभयो ।      आगामी आर्थिक वर्षमा बेगनासताल क्षेत्र वरपरका धार्मिक शक्तिपीठ, मठमन्दिर , देवालय एवम् गुम्बाको समग्र विकासका लागि गुरुयोजना सहतिको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण एवम् आर्थिक सहयोगका लागि स्थानीय एवम् प्रदेश सरकार अनुरोध गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो । बेगनासतालमा पर्यटकीय गतिविधि बढाउनका लागि आवश्यक पूर्वाधार विकासका लागि पहल गरिने उहाँको भनाइ छ ।       बेगनासतालको वरपर रिङ्गरोड (पैदल मार्ग र साइक्लिङ मार्ग) निर्माण गर्दै पर्यटन प्रवद्र्धन गर्न सम्बन्धित निकायमा पहल गरिने उहाँले बताउनुुभयो ।      पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पोखरा महानगरपालिका वडा नं ३१ भित्रका धार्मिक सम्पदाको संरक्षणसँगै तिनीहरूको पूर्वाधार विकासलाई वडाले प्राथमिकतामा राखेको बताउनुुभयो ।       पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.इन्द्रप्रसाद तिवारीले सबै किसिमको रोजगारीका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुुभयो । विश्वमा नै धार्मिक पर्यटनको विशिष्ट महत्व रहेको उहाँको भनाइ छ ।      कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका अधिकारी, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी अधिकारी, बेगनासताल बराह महाआरती संयोजक राममणि अधिकारी, बराह मन्दिर निर्माण समितिका संयोजक सुरेन्द्र सापकोटा, पोखरा ३१ का निवर्तमान वडा अध्यक्ष कमलबहादुर थापा, शिव गोरक्षपीठ सिद्धाश्रमका अध्यक्ष भरतप्रसाद तिवारी,  लेखनाथ होटेल तथा रेष्टुरेन्ट एशोसिएसनका अध्यक्ष बीरभद्र कंडेल लगायतले बेगनास बराह लगायत धार्मिक गन्तव्यलाई पर्यटनसँग जोड्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।       संस्थाका अध्यक्ष ध्रुुबनाथ अधिकारीको अध्यक्षता एवम् सचिव शान्ति ढकालले सञ्चालन गर्नुुभएको साधारणसभाले अध्यक्ष र सचिवको प्रतिवेदनका साथै उपाध्यक्ष मित्रलाल भण्डारीले प्रस्तुत गर्नुुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।