नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

काठमाडौं:    पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।      निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उहाँको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

  काठमाडौं:   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव६१ अङ्कले ओरालो लागेर दुई हजार ११३ दशमलव५५ अङ्कमा सीमित भएको छ ।       यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँचदशमलव८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा ओर्लेको छ । कूल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर रु दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ मा खरिद बिक्री भए ।      कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ । अन्य १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष शुन्ना दशमलव १३ अङ्कले उकालो लाग्दा बैंकिङ २२ दशमलव१६, व्यापार ६२ दशमलव ६५, होटल तथा पर्यटन २५ दशमलव ७३, विकास बैंक ८६ दशमलव ७१, जलविद्युत् ३९ दशमलव ५४, वित्त ६५ दशमलव २९, निर्जीवन बीमा ९५दशमलव ३२, उत्पादन ६७ दशमलव ८४, अन्य नौ दशमलव १६, लघुवित्त ११६ दशमलव१७, जीवन बीमा ११९ दशमलव ९९ र लगानी एक दशमलव पाँच अङ्कले ओरालो लागेको छ ।      शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ नौ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६६ लाख २९ हजार ९३८ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु १४ करोड १४ लाख १४ हजार ३४७, हिमालयन डिस्टिलरी रु नौ करोड ६४ लाख २४ हजार, अपि पावर कम्पनी रु पाँच करोड ६७ लाख ८० हजार १४० र अरुण काबेली पावरको रु पाँच करोड ६० लाख १३ हजार ५२५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।      नेप्सेका अनुसार जोशी हाइड्रोपावर पाँच दशमलव ९१, ग्लोबल आइएमबई समुन्नत स्किम एक तीन दशमलव ९४, उपकार लघुवित्त तीन दशमलव१४, कालिका लघुवित्त तीन दशमलव १० र बलेफी हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ५९ प्रतिशतले कमाए ।     त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव १८, गुह्यश्वरी मर्चेन्ट बैंक छ दशमलव ४२, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर छ दशमलव ३७, सामलिङ पावर कम्पनी पाँच दशमलव ६९ र इमर्जिङ नेपालका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले गुमाएका छन् । 

  म्याग्दी:    म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला–७ केराबारीको ढुङ्गे पाखोलाई खनिखोस्री मलजल गरेर पाखैभरि केराखेती गर्नुभएको छ ।   नाम केराबारी भए पनि भिरालो जमिनमा चट्यानै चट्यान रहेको पाखोलाई सम्याएर उहाँले दुई हजार ५०० भन्दाबढी केराका बिरुवा लगाउनुभएको छ । आजभन्दा करिब चार वर्ष अगाडि २०७५ साल फागुन महिनामा बेनी नगरपालिका– २ खबराबाट प्रतिबिरुवा ६० रुपैयाँका दरले ४०० केराका बोट लिएर केराखेती सुरु गर्नुभएको थियो ।   चार वर्षको अवधिमा केसीले केराखेती विस्तार गरी अहिले ३० रोपनी आफ्नो जग्गामा दुई हजार ५०० केराका बिरुवा लगाउनुभएको छ । उहाँले पाखैभरि हजारे, मुग्रे, धुर्से प्रजातिका केरा तथा अन्य फलफूलखेती लगाएपछि उजाड पाखा अहिले फलफूलको बगैँचामा परिणत भएको छ ।   एल्भिन फलफूल फर्म दर्ता गरी व्यावसायिकरुपमा केराखेती सुरु गर्नुभएका केसीको फर्ममा हाल कागती, एभोकाडो, अम्बा, आँप, लिचीलगायत गरी ५०० फलफूलका बिरुवा हुर्किरहेका छन् । मौरीपालन पनि गरेका उहाँको फर्ममा ५० मौरीका घारसमेत छन् । करिब एक हजार ५०० केराका बोटले फल दिन थालेको जनाइएको छ ।    काँचो केरा बोटबाटै एक दर्जनलाई एक सय रुपैयाँमा बिक्री हुने गरेको छ । एक हजार ५०० बोटको केराबाट मासिक रु ५० हजारभन्दा बढी कमाइ हुने गरेको कृषक केसीले बताउनुभयो । एक घारीमा दुई सयदेखि दुईसय ५० वटासम्म केरा हुन्छ अरु सबै केरा पनि राम्रोसँग सप्रिएका छन् । उहाँले भन्नुभयो, “अघिल्लो वर्षदेखि मासिक ५० हजार त केरा बेचेर मात्रै कमाइ भएको छ, साँच्चै भन्नुपर्दा मलाई केराखेती फापेको छ ।”   केरामात्रै होइन केसीको फार्मबाट केराका बिरुवासमेत विक्री हुने गरेको छ । यो वर्ष म्याग्दीको राखु, पर्वतको बाँसखर्क, लस्टीलगायतका स्थानमा करिब दुई हजार वटा बिरुवाप्रति बिरुवा एक सयका दरले बिक्री भएको उहाँको भनाइ छ ।   रु तीन लाख लगानीबाट सुरु गर्नुभएको उहाँको फार्ममा अहिले रु १२ लाख लगानी पुगको छ । धानखेतीयोग्य जमिनमा समेत बीचबीचमा केरा लगाउनुभएका केसीले केही पनि उब्जनी नहुने पाखालाई समेत केराबारीमा परिणत गर्नुभएको छ ।   कहिलेकाहीँ परिवार तथा साथीसङ्गी गएर बस्नका लागि कटेजसमेत निर्माण गर्नुभएका केसीको फार्ममा पुग्दा वरिपरिको शान्त र सुन्दर वातावरणले मनलाई आनन्दित तुल्याउने गर्दछ । बेनीको कालिपुलमा केवि अटोपार्टस होण्डा स्वरुमसमेत सञ्चालन गर्दै आउनुभएका ४६ वर्षीय केसीलाई श्रीमती सपना केसीले पनि कृषि खेतीमा राम्रो साथ दिनुभएको छ । फार्ममा फर्सी, घिरौँला, भेन्टा, तितेकरेला, हरियो खुर्सानीलगायत अन्य तरकारी पनि राम्रोसँग उत्पादन हुने गरेको छ ।   हिजोआज उहाँको धेरैजसो समय पसलतिर ग्राहकसँगभन्दा पनि केराबारीको केरासँगै बित्ने गरेको छ । केरा पसायो पसाएन, पकाउन राख्ने वा बेच्ने बेला भयो भएन, हेर्नका लागि पनि प्रत्येक दिनजसो उहाँ केराबारीमा पुग्नुहुन्छ ।

  काठमाडौं:    ईश्वरपुर नगरपालिका–४ लाई  जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका सतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा सहभागी गराइएपछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको हो ।    वडा कार्यालयको आयोजना तथा ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिल्ड्रेनको सहयोगमा ‘वडाका सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ ।’ भन्ने नारासहित अभियान सञ्चालन गरेर उक्त वडालाई बालबालिका सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष गोमादेवी न्यौपानेले बताउनुभयो ।       नगरपालिका र  वडा कार्यालयको विशेष सहयोगमा चारदेखि १२ वर्ष उमेर समूहका वडाका ५५३ बालबालिकालाई विद्यालय पठाउन सफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुुभयो । गाउँघरमा रहेका बालबालिकालाई विद्यालयसम्म कसरी पु¥याउन सकिन्छ, के कारणले बालबालिका विद्यालय जान सकिरहेका छैनन् र शिक्षित गाउँ कसरी घोषणा गर्न सकिन्छ भन्ने विषयमा मूल्याङ्कन गरी  निरन्तर काम गर्ने नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभयो । उहाँले नेपाल सरकारले ल्याएको आधारभूत शिक्षा अनिवार्य नीतिलाई नगरले कडाइका साथ लागू गर्ने जानकारी दिनुभयो ।     जिल्लाका २० स्थानीय निकायका २०० वडामध्ये सबैभन्दा पहिला ईश्वरपुर नगरपालिका–४ लाई बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चित वडा घोषणा गरिएको उक्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहालले बताउनुभयो ।

  कास्की:   कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।      निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि मतदाता थपिएको हुनसक्ने उहाँले बताउनुभयो । जिल्लामा यस अघिको कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार ९४० थियो । जिल्लामा करिब एक हजार ८००ले मतदाता केन्द्र स्थानान्तरणका लागि आवेदन दिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । 

  झापा:   झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।    पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।    पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

  काठमाडौं:    देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना  छ ।   मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकाले अबको दुई/तीन दिन मनसुन कमजोर भई वर्षा कम हुने विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।    शनिबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २६ दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव आठ डिग्री सेल्सियस छ ।

मनाङ:  हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ ।   विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिनुभयो ।   उहाँका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्याङ्क छैन । तर हाल भने दर्ता हुने र फछ्र्यौट पनि हुने गरेको छ । यस आर्थिक वर्षमा दर्ता भएका सम्बन्धविच्छेदका घटना फछ्र्यौट भएको छ”, जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश पुनाराम खनालले भन्नुभयो, “यहाँ पनि सम्बन्धविच्छेदका घटना बढ्दो क्रममा रहेको छ ।” श्रेस्तेदार बडूले प्रविधिको सही उपयोग हुनुभन्दा दुरुपयोगले यस्ता घटना वृद्धि भएको बताउनुभयो ।   उहाँका अनुसार जिल्लामा सम्बन्धविच्छेदपछि अभद्र व्यवहारका घटना हुने गरेको छ ।   त्यस्तै आव २०७८/७९ मा १५ मुद्दा दर्ता भएका थिए । एउटाबाहेक अन्य सबै फछ्र्यौट भएको अदालतले जनाएको छ ।   अभद्र व्यवहार गर्ने मुद्दा तीन, कर्तव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका एकवटा मुद्दाको फछ्र्यौट भएको श्रेस्तेदार बडूले बताउनुभयो । एउटा जबर्जस्ती करणीको मुद्दा भने फछ्र्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

  गुल्मी:   गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ ।           गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दैआएका छन् । मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्र नै भएको छैन । बाँकी तीन कार्यालयबाट थोरै–थोरै मात्रामा सडक कालोपत्र भएको छ ।       कालोपत्र गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तर्गतका ठेक्काबाट ८.५ किलोमिटर छ । तम्घास–रेसुङ्गा सडकअन्तर्गत गड्जुरादेखि माथिल्लो भागको तीन किलोमिटर सडक पक्की गरिएको छ । आशिष रामेछाप जेभीले भ्याटबाहेक कूल १५ करोड १९ लाखमा ६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । कालोपत्र नभएको बाँकी तीन किलोमिटरमा ग्राभेलिङदेखि नाली निर्माणसम्मको काम सकिएको छ । हालसम्म कम्पनीको नाममा ११ करोड ९६ लाख ८० हजार भुक्तान भइसकेको छ ।       तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी–नेटाखर्क– डुवा छिर्ने–पटौती–प्युठान सडकअन्तर्गत तीन किलोमिटर सडक पक्की भएको छ । सडकको खाम्सेपानी–चेक्मी खण्डमा रु चार करोडभन्दा बढीको लागतमा सडक कालोपत्र भएको हो । विसं २०७४ असार ३० गते पूर्वाधार विकास कार्यालयसँग बज्रगुरु कन्ट्रक्सन प्रालीले पूर्वाधार विकास कार्यालयसँग कामको सम्झौता गरेको थियो । कालोपत्रको काम पूर्णरुपमा नसकिए पनि ९५ भन्दा बढी काम सकिएकाले कार्यालयले पक्की सडकको सूचिमा राखेको छ ।       खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाँडा–सेउघाअन्तर्गतको २.५ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०७४ असार ३० गते मोतिदान राजेश्वरी सुनिल समिर जेभीले भौतिक पूर्वाधार कार्यालयसँग सम्झौता गरेको थियो । कूल ४.५ किलोमिटर सडक कालोपत्रका लागि कम्पनीले भ्याटबाहेक रु नौ करोड ४६ लाख ७३ हजारमा सम्झौता गरेको थियो । अहिलेसम्म कम्पनीको नाममा रु चार करोड भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालयका  सूचना अधिकारी सूर्य भण्डारीले जानकारी दिनुभयो ।       सङ्घीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत एक सय १२ मिटर सडक कालोपत्र गरिएको छ । रेसुङ्गा नगरपालिकाको पुनारो बजारदेखि हाटबजारसम्मको सडक कालोपत्र गरिएको हो । कूल रु ८५ लाखमा सडक कालोपत्र, तीन सय दुई मिटर कालोपत्रमा थप, वडा नम्बर २ मा नाली निर्माण र रेसुङ्गा–७ मा कभर्ड हल निर्माण गरेको कार्यालयका सव–इन्जिनियर नारायण बुढामगरले जानकारी दिनुभयो ।      रुद्रवेणी–वामीटक्सार सडकअन्तर्गतको वामी बजारको दुई किलोमिटर सडक कालोपत्र गरिएको छ । सिद्धार्थ श्रेष्ठ जेभीले आर्थिक वर्ष २०७६÷७७ मा सडक डिभिजन पाल्पासँग सम्झौता गरेको हो । सडकको वेस पहिले नै तयार भइसकेको कार्यालयका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिनुभयो । गत आवमा रेसुङ्गा नगरपालिका–७ भेटेनरी कार्यालय जाने सडक कालोपत्र गरिएको छ । प्रदेश समपूरक कोषबाट रु ३४ लाख लागतमा दुई सय ४० मिटर सडक कालोपत्र भएको हो ।