पोखरा: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा र पारिजातको ८७ औं जन्मजयन्ती मनाएको छ। अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार सुमल कुमार गुरुङले पारिजातको व्यक्तित्व स्मरण गर्दैदार्जीलिंगमा जन्मिएकी विष्णु कुमारी वाइबालाई जीवन्त राख्ने नाम पारिजात भएको बताए । उनले मदन पुरस्कार प्राप्त उनको उपन्यास शिरिषको फूलबाट नेपाली उपन्यास क्षेत्रमा नयाँ मोड आएको पनि स्मरण गरे । पारिजातका ३ कवितासंग्रह, १० उपन्यास, निबन्ध तथा कथा कृति प्रकाशित छन्। कार्यक्रम संयोजक डा रूपक श्रेष्ठले प्रकट पंगेनी शिवको व्यक्तित्व चर्चा गर्दै ‘किन रोयौ भन तिमी मनको बलेसी’मा जस्ता चर्चित गीत, ुसाँझमा दियो बालिराख्यौ को आउँदैछ आजु जस्ता शृङ्गारिक गजलका स्रस्टा पंगेनीलाई बहुप्रतिभाशाली सर्जकका रूपमा चिनाए । अभिनयमा पनि अब्बल पंगेनीले २०३८ सालमा सरुभक्तको ‘गोलार्धको कालो आकाश’ नाटकमा गरेको अभिनयका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले उनलाई ‘सर्वश्रेष्ठ अभिनेता’ घोषणा गरेको इतिहाससमेत श्रेष्ठले स्मरण गरे। पोखरामा जीवन र जगतका लागि अक्षरयात्राका एकजना परिकल्पनाकार रहेकोसमेत चर्चा गरे । साथै उनले डा संगीता स्वेच्छाको ुसेतो सिउँदो उपन्यासबारे चर्चा गर्दै श्रेष्ठले उपन्यास १८ वर्षको उमेरमा लेखिएको उपन्यासमा तत्कालीन नेपाली समाज र नारी मनोविज्ञानको यथार्थ चित्रण गरिएकोसमेत बताए। २०१३ असोज २४ गते कास्की जिल्लाको तत्कालीन देउराली गाउँ पञ्चायत २ मा जन्मेका प्रकटका ‘यो मन कतै अल्झेको छ’, ‘जूनको चिठी जूनालाई’,‘गीतिसंग्रह’, ‘प्रणय वेदका हृचाहरु’ गजलसंग्रह र अक्षरभरि अक्षता कविता संग्रह प्रकाशित छन् । उनका बाँकी रचना गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने तयारीमा रहेको प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीबाट जनकारी प्राप्त भएको छ । सोही समारोहबीच डा संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष साबी श्रेष्ठको मुक्तकसंग्रह ‘अपरिभाषित आभा’को विमोचन गरिएको थियो। उपन्यासकार डा संगीता श्रेष्ठ स्वेच्छाले आफ्ना पिताको प्रेरणाले सेन्ट जेभियर्स कलेजबाट आइएससी दिएर बसेको समयमा आफूले उक्त उपन्यास लेखेको स्मरण गरिन्। समाजकी कोषाध्यक्ष प्रतिमा केसीले ुसेतो सिउँदो’ उपन्यास नारीको संघर्षको बेजोड कथा भएको बताइन । कुमार केसीले साबी श्रेष्ठको ुअपरिभाषित आभा’ विविध विषय समेटिएको मुक्तकहरुको संग्रह मोबाइल साइजको बनोट तथा मुक्तक अनुसारका रंगिन चित्रहरुको सजावटले कृति विशिष्ट भएको धारणा राखे ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिनुभएको छ । उहाँले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कि अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहनुभएको छ । सरकारले विसं २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दिपावलीलगायतका मौलिक कार्यक्रमहरू गर्ने निर्णय भएको छ । बैठकले सङ्घीय सरकार तथा केन्द्रीयस्तर, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावास र प्रदेश राजधानी९केन्द्र०, जिल्ला र स्थानीयस्तरमा गरिने कार्यक्रमसमेत तय गरेको छ । बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमितिलगायतका विभिन्न उपसमिति गठन गरेको छ ।
काठमाडौ: मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद बैठकमा छलफल भयो, बैठकबाट नीति तथा कार्यक्रम पारित भएको छ,’ उनले भनिन्। उनकाअनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित भएको छ। संघीय संसदको मंगलबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
काठमाडौं: नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । कांग्रेस संसदीय दलको सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने छलफल भएको सांसद रामहरि खतिवडाले जानकारी दिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अवरोध नगर्ने तर अरु विषयमा प्रवेश गर्न नदिने बताए । जारी बैठकमा रास्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे सांसदहरुले मिश्रित धारणा राखेका छन् । शीर्ष नेताहरुले राष्ट्रपतिले गर्ने सम्बोधनमा अवरोध गर्न नहुने बताएका छन् भने युवा नेताहरुले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म अवरोध जारी राख्नुपर्ने धारणा राखेका छन् । यसअघि आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूसँग राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अवरोध नगर्न आग्रह गरेका थिए । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरोध गर्दै आएको छ। संघीय संसदको संयुक्त बैठकमा आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।
काठमाडौं: सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।
पोखरा: सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीका बालकहरुलाई नगद तथा फलफूल सहयोग गरिएको छ । सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङसहित महासचिव कुमार गुरुङ र क्लब शुभेच्छुक कृष्ण गुरुङसहितको टोलीले एकेडेमी अवलोकन गर्नुका साथै बालकहरुलाई सहयोग गरेको हो । पोखरा नयाँबजार घर भइ हाल हङकङ निवासी सहारा क्लब हङकङ महासचिव कुमार गुरुङ र घान्द्रुक घर भइ हाल हङकङ निवासी क्लबका शुभेच्छुक कृष्ण गुरुङले नगदसहित फलफूल वितरण गरेका हुन् । टोलीलाई क्लबका पूर्व अध्यक्ष केशबबहादुर थापाले खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन एकेडेमी संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले गरेका थिए । उनका अनुसार एकेडेमीको तेस्रो ब्याचमा हाल २३ जना बालक आश्रित छन् । सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालले क्लब सदैव फुटबलमार्फत निरन्तर सामाजिक सेवामा क्रियाशील रहेको बताउँदै एकेडेमीमा ३० जनासम्म बालकलाई राख्ने लक्ष्य रहेको बताए । एकेडेमीका बालकलाई निशुल्क आवासीय सुविधासहित शिक्षा र फुटबल सिकाउने गरिएको छ ।
टीकापुर: कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुदाँ किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियार रहेकी छिन् । लम्की चुहा नगरपालिकाको धोबेनी खोला नजिक भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पिए १९०५ नम्बरको भारतीय एम्बुलेन्स आज बिहान दुर्घटना भएको थियो । भारतको हल्द्वानीबाट उपचार गरी बर्दिया फकिएको एम्बुलेन्समा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परि अञ्जलीको मृत्यु भएपनि अन्य ५ जना सकुसल रहेको बताइएको छ । हाल एम्बुलेन्स चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने जेसिबीलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित इदिखोलामा नदीजन्य पदार्थको अवैध उत्खनन् गरिरहेको ना १ क ४७४२ नम्बरको जेसीबीलाई नियन्त्रणमा लिइएको हो । आवश्यक अनुसन्धान र कारवाहीका लागि माछापुच्छ्रे गाँउपालिकाको कार्यालय लाहाचोक पठाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा रहेका सिसिटिभि बिक्रेताहरुद्धारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभि क्यामरा टिएनडी ब्राण्डका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टिएनडी ब्राण्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नविन भण्डारी, हाइटेकको तर्फबाट नेपालका लागि टिएनडी ब्राण्डको एक्जुकेटिभ सेल्स म्यानेजर सुरज भट्ट लगायतको टोलीलाई पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारीहरुले स्वागत संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै टिएनडीका सेल्स म्यानेजर एरिका ह्वाङले टिएनडी ब्राण्डको सिसिटिभि क्यामेरा राम्रो भएको बताउदै पोखरामा रहेका सिसिटिभि बिक्रेताहरु मिलेर लायन्स क्लब गठन गरी ब्यापार ब्यवसायको प्रवद्र्धनमा जुटेकोमा खुसी ब्यक्त गरे । टीम मिलेर काम गरेको खण्डमा जुनसुकै काममा पनि सफलता हात लाग्ने बताउदै पोखराका सिसिटिभि क्यामेरा बिक्रेताहरु संगठित भइ टीम बनाएर लागेकोमा उनले प्रशंसा समेत गरिन । ग्राहकको चाहनालाई मध्येनजर गरी टिएनडी ब्राण्डले भरपर्दो क्यामेराहरु उत्पादन गरेको उनको भनाइ रहेको थियो । हाइटेक इन्टरनेश्नल नेपालका सेल्स म्यानेजर सुरज भट्टले हाइटेक मार्फत नेपालका लागि टिएनडी ब्राण्डका सिसिटिभि क्यामेराहरु उपलब्ध गराउदै आएकोमा पोखरामा रहेका व्यवशायीहरुले स्वस्थ प्रतिस्पर्धा मार्फत ब्यवशाय गरेकोमा खुसी ब्यक्त गर्दै आफुहरु व्यवशायीको हितमा काम गर्ने समेत बताए । हाइटेकले आगामी दिनमा एक क्षेत्र एक डिलरमात्र प्रदान गरेर व्यवसायीहरुलाई साथ दिने उनको भनाइ रहेको थियो । त्यस्तै टिएनडीका टेक्निकल हेड उत्कल सन्जेलले टिएनडी ब्राण्डमा कुनैपनि समस्या उत्पन्न नहुने वताउदै ब्यवशायीहरुले ब्राण्डको सामाग्री ग्राहकलाई विक्री वितरण गरेको खण्डमा सहज हुने समेत बताए । त्यस्तै डिएनडी ब्राण्डका अधिकृत बिक्रेता आयुषा इन्टरनेश्नलका सञ्चालक अनिल कुमार श्रेष्ठले ब्यवशायीहरुले लोकल सामान भन्दापनि ब्राण्डको सामानहरु बिक्री वितरण गरेको खण्डमा कुनैपनि समस्याहरु आइपरेमा समाधान गर्न सहज हुने बताए । पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका अध्यक्ष सनरोज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य सुदिप ओझा, क्लबका निर्वाचित अध्यक्ष दिनेश महर्जन लगायतले बोलेका थिएभने कार्यक्रमको सञ्चालन उपाध्यक्ष तथा गोम्जा आइटी टेक्नोलोजीका सञ्चालक रावत गोम्जा तामाङले गरेका थिए ।

