पोखरा: स्व. मदनकुमार भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा मदन–आश्रित पार्क सरसफाईसँगै माल्यार्पण गरिएको छ । नेकपा एमाले कास्कीको आयोजनामा पोखरा महानगरपालिका–१६ खोलाखेतस्थित मदन –आश्रित पार्क सरसफाईसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मदन र जीवराजको शालिकमा माल्यार्पण गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले जननेता भण्डारीको विचारलाई अनुसरण गर्नपर्ने धारणा राखेका थिए । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको दास ढुङ्गामा सडक दुर्घटना हुँदा वि.सं.२०५० साल जेठ ३ गते निधन भएको थियो । नेकपा एमालेले भण्डारी र आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटना परेको दिनको सम्झानामा मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ । नेकपा एमाले कास्कीका सचिव दर्शन लामाले ३१ औं मदन–आश्रित दिवसको अवसरमा बिहीबार (भोलि) विचार गोष्ठी कार्यक्रमसमेत आयोजना गरेको बताए । ‘नेकपा एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको ३१ औं स्मृति दिवसमा कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाउँदै छौं, सचिव लामाले भने, ‘स्मृति दिवस मनाउने क्रममा आज मदन–आश्रित पार्क सरसफाईसँगै माल्यार्पण गरेका हौं र भोलि पार्टी कार्यालयमा विचार गोष्ठी कार्यक्रम गरेर स्मृति दिवस मनाउँदै छौं ।’ मुख्यमन्त्री अधिकारीसँगै गण्डकी प्रदेश सभाका सदस्यहरु, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ तथा वडाध्यक्षसहित पार्टीका नेता ता कार्यकर्ताहरुको सहभागिता रहेको सो कार्यक्रममा भण्डारीका विशेषताहरुसमेत वाचन गरिएको थियो ।
काठमाडौं: कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय ९कोइका०मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ । त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक(आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे । राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश रहेको बताए ।
काठमाडौं: सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संसदको अवरोध कसरी हटाउने भन्ने बिषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएपछि बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन । संसद अवरूद्ध हुँदा राष्ट्रपतिको कार्यालयबाट आएका विभिन्न पत्रहरू, समितिबाट पास भएर आएका विधेयक लगायतका विषयहरू संसदमा पेस हुन पाएन । सभामुख र प्रधानमन्त्रीबीच यिनै विषयमा छलफल भईरहेको बताईएको छ ।
पोखरा: इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ स्थित नयाँबस्ती सुकुम्बासी टोल बस्ने वर्ष ३३ वर्षीय गणेश गुरुङ रहेका छन् । उनलाई घरको कोठाबाट लागूऔषध गाँजा ३ किलो ७०० ग्राम, मोबाइल थान १ र नगद रु. ९ हजार ७ सय ४५ बरामद गरेको छ । कास्की प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार गणेशले नयाँबस्तीमा गाँजा सञ्चय गरी विक्री वितरण गर्दै आएका थिए । हाल पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा पन्ध्र (१५) दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले कुटपिटसहित खुकुरी प्रहार गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत स्थायी घर भई हाल पोखरा ३ नदिपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बाग्लुङ स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने २८ वर्षीय लगिन थापा रहेका छन् । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार श्रेष्ठ र थापाले गत महिनाको २२ गते पोखरा ३ नदिपुर स्थित सार्वजनिक स्थानमा एकजना व्यक्तिलाई विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज, हातपात तथा अभद्र व्यवहार गरी हेल्मेट र धारिलो हतियार (खुकुरी) प्रहार गरी घाईते बनाई फरार थिए । त्यसपछि प्रहरीलाई प्राप्त सूचनाको आधारमा उनीहरुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १ बाट पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठ र थापाविरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार कसुरमा दिन दुई (२) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ: बबई नदीमा पौडी खेल्ने क्रममा दुई दाजुभाईको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको हिजो मंगलबार मृत्यु भएको हो । दुई दाजुभाई ओदालेमा रहेको फुपुको घरमा बुवाआमासङ्गै आएको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको र उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो । यस्तै १६ बर्षका दिपेश परियारको बबई नदिबाट शव निकालेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ । शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
काठमाडौं: सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रमको (पूर्णपाठ)
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १०औँ राष्ट्रिय खेलकुद समयमै गरिने बताउनुभएको हो । उहाँले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागितामा पनि जोड दिने बताउनुभयो । साथै राष्ट्रपति पौडेलले विद्यालय स्तरमा खेलको विकास गरिनुका साथै खेलकुदको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिईने बताउनुभयो ।
काठमाडौं: सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरी ती गन्तव्यकोे पहिचान, विकास र प्रवर्द्धन गर्ने जनाइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालमा पर्यटक आगमन बढेको र पर्यटकको बसाइ पनि लम्बिएको बताउनुभयो । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष पूरा भएको छ । अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । कोरोना महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । सन् २०२४ मा विदेशी पर्यटक आगमन निरन्तर बढिरहेका छन् । पछिल्लो अप्रिल महिनामा मात्रै एक लाख ११ हजार तीन सय ७८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । मुलुकको पर्यटन क्षेत्रको प्रभावकारी प्रवर्द्धनका लागि पर्यटन क्षेत्रका कार्यक्रमको पुनः बजारीकरण गरिनुका साथै पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । “सरचना सहज पहुँचको व्यवस्था गरी नेपाललाई गन्तव्यका रुपमा विकास गरिनेछ । पर्यटकीय सम्भावना भएका पहाडी भूभागमा स्थानीय स्रोतसाधनको प्रयोग तथा रोजगारी सिर्जना हुनेगरी तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ । ग्रेट हिमालयन ट्रेल लगायतका पर्यटकीय पदमार्ग पूर्वाधार निर्माणलाई तीव्रता दिइने उल्लेख छ ।

