उदयपुरः नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका –८ घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जनलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । कीर्तिपुर नगरपालिका–३ ढाल्पास्थित सडकमा कुटपिट गर्दा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले मृतक खत्रीको झोलाबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३१ एम्पुल, फेनार्गन ६४ एम्पुल र नुर्फिन ७२ एम्पुल बरामद गरेको गरेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सङ्खुवासभाः सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।
पाटन: यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ । गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिनुभयो । यार्सागुम्बा सङ्लनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासी, हिमा गाउँपालिकालगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ गएका छन् । आर्थिक स्रोत जुटाउन यार्सा टिप्न पाटनतिर लागेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले बताउनुभयो । १८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा सङ्कलन गर्न गएका छन् । खेतीपातीबाट घरखर्च लगाउन पनि गह्रो हुने भएकोले स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोतनै जडीबुटी हो । घरखर्चदेखि बालबच्चाको पढाइखर्च सबै यार्सा सङ्कलनबाट हुने गरेको स्थानीयवासीले जनाएका छन् । पाटनमा यार्सा सङ्कलन निकै कठिन हुने गरेको छ । सङ्घीय सरकार, प्रदेशसरकारदेखी स्थानीय सरकारले गाउँमै आत्मनिर्भरका कार्यक्रम ल्याउन नसक्दा यो समस्या खडा भएको तिला गाउँपालिका स्थानीयवासी काली नेपालीले बताउनुभयो ।
काठमाडौं: काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहान काठमाडौं नै फर्किएको छ । बिहान १०ः४३ बजे उडेको विमान टायरमा समस्या देखिएपछि बीचबाटै काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डकन कार्यालयले जनाएको छ । फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।
तनहुँ: तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि रु दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि रु एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ । भानु नगरपालिकाका लागि चालुतर्फ रु ५२ करोड ७३ लाख र पुँजीगततर्फ रु पाँच करोड नौ लाख गरी कूल रु ५७ करोड ८२ लाख, भिमाद नगरपालिकाका लागि चालतुर्फ रु ३९ करोड ६१ लाख र पुँजीगततर्फ रु चार करोड ९७ लाख गरी कूल रु ४४ करोड ५८ लाख, व्यास नगरपालिकाका लागि चालुतर्फ रु ७१ करोड ३९ लाख र पुँजीगततर्फ रु १४ करोड ३८ लाख गरी कूल रु ८५ करोड ७७ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालुतर्फ रु ४८ करोड २३ लाख र पुँजीगततर्फ रु नौ करोड १७ लाख गरी कूल रु ५७ करोड ४० लाख विनियोजन भएको छ । आँबुखैरेनी गाउँपालिकाका लागि चालुतर्फ रु २५ करोड ३४ लाख र पुँजीगततर्फ रु तीन करोड एक लाख गरी कूल रु २८ करोड ३५ लाख, ऋषिङ गाउँपालिकाका लागि चालुतर्फ रु ३२ करोड ८३ लाख र पुँजीगततर्फ रु एक करोड ८१ लाख गरी कूल रु ३४ करोड ६४ लाख, घिरिङ गाउँपालिकाका लागि चालुतर्फ रु २४ करोड ९६ लाख र पुँजीगततर्फ रु तीन करोड ८१ लाख गरी कूल रु २८ करोड ७७ लाख विनियोजन भएको छ । देवघाट गाउँपािलकाका लागि चालुतर्फ रु २८ करोड ६४ लाख र पुँजीगततर्फ रु दुई करोड ८६ लाख गरी कूल रु ३१ करोड ५० लाख, म्याग्दे गाउँपालिकाका लागि चालुतर्फ रु २७ करोड ७९ लाख र पुँजीगततर्फ रु चार करोड ७४ लाख गरी कूल रु ३२ करोड ५३ र बन्दीपुर गाउँपालिकाका लागि चालुतर्फ रु २७ करोड ४९ लाख र पुँजीगततर्फ रु छ करोड दुई लाख गरी कूल रु ३३ करोड ५१ लाख बजेट विनियोजन भएको छ ।
मनाङ: हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई रु१६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाईरु१४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिनुभयो । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । सङ्घ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे–बेँसीसहर–चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रूपमा सङ्घ सरकारले रु६१ करोड २८ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ । सङ्घीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव सङ्कलन गरिरहेका छन् ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताउनुभएको छ । अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उहाँको तर्क थियो । वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पैसा भएर त किन्ने अवस्था छैन भने बजेट घटाएर कसरी बढाउन सकिन्छ ।” खाद्यमा अन्तशुल्क लगाउँदा विदेशी खाद्यान्नको आयात बढ्ने पूर्वअर्थमन्त्री पाण्डेले बताउनुभयो । बिस्कुट, कुकिजलगायत स्वदेशमा नै उत्पादन हुने खाद्यान्नमा अन्तशुल्क बढाउँदा विदेशी खाद्यान्न सस्तो पर्ने उहाँले बताउनुभयो । सेनेटरी प्याडमा ९० प्रतिशतसम्म आयकर छुट दिँदा देशभित्रका उद्योग सुक्दै जानसक्ने उहाँले बताउनुभयो । सरकारले कयौँ योजना थपेको छ कतिपय छाडेको पूर्वमन्त्री पाण्डेले बताउनुभयो । निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न गाहे हुने उहाँले बताउनुभयो । सरकारले चाहेर पनि पेट्रोलियम पदार्थलगायतका बस्तुको आयात रोक्न नसक्ने उहाँको भनाइ छ ।
दार्चुलाः दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताउनुभयो । पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिनुभयो ।
काठमाण्डौँः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।