काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ । नाटक हेर्ने परम्परालाई बढाउन यस किसिमको महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी विदेशमा विभिन्न फेस्टिभलमा सहभागी हुन्छौँ । तर, हामीकहाँ किन यस्ता महोत्सव भइरहेका छैनन् भनेर यसलाई सुरु गरेका हौँ । किनकी हामी नाटकलाई महोत्सवका रूपमा मनाउन चाहन्छौँ ।” नाटक घर नै व्यस्थापन गर्न अप्ठ्यारो स्थिति रहेकाले यसलाई दुई वर्षको अन्तरालमा आयोजना गर्ने तयारी अनुरूप सुरुआत गरिएको उहाँले बताउनुभयो । अभिनेता राईले अग्रजबाट लिएको नाटकको संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउन महोत्सव गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । नौ दिनसम्म चल्ने महोत्सवमा १६ देश सहभागी हुने र २३ नाटक मञ्चन हुने महोत्सवकी संयोजक विजया कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यसलाई उत्सवका रूपमा मनाउने तयारी गरेका छौँ । हामी नाटकको दर्शक बढाउन चाहन्छौँ । यसले नियमित दर्शकभन्दा फरकलाई पनि आकर्षित गर्छ ।” अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रस्तुतिहरू गर्ने योजनासहित आयोजना हुने महोत्सवमा रङ्गमञ्चअन्तर्गतका विविध शैलीका प्रदर्शन, कलाकारसँग अन्तरक्रिया, खुला छलफल, सेमिनारलगायत अन्य क्रियाकलापहरू हुनेछन् ।
पोखरा । पोखराका बुद्ध चोकस्थित यु एण्ड मि रेष्टुरेन्टमा जुवा खेल्दै गर्दा प्रकाउ परेका ९ जनालाई ६ दिनको म्याप थप गरि अनुसन्धान अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको असुनर अन्र्तगत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा प्रकाउ परेका ९ जनालाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेको हो । पोखरा महानगरपालिका १० बुद्धचोकस्थित कुमार कार्कीले संचालन गरेको यु एण्ड मि रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरुलाई नगद २ लाख १५ हजार २ सय ५० , सिसीक्यामेराको हार्डडिक्स, मनिटर सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार प्रकाउ पर्नेहरुमा पोखरा बुद्धचोक बस्ने ४५ वर्षिय कुमार कार्की , पोखरा ११ बस्ने ४६ वर्षिय मिलेन्द्र कुमार रन्जित, गोरखाका ३३ वर्षिय सन्तोष पाण्डे, पोखरा छिनडाँडाका ४६ वर्षिय श्रीराम आले , पोखरा शान्तिमार्गका ४५ वर्षिय ओमबहादुर नेपाली, स्याङ्जा विरुवा गाउँपालिकाका ४९ वर्षिय खोमबहादर थापा, मकवानपुर हेटौडाका ५२ वर्षिय भरतप्रसाद न्यौपाने, नवलपरासी बर्दघाटका ४२ वर्षिय जितबहादुर सारु र पर्वत जलजलाका ३६वर्षिय शिव सुवेदीलाई नगद सहित प्रकाउ गरेको थियो ।
बागलुङ । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गर्नुभएका उहाँले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आउनुभएको छ । उहाँले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाउन भयो । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन् । दुई वर्ष अगाडि लगाएका उन्नत जातको कागतीले पनि यस वर्षदेखि फल दिन थालेपछि पोखरेलको अनुहारमा खुसी छाएको छ । उहाँ भन्नुहुन्छ, “कागती बहुउपयोगी रैछ भन्ने विदेश गएर चिनियो, पहिले यहाँ हुँदा खास्सै वास्ता गरिएन, विदेशबाट आएर मैले डेढ सय कागती लगाए अहिले फल दिन थालेका छन्, नयाँ जातका चार सय पचास बिरुवा दुई वर्ष अगाडि रोपेको तिनीहरु पनि फल्न थाले, अब आम्दानीको मेसो सुरु भयो ।” तेइस वर्ष भारत र २२ महिना कतारमा बिताउनुभएका ४८ वर्षीय किसान पोखरेलले १५ रोपनी बारीमा कागती खती गर्नुभएको छ । कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल उहाँका बारीमा छन् । अघिल्लो वर्ष एक लाखको कागती बिक्री गर्नुभएका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गर्ने बताउनुहुन्छ “अघिल्लो वर्ष कागतीको सिजन रैनछ, कम बोटले मात्रै फल दिएको हुँदा आम्दानी पनि कम भयो, यसपालि कागती निकै राम्रो फलेको छ, दुई बढीको बिक्री गर्ने अनुमान गरेको छु ।” कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उहाँको भनाइ छ । फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेल बताउनुहुन्छ । गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको जनाउँदै रु ५० हजार बराबरको टिमुर बिक्री गर्ने उहाँ बताउनुहुन्छ । कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या हुने देखिन्छ । “गत वर्षसम्म बजारको कत्ति पनि समस्या थिएन, यस वर्ष कागती सुन्तला लटरम्म फलेका छन्, साँघुरो बजार छ, कहाँ लगेर बच्ने भन्ने पिर छ, बजार अभाव छ, थोक व्यापारी आउँदैनन्, खुद्रा व्यापारले उत्पादन खेर जाने देख्छु”, उहाँ भन्नुहुन्छ, “कागती मात्रै भए पनि हुन्थ्यो, अहिले त सुन्तला र टिमुर पनि थपिएको छ, कहाँ लगेर बेच्ने हो रु, गाह्रो पर्ला जस्तो लागेको छ ।” उहाँले कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुक समेत बजारमा पठाउने गर्दै आउनुभएको छ । चुक ९कागती०को रस खासगरी तराईमा बढी बिक्री हुने गरेको उहाँको भनाइ छ । निसीखोला गाउँपालिका–६ का ३७ वर्षीय लोकबहादुर कुँवरले पनि कागती खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । सात वर्षदेखि निरन्तर कागती खेती गर्दै आउनुभएका कुँवरले यस वर्ष चार लाख बढीको कागती बेच्ने सोचमा हुनुहुन्छ । आठ सय कागतीका बोटमध्ये झण्डै पाँच सय बोटले फल दिन थालेको उहाँको भनाइ छ । अर्को वर्ष कागतीको उत्पादन दोब्बर हुने उहाँ बताउनुहुन्छ । “यस वर्ष सबै बिरुवाले फल दिन सकेनन्, अर्को वर्ष करिब छ सय बिरुवाले फल दिने अनुमान गरेको छु, यो वर्ष चार लाख आम्दानी हुने अनुमान गरेको छु, अर्को साल सिजन राम्रो भयो भने छ लाख त न्यूनतम पनि आम्दानी हुन्छ”, उहाँ भन्नुहुन्छ, “मेरो बारीमा दुई जातका कागती छन्, एउटा जातको कागतीले बाह्रै महिना फल दिन्छ, अर्कोले वर्षमा दुई पटकसम्म फल दिन्छ, यसले गर्दा वर्षभरि थोरै भए पनि आम्दानी हुने अपेक्षा गरेको छु ।” कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पछिल्लो समय कागती खेतीमा लाग्ने कृषक बढेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा दुई सय १० जना कृषकले व्यावसायिकरुपमा कागती खेती गरिरहेको बताउनुभयो । बागलुङको माथिल्लो भेगबाहेक धेरै ठाउँमा कागती खेती गर्नका उपयुक्त हुने भट्टराईले बताउनुहुन्छ । “पछिल्लो समय बागलुङमा कागती खेती गर्ने कृषक बढ्दै गएका छन्, जिल्लामा अघिल्लो वर्षसम्म निकै कम सङ्ख्या थियो, अहिले दुई १० जनाले व्यावसायिकरुपमै यसको खेती गर्नुहुन्छ,” उहाँ भन्नुहुन्छ, “बागलुङका अधिकांश क्षेत्र कागती खेतीका लागि उपयुक्त मानिन्छ, धेरैले कागती खेतीमा चासो देखाएपछि जिल्लाको धेरै पालिकामा कागती पकेट क्षेत्र पनि घोषण भएका छन् ।” भट्टराईका अनुसार सात सयदेखि एक सय छ सय मिटरको उचाइमा कागती खेती निकै राम्रो हुने गर्छ । बागलुङमा कागती खेतीको प्रवद्ध्र्रन विस्तारै हुन थालेको उहाँ बताउनुहुन्छ । “कागती खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले सहयोगसमेत गर्दै आएको छ, अहिले विस्तारै यहाँ कागतीको प्रवद्र्धन हुँदैछ, अब हरेक वर्ष बागलुङमा कागती उत्पादन बढ्ने देखिन्छ”, उहाँ भन्नुहुन्छ । जिल्लामा हरेक वर्ष कागती र सुन्तला गरी तीन सय ५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिने र यसबाट राम्रो आम्दानी गर्न सक्ने हुँदा कृषकलाई कृषि ज्ञान केन्द्रले प्रोत्साहित गरिरहेको उहाँ बताउनुहुन्छ ।
रामपुर । विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि । दुई हजार तीन सय ८० विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातवरण देख्ने जो कोही पनि दङ्ग पर्छन् । पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वरामपुर नगरपालिकामा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा पहिचान बनाएको छ । हिजोआज यहाँको वातावरण, प्रविधिमैत्री शिक्षा अन्य विद्यालयका लागि सिकाइ सिक्ने थलो बनेको छ । शैक्षिक अवलोकनका लागि रामतुलसी हेर्न र सिक्न लायकको विद्यालय बनेपछि संस्थागत विद्यालय छाडेर यहाँ अध्ययन गर्न आउने विद्यार्थीको आकर्षण छ । भारत गुजरातस्थित एक राम्रै बोर्डिङ स्कुलबाट एसइईसम्मको शिक्षा लिनुभएकी सञ्जना उचै यस वर्ष कक्षा ११ मा रामतुलसी माविमा विज्ञान सङ्कायमा भर्ना भई अध्ययनरत हुनुहुन्छ । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भए पनि शिक्षामा अब्बल विद्यालय भएकाले उच्च शिक्षाका लागि भारत छाडेर रामतुलसीमा भर्ना भएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गुजरातमा राम्रै बोर्डिङ स्कुलमा पढेको थिए, नेपालमै बसेर सामुदायिक विद्यालयमा पढ्ने रहर जाग्यो, त्यसमा पनि गाउँमै सञ्चालन भइरहेको यस विद्यालय हामीले खोजे जस्तै पठनपाठन हुँदोरहेछ, यहाँको वातावरणले मलाई शिक्षामा आकर्षित बनायो ।” सामुदायिक भए पनि बोर्डिङ स्कुलको तुलनामा धेरै सुविधा, गुणस्तरीय शिक्षा भएकाले आफ्नो रोजाइमा यसै विद्यालय परेको कृति अधिकारी बताउनुहुन्छ । उहाँ पनि संस्थागत विद्यालय छाडेर एसइई उत्तीर्णपश्चात यस विद्यालयमा आउनुभएको हो । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमूना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ । यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीले सोचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ । घरमै बसेर न्यूनतम् शुल्कमा गुणस्तरीय प्रविधिमैत्री शिक्षा लिन पाइने, पढ्नका निम्ति अन्यत्र जाने झमेला गर्नु नपर्ने, अर्कोतर्फ विद्यालयको शैक्षिक वातावरणले आकर्षित बनाएको विशाल चौबै बताउनुहुन्छ । “सहर बजारका ठूला विद्यालयमा पढाइ हुने विषय यहाँ छन्, आफूले इच्छा गरेको विषयवस्तु यहीँ पढ्न पाएपछि अन्यत्र जानु परेन, पढाइमा कम खर्च, विषयानुसार आवश्यक पर्ने सबै प्रविधिको सुविधा विद्यालयले उपलब्ध गराएको छ, अनुभवी शिक्षकबाट शिक्षण कार्यले पढाइसँगै यहाँ आएपछि विषयवस्तुभित्रका मात्र नभई बाहिरी धेरै ज्ञान सीप सिक्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो । विद्यालयको प्रवेशद्वारभित्र पसेपछि नपढ्नेलाई पनि पढ्नुपर्छ भन्ने खालको वातावरण यहाँ पाइएको उहाँको भनाइ छ । यहाँ हरेक वर्ष एक सय ५० का दरले विद्यार्थी बढिरहेका छन् । शिक्षक, कर्मचारीको इमान्दारितापन, समुदायले रामतुलसी विद्यालयप्रति लिएको विश्वास, न्यूनतम् शुल्कमा विद्यालय सञ्चालन भएकाले बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ, प्रधानाध्यापक बालकृष्ण लम्साल । “विद्यार्थीको चौतर्फी सिकाइमा विद्यालयले कुनै सुविधा कञ्जुस्याइँ गरेको छैन, पारिवारिक वातावरणमा शिक्षण कार्य भइरहेको छ, संस्थागतमा पढेका विद्यार्थी यहाँ आउनेक्रम बढिरहेको छ”, उहाँले भन्नुभयो, “बिहान साँझको समयमा अब विद्यालयमा आध्यात्मिक चिन्तन र सङ्गीतको शिक्षा सञ्चालन गर्ने, विद्यालयको प्रवेशद्वारभित्र पसेपछि पानीको फोहोरासहितको पोखरी निर्माण, शिव पार्वतीको मूर्ति स्थापना गर्ने योजना छ” । भूगोलको हिसावले शहरोन्मुख, बजार नजिकै विद्यालय, अन्यत्र विद्यालयमा पढाई नभएका विषय यहाँ सञ्चालन, तीन वर्षे कृषि बाली विज्ञान, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा सङ्कायमा पठनपाठन भइरहेको छ । यहाँको वातावरण र व्यवस्थापकीय पक्ष राम्रो हुँदै जाँदा विद्यार्थीको आकर्षण बढेको हो । नमूना विद्यालयको पाँचौँ वर्षमा विद्यालय प्रवेश गरेको छ । समयानुकूल शिक्षण सिकाइलाई अवलम्बन गरेर शैक्षिक वातावरण व्यवस्थापन गर्दै जाँदा हिजो स्कुल आउन नमान्ने बालबालिका अहिले नियमित स्कुल आउने, पठनपाठनमा चासो दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउनुहुन्छ । उहाँका अनुसार मन्त्री, सरकारी तवरमा उच्च तहमा पुगेका कर्मचारी, विभिन्न क्षेत्रमा धेरै जनशक्ति उत्पादन गर्ने पुरानो हाइस्कुलले चिनिएको रामतुलसी नमूना माविले अहिले शैक्षिक क्षेत्रमा नौलो आयाम बनाउन सफल भएको छ । “शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालयले दक्ष जनशक्ति छनोट, विद्यार्थीलाई विद्यालयभित्र पुगिसकेपछि पढुँपढुँ बनाउने खालको शैक्षिक वातावरण तयार पारिएको छ, हामीले कसरी हुन्छ विद्यार्थीलाई खुसीका साथ पढ्ने वातावरण बनाइदिएका छौँ, अहिले विद्यार्थीको चाप धेरै छ, व्यवस्थापन पक्षबाट शैक्षिक कार्यमा कुनै कमी हुन दिएका छैनौँ”, उहाँले भन्नुभयो । रामपुर नगरपालिकाले नगरभित्रका विद्यालयमा शिक्षामा समानुपातिक बजेट बाँडफाँट नगरेको हुँदा अव विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई बजेट उपलब्ध गराउनु पर्ने अध्यक्ष पौडेलको माग छ । धेरै विद्यार्थीले पढ्ने यस विद्यालयमा नगर सरकारले चासो दिएको पाइँदैन । हाल यस विद्यालयमा १०२ शिक्षक, कर्मचारी कार्यरत छन् । यसमध्ये सरकारी दरबन्दीका ३० जना शिक्षक कार्यरत छन् । बाँकी सबै निजी स्रोतका शिक्षक, कर्मचारी हुन् । मासिक रु १३ लाख रकम निजी स्रोतका शिक्षक तथा कर्मचारीको तलब व्यवस्थापन विद्यालयले आन्तरिकरुपमा नै गरिरहेको छ । विद्यालयको विभिन्न जग्गा तथा सटर भाडाबाट वार्षिक रु तीन लाख आम्दानी हुन्छ । कक्षा ११ र १२ अन्तर्गत शिक्षा र व्यवस्थापनका विषय बिहान, विज्ञान विषय दिउँसोमा चलिरहेको छ । कक्षा ११ र १२ का सबै विषय दिउँसोमा चलाउन विद्यार्थी सङ्ख्या बढी भएकाले कक्षाकोठाको अभाव रहेको विद्यालयले जनाएको छ । दिउँसोमा ६५ वटा कक्षा नियमित चलिरहेको छ । दुईवटा स्कुल बस दैनिक सञ्चालनमा ल्याइएको छ । विद्यालयका एक सय २० कोठामध्ये एक सय कोठा शैक्षिक प्रयोजनमा छ । गत आर्थिक वर्षमा व्यावसायिक शिक्षा अभिवृद्धि परियोजनाअन्तर्गत विनियोजित रु ३२ लाख सहयोगमा अत्याधुनिक खालको कम्प्युटर ल्याब तयार पारिएको छ । जहाँ एकै पटकमा ३० जना विद्यार्थीले प्रयोग गर्न मिल्ने खालको संरचना तयार छ । यहाँ कक्षा ८ देखि १२ सम्म कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । व्यवस्थित पुस्तकालय, सुविधा सम्पन्न तीन सय मानिस अट्ने क्षमताको चमेना गृह व्यवस्थापन गरिएको छ । अति न्यून शुल्क लिएर संस्थागत विद्यालयले दिने सबै सेवासुविधा उपलब्ध गराइएको र यस विद्यालयलाई नेपालकै नमूना विद्यालय बनाउने कोशिसमा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक श्रेष्ठले बताउनुभयो । विद्यालयमा प्राथमिक उपचारका लागि एक जना नर्स र प्रवेशद्वारभित्र पस्ने बित्तिकै सुरक्षा कर्मचारी परिचालन गरिएको सदस्य श्रेष्ठ बताउनुहुछ । विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेमा वा विभिन्न समस्या देखिएमा प्राथमिक उपचार उपलब्ध गराउन नर्स कर्मचारीको व्यवस्था गरिएको हो । हाल यहाँ नेपाली, अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ भने अबदेखि भने अङ्ग्रेजी माध्यमअन्र्तगत पनि विशिष्टीकृतरुपमा प्रविधियुक्त शिक्षा दिइने विद्यालयले जनाएको छ । विशिष्टीकृत शिक्षा प्रदान गर्न पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षा सञ्चालन गरिरहेको समितिले जनाएको छ । रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चौर, बगैँचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुविधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैका सामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योति प्रदान गर्न २०२५ सालमा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ । तत्कालीन समयमा पूर्वी पाल्पाको एकमात्र शैक्षिक धरोधरका रुपमा रहेको यस विद्यालयले धेरै विद्यार्थीलाई शिक्षाको उज्यालो ज्योति छरेको छ । अहिले पनि हाइस्कुल भनेपछि धेरैको बुझाइमा रामतुलसी भनेर बुझिन्छ । आजको अवस्थासम्म आइपुग्दा शैक्षिक तथा भौतिक क्षेत्रमा धेरै फड्को मार्न सफल भएको छ । यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमूना पूर्व बालविकास अर्थात मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुविधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाइमा पर्ने गरेको छ । पर्याप्त खेलमैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालयलगायतको राम्रो सुविधा छ ।
तनहुँ । केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उहाँमा परिवर्तन देखिएको छ । नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन् । कुनै पनि खाद्यान्नको उत्पादन, म्याद समाप्त मिति हेर्ने र खुला स्थानको खाद्यान्न खाँदै नखाने बानी बसालेको नागिलाले बताउनुभयो । “पहिले मलाई जे पनि खान पाए भइहाल्थ्यो भन्ने लाग्थ्यो”, उहाँले भन्नुभयो, “परीक्षण गरेर मात्रै खानुपर्ने रहेछ भन्ने अष्ट्रेलियामा पुगेपछि देखियो । त्यसैले अचेल हत्तपत्ति बाहिरको खान्न भने पनि हुन्छ ।” “अष्ट्रेलियामा सडक किनाराको फलफूलसमेत कसैले नखाने रहेछन्”, नागिलाले भन्नुभयो, “किन नखाएको भनेर छोरालाई सोधेको त जाँचेर खानयोग्य भए मात्र खाने चलन छ रे । तर हाम्रोमा हामीलाई खान पाए भयो । खराब खानेकुराले स्वास्थ्यमा ठूलो हानि गर्ने रहेछ भन्ने कुरा बुझियो ।” नेपालमा तरकारी, फलफूल, मिठाइ, खुला मसला जथाभावी राख्ने चलन भएकाले ती खानेकुरा खाँदा सचेत हुन नागिलाले सबैलाई आग्रह गर्नुभयो । व्यास–२ दमौली निवासी ५१ वर्षीया कृष्णदेवी अधिकारीको दैनिकी पनि फेरिएको छ । खाद्यान्न पसलमा मसला किन्दै गर्दा भेटिनुभएकी अधिकारीले प्याकेटमा अङ्कित उत्पादन र सकिने मिति हेरेर मात्र खाद्यान्न किन्ने गरेको बताउनुभयो । “सडक पेटीमा खुला ठाउँमा राखेर धुलाम्य भएका खानेकुरा खान्न”, उहाँले भन्नुभयो, “खानै परे प्याकेटमा राम्रोसँग लेवल हेरेर मात्रै खानेकुरा किन्ने गरेको छु ।” केही वर्ष पहिले छोरा मिलनले बोलाएर अष्ट्रेलिया र छोरी सन्ध्याले बोलाएर अमेरिका घुमेर आएपछि खाद्यान्नमा सचेतना बढेको अधिकारीले बताउनुभयो । “हामीहरु खानेकुरामा खासै ख्याल गर्दैनौँ”, उहाँले भन्नुभयो, “जथाभावी खाएपछि शरीरमा असर धेरै हुन्छ भन्ने हेक्का गर्नुपर्ने रहेछ ।” क्यान्सर जस्तो खतरनाक रोगको मुख्य कारण पनि जथाभावी विषादी हालेको खानेकुराले गर्दा हुने आफूले थाहा पाएको अधिकारीले बताउनुभयो । तरकारी राम्रोसँग पानीमा पटकपटक धुने गरेर मात्र खाने गरेको उहाँले जानकारी दिनुभयो । पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ । उपभोक्ता अधिकारको सवालमा स्वयं बिक्रेता सचेत बन्दै गएपछि आफूहरुलेसमेत खुला खाद्यान्न बिक्री कम गर्दै गएको तनहुँ खुद्रा व्यवसायी सङ्घका अध्यक्ष परमेश्वर गुप्ताले बताउनुभयो । “ग्राहकले अचेल खुला किन्न छाडेर लेबल भएको सामान किन्ने गर्नुहुन्छ”, सङ्घका अध्यक्ष गुप्ताले भन्नुभयो, “ग्राहकको रोजाइ नै लेबल भएको खाद्यान्नमा पर्न थालेपछि हामीले पनि खुला बिक्रीलाई कम गर्दै गएका छौँ ।” खुला खाद्यान्नलाई आफूहरुले सिसाभित्र राखेर बिक्री गर्ने योजना बनाएको व्यास नगरपालिका–३ दमौलीस्थित गुप्ता किराना पसलका सञ्चालनसमेत रहनुभएका उहाँले बताउनुभयो । तनहुँको दमौली, दुलेगौँडा, डुम्रे, खैरेनीटार, भिमाद, आँबुखैरेनी जस्ता मुख्य बजारमा करिब ५०० खुद्रा पसल रहेको तनहुँ खुद्रा व्यवसायी सङ्घले जनाएको छ । जिल्लाभरि खाद्यान्न र तरकारी गरी दैनिक करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको सङ्घले जनाएको छ । युरोपलगायत विदेशमा रहेका आफन्तलाई भेट्न जाँदा देखासिकीले उपभोक्ता सचेतना बढेको आफूले पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख प्रशान्त पोखरेलले बताउनुभयो । “प्रायः अनुगमनका क्रममा विदेशमा यस्तो हुने रहेछ भन्ने कुरा उपभोक्ताले भन्नुहुन्छ”, पोखरेलले भन्नुभयो, “उपभोक्ता अधिकार गम्भीर विषय हो भन्ने हेक्का धेरैलाई हुँदै गएको छ ।” तनहुँ, गोरखा, लमजङ, मनाङ र पूर्वी नवरपरासीमा गरिने अनुगमनका क्रममा आफूहरुले लेवलमा उत्पादन र सकिने मिति प्रष्टसँग देखिनेगरी उल्लेख भएका खाद्यान्न मात्र बिक्री गर्न बिक्रेतालाई भन्दै आएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । आफूहरुले मिठाइ, मसलालगायतका दैनिक उपभोग्य सामग्री खुलारुपमा बिक्री नगर्न र बिक्री गर्नु परे सिसाभित्र राखेर मात्र बिक्री गर्न भनेको उहाँले जानकारी दिनुभयो ।
रामपुर नगर बसपार्कमा प्रवेश गर्ने सबै यात्रुको एउटै प्रश्न मनमा उब्जन्छ कि, यहाँको बसपार्क कहिले सुधार होला ? चारैतिर खुला ठाउँ, वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने बसपार्कभित्र यात्रु तथा सवारी चालकलाई भरसक जान नपरोस् भन्ने हुन्छ । खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य ठाउँमा आवतजावतमा समस्या अर्कोतर्फ चारैदिशा खुला रहँदा यहाँको बसपार्क असुरक्षित बनेको छ । सहरीकरणतर्फ हुँदै गरेको रामपुरमा बसपार्कको अहिलेको कुरुप अवस्था देख्दा यहाँको सुन्दरतामा बाधक बनेको छ । चार जिल्ला (पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्वनवलपुर) को मुटु भनेर चिनिने रामपुर बसपार्क व्यवस्थित नहुँदा यात्रुलाई सकस भएको बताउनुहुन्छ, निस्दी गाउँपालिका–४ मित्यालस्थित खोप्लाकका ७४ वर्षीय रनबहादुर गाहा । “सवारी साधन थपिँदै गएको छ, बजार विस्तार भइरहेको छ तर रामपुरको बसपार्क राम्रो बन्न सकेन”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले यसतर्फ ध्यान दिएर काम गर्नुपर्यो, हामी यात्रुले सधैँ बसपार्कमा धुलो र हिलोको सामना कतिञ्जेलसम्म खेपिराख्ने ।” बसपार्क व्यवस्थित नभएपछि सवारी धनीले यहाँ गाडी खासै पार्किङ गरेर राख्दैनन् । चारैतिर खुला रहेको हुँदा बजारका छेउ, होटल तथा घरमा लगेर पार्किङ गर्न व्यवसायी बाध्य छन् । रातको समयमा सुरक्षितरुपमा पार्किङ गरेर राख्ने अवस्था नभएको हुँदा अन्यत्र लगेर गाडी पार्किङ गर्दै आइरहेको जिप चालक शेरबहादुर खाम्चाले बताउनुभयो । “गाडी पार्किङ गरेर राख्यो भने केही क्षति हुने होकि भन्ने चिन्ताले रातिमा ढुक्कले निद्रा लाग्दैन, चारैतिर बारबन्देज, गाडी निस्कने र भित्रने प्रवेशद्वार, निगरानीको लागि सिसी क्यामेराको व्यवस्था हुनुपर्यो नत्र गाडी यहाँ राख्ने परिस्थिति व्यवसायीलाई बन्दैन”, उहाँले भन्नुभयो । बसपार्कलाई व्यवस्थित गर्न समयमा नै पर्याप्त बजेट सम्बन्धित निकायबाट नपाउँदा व्यवस्थापनमा चुनौती देखिएको नगर बसपार्क समितिका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । नगरपालिकाले बसपार्क व्यवस्थापनमा कनिका छरेजस्तो सानो बजेट उपलब्ध गराउँदा देखिने गरी काम गर्न समितिलाई कठिनाइ परेको उहाँको भनाई छ । बस बिसौनी ठाउँ राम्रो नहुँदा वर्षायामका बेलामा हिलाम्य भएर गाडी डोजर लगाएर तान्नुपर्ने अवस्थासमेत व्यवसायीले खेप्नुपरेको पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी नारायण रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पार्किङका लागि सुरक्षित ठाउँ नबन्दासम्म व्यवसायीलाई ढुक्कले पार्किङ गर्नुहोस् भन्ने अवस्था छैन, नयाँ ठाउँबाट रामपुर आउने यात्रु बसपार्कको बिजोग अवस्था देखेर तर्सने गर्दछन्, हामीले व्यवस्थापनका लागि वडा तथा नगरपालिका कार्यालयमा जानकारी गराए पनि सुनुवाइ भएको छैन” । उहाँका अनुसार रामपुर बसपार्कबाट दैनिकजसो करिब दुई सय यात्रु अन्यत्र जाने गरेको पाइएको छ । बिहान ५ः३० देखि साँभm ६ बजेसम्म नम्बर अनुसार दैनिक सवारी साधन यहाँबाट लामो तथा छोटो दूरीका लागि छुट्ने गर्दछन् । बसपार्कमा बसको रु ६० र जिपको रु ४० पार्किङ शुल्क तोकिएको छ । लामो दूरीका ठूला गाडी काउण्टरबाटै छुट्ने गरे पनि साना गाडी मनपरि ढङ्गले बेझाड बजारका चोकबाट छुट्ने गर्दछन् । ठाउँ ठाउँबाट चालकले मनोमानी ढङ्गले यात्रु ओसार्ने हुँदा सबै गाडी बसपार्कमा ल्याउन कठिनाइ परेको नमस्ते रामपुर यातायात प्रालिका जिी काउण्टर कर्मचारी दामोदर भण्डारीले बताउनुभयो । रामपुरबाट दैनिक छुट्ने १८ जिपमध्ये १५ जीपले बेझाड बजारको विभिन्न ठाउँबाट यात्रु चढाउँदै छुट्ने गर्दछन् भने तीनवटा जिप र ११ बस नियमितरुपमा बसपार्क क्षेत्रबाटै छुटिरहेका छन् । रामपुरबाट अन्यत्र जाने र यहाँ भित्रने सबै सवारी साधन अबको केही दिनभित्रमा नै बसपार्कबाटै छुट्ने व्यवस्था मिलाइने तयारी भइरहेको बताउनुहुन्छ, नमस्ते रामपुर यातायात प्रालिका अध्यक्ष राजन पोखरेल । बेझाड बजारको मुख्य चोकमा अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राखिन्थ्यो । जनघनत्व बढ्दै जाँदा यहाँ बसपार्कको अवधारणा ल्याएर सिमलीघारी क्षेत्रमा बसपार्क राख्ने सर्वपक्षीय निर्णय भएपश्चात् २०६९ देखि यहाँबाट सवारी साधन पार्किङ गरी छुटाउन थालिएको हो । रामपुरमा बसपार्क सञ्चालन गर्नका लागि विसं २०६७ मा तत्कालीन नगर विकास समितिले रु एक लाख ५० हजार रकम उपलब्ध गराएपछि हालको रामपुर नगरपालिका–५ स्थित सिमलीघारी क्षेत्रमा काम थालनी गरी क्रमिकरुपमा बसपार्क निर्माणको काम थालनी गरियो । समितिले पहिलो चरणमा रु दुई लाख २० हजारको काम गर्यो भने दोस्रो चरणमा तत्कालीन वडा नागरिक मञ्चको जिम्मेवारीमा रु ७५ हजार उपलब्ध भई काम गरियो । त्यसपश्चात् २०७४ को स्थानीय तहको निर्वाचन सकिएपछि नगरपालिकाबाट रु पाँच लाख रकम विनियोजन गरिएपनि उपभोक्ता समितिले काम नगरेपछि रकम फिर्ता भयो । विसं ०७६ मा नगरपालिकाबाट प्राप्त रु आठ लाख रकमले बसपार्कको जग्गा वर्गीकरण, झाँडी फँडानी, रुख बिरुवा कटान तथा गिट्टी बिच्छाउनेजस्ता काम गरियो । आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाबाट प्राप्त रु पाँच लाख रकमले करिब एक सय ५० मानिस अट्ने क्षमताको ट्रष्ट भवन, एकवटा पक्की शौचालय निर्माणको काम गरिएको छ । बसपार्क व्यवस्थापनका लागि रामपुर नगरपालिकामा क्रमागतरुपमा रु पाँच करोड वजेट प्राप्त भएकाले अबको पाँच वर्षभित्रमा व्यवस्थित संरचनासहितको बसपार्क तयार हुने रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल बताउनुहुन्छ । रामपुरबाट दैनिकरुपमा सदरमुकाम तानसेन, बुटवल, कावासोती, नारायणघाट, पोखरा, मुग्लिङ, काठमाडौँलगायतका स्थानमा सवारी साधन छुट्ने गर्दछन् । पश्चिम नेपाल यातायात प्राली, नमस्ते रामपुर यातायात प्रालि, श्रृङ्गा तथा स्थानीय यातायात कम्पनी, गण्डकी यातायात गल्याङ, लेकबेँसी यातायात प्रालि र श्रीनगर यातायात कम्पनीका सवारीसाधन यहाँ ओहोरदोहोर गर्दछन् ।
गोरखा । मानश्लु हिमालमा हिमपहिरो जाँदा कम्तिमा १५ जना घाइते भएका छन्। घाइते हुनेमा अधिकांश सहयोगी शेर्पाहरु रहेको राजेन्द्र ठकुरीले जानकारी दिए। उनका अनुसार दुई जना गम्भीर घाइते छन्। इम्याजिन नेपालको टोलीका लागि क्याम्प ३ देखि क्याम्प ४ मा सामान पुर्याउन जाँदा हिमपहिरो गएको हो। गम्भीर घाइते हुनेमा निमा दोर्जे शेर्पा र जितबहादुर शेर्पा रहेका छन्। मौसम प्रतिकूलताका कारण घटनास्थलमा हेलिकोप्टर जान नसकेको ठाकुरीको भनाइ छ। घाइतेको उद्धारका लागि हेलिकोप्टर बोलाइए पनि मौसम प्रतिकूलताका कारण आउन सकेको छैन,ु उनले भने।
काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ । त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकोको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सो खेल अमेरिकी समयअनुसार आइतबार राति सकिएको हो । उक्त खेलमा सिन्सिनाटीका नेपाली भाषी युवाको टिम चुकेले आफ्नो प्रतिस्पर्धी पेन्सिलभेनिया राज्यको ह्यारियवर्ग सहरका नेपालीभाषी युवाको टिम एफसी युनाइटेडलाई १–० ले हराउँदै जीत हात पारेको थियो । अमेरिकी समयानुसार आइतबार अपराह्न भएको अत्यन्त कडा प्रतिस्पर्धात्मक खेलमा चुकेका जर्र्सी नं ७ का रोशान्डोले एक गोल गरेका थिए । उनले हाफ टाइमअघि पाएको कर्नर किकको सदुपयोग गरी बल गोलपोस्टमा छिराएका थिए । सयौँ दर्शकले भरिएको सिन्सिनाटीको मायामी ह्वाइटवाटर सकर कम्प्लेक्स खेल मैदानमा भएको सो खेलमा विजयी चुके क्लबले १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । त्यसैगरी उपविजेता युनाइटेड एफसीले आठ हजार अमेरिकी डलर पुरस्कार पाएको सो प्रतियोगिताका संयोजक राजन चुहानले जानकारी दिए । फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले विजयी टिमलाई ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए । उनले अमेरिकामा भएका नेपाली भाषी भूटानी तथा सबै नेपाली भाषी समुदायलाई खेलका माध्यमबाट आफ्ना सन्ततिलाई अनुशासित बनाउन तथा अमेरिकामा प्रतिस्पर्धी बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको बताए । महिलातर्फ विजयी कोलम्बस स्टारले सात हजार पाँच सय डलर पाएको छ । त्यसैगरी भेट्रान विजेताले आठ हजार अमेरिकी डलर जितेको छ । महिलातर्फ १–० गोल अन्तरले पराजित भई उपविजेता बनेको नर्थ डकोटा साइनिङ स्टार फुटबल क्लबले पाँच हजार अमेरिकी डलर पाएको छ । त्यसैगरी भेट्रान्सतर्फका उपविजेता इन्ट्रा भेट्रान्स कोलम्बस क्लबले पाँच हजार र तेस्रो हुने हिलसिटी भेट्रान्स क्लबले दुई हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । भेट्रान्स खेलमा प्रथम भएको सिन्सी इन्ट्राले ६ गोल अन्तरले जितेको थियो । सो खेलमा कर्ण पौडेलले तीन गोल गरेका थिए । प्रतियोगितामा अमेरिकाका पेन्सिलभेनिया, मिनिसोटा, ओहायो, नर्थ क्यारोलिना, म्यासाचुसेट्स, केन्टकी, न्यूयोर्क, क्यालिफोर्निया, नर्थ डकोटा, जर्जियालगायतका विभिन्न राज्य तथा क्यानडाका नेपालीभाषी खेलाडी सहभागी भएको आयोजक संस्थाका प्रवक्ता केशव आचार्यले बताउनुभयो ।
गोरखा । गोरखाको कालिका मन्दिरमा रहेको दसैँ घरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उहाँले बताउनुभयो । मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ । बडादसैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालोे बोकाको बलिदिने प्रचलन छ । यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो । मनकामना मन्दिरमो मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताउनुभयो । गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाइ थियो ।

