पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

अछामः  अछाममा पाँच दिन देखि हराइ रहेको किशोरको शव फेला परेको छ।    शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका ४ तल्लो कुच्ची स्थित भिरमा १७ वर्षीय किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए।    मृत्यु हुने १७ वर्षीय विनोद शाही हुन्। उनी नेकपा एमालेका कार्यकर्ता समेत हुन्। उनको शव फेला परे पछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच विवाद भइ रहेको विष्टले बताए।    एमालेका कार्यकर्ताहरु कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन्। तसर्थ एमाले र कांग्रेसका कार्यकर्ताहरु बीच भएको विवादले दुवै पक्ष आक्रोशित बनेको छ ।   आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन, विष्टले भने, हामी अनुसन्धान गर्न मंलगसेनबाट आएका थियौं तर जान सकेका छैनौं। टोली घटनास्थल नपुगेको हुँदा शवको प्रकृति कस्तो छ भन्ने यकिन भइ नसकेको प्रहरीले जनाएको छ।   उनी १७ गते देखि नै हराइ रहेको बताए पनि प्रहरीलाई शुक्रबार मात्रै मौखिक जानकारी दिइएको थियो र शनिबार प्रहरी कार्यालयमा हुलिया सहित हराएको निवेदन परेको थियो, सो निवेदनअनुसार प्रहरीले मातहत कार्यालयमा पत्राचार गरि खोजी गर्न सबै युनिटलाई जानकारी गराइ खोज अनुसन्धान सूूरु गरेका थियौँ विष्टले जानकारी गराए। । यसै क्रममा स्थानीयले शाहीको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए।    घटनास्थलमा अनुसन्धान गर्न गएको टोली अहिले इलाका प्रहरी कार्यालय विनायकमा बसि रहेको छ। दुबै पार्टीका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी भइ रहेको छ। सहजीकरण गरि दिनको लागि हामीले नेताहरुलाई मंगलसेनबाट बोलाएका छौं उनले भने.  पार्टीका कार्यकर्ताहरु बीच वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको दिन देखि नै लफडा सुरु भएको प्रहरीको भनाइ छ। साथै शाहीको शव फेला परे पछि हिजो देखि सुरु भएको विवादले उग्र रूप लिएको हो । 

पोखरा:  पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन गरिएको छ । स्थानीय क्लब बुद्धटोल युवा क्लबको पहलमा निर्मित उक्त बास्केटबल कोर्टको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका हुन् ।    उक्त बास्केटबल कोर्ट निर्माणका लागि युवा तथा खेकदुद मन्त्रालयबाट ९ लाख सहयोग गरिएको बास्केटबल कोर्ट निर्माण समितिका अध्यक्ष तथा युवा व्यवसायी हिटलर घलेले जानकारी दिए ।    उनका अनुसार बुद्धटोल क्लबले ५ लाख र राष्ट्रिय उच्च माविले १ लाख सहयोग गरेको थियो ।    यसैगरि व्यक्तिगत रुपमा पनि कोर्ट निर्माणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष घलेले बताए । ‘युवा तथा खेलकुद मन्त्रालयको लागतमा निर्माण गरेका हौं, उनले भने, ‘यसमा क्लबको पनि केही परेको छ केही व्यक्तिहरुको पनि सहयोग छ । अहिले पहिलो चरणको काम सकिएको छ । अब अर्काे चरणमा प्यरापिट तथा चेन्जिङ रुमको योजना छ ।’  उक्त उद्घाटनको क्रममा विभिन्न ४ टिमलाई मैत्रीपूर्ण खेल आयोजना गरिएको क्लबका उपाध्यक्ष असिम थापाले जानकारी  दिए । उनका अनुसार सो खेलमा पर्वत क्लब र मास्क टिम विजयी भएको थियो ।    बुद्धटोल क्लबका अध्यक्ष विजया गुरुङको सभातत्विमा सम्पन्न कार्यक्रममा युवा समाजसेवी अमृत लामा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अर्जुन परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।

पोखरा:  नेपाल मगर महिला संघले अभिनेत्री मिरुना मगर र अभद्र व्यवहारका आरोपी फुर्वा लामाको विषयमा पक्ष विपक्ष गर्न आवश्यक नरहेको धारणा राखेको छ ।   पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष विनिता आलेमगरले सहमति भइसकेको विषयमा बोल्न आवश्यक नरहेको बताएकी हुन् ।  उनले उक्त घटनालाई अतिरञ्जित गर्न नहुने बताइन् ।   यतिबेला नेपाल मगर महिला संघको सिङ्गो टोली पोखरामा छ । उक्त संघको ७ औं राष्ट्रिय महाधिवेशनको लागि पत्रकार सम्मेलन आयोजना गरेको थियो ।   सोही क्रममा बोल्दै अध्यक्ष आलेमगरले संघको कानूनी सल्लाहकारको सुझाव अनुसार कुनै पनि समुदाय पक्ष विपक्षमा उत्रिन आवश्यक नरहेको बताईन् । ‘समाधान भइसकेको केसलाई विज्ञप्ती निकालेर बल्झायो भने झन पिडितलाई पिडा हुन्छ भन्ने हिसाबले उजागर गर्न चाहेनौ, उनले भनिन्, ‘सन्चो भइसकेको घाउलाई फेरि नकोट्याउ भनेर प्रेस विज्ञप्ती निकालेनौ ।’   अध्यक्ष आलेमगरले जातिय र धार्मिक सहिष्णुतामा असर पर्ने बताउदै सहमति भैसकेकाले सबै पक्ष संयमित हुनुपर्ने बताइन् । उनले उक्त घटनालाई अतिरञ्जित नबनाउन आग्रह गर्दै मगर महिला संघ आफ्नो समुदायको सामाजिक अधिकार र प्रतिष्ठाको पक्षमा सधै उभिने धारणा राखेकी थिइन् ।   पोखरामा हुने ७ औं राष्ट्रिय महाधिवेशनको तयारी पुरा नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।   संघका केन्द्रीय अध्यक्ष विनाता आलेमगरले विभिन्न ५६ जिल्लाबाट कुल २ सय ५० जना प्रतिनिधिको सहभागिता रहने जानकारी दिइन् ।    उनका अनुसार उक्त महाधिवेशन पोखरा सभागृहमा २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । सो कार्यक्रममा सातै प्रदेशका प्रदेश समिति र विदेश शाखा, विदेश महिला प्रमुख तथा महिला विभाग प्रतिनिधी र विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहने छ ।    नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रमको उद्घाटन्पूर्व नेपाल मगर संघ कास्कीको कार्यालयबाट सभागृहसम्म विभिन्न बाजागाजा सहित र्याली आयोजना गर्ने आयोजकले जनाएको  छ ।   २१ जिल्लामा छैन संगठन नेपाल मगर महिला संघले अझै २१  जिल्लामा आफ्नो संगठन विस्तार गर्न सकेको छैन ।  केन्द्रीय अध्यक्ष विनिता आलेमगरका अनुसार अहिलेसम्म ५६ जिल्लामा मात्रै जिल्ला समिति विस्तार गरेको  छ ।    वि. स. २०५५ सालमा स्थापना भएपनि मगर महिला संघले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ लगायतको विभिन्न २१ जिल्लामा जनसँख्या र भौगलिक बनोटका कारण संगठन विस्तार गर्न नसकेको बताइन् । ‘यही प्रदेशको मनाङ र मुस्ताङमा पनि संगठन छैन  । जम्मा तिन घर छ कसरी समिति बनाउने, उनले भनिन्, ‘यस्तै अरु जिल्लामा पनि पुग्ने क्रममा छौ । कतै भौगलिक विकटता छ । तरपनि हामी अझै संगठित बनाएर लागे पहलमै छौ ।’  

काठमाण्डौँः      नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताउनुभएको छ । उहाँले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको आर्थिक समृद्धि र विकास पनि उनीहरुकै हातमा छ भन्नुभयो ।       नेपाली युवा उद्यमी मञ्च, चितवनको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै ढकालले उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आउन पनि युवाहरुलाई आह्वान गर्नुभयो । उहाँले पहिलेजस्तो नभएर अहिले देशमा व्यवसाय गर्न सजह भएको र बैंक तथा वित्तीय संस्थाहरुले राम्रो साथ दिएको भन्दै देशका समग्र युवालाई देशभित्रै कुनै न कुनै व्यवसाय गर्न सुझाव दिनुभयो ।       वरिष्ठ उपाध्यक्ष ढकालले हाल देशमा व्यावसायिक वातावरण निर्माण भएको र देश विकास गर्नसक्ने क्षमताका युवाहरु उद्यमशीलतामा सहभागी हुँदा अझै राम्रो वातावरण बन्न जाने भन्दै नेपालका युवा व्यवसायीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।      कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष शिरिष पन्त, नेपाल युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष रितेश लामिछाने, उपाध्यक्ष सुवोधमान सैंजु, चितवन शाखाका अध्यक्ष राजेश गौतम लगायतले नेपालमा युवा उद्यमशीलताको वर्तमान अवस्था र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।      यसैबीच शुक्रबार साँझ सम्पन्न सो अधिवेशनले चितवन शाखाको अध्यक्षमा सूर्यभक्त अधिकारीलाई चयन गरेको छ । अधिकारी चितवनका इलेक्ट्रोनिक्स व्यवसायी हुनुहुन्छ । त्यसैगरी अधिवेशनले सो मञ्चको प्रथम उपाध्यक्षमा विकल दाहाल, द्वितीय उपाध्यक्षमा उमेश श्रेष्ठ, सदस्यहरुमा अजय गौतम, गोपाल, गौतम, निशान पौडेल, ई दीपक खनाल, राजन पौडेल र दिलीप पौडेल चयन हुनुभएको छ । 

काठमाण्डौँः     कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ ।   एक्काइस दशमलव एक किलोमिटरको हाफ म्याराथनमा उहाँ एक घण्टा सात मिनेट ४१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो हनुभएको हो ।  सोही प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो हुनुभयो । पार्कीभन्दा नौ सेकेन्डले पछि पर्नुभएका उहाँ  एक घण्टा सात मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो हुनुभएको हो ।      त्यस्तै त्रिभुवन आर्मी क्लबकै खेलाडी मुकेश पाल तेस्रो हुनुभयो । उहाँ एक घण्टा आठ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुनुभयो  । चौथो, पाँचौँ र छैटौँ पनि त्रिभुवन आर्मी क्लबकै धावक भए । गजेन्द्र राई एक घण्टा नौ मिनेट एक सेकेण्ड समय खर्चर्दै चौथो हुनभयो भने  तरेन्द्रसिंह रावलले एक घण्टा नौ मिनेट १० सेकेण्ड समय लगाउँदै पाँचौँ हुनुभयो । त्यसैगरी खगेन्द्र भाट एक घण्टा १० मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै छैठौँ स्थानमा रहनुभयो ।   त्यसैगरी महिलातर्फको २१दशमलव एक  किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम हुनुभएको छ । उहाँ निर्धारित दुरी एकघण्टा १९ मिनेट १० सकेण्डमा निर्धारित दुरी पूरा गर्दै पहिलो हुनुभएको हो ।     सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेण्ड समय खर्चदै दोस्रो हुनुभयो । नेपाल पुलिस क्लबकी रोवा विष्ट एक घण्टा ३० मिनेट ४२ सकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुनुभयो । त्यसैगरी त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, विन्द्रा श्रेष्ठ र गीता विक क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा रहनुभयो ।       उक्त म्याराथनको महिला तथा पुरुषमा पहिलो हुने खेलाडीले जनही रु एक लाख प्राप्त गरेका छन् भने दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुने खेलाडीले क्रमश ः ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार प्राप्त गरेका छन् । यसैगरी पाँच किलोमिटरको कर्पोरेट दौडमा विकास पोखरेल प्रथम हुनुभयो । उहाँले १७ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभयो  ।   दौडमा शेरबहादुर थाउ दोस्रो र रितेश ओली तेस्रो स्थानमा रहनुभयो । सोही प्रतिस्पर्धाको महिलातर्फको  दौडमा सनी तामाङ प्रथम हनुभयो । उहाँले २६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । सोही प्रतिस्पर्धामा सुनिता महर्जन दोस्रो तथा लादेन प्रधान तेस्रो हुनुभयो।       कर्पोरेट दौडका पहिलो खेलाडीलाई पोखरा र दोस्रोलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेज दिइएको छ । तेस्रो हुने खेलाडीलाई माउण्टेन फ्लाइटको टिकट उपलब्ध गराइएको छ । त्यसैगरी तीन किलोमिटरको ह्विलचियर दौडमा रमेश खत्री प्रथम हुनुभयो । उहाँ १२ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम हुनुभएको हो ।  सोही प्रतिस्पर्धामा प्रेमबहादुर विक दोस्रो र धनबहादुर थिङ तेस्रो हुुनुभयो ।         ह्विलचेयरतर्फकै महिलातर्फ यामी झाँक्री मगर पहिलो र रजनी राई दोस्रो हुनुभयो । यस प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले जनही रु ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शेरबाहदुर देउवाले गर्नुभएको थियो । 

काठमाण्डौँः        प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।   १७औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्यको व्यवहारिक रुपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।        उहाँले भन्नुभयो, “जातीय भेदभाव तथा छुवाछूत भनेको घृणित, सामाजिक रुपमा अनैतिक, अमानवीय, कानुनीरुपमा गम्भीर अपराधपूर्ण कार्य हो, यसको अन्त्यसँगै सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो ।” नेपाली कांगे्रसका सभापति देउवाले सबै प्रकारका विभेदको आआफ्नो ठाउँबाट प्रतिवाद गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गरी समृद्ध समाज र राष्ट्र निर्माणको निम्ति राष्ट्रिय अभियानमा सहभागी हुन अपिल गर्नुभयो ।       “नेपालमा विद्यमान जातीय भेदभाव तथा छुवाछूतको विरुद्धमा विगत सात दशकदेखि आवाज उठ्दै आएको छ, समाजका सबै नागरिकले विना भेदभाव सम्मानित रुपमा बाँच्न पाउनुपर्छ भन्ने आन्दोलन आफैँमा शसक्त छ, मानव सृष्टि सभ्यताको विकाससँगै सुरु भएको विभेद, विकृति, विसङ्गतीले व्यक्ति, परिवार, समाज र राष्ट्रमा नकारात्मक प्रभाव पारेको छ, समाजमा विद्यमान धर्म, परम्परा र संस्कृति तथा मानवबीचमा जातीय, क्षेत्रीय, लैङ्गीक विभेदको व्यवहार हुनु आफैँमा अपमानजनककार्य हो”, उहाँले भन्नुभयो ।        विसं २०५८ मा छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना, २०६३ सालमा छुवाछूत मुक्त राष्ट्रको घोषणा र दलित समुदायको संवैधानिक हकको सुनिश्चितताको स्मरण गर्दै उहाँले दलित समुदायको आन्दोलनले नीति निर्माणमा सरकारलाई बल पुगेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालमा लोकतन्त्रको स्थापना र पुनःवहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्नेबारे पटकपटक सार्वजनिक घोषणा भएका छन्,  जातीय भेदभाव र छुवाछूत समाजको कलङ्क हो, यो कलङ्ककै रुपमा रहनु हुँदैन, प्रत्येक नागरिकको न्यायमा समानता हुनेगरी जीवन जिउँन पाउनुपर्छ ।”       उहाँले सरकारले छुवाछूतविरुद्ध ऐन÷कानून निर्माण गरी सभ्य समाज निर्माण गर्दै आएको बताउँदै शान्तिपूर्ण आन्दोलनमा लागेका दलित समुदायलाई नथाक्न आग्रह गर्नुभयो । जातीय भेदभाव र छुवाछूतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यान जानेसम्मका घटना हुनु दुःखद भएको बताउँदै उहाँले त्यस्तो परिस्थितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।       आजै दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित ‘सर्वजीत’ नामक चलचित्रको शुभ मुहुर्तसमेत गरिएको छ । सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘सर्वजीत’ नामक चलचित्र निर्माणको निम्ति आफ्नो पाँच महिनाको पारिश्रमिक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।       कार्यक्रममा पूर्वमन्त्रीद्वय मीन विश्वकर्मा र दलजीत श्रीपाइली, संविधानसभाका सदस्य परशुराम रम्तेल, सांसद राजेश विश्वकर्मा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुलगायतले दलित समुदायले भोग्दै आएको आर्थिक, सामाजिक र सांस्कृतिक समस्यालाई एकीकृत रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।       कार्यक्रममा दलित महिला केन्द्रले यस वर्षको ‘ईभा कसेल सामाजिक न्याय पुरस्कार’ संविधान सभाका सदस्य शम्भु हजारा पासवानलाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । 

  म्याग्दी:     म्याग्दीका एक युवाले संस्कृत साहित्यको  ‘उद्यमेन सिद्धयन्ती कार्याणी वा मनोरथै’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु (चाहना) पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यावहारिकरुपमा नै चरितार्थ गरी दिनुभएको छ ।      १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुङ्गानाले पेशा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्नुकासाथै परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल हुनुभएको छ ।      “प्रायः नेपाली युवा विदेश जान मरिहत्ते गर्छन् । विदेश जान भएको घरजग्गासमेत धितो राखेर ऋण लिन्छन् । गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्ड घिउसँग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर्बर दिन खेर फालिरहेका हुन्छन्”, ढुङ्गानाले भन्नुभयो, “परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझ्दैनौँ ।”      स्वदेशमै सम्भावना देखेर गाउँ फकिएका ढुङ्गानालाई गाउँ आएपछि साथीहरुले अमेरिका जान उचाले । उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामाभन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो । आजभन्दा नौ वर्ष पहिले विसं २०७० मा कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएका ढुङ्गानाको फर्ममा अहिले २२ मुर्रा जातका भैंँसी र दुई जर्सी गाई दुहुना छन् ।       ती भैँसी र गाईबाट दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको ढुङ्गाना बताउनुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक रु चार लाख आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा वचत हुने उहाँको भनाइरहेको छ । फार्ममा अहिले रु पचास लाख लगानी भइसकेको उहाँले बताउनुभयो । उहाँले भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।      “बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पुर्याउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरी डेरी उद्योगमा दैनिक १५० लिटर दूध पुर्याएपछि बल्ल शरीरमा फुर्ति आउँछ”, ढुङ्गानाले भन्नुभयो ।      प्रतिलिटर ९० रुपियाँमा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पुर्याउनुहुन्छ । उहाँले भन्नुहुन्छ “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर, गुणस्तरलाई खस्कन दिनुहुँदैन भन्ने मेरो मान्यता छ ।” पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ । जहाँ दुईलाई रोजगारीसमेत दिनुभएको छ ।     भैंसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफै खटिने ढुङ्गानाले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताउनुहुन्छ ।       ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिदैन । आफुलार्य फापेको भैंसीपालनसँगै उहाँले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले ढुङ्गानाको फर्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक रु आठ लाख पुग्छ । गाईभैँसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उहाँको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्ने कमाइभन्दा बढी हुन्छ । म्याग्दीमा बढ्यो दूधको मूल्य      म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुसी भएका छन् ।      मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र ब्यापारीले अधिकतम रू १३२ सम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य रु ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई रू १२० मा बिक्री गर्ने गरेका थिए । गाईको प्रतिलिटर रू ८० कायम गरिएको छ ।     मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर रु २० र डेरी ब्यवसायीले १२ रुपैयाँ बढी पाउने भएका छन् । केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी ब्यवसायीले किसानबाट खरिद गरेकोभन्दा २० प्रतिशत बढी लिन नपाउने बताउनुभयो ।     दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनी नपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताउनुभयो । “हरेक वर्ष मूल्यवृद्धिअनुसार समायोजन हुनुपर्छ, कृषकको माग सम्वोधन भएको छ” पौडेलले भन्नुभयो । यता उपभोक्ताले दूध आम उपभोक्तासामु पु¥याउन गुणस्तरमा ध्यान दिँदै मूल्यस्थिर बनाउनुपर्नेमा जोड दिएका छन् ।       उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनगुमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा सहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, विक्रेता कमिसनसम्म ध्यान दिदाँ दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ ।  

सिरहा:    पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक लामो समयदेखि मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् ।   राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपर्दा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेको र धुलोका कारण व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन् ।       हिजो तीन घण्टा राजमार्ग आवरुद्ध पारेका उनीहरुले सडक मर्मत नगरिए अझ सशक्त आन्दोलन गर्ने बताएका छन् । बजार क्षेत्रको करिब तीन किलोमिटर सडक विगत केही वर्षदेखि भत्किएको र सधैँ धूलो, धुँवा र हिलोबाट आफूहरु पीडित बनेको स्थानीय व्यापारी अशोक साहले बताउनुभयो । सडकको खाल्डाखुल्डी पुर्न र मर्मत गर्न पटकपटक जिल्ला प्रशासन कार्यालय, मिर्चैया नगरपालिका, सडक डिभिजन कार्यालयलगायत निकायलाई गुहारे पनि सुनुवाई नभएकाले आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ थियो ।       दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप हुदाँ पनि सम्बन्धित सरोकारवाला निकायले मर्मतसम्भार गर्न ध्यान नदिएको उनीहरुको आरोप छ ।  राजमार्गको ठाउँठाउँमा गरिएको कालोपत्रे अघिल्लो वर्ष अविरल वर्षाका कारण भत्किदा पनि अझैसम्म टालटुल हुन सकेको छैन । मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस स्टेसनमा रहेका ठूलाठूला खाल्डाखुल्डीले पैदल यात्रीलाई पनिआवातजावत गर्न समस्या भइरहेको छ ।       सडकमा रहेका खाल्डाखुल्डी पार गर्न चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको र चालकले पनि जोखिम मोलेरै सवार िसाधान चलाइरहेकाले छिटै कालोपत्रे गरेर दिगो समाधान गर्न ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो । नगरप्रमुख श्रवणकुमार यादवले सडकको अवस्थाप्रति आफूहरु चिन्तित रहेको उल्लेख गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

काठमाण्डौँः      प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ ।        कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताउनुभयो ।    प्रधानमन्त्री देउवा ले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौँ । बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृङ्खला नाङ्गिँदै गएका छन् भने  नदी प्रणालीमा समेत असर गर्दै आएको देखिन्छ ।”     प्रधानमन्त्री देउवाले मौसम परिवर्तनले दीर्घकालमा मानवजीवनलाई नै गम्भीर असर सिर्जना गर्नसक्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै वातावरण दिवसको पूर्वसन्ध्यामा हुने यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकस्तरमा वातावरणको महत्व बुझाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।        “वातावरण दिवसको सन्दर्भ पारेर आयोजना गरिएको यस हाफ म्याराथनले वातावरणको महत्वको विषयमा सचेतना दिन सहयोग पुग्ने छ भन्ने मैले विश्वास लिएको छु । शारीरिक व्यायामका कार्यक्रम तपाई हामी सबैका लागि आवश्यक छन् । स्वस्थ जीवननै मानिसको अमूल्य सम्पति हो । त्यसका लागि यस्ता शारीरिक व्यायाम हुने कार्यक्रम आयोजना हुन आवश्यक छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।      कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन सङ्कटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन ‘रन द कान्तिपुर हाफ म्याराथन २०२२’ आयोजना गरेको जनाएको छ । ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करण सुरु भएको हो ।