पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

काठमाण्डौँ:     यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।   नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा रु १० को दरले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।   भाडा घटेसँगै यात्रुबाहक सवारीमा दुई प्रतिशत,  पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत घटेको विभागले जनाएको छ ।   यातायात व्यवस्था विभागको विसं २०७८ चैत १७ को निर्णयअनुसार लागू गरिएकोमा पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिएको डिजेलको बजार मूल्य रु १६३ प्रति लिटरलाई आधार मान्दै आए पनि बिहिबार रातीदेखि प्रतिलिटर रु १० घटी रु १५३ कायम भएकाले सोहीअनुसार सवारी भाडा घटाएको हो ।   सरकारले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित आधारमा गर्ने व्यवस्थाअनुसार भाडादर घटेको विभागले जनाएको छ ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले स्वचालित भाडादरले व्यवसायी र यात्रु दुवैलाई मर्का नपर्ने बताउनुभयो । उहाँले घटेको भाडा लिन सम्पूर्ण यातायात व्यवसायी, चालक तथा सहचालकलाई आग्रहसमेत गर्नुभएको छ । 

बैतडी:   गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारलाई चुनावमा भएको खर्च विवरण बुझाउन आग्रह गरिएको छ ।       जिल्ला निर्वाचन कार्यालय बैतडीले एक सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई चुनावमा भएको खर्च विवरण पेस गर्न भनेको हो । उम्मेदवारले निर्वाचन मतपरिणाम सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेकाले सोहीअनुसार खर्च विवरण बुझाउन आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताउनुभयो ।   ३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुनअनुसार कारबाही हुने  जनाइएको छ । यसका साथै खर्च नबुझाउने उम्मेदवारले अर्को पटक हुने निर्वाचनका उम्मेदवार भएर खर्च नबुझाएको भन्ने उजुरी आएमा उम्मेदवारी रद्दसमेत हुनसक्छ ।        चुनावमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका सबै उम्मेदवारले खर्च विवरण पेश गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारले आफू स्वयं उपस्थित भएर अथवा प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।      बैतडीमा पालिका चुनावमा एक हजार ४०८ उम्मेदवार रहेका थिए । जसमध्ये ४४० जनप्रतिनिधिका रुपमा छनोट भएका छन् । स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ दल दर्ता भएका थिए ।  

रामपुर (पाल्पा):    रम्भा गाउँपालिका–१ सगाहाका अगुवा कृषक ऋषिराम अर्यालको तीन रोपनी खेतीयोग्य जमिन बाँझै छ । राम्रै अन्नबाली उत्पादन हुने गरे पनि बाँदरको समस्याका कारण आफूले लगाएको बाली स्याहार्नै नपाउने अवस्था भएपछि उहाँले बाली लगाउनै छाड्नुभएको छ ।          अर्यालले छ वर्षयता मकैबाली लगाउन छाडेको बताउनुभयो । “दुःख गरेर मकै लगायो उत्पादन लिन पाइएलाभन्दा बाँदरले खाएर स्याहार्न नपाएपछि लगानी व्यर्थ मात्रै भयो”, उहाँले भन्नुभयो । मकैको विकल्पमा सूर्यमुखी खेती गर्न थालेको उहाँ बताउनुहुन्छ ।          “मकै पसाउन थालेपछि खेतबारीमा बाँदरको समूह पसेर एकै पटकमा सखापै पार्ने, घरभित्र पनि लुकेर भण्डारण गरेर राखेको मकै खाने, एक्लै घरमा भएमा मानिसलाई नै झम्टने गर्दछ, बाँदर धपाउने समस्याले किसानले कतिपय स्थानमा जग्गा बाँझै राख्न बाध्य भएका छन्”, अर्यालले भन्नुभयो ।          तल र माथि जङ्गलबीचमा बस्ती र खेतीयोग्य जमिन हुँदा दुईतर्फबाट आएका बाँदर गाउँबस्तीमा पसेर क्षणभरमै खेतीबाली नोक्सानी गर्ने गरेको अर्यालको भनाइ छ । बाँदर नियन्त्रणका लागि विकल्पको व्यवस्था गर्न रम्भा गाउँपालिकाको कार्यालयमा अनुरोध गरे पनि त्यसको कुनै सुनुवाइ नभएको अर्यालले बताउनुभयो । मकैबाली छाडेर अहिले उहाँले करिब छ रोपनी जग्गामा सूर्यमुखी लगाउनुभएको छ ।    उहाँजस्तै गाउँका अन्य किसानले पनि सूर्यमुखी खेती सुरु गरेका छन् । बाँदरले मकै, तरकारी, फलफूल मात्रै होइन धानबालीमा पसी माडेर सताउने गरेपछि सगाहाको अम्मेट ठाउँमा करिब २० रोपनी जग्गा बाँझो अवस्थामा छ । बाँदरले नोक्सानी गर्न थालेपछि मेहनतअनुसारको उब्जनी लिन नपाउँदा दुई वर्षयता सो जमिन बाँझिन पुगेको हो । धानबाली पनि बाँदरले मासेर नोक्सान गर्न थालेपछि अहिले सो ठाउँमा किसानले खेती लगाउनै छाडेका छन् ।          खेती लगाउन सुरु गरेदेखि बाँदर खेतबारीमै लुकेर बस्ने र पसाउन थालेपछि बाली नसकिँदासम्म खेतबारी नै नछाड्ने गरेको सगाहकै अर्का कृषक मित्र सिं थापाले बताउनुभयो । उहाँ पनि बाँदर समस्याले हैरानीमा परेपछि जमिन नबाँझियोस् भनेर करिब तीन रोपनीमा सूर्यमुखी खेती गर्नुहुन्छ । थापाले यसभन्दाअघि १० रोपनी जग्गामा मकै खेती गर्दै आएको बताउनुहुँदै अहिले बाँदरको समस्याका कारण बाध्यताले सूर्यमुखी लगाउनु परेको बताउनुभयो । उहाँले मकैखेती गरेर राम्रो उत्पादन लिँदै आउनुभएको थियो ।     वन जङ्गलमा बाँदरका लागि आहारको अभाव हुनु र अर्कोतर्फ गाउँमा बस्ती पातलिँदै जादा बाँदरले मानवबस्तीमा नै पसेर सताउने गरेको बताइन्छ ।          अहिलेको समय खेतमा पसाउँदै गरेको मकैबाली जोगाउन किसानलाई सकस छ । किसानको दैनिकी बाँदर धपाउनमै बित्ने गरेको छ । एक÷दुईको सङ्ख्यामा हिँड्ने बाँदरले खासै नोक्सानी गर्दैन तर ठूलो समूहमा आएका बाँदरले खेतबारीमा पसेपछि बाली नै सखापै पार्ने गरेको छ ।          समूहमा हिँड्ने बाँदरले क्षणभरमै बालीनाली सखाप पारिदिने गरिेको किसान बताउँछन् । मकै, भटमास, आलु, बदाम, धान, कोदो, जौ, गहुँ, फापर, मूला, गाँजर, तरकारी, गोलभेँडा, फलफूल बाली सबै केही बाँकी नराखी खाएर नोक्सान पार्दछ । अहिले गाउँमा प्रत्येक घरमा एक/दुई जना बाँदर धपाउनकै लागि कुरुवा बस्नु परेको छ । तर, ठूलो समूह बनाएर आएका बाँदलाई एक दुई जनाले धपाउँन सकिदैन । मानिसलाई नै झम्टने गरेको पनि पाइन्छ । बाँदर आतङ्कका कारण भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझै छाडेर गाउँ छाड्नुपर्ने अवस्था आएको छ ।    कहिल्यै बाँदर नलाग्ने ठाउँमा पनि हिजोआज बाँदर पस्न थालेको रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने उदयराज अर्यालले बताउनुभयो । मानिसको ओहोरदोहोर हुने, बस्ती बाक्लै भएको ठाउँमा पनि दुई तीन वर्षयता बाँदर पसेर सताउन थालेको अर्यालको भनाइ छ । “खेतमा मकै पसाउन थालेपछि बाँदरले हैरानी पारेको छ, धपाउँन खोज्दा पनि झट्ट नभाग्ने, मकैमा पसेपछि भर्खर फल लाग्दै गरेका घोगा भाँचेर खाइदिएको छ, बाँदर भगाउने उपाय नहुँदा किसानलाई सकस भएको छ”, उहाँले भन्नुभयो ।           बेझाडखेत रामपुरको मुख्य बजार बेझाड संग जोडिएको छ । यहाँ दैनिक साना ठूला गरी सयौँ सवारी साधन गुड्ने, मानिसको ओहोरदोहोर बाक्लै हुने गर्छ । तरपनि बस्ती भरिँदै जादा बाँदर पनि पस्ने गरेको अर्का स्थानीय लक्ष्मी तिवारी बताउनुहुन्छ । आलु, मकै, तरकारी लगायतका बाली पसाउन नपाउँदै खोतलेर खाइदिने गरेको उहाँले बताउनुभयो ।          “आफैँले दुःख गरेर गरेको खेती राम्रोसँग फलाउँला भनेको फल लाग्न थालेपछि बाँदरले खाइदिन्छ, खेतीबाली लगाएर खान पाइँदैन भने किन लगाउनु दुःख मात्रै गर्नुपर्याे”, उहाँले गुनासो गर्नुभयो ।    उहाँका अनुसार प्रत्येक घरबाट एक।एक जनाको पालो लगाएर दैनिक खेतबारीमा बाली कुर्न जानुपर्ने बाध्यता रहेको छ ।         रामपुर नपा–८ आँपचौरका रामप्रसाद अर्यालले ११ रोपनी जग्गामा विभिन्न खेती गर्नुहुन्छ । बालीनाली जोगाउनै समस्या परेपछि बाँदर आतङ्क रोक्न सरकारसमक्ष उहाँको अनुरोध छ । समूहमा बाँदर पसेर खेतबारीका अन्नबाली खाएर सखाप पार्ने हुँदा अनिवार्यजसो बाँदर कुरेरै यहाँका नागरिकको दिन बित्ने गरेको छ । बाँदर धपाउने कुनै विकल्प नहुँदा गुलेली तथा लौराले धपाउने गरेको अर्यालले बताउनुभयो ।         एक समूहमा बढीमा २०० सम्म बाँदर खेतबारीमा पस्ने गरेको पाइएको छ । आँपचौरकै ७४ वर्षीय पुरुषोत्तम अर्याल आफूले जानेदेखि नै खेतबारीमा दैनिक बाँदर कुर्ने गरेको बताउनुहुन्छ । बिहान उज्यालो हुन नपाउँदै बाँदर लखेट्न खेतमा जानुपर्ने र साँझ अबेरसम्म पनि निगरानीमै बस्नुपर्ने हुँदा परिवारमा एक जना बाँदर कुर्नैका लागि खटिनु परेको अर्यालको भनाइ छ ।        उहाँ भन्नुहुन्छ, “बाँदर कुरेरै जीवन बित्ने भयो, जाने बुझेदेखि नै खेतको मुहानमा बसेर बाँदर कुर्ने गरेको हो, अहिलेसम्म बाँदरकै निगरानीमा जीवन बित्यो, एक जनाले त अनिवार्य बिहान सबेरै उठेर रात नपरुञ्जेलसम्म खेतमा बसेर बाँदरको निगरानी गर्नुपर्छ नत्र लगाएको बाली भित्र्याउनै पाइदैन ।”         पाल्पाका विभिन्न स्थानका किसान बाँदर आतङ्कले हैरानीमा परेका छन् । बर्सेनि बाँदरको समस्या किसानले सम्बन्धित निकायमा पोखेकै छन् । कालीगण्डकी फाउण्डेशन नेपालले रामपुर नगरको समन्वयमा बाँदरको समस्यालाई दृष्टिगत गर्दै बाँदर धपाउने यन्त्र कृषकलाई वितरण गरेर समाधानको प्रयास पनि गर्याे । तर पूर्णरुपमा भने नियन्त्रणमा आउन सकेन । नगरले बाँदर लाग्ने स्थानमा कागती, सुन्तला, बेसारलगायतका बाली लगाउन प्रोत्साहन गरेपनि कतिपय ठाउँमा सिँचाइको अभावले समस्या देखिएको छ ।          पाल्पाका रामपुर, रम्भा, निस्दी, पूर्वखोला, बगनासकालीलगायतका विभिन्न ठाउँमा बाँदर आतङ्कले सताउने गरेको पाइन्छ । बाँदर आतङ्क रोक्न नसक्दा बर्सेनि अन्नबाली खाएर नोक्सानी व्यहोर्न किसान बाध्य बन्दै आएका छन् ।   

बागलुङ:     बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत बनाइने भएको छ ।    विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराइने भएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । आउँदो जेठ २४ गते मनाइने चौधौँ खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित विविध कार्यक्रमअन्तर्गत विद्यालय तहका विद्यार्थीलाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुसम्बन्धी सचेतनालाई प्राथमिकतामा राखेको हो ।    ‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको दिवसमा उपभोक्ताको खाद्य स्वच्छतासम्बन्धी अधिकार प्रत्याभूति गर्न बालबालिकालाई सचेत गराउन थालिएको डिभिजन प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो । “हामीले यसअघि पनि सदरमुकामा रहेका केही विद्यालयमा खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरीसकेका छौँ”, उहाँले भन्नुभयोे, “विद्यालयको वातावरण हेरेर दिवसको अवसरमा केही विद्यालयका बालबालिकामा सचेतनामूलक कार्यक्रम लैजाने यस पटकको योजना छ ।” बालबालिकालाई सचेत गराउँदा भावी पुस्तामा खाद्य स्वच्छतासम्बन्धी चेतनाको विकास हुने र वर्तमानमा अस्वस्थ्य खाद्यान्नको प्रयोगमा कमी आउने उहाँको बुझाइ छ ।   विद्यालयमा दिवा खाजाको रुपमा प्रयोग हुने ‘प्याकेजिङ’ खानाको लेबल तथा म्याद र त्यसमा प्रयोग भएका खाद्यवस्तुको विषयमा जानकारीको अभावमा बालबालिकाले अखाद्य वस्तु प्रयोग गरिरहेका कतिपय घटना बेलाबेलामा बाहिरिने गरेका छन् । सरकारले कक्षा ५ सम्मका बालबालिकाका लागि दिवा खाजाको व्यवस्था गरेको भए पनि बागलुङका अधिकांश विद्यालयले खाजाको व्यवस्था नगरी प्रतिविद्यार्थी खाजाबापत प्राप्त हुने रकम अभिभावकको जिम्मा लगाउने गरेका छन् ।    डिभिजन कार्यालयले जेठ १९ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर खाद्य स्वच्छता दिवस मनाइरहेको छ । सप्ताहअन्तर्गत विद्यालयमा सचेतना कार्यक्रमका साथै होटल तथा रेष्टुराँ अनुगमन गर्ने, बजार तथा खाद्य उद्योग अनुगमन गर्ने खाद्यान्नमा प्रयोग हुने रङको विषयमा सचेनतामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताउनुभयो ।   खाद्य स्वच्छतासम्बन्धी विभिन्न जानकारी समेटिएका प्रचार सामग्री कार्यालय परिसर तथा मानिसको आवतजावत बढी हुने ठाउँमा राख्न थालिएको छ । दिवस मनाउन डिभिजन कार्यालयले आम सर्वसाधारणलाई स्वच्छ खाद्यवस्तु प्रयोग गर्न पाउने उपभोक्ताको अधिकारप्रति सचेत रहनेगरी सप्ताहव्यापी कार्यक्रममा सहभागी हुन अपिल गरेको छ ।

पाेखरा:   पोखरेली पर्यटन व्यवसायी नरेश भट्टराई नेकपा एमालेको पर्यटन विभागको सदस्यमा मनोनीत भएका छन् ।    गत बैशाख ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको वैठकबाट गठित विभागमा पोखरेली स्थापित पर्यटन व्यवसायी भट्टाराई सहित २४ जना मनोनीत भएका हुन् ।   मनोनीत भएसँगै पोखरेली पर्यटन व्यवसायी भट्टराईले आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । उनले आफुलाई प्राप्त भएको जिम्मेवारी पुर्ण रुपमा वहन गर्न तत्पर रहेको बताए । ‘पर्यटन विभागको सदस्यमा समावेश भएको छु, उनले भने, ‘अब आफ्नो जिम्मेवारी उत्कृष्ट तवरले सम्हाल्नेछु ।’   पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालक भट्टराई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य समेत हुन् । 

काठमाण्डौँः    शिक्षाका लागि राष्ट्रिय अभियान एनसिइ नेपालले सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आव २०७९/८० को बजेटमा शिक्षा क्षेत्रलाई न्यून रकम विनियोजन गरिएकामा चिन्ता व्यक्त गरेको छ ।      शिक्षामा कार्यरत करिब ३०० गैरसरकारी संस्थाको सो सञ्जालका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी प्रस्तावित बजेट करिब ११ प्रतिशत नेपाल सरकारले विभिन्न मञ्चमा कूल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धताभन्दा न्यून रहेको भनिएको छ ।      कोरोना महामारीले सार्वजनिक शिक्षालाई पुर्याएको क्षतिलाई सम्बोधन गर्न र नेपालको संविधानले व्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षालाई व्यवहारतः कार्यान्वयन गर्न यस वर्ष शिक्षा क्षेत्रलाई छुट्याइएको लगानी अपर्याप्त हुने सो अभियानको भनाइ छ । “शिक्षा क्षेत्रमा हालको अपर्याप्त लगानी सार्वजनिक शिक्षा सुधार गर्ने र यसका लागि लगानी बढाउने विभिन्न राजनीतिक दलको प्रतिबद्धता विपरीत छ । तसर्थ गुणस्तरीय, समावेशी र समतामूलक शिक्षा र सिकाइको अधिकार सुनिश्चित गर्ने आफ्नो दायित्वप्रति सचेत रहन यस अभियान नेपाल सरकारलाई आग्रह गर्दछ”, एनसिइ नेपालको विज्ञप्तिमा भनिएको छ ।      एनसिइ नेपालले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि तीनै तहका सरकारले आफ्नो बजेटबाट कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्याउनुपर्ने माग गर्दै वकालत तथा अभियान सञ्चालन गर्दै आएको छ । सो सञ्जालले दिवा खाजालाई कक्षा ६ सम्म विस्तार गर्ने, प्रत्येक प्रदेशमा २० वटा विद्यालयका लागि आवश्यक पर्ने इन्टरनेट, डिजिटल बोर्ड र अन्य सामग्री खरिद गर्ने, सरकारी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको सेवा सुविधा र वृत्तिविकासको सुनिश्चितता गर्न दरबन्दी पुनरावलोकन गर्ने, स्थानीय तहसँगको सहकार्यमा सामुदायिक विद्यालयको नक्साङ्कन गरी विद्यालय समायोजन र आवासीय विद्यालय निर्माण गर्ने तथा विद्यार्थीलाई कक्षाकोठाबाटै व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने जस्ता व्यवस्थालाई भने सकारात्मकरुपमा लिएको छ ।  

काठमाण्डौँः     श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताउनुभएको छ । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै उहाँले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताउनुभयो ।           ठगीमा परी उजुरी दिएका युवालाई छिटोछरितो सेवा दिन निर्देशन दिँदै मन्त्री श्रेष्ठले समयमै न्याय दिन कानूनी समस्या भएपनि समाधान गरिने बताउनुभयो । वैदेशिक रोजगारीमा गएर वास्तवमै अलपत्र परेको भए तत्काल उद्धार गरिने तर विभिन्न वहानामा काम नगर्ने र उद्धारको लागि सरकारसँग हारगुहार गर्ने प्रवृति पनि देखिएको बताउनुभयो ।           मन्त्री श्रेष्ठले विभागका कर्मचारीलाई श्रमिकको पक्षमा काम गर्दा समस्या भए मन्त्रालयमा तत्काल जानकारी गराउन निर्देशन दिनुभयो । सचिव अर्यालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन अनलाइन प्रणालीमा लैजान बाँकी रहेका सेवालाई समेत प्रविधिमैत्री बनाउन निर्देशन दिनुभयो ।           इजाजतवाला संस्था ९मेनपावर कम्पनी० को दर्ता, नवीकरण, कामदार पठाउन पाउने सिमा, धरौटी रकम, बैंक ग्यारेन्टी, कारबाही, फुकुवा तथा अन्य जानकारीलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको तयारी रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । म्यानपावरले श्रमिक विदेश पठाउन सक्ने क्षमताका आधारमा धरौटी रकमलाई पुनःमूल्याङ्कन गर्ने संयन्त्रलाई समेत सुधार गरिने उहाँको भनाइ छ ।   १४४ जनाबाट साढे ४ करोड उठाएपछि।।।।।         यसैबीच पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका संस्था नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम असुल्ने गरेको पाइएको छ । कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरी सञ्चालक फरार हुने गरेको उजुरी विभागमा परेको छ ।           विभागले हालै इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्राली र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताउनुभयो ।           पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये हाल ३ वटाको मुद्धा वैदेशिक रोजगार न्यायाधीकरणमा दायर गरिएको बताउनुभयो । एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगत सहित पछिल्लो महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र सोको हर्जना सहित ७ करोड रुपैयाका बराबरको मुद्धा दायर गरिएको छ ।

काठमाण्डौँः    तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण गरिएको छ । बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।    मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने तथा दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ ।    आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।    उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।

काठमाण्डौँः   नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उहाँको योगदानको स्मरण गर्दै मनाइयो ।    राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र लेखक सुजित मैनालीले एकीकरण अभियानमा पाँडे परिवार र काजी पाँडेले गर्नुभएको योगदानबारे प्रकाश पार्नुभएको थियो ।  सो अवसरमा उपकुलपति गुरुङले नेपालीकरण (प्रोसेस अफ नेपलाइजेशन) को विकासका क्रममा विभिन्न जातजातिहरूको समन्वय र संयुक्त योगदानको शृङ्खलालाई भुल्न नहुने र इतिहासको त्यही लयका आधारमा सङ्घीय गणतन्त्र नेपाललाई सवल बनाउन सकिने बताउनुभयो ।   उहाँले काजी पाँडेले पुर्खाको गौरव र वीरगाथाको अनुभवबाट जातीय सद्भावसहित राष्ट्र निर्माणमा सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । लेखक मैनालीले काजी पाँडे सैन्य र कूटनीतिक दुवै मोर्चामा अग्रणी तथा जनताबाट पनि रुचाइएकाले  तत्कालीन राजा पृथ्वीनारायण शाहले विश्वास गरी प्रमुख मन्त्री बनाएको सन्दर्भ स्मरण गराउनुभयो । काजी भीमराज पाँडेका छोरा पाँडेको नेतृत्व (दलमुख) मा नुवाकोट, बेलकोट, नालदुम, तादी, सिरान्चोक र कीर्तिपुरमा लडाइँ भएको थियो ।   विसं १७७० मा जन्मिएका काजी पाँडेले विसं १८१४ जेठ १९ मा कीर्तिपुरको आक्रमणका सहादत प्राप्त गरेका थिए । त्यसबेला गोरखा राज्यले कीर्तिपुर राज्यमाथि हमला गर्ने अनुकूल समय नभएको भनेर पाँडेले सुझाव दिँदा राजा पृथ्वीनारायण शाहले ‘मर्न डर लाग्यो ’ भन्ने प्रश्न गरेपछि पाँडे लडाइँको मोर्चा सम्हाल्न तयार भएका थिए । काजी पाँडेलाई पृथ्वीनारयण शाहले जनताको चाहनाबमोजिम नै प्रमुखमन्त्री नियुक्त गरेको इतिहासबाट पाँडेको त्यसबेलाको लोकप्रियता झल्कन्छ ।   पाँडेको वीरताको सम्मानमा नेपाली सेनाको सहयोगमा समाधिस्थलमा विसं २०७८ मा कम्प्याउण्ड वाल, आइरन रेलिङ, सत्तल भवन निर्माण र स्तरोन्नति गरिएको छ । सो प्रतिष्ठान र नगरपालिकाको वडा नं १ को संयोजनमा समाधिस्थलका सौन्दर्यीकरण कार्य गरिएको छ ।   सो अवसरमा राष्ट्रपति भण्डारीबाट पाँडेको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । कीर्तिपुर लडाइँमा जानुपूर्व काजी पाँडेले आफू लडाइँमा मारिएमा गोरखा (मनकामना) देखिने गरी शव गाडिदिनु भनेकाले दहचोकको डाँडामा समाधिस्थल बनाइएको हो । सुरुमा उहाँको शव गाडिएको स्थललाई सामन्य ढुङ्गाहरुले छोपेर राखिएकमा प्रतिष्ठानले त्यहाँ निजी जग्गा खरिद गरेर व्यवस्थित समाधिस्थल निर्माण गरेको हो । दहचोक भ्यूटावर र विन्ध्यवासिनी मन्दिर नजिकै रहेकाले पनि समाधिस्थलको पर्यटकीय महत्व पनि रहेको छ ।    सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी,नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले जनता, सरकार र सेनाको समुच्चबाट नेपाल राष्ट्रको निर्माण र नवनिर्माण भएको तथा काजी पाँडेले त्यस मर्मलाई बलियोसँग आत्मसात गरेको बताउनुभयो । माइतीघरबाट भद्रकालीसम्मको सडकमार्गलाई काजी दामोदर पाँडे मार्ग नामकरण गर्न पनि माग गर्नुभयो ।