पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

मुस्ताङ:  तारा एयरको जहाज दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको शव फेला परेको छ । तर उनीहरुको सनाखत भने हुन सकेको छैन ।    मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान भेटिएको थियो ।     आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाईलट उत्सव पोख्रेल एयरहोस्टेज कृष्मी थापा गरि ३ जना चालक दलमा रहेका थिए । भने १९ यात्रुमध्ये २ जर्मनी नागरिक, ४ भारतीय नागरिक र १३ जना नेपाली यात्रु रहेका थिए ।    सो मध्ये गोरखाको एकै परिवारको ४ जना र धनुषाको एकै परिवारको ७ जना विमानमा रहेको पुष्टि भएको छ ।  यो समाचार तयार पार्दासम्म कुल १४ जनाको शव फेला पारिएको छ भने अन्यको खोजीकार्य तिव्र पारिएको नेपाली सेनाले जनाएको छ ।   उक्त दुर्घटनामा परि ज्यान गुमाएका एयरहोस्टेज कृष्मी थापा अब सम्झनामा मात्रै रहेकी छिन् । विगत ५ वर्षदेखि तारा एयरमा काम गर्दै आएकी कृष्मीको अर्काे नाम ‘मनिषा’ पनि हो । जुन सामाजिक सञ्जाल फेसबुकमा देखिन्छ । थापा फुटबलप्रेमी मात्र नभई क्रिस्टियानो रोनाल्डोको सर्मथक समेत रहेकी थिइन् ।   सम्झनामा रहेकी स्याङ्जाकी २६ वर्षिया​ एयरहोस्टेज कृष्मीथापाको तस्वीरहरु:-                  

दाङ:    दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट  पैदलयात्रुको मृत्यु भएको छ ।    राप्ती गाउँपालिका–४ श्री नारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोही वडा खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिनुभयो ।    शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको , ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

मुस्ताङ:   तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ ।   चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।   कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । “पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।” यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।   मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेना सहित , फिस्टेल र कैलाश एयरको एक÷एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउनुभयो । मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ । कुहिरो हट्नै बित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने तयारी गरिएको छ ।   थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ ।   कुहिरो लागेको र प्रतिकुल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन् । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडाँैबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।   पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ ।   जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक थिए । उनीहरुको अवस्था अहिलेसम्म नखुलेको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

धनुषा- सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज अहिलेसम्म सम्पर्कविहीन छ ।   सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।   विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।   गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँले चिन्तित भएका छन् ।   सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।

  काठमाण्डौँ:    सांसदहरूले यौनजन्य हिंसाका घटना र प्रकृतिमा फरकपना आई बढ्न थालेकाले कानुनमा बलात्कारकै पुनःपरिभाषा गरिनुपर्नेमा जोड दिनुभएको छ ।   बलात्कारका घटनामा उजुरी गर्न हदम्याद हुन नहुने बहस चलिरहेका बेला प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति, महिला, कानुन र विकास मञ्च एवं इक्वालिटी नामको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘यौन हिंसासम्बन्धी कानुन, अन्तर्राष्ट्रिय अभ्यास र आगामी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा सांसदहरूले विज्ञहरूसँग परामर्श गरेर ठोस कानुन निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।   सांसद विमला विकले अपराध गर्नेलाई जेल राखेर मात्र पीडितलाई न्याय नहुने भएकाले पीडितलाई पहिलेकै अवस्थामा पुर्याउनुपर्नेमा जोड दिनुभयो । संसद् जारी रहेकाले बलात्कारका घटनामा हदम्याद हटाएर बलात्कारको पुनःपरिभाषा गरी विधेयक ल्याउनुपर्ने उहाँको भनाइ थियो ।    सांसद बीना श्रेष्ठले महिलामाथि हुने सबै हिंसालाई एउटै कानुनमा समेटेर ल्याउनुपर्ने विचार राख्नुभयो । बलात्कारका घटनामा हदम्याद हटाउनुर्ने र बलात्कारको पुनःपरिभाषा गरिनुपर्नेमा उहाँको जोड थियो ।   सांसद नारायणप्रसाद खतिवडाले देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई हेरेर कानुन बनाउनुपर्ने बताउनुभयो । एउटा विषय उठेपछि कानुन बनाउनुपर्ने र अर्को घटना बाहिर आएपछि पछुताउन नहुने भएकाले कानुन बनाउँदै यस्ता विषयमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।   सांसद विन्दा पाण्डेले पछिल्लो समय सौन्दर्य प्रतियोगिताका नाममा यौन शोषण भएको विषय सार्वजनिक भएको घटना जघन्य अपराधको एउटा उदाहरण भएकाले यसलाई अन्य घटनासँग तुलना गर्नु नहुने बताउनुभयो ।   सांसद लक्ष्मी परियारले चितवनको घटनामा श्रीमान्ले हात हालेर श्रीमतीको पाठेघर निकालेका जस्ता जघन्य अपराधले घटना फरक तरिकाले हुन थालेको उदाहरण रहेको भन्नुहँदै त्यसैअनुसार कानुन निर्माण हुनुपर्ने बताउनुभयो ।   महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले पछिल्लो घटना सार्वजनिक भएसँगै समितिले सरोकार भएका निकाय राखेर छलफल गरी हदम्यादको कानुनी व्यवस्था सुधार गर्न निर्देशन दिएको बताउनुभयो । एसिडपीडितका विषयमा छलफल गरेपछि त्यस विषयमा यसअघि सरकारले अध्यादेश ल्याएजस्तै बलात्कारका घटनामा हदम्याद हटाउने व्यवस्था पनि छिट्टै कानुनीरूपमा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।   कार्यक्रममा सांसदहरू अमृता थापा, थममाया थापा, प्रमिला कुमारी, समिति सचिव एकराम गिरीलगायतले महिला हिंसाका घटना निरन्तर बढिरहेकाले कानुन संशोधन एवं भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।   मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले भारत, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स र बेलायतमा पनि बलात्कारका घटनामा हदम्याद नभएकाले दोषीमाथि वर्षौँपछि पनि कारबाही हुने गरेको बताउनुभयो । नेपालमा यी अभ्यासलाई हेरेर हदम्याद हटाउनेलगायत कानुन सुधारका काममा पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । –––

काठमाण्डौँ:    पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्ने कार्यलाई मानापाथी हिमालको फेदीतर्फ केन्द्रित गरिएको छ ।   भेडीगोठवाला स्थानीयद्वारा मानपाथी हिमालको फेदीतर्फ जहाज दुर्घटना भएको हुनसक्ने जानकारीका आधारमा खोजी टोली त्यसतर्फ केन्द्रित बनेको नेपाली सेनाका सेनानी प्रेम पौडेलले जानकारी दिनुभयो ।   ​स्थानीयद्वारा आशङ्का गरिएको दुर्घटना भएको ठाउँमा पुग्न कोवाङदेखि तीन घण्टा लाग्ने जनाइएको छ ।   जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेका अनुसार बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर कोवाङमा अवतरण भएको भने अर्को फिष्टेल एयरको हेलिकोप्टर जोमसोम विमानस्थलमा रहेको छ ।   उक्त क्षेत्रमा जहाजको खोजीका लागि स्थलमार्ग हुँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली परिचालन भएको छ ।   पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ः५५ बजे उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।

पोखरा:    पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो ।     हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताउनुभयो ।       “हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो”, उहाँले भन्नुभयो, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो” । उहाँले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताउनुभयो ।      “घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ”, उहाँले भन्नुभयो, “केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।”      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ । तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उहाँले बताउनुभयो ।      “त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन”, उहाँले भन्नुभयो, “आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।”      सम्पर्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।

काठमाडौँ:     नेपाल सरकारले शिक्षामा सूचना र प्रविधिको उपयोग बढाइ गुणस्तर सुधार्ने नीति लिएपछि मुलुकका ५१ दशमलव २५ प्रतिशत सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा पुगेको छ ।     हाल मुलुकभर २६ हजार ४५४ सामुदायिक विद्यालय रहेकामा १३ हजार ५५९ विद्यालयमा कम्प्युटर उपलब्ध भई आठ हजार ६७६ विद्यालयका शिक्षण क्रियाकलापमा सूचना र प्रविधिको प्रयोग हुन थालेको छ । सूचना प्रविधिको उपयोगबाट शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन तीन हजार १९३ माध्यमिक तहका विद्यालयमा सूचना प्रविधि प्रयोगशाला आइसिटी ल्याब स्थापना गरिएको नेपाल सरकार, अर्थ मन्त्रालयको ‘मन्त्रालयगत प्रगति विवरण’ मा जनाइएको छ ।       शैक्षिक पूर्वाधार निर्माणमा केन्द्रित ‘राष्ट्रपति शैक्षिक सुधार’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा भौतिक सेवा सुविधा सुधार, आइसिटी ल्याब व्यवस्थापन तथा प्राविधिक धार सञ्चालनमा रहेका विद्यालयको प्रयोगशाला सुदृढीकरणका लागि यस आर्थिक वर्षमा विद्यालय छनोट भई सःशर्त अनुदानका रुपमा स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ ।      हालसम्म यस कार्यक्रमबाट चार हजार १७२ सामुदायिक विद्यालयले अनुदान प्राप्त गरेका छन् । सो कार्यक्रमबाट सामुदायिक विद्यालयमा डिजिटल पुस्तकालयमा आइटी ल्याब व्यवस्थापनका लागि यस वर्ष दुई हजार १८१ विद्यालय छनोट भई वित्तीय हस्तान्तरण भएको छ ।       सरकारले चालू आर्थिक वर्षको बजेटमा आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यका साथ मुलुकभरका ६० प्रतिशत विद्यालयमा सेवा विस्तार गर्ने लक्ष्य लिएको थियो । सो लक्ष्य अन्तर्गत सबै माध्यमिक विद्यालय र आधारभूत तह कक्षा ६ देखि ८ सम्मका विद्यालयलाई इन्टरनेट शुल्क उपलब्ध गराउने र थप एक हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिएको छ ।       अघिल्लो सरकारले सुरु गरेको सो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाटै सरकारले चालु आर्थिक वर्षमा प्रदेशस्थित तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि, २०७८ जारी गरेको छ ।      कोभिड–१९ को प्रभावका कारण भौतिकरुपमा विद्यालय सञ्चालन नभएका अवस्थामा सरकारले चालू आर्थिक वर्षको बजेटमा वैकल्पिक शिक्षण सिकाइ कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्दै विद्यालय जान नपाएका विद्यार्थीलाई लक्षित गरी सिकाइ पोर्टलको विकास तथा नेपाल टेलिभिजनमार्फत शैक्षिक च्यानल सञ्चालनमा ल्याउने उल्लेख गरेको थियो । सो कार्यक्रम कार्यान्वयनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाठ्यक्रममा आधारित थप श्रव्य तथा श्रव्यदृष्य पाठ उत्पादन कार्य गराउन विषयको नक्साङ्कन र स्क्रिप्ट विकास कार्य सम्पन्न गरेको छ ।        कक्षा १ देखि १० सम्ममा ५९० श्रव्यदृष्य पाठ उत्पादन भएको छ । ती पाठहरु एनटिभी प्लस, डिसहोम, माक्स टिभी, मेरो टिभी, नेट टिभी र क्ल्यिर टिभीको स्कुल एजुकेशन च्यानलबाट नियमितरुपमा प्रसारण भइरहेको छ ।      यसैगरी सरकारले दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पाठ्यपुस्तक छपाइ गरी निःशुल्क वितरण गर्ने कार्यक्रम राखेको छ । विद्यालयमा कम्प्युटर र  सूचना प्रविधि प्रयोगशालाको उपलब्धता बढे पनि उचित प्रयोग भएको छ या छैन भन्नेबारेमा हालसम्म अनुगमन र अध्ययन भने भएको छैन । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक डिल्लीराम लुइँटेलले कोभिडको अवधिमा घरघरबाट पनि सूचना प्रविधिको प्रयोगबाट शिक्षण सिकाइ गराइएको तर विद्यालयमा आइसिटी ल्याबको शतप्रतिशत प्रयोग भएको सुनिश्चिता गर्न भने नसकिने बताउनुभयो ।    आइसिटी ल्याबको उपयोगका सम्बन्धमा अनुगमन गरी प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका केन्द्रीय सचिव देवी खड्काले सरकारले सूचना प्रविधिमा लगानी बढाउनु सकारात्मक भए पनि यसको उपयोगको क्रम पनि बढाउनुपर्ने बताउनुभयो ।       सिन्धुलीको कमला मावि विद्यालय व्यवस्थापन समितिका सदस्य खड्काले विद्यालयमा प्राप्त सुविधाको प्रयोगका लागि विद्यार्थीलाई पहुँच दिलाइ शिक्षक, अभिभावकलाई प्रशिक्षित गराइनुपर्ने बताउनुभयो ।       संविधानतः माध्यमिक तहसम्मको विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहको भएकाले स्थानीय तहबाटै अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवालाको सुझाव छ ।

 काठमाण्डौँ:     सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ ।    कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५.५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ । यस्तो खर्च सन् २०२१ को तुलनामा २६.१ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करिब ७० प्रतिशतले कमी आएको आर्थिक सर्वेक्षण २०७७–७८ मा उल्लेख छ ।    सन् २०२० मा कूल पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजारमा सीमित रहन पुग्यो । उक्त वर्ष पनि कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । सन् २०१९ मा विदेशी पर्यटक आगमन २.१ प्रतिशतले बढेकामा सन् २०२० मा यस्तो आगमन ८०.८ प्रतिशतले घटेको थियो ।   कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किदै गरेको छ । सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमन दर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो ।    सन् २०२१ मा एक लाख ५० हजार ६९२ र सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६.८ प्रतिशतले बिदा, मनोरञ्जन र यात्रा, १०.३ प्रतिशत पर्वतारोहण/साहसिक यात्रा/पदयात्रा, ७.४ प्रतिशतले तीर्थयात्रा र १५.५ प्रतिशतले अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् । कूल पर्यटक आगमन सङ्ख्याको आधारमा सन् २०२१ मा सबैभन्दा बढी पर्यटक आउने ५ मुलुकमा क्रमशः भारत ४२.८३ प्रतिशत, संयुक्त राज्य अमेरिका १५.१३, बेलायत ५.७४, चीन ४.१० र बङ्गलादेश ३.३४ प्रतिशत छन् ।    नेपालको भ्रमण गर्नेमा भारतीय पर्यटकको सङ्ख्या सबैभन्दा बढी रहेको छ ।  झण्डै दुई वर्ष विदेशी पर्यटक आगमन खुम्चिँदा विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतको रुपमा रहेको पर्यटन क्षेत्र शिथिल बन्दा समग्र देशको अर्थतन्त्र र यसमा आवद्ध व्यवसायी र मजदूर मर्कामा परेका छन् ।