काठमाडौं: ७९ जना यात्रु लिएर काठमाण्डुका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरको छ । श्री एयररको ९एन– एएनएफ जहाज नेपालगञ्ज विमानस्थलबाट उडेको केहीबेरमै पाइलटले अवतरण गराएका थिए । विमानस्थल कार्यालयका अनुसार जहाजमा जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपपछि चालक दलले आपतकालीन अवतरणका लागि अनुमति मागेको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।
बागलुङ: बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो । पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको छ । कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने विद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए । उनीहरुका परिवारलाई मासिक रु एक हजार पाँच सयका दरले भत्ता दिने निर्णय गरिएको विकले बताउनुभयो । घाइते तथा अपाङ्गताको हकमा परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि रु पाँच सयदेखि रु एक हजार भत्ता दिने निर्णय गरिएको छ । गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भीर घाइते भएका थिए । पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएका परिवारलाई रोजगारी दिने गरी नीति बनाएको छ । पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ ।
पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेल सँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ । कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघक केन्द्रीय सदस्य रञ्जन थापाले देश संघीय संरचनामा गएपनि खेलका संघ संस्थाहरु त्यही अनुसार चल्न नसकेको बताए । प्रदेशको राजधानी हुने प्रतियोगितामा प्रदेशको एक जनालाई मात्र समेटेर उपसमितिको संयोजक तोकेकाले अझै खेलकुदमा केन्द्रीकृत मानसिकता हाबी भएको उनको भनाई थियो । बक्सिङका पूर्व खेलाडी तथा पर्यटन व्यावसायी गणेशबहादुर भट्टराइले नवौं राष्ट्रिय गौरवको प्रतियोगिता भएकाले सफल बनाउन लाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्व खेलाडीहरुको अनुभवका आधारमा काम गर्नुपर्नेमा जोड दिंदै प्रदेशभरका पूर्व खेलाडी तथा खेल संघसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्ने उनको भनाई थियो । एक फरक प्रसंगमा भट्टराइले संघ नेपाली कांग्रेसको भातृ संठगन भइसकेकाले मैदानमा स्वतन्त्र भएपनि मैदान बाहिर पार्टीलाई हित हुने कार्य गर्नुपर्नेमा जोड दिए । २०४६ सालको आन्दोलन पछि नेपाली कांग्रेसले खेल क्षेत्रको नेतृत्व लिन नचाहेकै कारण पछिल्लो समय खेल क्षेत्रमा भ्रष्टचार व्यस्त भएको उनको जिकिर थियो । कम्युनिष्टहरुले आफ्नो सरकार भएको समय क्षेत्रमा आफ्नो प्रभूत्व जमाएको र उनीहरुले अनियमितता गरेको उनको भनाई थियो । ती अनियमितालाई चिर्नका लागि पनि लोकतान्त्र र प्रजातन्त्रमा आस्था राख्ने खेलाडीहरु एकजुट हुनु जरुरी रहेको उनको जिकिर छ । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले तयारी सुरु भएको समाचारमा मात्र पढेको, सुनेको बताए । आफू जिल्ला क्रिकेट संघको अध्यक्ष भएपनि अहिलेसम्म कुनै भूमिका नपाएको उनको गुनासो थियो । यसका लागि लोकतान्त्रिक खेलकुद संघले पहल गर्नुपर्ने उनको धारणा छ । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्व भलिबल खेलाडी हरी पराजुलीले राष्ट्रिय खेलकुद हुँदा मुल आयोजक कमिटीमा गण्डकीको सहभागीता कम हुनु लज्जाको विषय भएको बताए । प्रदेशमा हुने प्रतियोगितामा भूमिका पाए पनि नपाएपनि सहयोग गर्ने उनको प्रतिवद्धता छ तर खेल क्षेत्रमा हुने भ्रष्टचार र बदमासीका विरुद्ध आवाज उठाउन नछोड्ने उनले बताए । नेपाल आर्चरी संघका केन्द्रीय उपाध्यक्ष बसन्त थकालीले खेलकुद क्षेत्रमा लोकतान्त्रमा आस्था राख्ने खेलाडीको गुनासो र समस्या सुन्नका लागि पार्टीले नेतृत्व लिनुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य जयराम खनाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले आगामी असोजमा हुने राष्ट्रिय खेलकुदमा प्रदेशको अपनत्व हुने वातावरण बनाउन पहल गर्ने बताए । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनले राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको भूमिका खोज्न तल्लिन हुने धारणा व्यक्त गरे । पोखरामा हुने प्रतियोगिताकालागि गठन गरिएको मुल आयोजक समितिमा पोखराकै खेल क्षेत्रका व्याक्ति समेट्नु केन्द्रीकृत मानसिकताको पराकाष्ट भएको उनको भनाई थियो । नेपाल लोकतान्त्रिक खेलकुद संघ पार्टीको भातृसंगठन भइसकेकाले पनि विगतमा के भन्दा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा अग्रजको सल्लाह अनुसार अघि बढ्नुपर्नेमा उनको जोड थियो । संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले नवौं राष्ट्रिय खेलकुदमा सबैले छोडेको सुरक्षा र अनुसन्धान उपसमितिमा आफूहरुलाई राख्न खोजेको बताए । गण्डकी प्रदेशमा हुने खेलमा सबै उपसमितिको सदस्यमा अट्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाए । खेलकुद भनेपछि पछिल्ला समय भ्रष्टाचार बढि हुने क्षेत्रमा रुपमा चिनिएकाले करिब १ अर्ब खर्च हुने प्रतियोगितामा सबै खेलाडीले पाउनुपर्ने सुविधा पाउँन भनेर संघर्ष गरिरहेको उनको भनाई थियो । ‘राखेपबाट सुरुमा हामीलाई सुरक्षा र अनुसन्धान उपसमितिमा व्यवस्थापन हुनुपर्यो भन्नुभएको थियो, त्यो त सबैले छोडेको उपसमिति रहेछ हामीले हुदैन भन्यौँ, पछि सहसंयोजक राख्ने मौखिक सममती भएको छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुदका लागि ५४ करोड त रातो किताब मै छुट्टिएको छ । सबै गरेर एक अर्ब खर्च हुन्छ त्यसबाट खेलाडीले पाउनुपर्ने सुविधा पाउनुपनर्छ भनेर हामी लागेका छौं ।’ पूर्व खेलाडी र नेपाल लोकतान्त्रिक खेलकुद संघको समस्या सम्बोधन गराउन पहल गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले बताए । नवौं राष्ट्रिय खेलकुदमा प्रदेशका पूर्व खेलाडीहरुको अनुभव र भूमिकाका विषयमा प्रदेश समितिले विज्ञप्ती प्रकाशित गरेरै दवाब दिने उनले जानकारी दिए । यसका लागि एउटा टिम बनाएर मुख्यमन्त्री सामु जाने उनको भनाई थियो । यदि त्यसले काम नगरे काठमाडौं प्रधानमन्त्री सामु पुग्ने उनले बताए । पछिल्लो समय कांग्रेलले खेलकुद बुझिसकेकाले लोकतान्त्रिक खेलकुदलाई पार्टीको भातृ संगठनको मान्यता दिएको उनको भनाई थियो । अब संघ गाउँका वडा वडामा संगठन विस्तारतर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।
काठमाडौँ: यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटेको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्नुभएको हो । “कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा समायोजन नहुनु दुःखको कुरा हो,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक सवारी साधनको कर, बैंकको व्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनका इन्जिनको मूल्य अत्यधिक बढ्दा यातायात व्यवसायीहरु ठूलो मारमा परेको बताउनुभयो । “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा तत्काल समायोजन हुनुपर्छ”, उहाँले भन्नुभयो । महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएबापत नेपाल सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतका दिनमा ६० प्रतिशत सहुलियत दिँदै आएकामा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिन माग गरेको छ ।
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा नौ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ११ लाख ३१ हजार आठ सय ५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप तीन सय एक सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार नौ सय २६ पुगेको छ । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ । त्यसैगरी पछिल्लो समय ५५ हजार पाँच सय ५९ ले खोप लगाइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३३ पुगेको छ । होम आइसोलेसनमा पाँच हजार दुई सय ७५, संस्थागत आइसोलेसनमा एक सय ५८ आइसियुमा ४३ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ ।
कास्की । ४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘सफल व्यवसायीका लागि स्वास्थ्यताको माध्यम खेलकुद’ भन्ने मुल नारासहित आगामी साउन २० गतेबाट पोखरामा हुने तेस्रो प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर कमिटीको संयुक्त आयोजना र जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले जानकारी दिए । उनका अनुसार पोखरा रंगशालास्थित व्याड्मिन्टन कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश स्तरीय खुला मेन्स डबल्स र भेट्रान्सका खेल समावेश गरिएको छ । दुवै इभेन्टतर्फ प्रथमलाई नगद ३५ हजार, द्वितीयलाई नगद २५ हजार र तृतीयलाई १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने कोइरालाले बताए । उनका अनुसार प्रतियोगिताका खेल साउन २० र २१ गते चल्नेछ ।
पोखरा: इतिहासका पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन् । इतिहास अनुसार १८–१९औँ शताब्दीतिर कास्कीको उत्तरी भेग हालको अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा पिँढीमा विद्यार्थीलाई राखेर गुरुशिष्य परम्परा अनुसार संस्कृत तथा त्यससँगै जोडिएका वेद तथा चण्डी आदिको पठनपाठन हुन्थ्यो । त्यसै समयदेखि पाउँदुरसहित विन्ध्यवासिनी आसपासका क्षेत्रमा हुने गरेका पठनपाठनका कारण कास्की शिक्षाको केन्द्र जस्तै बनेको थियो । पाउँदुरमा पौडेल थरका गुरुले आफ्ना शिष्यहरूलाई पिँढीमा राखेर पढाउने भएकै कारण पोखराको शैक्षिक विकास पिँढी पाठशालाबाट सुरु भएको यस क्षेत्रका अध्येताहरू बताउँछन् । तत्कालीन समयमा विन्ध्यवासिनी र आसपासमा पराजुली तथा रेग्मी थरका विद्वानले गुरुशिष्य परम्पराअनुसार नै पठपाठन गराएइका कारण देशका विभिन्न स्थानबाट पोखरामा पढ्नका लागि विद्यार्थी आउने गर्दथे । त्यसै बेलादेखि शिक्षा नपाए काशी कि कास्की भन्ने प्रचलन भएको अनुमान गरिन्छ । पछिल्ला समयमा आधुनिक शिक्षाको नाममा संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएका अवस्थामा पोखरामा भने यसप्रतिको आकर्षण घटेको देखिदैन । संस्कृत पढ्नकै लागि देशका विभिन्न स्थानबाट भीमकालीपाटन बगरस्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्यार्थी आउने गरेका छन् । संस्कृत प्रेमीको सक्रियतामा २०५० सालमा स्थापित यो विद्यापीठ २०५३ सालमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को आङ्गिक क्याम्पस बनेको थियो । त्यस्तै पोखराको संस्कृत माध्यमिक विद्यालय, चिसाखोला विद्याश्रम, नारायणस्थान, परोपकार सङ्घ ढुङ्गेसाँघु, राधाकृष्ण गुरुकुल विद्याश्रम लामेआहाल, विन्ध्यवासिनी, गुप्तेश्वर महादेव गुफालगायतका स्थानमा संस्कृत विषयमा विद्यालय तहसम्मको पठनपाठन भइरहेको छ । विन्दुवासिनी संस्कृत विद्यापीठमा फलित ज्योतिष, साहित्य तथा संस्कृत व्याकरण विषयमा चार वर्षे शास्त्री तहको पठनपाठन हुँदै आएको छ । विद्यापीठमा प्राक्शास्त्री समेत गरी करिब १०० सङ्ख्यामा विद्यार्थी अध्ययन गरिरहेको विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मी बताउनुहुन्छ । विद्यापीठमा विभिन्न जातजातीका विद्यार्थी अध्ययन गरिरहेका छन् । संस्कृत शिक्षामा अनुसन्धानको आवश्यकतालाई दृष्टिगत गरी विद्यापीठले अनुसन्धानात्मक गतिविधिलाई पनि प्राथमिकताका साथ अघि बढाएको उहाँले जानकारी दिनुभयो । विद्यापीठमा अनुसन्धानात्मक कार्यलाई जोड दिँदै अनुसन्धान व्यवस्थापन समितिमार्फत अनुसन्धानात्मक जर्नल निकाल्न थालिएको प्रचार्य डा रेग्मीले बताउनुभयो । विद्यापीठमा आचार्य(स्नातकोत्तर) तहको पठनपाठनको तयारी गरिएको छ । पोखरामा औपचारिकरुपमा विसं १९५८ मा देव शम्शेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ । विद्यार्थीको अभावमा देशका विभिन्न स्थानका संस्कृत विद्यालय बन्द हुने अवस्थामा पुगेपनि पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बर्सेनि बढ्दो छ । विद्यालयमा हाल २०० भन्दा बढी सङ्ख्यामा विद्यार्थी पढिरहेको विद्यालयका प्रधानाध्यापक गोविन्द सिग्देलले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनतरत विद्यार्थीलाई कक्षा ५ देखि माथि आवासीय सुविधा प्रदान गरिएको उल्लेख गर्दै उहाँले हाल करिब २० देखि ३० जनासम्म विद्यार्थीले आवासीय सुविधा लिएको बताउनुभयो । विद्यालयमा ब्राह्मण मात्र नभइ महिला तथा दलित समुदायका विद्यार्थी अध्ययन गरिरहेका छन् । गुणस्तरीयतालाई लक्षित गरी विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाटै पठनपाठन सुरु गरिसकेको छ । संस्कृत माविमा अध्ययन गर्नेले कक्षा ६ भन्दा माथि कूल ८०० पूर्णाङ्मध्ये २०० अङ्कको मात्र संस्कृत पढ्नुपर्छ । अन्य साधारण माविमा जस्तै हो भन्ने आम जनमानसमा जानकारी गराउन नसक्नाले पनि संस्कृत शिक्षाप्रति अझै विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्न नसकेको यस क्षेत्रका जानकार बताउँछन् । विद्यालयमा कक्षा ११ र १२ सम्मको पठनपाठन भइरहेको छ । विगतमा संस्कृत केवल ब्राम्हण समुदायका ले मात्रै पढ्ने भनिए पनि पछिल्ला समयमा सबै जातजातीको यसतर्फ आकर्षण बढेको छ । विद्यालयमा करिब ५० प्रतिशत ब्राम्हण समुदायका छन् भने ५० प्रतिशत दलित तथा जनजाती समुदायका रहेको प्रधानाध्यापक सिग्देलले जानकारी दिनुयो । समाजमा नैतिकता, सदाचारको खडेरी पर्दै गएको अवस्थामा पछिल्लो समयमा संस्कृत शिक्षाको आवश्यकता तथा महत्व बढ्दै गएको देखिन्छ । जिल्लामा सञ्चालित गुरुकुल तथा विद्याश्रमको पठनपाठनकोस्तर राम्रो रहेको जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले बताउनुभयो ।
पोखरा । मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारीले श्रम ऐन २०७४ अनुसार तलबसहितको सेवा सुविधा मागेपछि अस्पताल व्यवस्थापन समितिले नीजि सुरक्षा गार्ड (बाउन्सर) अस्पताल परिसरमा तैनाथ गरेको छ । अस्वाभाविकरुपमा बाउन्सरसहित नेपाल प्रहरीको टोलीलाई अस्पताल परिसर र भित्रै परिचालित गरेपछि बिरामीको मानसिकतामा असर परेको र अस्पतालको वातावरणमै प्रभाव परेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल इकाईका अध्यक्ष अमृत पौडेलले बताए । ‘अहिले यहाँ सेक्युरिटी लेखेको अपरिचित मान्छेहरु आएका छन् । अस्पताल भित्रै पनि गएर मेसमै खाना पनि खाए । र प्रहरीको फुल टाइमै मणिपाल हो भन्ने जस्तो गरेर ठुलो जत्था नै तैनाथ गरिएको छ, उनले भने, ‘प्रहरीलाई सुरक्षाको लागि भनेर कन्सिडर गर्न सकिन्छ । तर हामीले कुनै कार्यक्रम नै नगरि आउनु अस्वाभाविक हो । र त्यसमाथि बाउन्सर नै आउनु भनेको त श्रम ऐनमा उल्लेख भएको कानूनी प्रावधान मान्न पाउन्नस्, बोल्न पाउन्नस् भन्ने नै हो । हामीले अप्रत्यक्षरुपमा त्यो अभिव्यक्ति बुझेका छौं ।’ श्रम ऐनले परिच्छेद ३६ मा कर्मचारीले एक वर्ष कार्यावधि पार गरेको खण्डमा ग्रेड अनुसार वार्षिक तलब वृद्धि पाउने र हरेक दुई वर्षमा सेवासुविधाको दायरा फराकिलो बनाउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुरुप गत शुक्रबार अस्पताल व्यवस्थापन समिति र कर्मचारीहरुको संगठनबीच तलब वृद्धि र सेवा सुविधाको बारेमा छलफल भएको पौडेलले बताए । द्विपक्षीय वार्ता व्यवस्थापन समितिको टोलीले कर्मचारीको माग अस्वीकार गरेपछि छलफल निष्कर्षविहिन टुङ्गिएको थियो । त्यसपछि केही दिनपछि बाउन्सरसहितको नेपाल प्रहरी अस्पताल परिसर र भित्रै परिचालित गरिएको पौडेलले बताए । ‘यस्तो एकपटक पहिला पनि भएको थियो । फेरि अहिले करिब १२/१५ वर्षपछि इतिहास दोहोरियो र फेरि भविष्यमा पनि दोहोरियो भने यसले राम्रो गर्दैन, उनले भने, ‘किनभने कर्मचारीको सुरक्षाको ग्यारेण्टी कसले लिने ? अस्पताल जस्तो संवेदनशिल संस्थामा म काम गर्दा, ट्वाइलेट जाँदा सुरक्षित छु कि छैन भन्ने कुरा व्यवस्थापनले सोच्नुपर्ने होइन?, के गर्दा संस्था राम्रो हुन्छ भन्ने त व्यवस्थापनले सोच्न पर्याे नी ? पौडेलको प्रश्न छ । कर्मचारी संगठन र व्यवस्थापनको समझदारी अनुसार तलब तथा सेवा सुविधाको वृद्धि गर्नुपर्ने ऐनले व्यवस्था गरेको छ । सोही अनुरुप वार्ताको क्रममा व्यवस्थापनले तलब वृद्धि नहुने अडान लिएको बताउदै पौडेलले भने, ‘हामीले ऐन अन्तर्गतकै २/२ वर्षमा तलब वृद्धि गर्ने प्रावधान अनुसार नै माग पेश गरेका थियौ । त्यसमा दुई पक्षनै बसेर अन्तिममा गएर टुङ्गिने हो । कहिले २ जना बसेर नि हुन्छ कहिले मध्यस्तकर्ता सिडिओ कार्यालय अथवा श्रम विभागपनि जान्छ, उनले भने, ‘तिमिहरुको तलब वृद्धि चाँही हुदैन । र ऐनमै नभएको कुरा र कहि प्राक्टिसमै नभएको कुरा गर्दाचाही यो खैलाबैला निस्किएको हो ।’ हाल मणिपाल शिक्षण अस्पतालमा ५ सय ७३ जना ननटिचिङ डाक्टरहरु १ सय बढी डाक्टरहरु कार्यरत छन् ।
बाजुरा: जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । बूढीनन्दा–२ कोल्टीकी ३० वर्षीया मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की २२ वर्षीया जेनी राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुवै महिलालाई लामो समयदेखि सुत्केरी व्यथा लागेको भए पनि जिल्लामा सुत्केरी हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरमा सुविधासम्पन्न अस्पतालमा उद्धार गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका दर्जनौँ गर्भवतीको उद्धार गरिएको छ । उक्त कार्यक्रम दुर्गम तथा विकट जिल्लाका लागि प्रभावकारी बन्दै गएको छ ।

