काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । मदन–आश्रितको ३१औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताउनुभयो । आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको बताउँदै अध्यक्ष ओलीले अब २०८४ मा हुने निर्वाचनबाट नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “त्यो मोड प्रतिगामी होइन, अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याउने हुनुपर्छ, जसबाट राष्ट्रिय हित सम्बद्र्धन, सुशासन र तीव्र विकास अगाडि बढाउन सकियोस् । समाज कल्याण, मानवतावाद र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्नाका साथै गरिबी अन्त्य गर्न सकियोस् ।’’ सामाजिक न्याय र समानतासहितको मानव समृद्धिका लागि समाजवाद दिवङ्गत नेताहरूको गन्तव्य रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनमा सफलता प्राप्त गरी त्यस दिशामा अगाडि बढ्न सकिए मदन–आश्रितका सपना थप पूरा हुने आशा व्यक्त गर्नुभयो । आफूलाई कम्युनिष्ट नेता भन्नेहरू नै आन्दोलनलाई सिध्याउन लागि परेका र राष्ट्रिय शक्तिको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पछिलागेकाले विगत स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको पत्याउनै नसकिने खालको गतिविधि गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हाम्राविरुद्ध एकपछि अर्को पासो थापियो । ती सबै पराजित गरियो । अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नुपरेको छ ।’’ देशमा प्रतिगमन हुँदा वा नाकाबन्दीको अप्ठ्यारो परिस्थितिमा पनि आफूहरुले घुँडा नटेकेको स्मरण गर्दै उहाँले आफू प्रधानमन्त्री रहेको समयमा भएको नाकाबन्दीविरुद्धको लडाईंमा जनताको साथ र सहयोग पाएको भन्दै सम्मान प्रकट गर्नुभयो । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरु र आश्रितकी धर्मपत्नी माया ज्ञवालीको उपस्थिति थियो ।
काठमाडौं: नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित कोकिनका अन्तर्राष्ट्रिय कारोबार गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गाविन्द थपलियाले पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेको बताउनुभयो । वरिष्ठ उपरीक्षक थपलियका अनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट उपचार पद्धतिबाट निकालिएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको छ । जेठ २ गते धोबिचौरबाट पक्राउ परेका वानयाङजीको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ । पल भने १ किलो ३९४ ग्राम कोकिन किन्न धोबीचौर पुगेको बेलामा पक्राउ गरिएको थपलियाले जानकारी दिनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक थपलियाका अनुसार बरामद गरिएको अवैध लागुऔषध कोकिन २ के।जी। ६५४ ग्रामको अवैध बजारमूल्य ७ करोड ९६ लाख रहेको छ । निजहरुविरुद्ध लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको छ ।
काठमाडौं: सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरूले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए । आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए । सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो । एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।
काठमाडौं: मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफल भएसँगै बैठकको समय धकेलिएको हो । यसअघि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो । यो पनि पढ्नुहोस प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची सभामुखको सचिवालयका अनुसार सहमति जुट्ने सम्भावना नदेखिएपछि बैठक अपरान्हसम्मलाई सारिएको हो । यसअघि सभामुख घिमिरेले संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गरेका थिए । उक्त कुराकानीका क्रममा प्रधानमन्त्रीले कांग्रेससँग सहमति प्रयास भइरहेको बताएका थिए । तर प्रधानमन्त्रीले भने जस्तो सहमति हुन सकेन। कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बने मात्रै संसद् अघि बढ्न सक्ने अडान लिएको छ । कांग्रेसको अडानका कारण जेठ १ मा राष्ट्रपतिले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम पनि संसद्मा टेबल हुन सकेको छैन । अर्कातिर जेठ १५ मा बजेट ल्याउने तयारी भइरहँदा संसद् खुल्ने सम्भावना पनि देखिएको छैन ।
पोखरा: तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभकामना आदानप्रदान, शैक्षिक सम्मान अर्पण, बधाई ज्ञापनसहित विविध साँस्कृतिक कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको हो। देश,प्रवास,जिल्ला र क्षेत्रिय शाखा, संघ संस्था, समाजहरुको छाता संस्थाको रुपमा निरन्तर क्रियाशिल तमु धिं नेपालले जेठ ८ गते बिहान शान्तिबनबाटिका सरसफाई गर्नेभएको छ। त त्कालिन पञ्चायती व्यवस्थामा संघ संस्था खोल्न बन्देज भएको अवस्थामा समुदायका लागि आवाश्यकताका कारण लुकीछिपी शान्तिबनबाटिमा २०४२ साल जेठ ५ गते सम्पन्न भेलाबाट कर्म तमुको अध्यक्षतामा तमु धिं नेपाल स्थापना भएकाले संस्था स्थापित थलोको सरसफाई गर्ने कार्यक्रम आयोजना गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । यसरी नै जेठ ५ गते तमु धिं नेपाल केन्द्रिय युवा समितिले तमु धिं नेपालको प्राङ्गणमा रक्तदान–जीवनदान नाराका साथ खुल्ला रक्रदान कार्यक्रम आयोजना गरिएको युवा समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुदर्शन गुरुङले जानकारी दिए । यसरी नै जेठ ५ गते दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान, शिक्षाविद समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा।गणेशमान गुरुङलाई १ लाख ११ हजार ११ रुपैयासहित शैक्षिक सम्मान अर्पण, गण्डकी प्रदेशका पुनः नियुक्त भएका मुख्यमन्त्री, मन्त्रीहरुलाई तमु धिं नेपाल एवम तमु समाजहरुबाट बधाई साथै विविध साँस्कृतिक कार्यक्रम गरिने तमु धिं नेपालले जनाएको छ। तमु धिंका अध्यक्ष गुरुङका अनुसार शिक्षाविद समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट शैक्षिक व्यक्तित्व जोर्ज जोन, सामाजिक व्यक्तित्व भद्रकुमारी यस अघि सम्मानित भई सकेका छन् । वार्षिक रुपमा शैक्षिक तथा सामाजिक व्यक्तित्व सम्मानित गरिने क्रममा यसवर्ष स्याङजा जिल्ला, आँधिखोला गाँउपालिका वडा नं.१ सिरुवारी गाउँ भई त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र केन्द्रिय विभागका पुर्व प्रमुख, राष्ट्रिय शिक्षा आयोगका पुर्व सदस्य, विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष,संविधानसभाका सदस्य, गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङलाई शैक्षिक एवम सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानका कारण शैक्षिक सम्मान गर्ने निर्णय गरिएको तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।
डोटी: जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो। उनीहरूको कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए। अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए।
काठमाडौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । यसैबीच सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए । विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४ तथा राप्रपा र स्वतन्त्र १÷१ सदस्य रहेका छन् ।
काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयले बैठकका लागि सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव समेत कार्य सूचीमा समेटिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची राखिएको छ । यसैगरी प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ । यसैगरी उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, साथै उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेको छ ।
पाल्पा: पाल्पामा बुधबार बेलुका भएको बोलेरो जीप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं.४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जीप दुर्घटनामा निस्दी गाउँपालिका वडा नं.४ का ६ वर्षीय राजिव सुनारी र वडा नम्बर ४ का २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो । उक्त जिपमा सवार अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै जीपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको नवलपरासीको अस्पतालमा उपचार जारी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

