नवलपुर : नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ बोल्न र हातले केही पनि गर्न सक्नुहुन्न । तर खुट्टाको सहयोगमा भने अन्य काम गर्नुहुन्छ । साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उहाँ जस्तै बन्ने छ । पच्चिस वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ । उहाँले खुट्टाको सहायताले लेख्ने र सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ । उहाँका बुबा मनबहादुर खाम्चा भन्नुहुन्छ, “कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो ।” अन्य व्यक्ति जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ । खुट्टाको सहायताले उहाँले कक्षा १२ कक्षा उत्तिर्ण गर्नुभएको छ । अब उहाँ उच्चशिक्षा हासिल गर्ने सुरसारमा हुनुहुन्छ । सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुर सताएको छ । उहाँ भन्नुहुन्छ “छोराले एसइई परीक्षा उत्तिर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो ।” यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ । अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढ्नुभएका उहाँले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसक्नु भएको छ । “अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने”, उहाँले भन्नुभयो । अवस्था सहज भने छैन । उहाँ परिवारको चार सन्तानमध्ये माइलो हुनुहुन्छ । आठ वर्षसम्म ओछ्यानमा बिताउनुभएका यमले आफ्नो आवाज अरूसामु पु¥याएको देख्दा आमा योगमाया औधी खुसी हुनुहुन्छ । योगमाया भन्नुहुन्छ, “मलाई विस्तारै बुढ्यौलीले छुँदैछ, ६१ वर्षकी भए, छोराको रेखदेखमै दिन बित्छ । जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने रु।” छोराको भविष्य सम्ँिझदै आँसु पुछ्दै उहाँले भन्नुभयो, “छोराको भविष्यको चिन्ताले सधँै सताउँछ । उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो ।”
कपिलवस्तु: दशैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दशैँको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् । दशैँलाई सस्तो, राम्रो र आकर्षक सामग्री खरिदका लागि भन्दै नेपालीहरु सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीको समस्या विगतका वर्षभन्दा कम छैन यतिखेर । सीमापारिका बढ्नी, खुनुवा, अलिगढवा लगायतका भारतीय बजारमा यतिखेर नेपालीको बाक्लो चलहपहल देखिन्छ । दशैँका लागि अत्यावश्यक वस्तुदेखि विलाशिताका सामग्री किन्न नेपाली भारतीय बजारमा निर्भर देखिन्छन् । यसपालिको दशैँमा नेपालमा हरेक सामानमा मूल्य बढेको छ । त्यसैले पनि भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षण बढेको हो । मुख्यगरी नेपाली उपभोक्ताहरु लत्ताकपडा, जुत्ता चप्पल, चिनी, दाल, तेल तथा टिभी, फ्रिजसम्म किन्न भारतीय बजार धाउछन् । सीमापारिका बजारमा पाइने वस्तु नेपाली बजारमा महँगो हुने भएकाले आफू भारतीय बजारतर्फ आकर्षित भएको बुद्धभूमि नगरपालिका–९ की मनिषा भाटले बताउनुभयो । “नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा दुई हजार बढी पर्दैन, दशैँ खर्चिलो छ, बचत त गर्नै पर्यो”, ‘इमिलियाबाट बढनी किनमेलका लागि जानुभएकी भाटले भन्नुभयो । खाद्यान्न वस्तुहरु पनि सस्तो भएकाले उपभोक्ताहरु भारतीय बजारमा आकर्षित हुने गरेको देखिन्छ । जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल सञ्चालन गरेमा उपभोक्ता भारतीय बजारमा कम जाने उपभोक्ता हकहित संरक्षण मञ्चले जनाएको छ । भारतीय बजारभन्दा पनि सस्तोमा लत्ताकपडा दिए पनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको कृष्णनगरमा कपडा पसल सञ्चालन गरेर बस्नुभएकी सीता घिमिरेले बतानुभयो । भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महसुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महँगो हुन जाने उहाँ बताउनुहुन्छ । कृष्णनगर र मर्यादापुर भन्सार कार्यालयका अनुसार एक सातामा जिल्लाका विभिन्न सीमानाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ । दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सारसमेत नतिर्दा राज्यलाई समेत लाखौँ राजश्व घाटा लाग्ने गरेको छ । कपिलवस्तु व्यापार सङ्घका अध्यक्ष महादेव पोख्रेलले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाउनुभयो । केही वस्तु सस्तोमा दिएर अन्य वस्तुहरुमा चर्को मूल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उहाँले बताउनुभयो । “नेपालीको मानसिकता सीमापारि सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउँदै व्यापारीले ठग्ने गर्दछन्”, उहाँ भन्नुहुन्छ ।
कास्की: पोखरा महानगरपालिका ३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रले ब्लड क्यान्सर पीडित मनकुमारी पुनलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रशिक्षण केन्द्रको आयोजना तथा छन्त्याल युवा संघको सह–आयोजनामा सम्पन्न क्लबस्तरीय पुरुष तथा महिला प्रतियोगिता २०७९ मा संकलित रकममध्ये नगद रु २० हजार सहयोग हस्तान्तरण गरेको हो । नगद हस्तान्तरण गर्दै प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रशिक्षक मनोज खड्का, छन्त्याल युवा संघका निवर्तमान अध्यक्ष कुल प्रसाद (कुशल) छन्त्याल, सचिव नवीन छन्त्याल लगायतले पुनको आफन्त भिमा घर्तीमगरलाई सो रकम हस्तान्तरण गरे । सो अवसरमा बोल्दै पुनको स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोग गरेको निवर्तमान अध्यक्ष कुशल छन्त्यालले बताए । उनले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने बताउदै छन्त्याल युवा संघ दुखको सारथी बन्ने धारणा राखेका थिए । यसैगरि प्रशिक्षण केन्द्रका सञ्चालक तथा भलिबल प्रशिक्षक मनोज खड्काले गत वर्ष मृगौला पीडित सुरज गुरुङलाई आर्थिक सहयोग गरेको स्मरण गरे । ‘हामीले प्रतियोगिता गरेर संकलन भएको रकमको केही हिस्सा सामाजिक कार्यमै खर्च गर्ने निर्णय थियो, उनले भने, ‘त्यही अनुरुप यसवर्ष हामीले ब्लड क्यान्सर भएर उपचाररत रहनुभएकी मनकुमारीलाई सहयोग गरेको हौं ।’ यसैगरि छन्त्याल युवा संघका सचिव नवीन छन्त्यालले खेलकुद क्षेत्रमा मात्र नभई विभिन्न सामाजिक कार्यमा सक्रियता रहदै आएको बताए । उनका अनुसार प्रशिक्षण केन्द्रको २० हजारसँगै पोखरा भलिबल प्रशिक्षण केन्द्रका सल्लाहकार सुनिल मगरले नगद रु ५ हजार र देविस्थान घर्थोकका शेरबहादुर घर्तीमगरले १५ हजार सहयोग गरेका थिए । मालिका गाउँपालिका २ रुम (बिल्बाङ्ग) म्याग्दीकी मनकुमारी पुनको नयाँ दिल्लीकोस्थित राजीव गान्धि क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भईरहेको उनकी आफन्त भिमा घर्तीमगरले जानकारी दिइन् । उनका अनुसार पुनले जनजागृति आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन् । पुनको उपचारको क्रममा करिब ३० लाख सकिसकेको बताउदै घर्तीमगर अझै ५० लाख भन्दा बढी खर्च लाग्ने बताइन् । उनले पुनको थप उपचारका लागि सहयोग गर्नसमेत आग्रह गर्दै भनिन्, ‘तपाइहरुपनि उहाँको उपचारका लागि केही सहयोग गर्न चाहनुहुन्छ भने गरिमा विकास बैंकको (सिमा पुन) खाता नम्बर ०२१०१७००८१३४९००००००१ मा जम्मा गर्न सक्नुहुनेछ ।’
कुश्मा ः पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ । विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा प्रदान गर्दै आएको छ । शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त यस विद्यालयका विद्यार्थीले पढाई सँगसँगै आम्दानी पनि गर्दै आएका छन् । विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन् । बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ । “हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ”, शिक्षक अजय ज्ञवालीले भन्नुभयो, “विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ, किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ ।” विद्यार्थीहरुको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ । उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन् । “घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन”, अभिभावक केशव तिवारीले भन्नुभयो, “उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौँ ।” विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी छन् । प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ । “मेरो सानैदेखि कृषि रुचिको विषय हो”, कक्षा १० अध्ययनरत विद्यार्थी रञ्जिता भुजेलले भन्नुभयो, “सानैदेखि घरमा बुवाआमासँगै खेतबारीमा जाने उहाँहरुलाई सघाउने गर्थे । सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै निःशुल्क पढ्न पाएकामा खुसी छु ।” अर्का विद्यार्थी प्रदीप भुसालले कृषि पढेपछि जागिर पाउन मुस्किल नहुने र आफ्नै जग्गामा व्यावसायिक खेती गर्न पनि सकिने भएकाले बाली विज्ञान पढेको बताउनुभयो । “धेरै पालिकामा कृषि पढेका जनशक्ति चाहिने रहेछ”, उहाँले भन्नुभयो, “अन्य विषय पढेर शैक्षिक बेरोजगार बन्नुभन्दा कृषि पढेर आफ्नै घरगाउँमा नै आत्मर्निभर भएर काम गर्न ठीक लाग्यो ।” विसं २०१७ मा स्थापना भएको विद्यालयले २०७० सालदेखि प्राविधिकतर्फ बाली विज्ञान विषय पढाउन सुरु गरेको थियो । सुरुआतका दिनमा अभिभावक र विद्यार्थीलाई बाली विज्ञानका बारेमा बुझाउन ज्यादै मुस्किल भएको विद्यालयको अनुभव छ । “पहिलो वर्ष कृषि पढ्न चाहने विद्यार्थी पाउन नै मुस्किल भयो”, विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले भन्नुभयो, “हामीले दुई/तीन वर्ष चाहिँ कृषि विषयको महत्वका बारेमा बुझाउन घरदैलो गर्नुगर्यो, कहिलेकाहीँ त प्राविधिक शिक्षा पढाई सुरु गरेर साँच्चीकै गल्ती गर्यौ कि भन्ने पनि लाग्यो, अहिले भने अभिभावक आफैँ छोराछोरी भर्नाका लागि विद्यालय आउने गर्नुभएको छ ।” विद्यालयले प्राविधिक तथा व्यावसायिक पढाइ सञ्चालनका लागि खर्च जुटाउन महायज्ञ गरेको थियो । अहिले विद्यालयसँग आफ्नै भवन, प्रयोगशाला, खेतीका लागि जमिन र छात्राबास पनि रहेको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यान्वयन इकाइ धानजोन बागलुङ र विद्यालयको साझेदारीमा च्याउ टनेल, माछापोखरी, प्लास्टिक पोखरी निर्माणलगायतका संरचनासमेत विद्यालय परिसरमा बनेका छन् । “टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर आफ्नै होस्टेल निर्माण गर्यौ”, प्रअ रिजालले भन्नुभयो, “चमेनागृह पनि सञ्चालनमा ल्याएका छौँ । होस्टेलमा बस्ने विद्यार्थीले साँझ र बिहान खानाको मासिक रु तीन हजार ५०० तिरे मात्र पुग्छ, बस्नका लागि कुनै शुल्क लाग्दैन ।” नेपाल सरकारले यस विद्यालयलाई नमूना विद्यालयका रुपमा राखेको छ । “नमूना विद्यालयमा परेपछि सरकारबाट उपलब्ध हुने सेवासुविधाका कारण सहज भएको छ”, उहाँले भन्नुभयो । अहिले सरकारी अनुदानमा नौ बालीविज्ञान पढाउने शिक्षक छन् । भौतिक संरचना, प्रयोगशालादेखि धेरै कुरामा आत्मनिर्भर बनेका छौँ ।” यस विद्यालयमा पर्वत र बागलुङका विद्यार्थी पढ्न आउँछन् । विद्यालयस्तरको पढाइ सकेपछि कोही पनि विद्यार्थी बेरोजगार बस्न नपरेको विद्यालयका शिक्षक केदार सापकोटाको अनुभव छ । उहाँका अनुसार अहिलेसम्म यस विद्यालयबाट दुई सय बढी विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । विद्यालयले भाडामा लिएको २० रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, माछापालन, मौरीपालन, धान खेतीलगायतका उपज फलाउने गरेका छन् । गत वर्ष १२ कक्षा सकेका विद्यार्थीले एक वर्ष ‘ओजिटी’ गरेबापत सरकारले १२ हजार र आफैँले लगाएको उत्पादन बिक्री गरेबापत सात हजार रुपैयाँका दरले जम्मा १९ हजार रुपैयाँ लान सफल भएका थिए ।
तनहुँ । तनहुँको ऋषिङ गाउँपलिका–८ पल्ट्याङका गञ्जसिं गुरुङलाई बर्खायाममा फेदीखोला तर्न निकै सकस थियो । हिउँदमा सामान्य भए पनि बर्खाका बेला फेदीखोला उर्लेर तर्न समस्या हुन्थ्योे । खोला बढेको बेला वारपार गर्न सास्ती थियो । खोला बढेर मान्छे नै बगाउने स्थिति आउने गर्दथ्यो । विसं २०७५ मा कक्षा सातमा अध्ययनरत एक बालकलाई यही खोलाले बगाएर ज्यानै लियो तर अब यस भेगका बासिन्दालाई अहिले खोला तर्नु पर्दैन । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त गाउँपालिका–८ र भिमाद नगरपालिका–५ जोड्ने फेदीखोलामा पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको हो । खोला तर्नुपर्दाको विगत सम्झिँदै गुरुङले भन्नुभयो, “खोलामा पुल नहुँदा यस भेगका जनताले निकै दुःख पाए तर अब त पक्की पुल बनेकाले सहज भयो ।” उक्त गाउँपालिकाका विभिन्न वडावासीकोे प्रमुख व्यापारिक केन्द्र भिमाद बजार हो । त्यस भेगका सर्वसाधारण यही बाटो हुँदै भीमाद बजार आउँछन् तर पुल बनेपछि दैनिक जीवन यापनमा सहज भएको उहाँले बताउनुभयो । गुरुङका अनुसार फेदीखोलामा पुल निर्माण भएपछि भिमाद नगरपालिका र यस गाउँपालिकाका हजारौँ सर्वसाधारण लाभान्वित भएका छन् । पक्की पुल बनेपछि ग्रामीण भेगमा उत्पादित तरकारी पनि सहजरुपमा बजारसम्म लगेर बिक्री गर्न सहज भएको छ । भिमाद नगरपालिका–५ का तिलबहादुर थापाले पक्की पुल निर्माण भएसँगै भिमादका अतिरिक्त ऋषिङको राम्जाकोट, कोटदरवारलगायत ठाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको जानकारी दिनुभयो । “हेर्दा सामान्य देखिए पनि बर्खामा खोलाको वास्तविक रुप देखिन्छ तर अब पुल बनेपछि राहत भयो”, उहाँले भन्नुभयो । सोही नगरपालिका–३ स्थित बुडुवा खोलामा पनि पक्की पुल नहुँदा स्थानीयवासीलाई खोला पारपार गर्न कठिन थियो । बर्खाका बेला यो खोला निकै ठूलो हुन्थ्यो । खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँसदाउरा र मेलापात गर्ने स्थानीयवासीलाई पनि खोला तर्न समस्या थियो । यहाँ पनि प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण सम्पन्न भएको छ । वर्षौंदेखि पक्की पुल बनाउन आवाज उठाउँदै आएका स्थानीयवासीको माग प्रदेश सरकारले सम्बोधन गरेको वडाध्यक्ष पदमराज ठकुरीले बताउनुभयो । “पुल नहुँदा यहाँका बासिन्दाले दुःख झेल्नुप¥यो तर सङ्घीयतासँगै बनेको प्रदेश सरकारले यहाँ पुलको आवश्यकता महसुस ग¥यो, किरण गुरुङ अर्थमन्त्री हुँदा बजेट विनियोजन भएर पुल निर्माण भएको छ”, उहाँले भन्नुभयो । तनहुँमा गण्डकी प्रदेश सरकार मातहत पूर्वाधार विकास कार्यालयमार्फत चारवटा पक्की पुल निर्माण भएको छ । आर्थिक वर्ष ०७८÷७९ मा रु १६ करोडको लागतमा ती पक्की पुल निर्माण भएका हुन् । विभिन्न मितिमा निर्माण सुरु गरिएका उक्त पुल आर्थिक वर्ष ०७८÷७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेवल पुल सोतीवेशी, बुडुवाखोला मोटरेवल पुल, फेदीखोला मोटरेवल पुल र रिस्तीखोला मोटरेवल पुल बगुवा निर्माण गरेको कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिनुभयो । फेदीखोलाको पुल रु चार करोड २८ लाख ३२ हजार, बुडुवा खोलाको पुल रु दुई करोड नौ लाख, रिस्ती बगुवाखोलाको पुल रु चार करोड २५ लाख र रिस्ती सोतीवेशीको पुल रु चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो । फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीवेशीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेवल पुल निर्माण भएको उहाँको भनाइ थियो । उक्त आर्थिक वर्षमा सात वटा पुल सम्पन्न गर्ने लक्ष्य रहे पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीन वटा पुल निर्माण हुन नसकेको सूचना अधिकारी मिश्रले बताउनुभयो । “सात वटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो तर तीन वटा पुलको काममा ढिलाइ भयो, चार वटा मात्रै सम्पन्न भएको छ”, उहाँले भन्नुभयो । करिब रु ११ करोडको लागतमा निर्माण गरिने तीन पुल अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेवल पुल रु तीन करोड २१ लाख, द्रोपद खोला मोटरेवल पुल रु तीन करोड ८३ लाख र बरखोला पुल रु तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।
पोखरा : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व कला यात्री प्राज्ञ नगेन सिंहलाई प्रवल जनसेवाश्री मानपदवीद्धारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो मानपदवीबाट उहाँ सम्मानित हुनुभएका हुन् । नेपाली कला क्षेत्रको श्रीवृद्धिका लागि उहाँले कलाकारिताको माध्यमबाट समाज र राष्ट्रलाई पु¥याएको उच्च योगदानको कदर गर्दै कलाकार सिंहलाई राष्ट्रपतिले सो मानपदवीबाट सम्मान गर्ने निर्णय गर्नुभएको हो । सोही सम्मान दिने घोषणा भएकै दिन सिंहले नेपालको संविधानमा कलाकार अंगको रुपमा लेखिनुपर्ने माग राख्दै सो माग सम्बोधन नभएसम्म कपाल नपाल्ने प्रतिज्ञा गर्दै वर्षौदेखि पाल्दै आएको १८ इन्च १ सेन्टिर मिटर लम्बाइ भएको कपाल काट्ने पर्फमेन्स आर्ट गर्नुभएको छ । उहाँले सो पर्फमेन्स आर्ट गर्दै नेपाल ललितकला विकास बोर्डको स्थापनार्थको लागि माग पनि गर्नुभएको छ । यसअघि उहाँ प्रथम अरनिको कला कार्यशाला प्रतियोगिता २०५९, नेपाल पेन्टिङ प्रतियोगिता, नेपाल कमरर्सियल आर्टिस्ट पेन्टिङ प्रतियोगिता सान्तोना पुरस्कार २०५९, स्वर्ण पदक अरनिको युवा पुरस्कार २०७४ (राष्ट्रिय युवा कोष), दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्मिाञ्चल क्षेत्रीय पुरस्कार )२०६९ बाट पुरस्कृति भईसक्नुभएको छ । त्यस्तै विश्व कला यात्री प्राज्ञ सिंह यूथ राजदूत फर २०६५ यूपिएफ, साउथ कोरिया, द हन्ट यूथ लिडरसीप २०६६ (चेमोनिकस् एलएनसी, अमेरिका) बाट समेत सम्मानित हुनुभएको छ । कलाकार सिंहको जीवनीमा नै आधारित भएर एम.आर्ट थिएटरको प्रस्तुतीमा नाट्य निर्देशक विरेन्द्र हमालले २०६४ सालमा नगेनको नग्न तृष्णा नाटक समेत मञ्चन भईसकेको छ । उहाँले नेपालमा पहिलो पटक २०६४ मा नेपाल आर्ट काउन्सील, काठ्माण्डौंमा मेरो अस्वीकृत कला शिर्षकको एकल कला प्रदर्शनीमा र पोखरा आर्ट ग्यालरीमा २०७४ मा भएको सात प्रदेश कला प्रदर्शनीमा टिकट सिस्टमको सुरुवात गर्नुभएको थियो । उहाँले हालसम्म ११ वटा एकल चित्रकला प्रदर्शनी र दर्जनौं सामुहिक राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । हाल सिंहले पोखरामा नगेन आर्ट एकेडेमी संचालन गर्दै आईरहनुभएको छ । यस्तै सरकारले संविधान दिवसको अवसरमा पारेर प्रतेक वर्ष देशभरीबाट विभिन्न विधा र क्षेत्रमा अतुल्नीय योगदान पु¥याउने व्यत्तित्वहरुलाई मानवदवी, अलङ्ककार र पदकद्धारासम्मान गर्दै आएको छ ।
कास्की : नेपाल छन्त्याल युवा संघ कास्कीको अध्यक्षमा मोहन छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । जिल्लाको १२ औ साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनबाट मोहन छन्त्यालको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ समिति चयन भएका हुन् । सो समितिको उपाध्यक्षमा सुजन छन्त्याल चुनिए भने कुशलतापूर्वक कार्यसम्पादन गरेको भन्दै सचिवमा नवीन छन्त्याल निर्वाचित भए । यसैगरि सो समितिको कोषाध्यक्षमा मविना छन्त्याल चयन भइन् । भने सदस्यहरुमा राम छन्त्याल, ठम बहादुर छन्त्याल, चन्द्र बहादुर छन्त्याल, श्रीप्रसाद छन्त्याल, नितु छन्त्याल र रञ्जिता छन्त्याल चुनिएका छन् । सुबेदार धन बहादुर भलञ्जा छन्त्यालको नेतृत्वमा रहेको नेपाल छन्त्याल संघ कास्की र माया तथप्जा छन्त्यालको नेतृत्वमा रहेको महिला समिति भने सर्वसम्मत यथावत राखिएको युवा समितिका सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार छन्त्याल समाजले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा पोखरा ३ नदीपुरको आफ्नै खेलमैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । सोही अनुरुप यस वर्ष पनि तयारीमा जुटेको नवनिर्वाचित सचिव छन्त्यालले बताए । ‘हामीले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मेला आयोजना गर्दै आएका छौं, उनले भने, ‘यो वर्षपनि हामीले मेला गर्ने भनेर तयारी छौं । के कसरी अझ ऐतिहासिक मेला गर्न सक्छौं भनेर कसरतमै लागिराछौं ।’ मौलिक संस्कृति जोगाउन देउसी– भैलोको तयारी तिहारको अवसरमा गाउँघरमा खेलिने देउसी भैलोको संरक्षण गर्ने उद्देश्यले नवनिर्वाचित समितिले पोखरामै देउसी भैलो खेल्ने निर्णय गरेको सचिव छन्त्यालले बताए । पछिल्लो समय कला संस्कृतिको संरक्षणको नाममा विकृती बढेको बताउदै उनले मौलिकता झल्कने गरि देउसी भैलो कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । ‘हामीले आफ्नो समुदायको संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले यो वर्षपनि देउसीभैलो खेल्ने निर्णय गरेका छौं, छन्त्यालले भने, ‘त्यसैले हामी सोही अनुरुप नै तयारी पनि थालेका छौं । यसले हाम्रो अस्तित्व र मौलिकताको संरक्षण गर्न महत्वपूर्ण भुमिका खेल्नेछ ।’ छन्त्याल युवा संघद्वारा आयोजित विभिन्न कार्यक्रममार्फत संकलित रकमको केही हिस्सा असहाय तथा बिरामीहरुलाई सहयोग गर्दै आएको छ ।
पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि (पाल डाकार छयोईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोडको लागतमा निर्माण हुने भएको हो । सो विद्यालय आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिए । उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुनेछ । विद्यालयसँगै सग्रहालय, चमेना गृह, छात्राबास, किचन तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेशन र पुजा गर्ने हल र स्टुपासमेत निर्माण हुनेछ । गुप्ती गुरुङको अगुवाईमा निर्माण हुने विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंका स्वर्गिय चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ र चन्द्र गुरुङ र हङ्कङ निवासी विश्वसम गुरुङको सपरिवारले १० रोपनी निशुल्क जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले बताए । ‘सामाजिक मात्रै नभई धार्मिक काममा आफ्नो जग्गा दान गर्नु सामान्य विषय होइन, उनले भने, ‘उहाँहरुले पाल डाकार छयोईदुब लीङ विद्यालयका लागि १० रोपनी जग्गा दान दिनुभएको छ । यो एउटा उदाहरणीय कार्य हो ।’ यसैगरि सो विद्यालयको निर्माणको जिम्मा लिएका धर्मगुरु गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राखे । ‘मानिस मरेर गए भएको सम्पत्तीसँगै लान सक्दैन । मानवचोला सफल हुन सहयोगी हुनुपर्छ । मानवजातिको उत्थानका लागि शान्ति स्थापना हुनुपर्छ, उनले भने, ‘सबै मानवजाति एक भए मात्र मानवता कायम हुन्छ । सबै मानव एक हौं भन्ने सन्देश दिन विद्यालयको स्थापना गर्न लागेको हो ।’ उनले घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको बताउदै विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान खेल्नेसमेत बताएका थिए । घान्द्रुकको विकासमा शिक्षाको फरक योगदान रहनेछः पूर्वराज्यमन्त्री गुरुङ अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा निर्माण हुने बौद्ध विद्यालयको बिहिबार शिलान्यास पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमासमेत सहयोग पुग्ने बताए । ‘घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रबिन्दु भएपनि विद्यार्थीहरु बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण छैन, उनले भने, ‘त्यसकारण बौद्ध शिक्षाको लागि शहर झर्ने क्रमलाई पाल डाकार छयोईदुब लीङ विद्यालयले रोक्नेछ । उनले पछिल्लो समय विश्वमा अहिंसा बढ्दै गएको बताउदै बौद्ध धर्मको महत्व बढ्दै गएको उल्लेख गरे । ‘विश्वमा नै अहिंसा बढ्दै छ, सबैलाई शान्ति चाहन्छ त्यसैले बौद्ध धर्म र शिक्षाको महत्व बढ्दै छ, शान्तिबाट नै सबैको महिमा कायम हुन्छ ।’ पूर्वराज्यमन्त्री गुरुङले भने । त्यस्तै अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालयको निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताए । ‘समाज परिवर्तन गर्न शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । हत्या हिंसाले समाज परिवर्तन हुदैन शान्ति स्थापना गर्न सके मात्र समाजको विकास हुन्छ, उनले भने, ‘त्यसैले शान्ति पाउन बौद्ध ज्ञान अनिवार्य छ ।’ सो विद्यालय निर्माणका लागि तमु प्हे ल्हु संघका भुतपूर्व अध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै ५० हजार ५ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । अब विद्यालय निर्माण समितिले आर्थिक संकलनलाई तिब्रता दिने बताइएको छ ।
लमजुङ : भूगोलविद् डा हर्क गुरुङका जन्मस्थलमा डा हर्क गुरुङ उद्यान निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकार र मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा मस्र्याङ्दी–७ मा उद्यान निर्माण भइरहेको डा हर्क गुरुङ प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार साढे पाँच रोपनी जग्गामा हालसम्म समाधिमा ढुङ्गाको छपनी बिच्छाउने, प्याराफिट निर्माण सम्पन्न भएको छ, भने, बगैँचा निर्माण भइरहेको वृक्षरोपण लगाउने र दुबो लगाउने काम भइरहेको छ । आर्थिक वर्ष २०७४/२०७५ देखियता प्रदेश सरकारले रु १० लाख र गाउँपालिकाबाट रु १४ लाख गरी २४ लाख बजेटमा विनियोजन गरेको प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाधिस्थलसँगै उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन९ डिपिआर० तयार भइसकेको छ भने, यस वर्ष सङ्घीय सरकाबाट १५ लाखको योजना परेको छ ।” यस रकमबाट शौचालय बनाउने र अन्य संरचना बनाउने भएको छ । उद्यान १० रोपनीमा निर्माण हुने भएको छ । उद्यान निर्माणका लागि रु छ करोड ३१ लाखको डिपिआर तयार भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा पुस्तकालय, डा गुरुङको शालिक, सङ्ग्रहालय, डा गुरुङका सामग्री प्रदर्शन कक्ष, सभा हल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने जनाएको छ । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते ९२००६, सेप्टेम्बर २३० को दिन हेलिकोप्टर दुर्घटना हुँदा डा गुरुङ सहित २४ जनाले एकै पटक ज्यान गुमाउनुपरेको थियो । डा गुरुङको १६ औँ स्मृति दिवसका अवसरमा आज लमजुङ बेँसीसहरमा निर्माण गरिएको शालिकमा विभिन्न व्यक्तिद्वारा माल्यार्पण गर्दै सम्झना गरिएको छ ।