पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

बागलुङ:     प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी कप–२०८० अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।  प्रेस चौतारी बागलुङले सोमबार पत्रकार सम्मेलन गरी प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा माघ १९ गतेदेखि २२ गतेसम्म बागलुङमा प्रेस चौतारी कप गर्न लागेको जानकारी गराएको हो ।  पत्रकार सम्मेलनमा अध्यक्ष सिर्जना पन्तले पत्रकारका साथै विद्यालय र विद्यार्थीहरुलाई खेल र खेल पत्रकारितासँग जोड्नको लागि प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।  ‘राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्गम स्थल विद्यालय हो, विद्यालय केन्द्रित प्रतियोगिता नियमित आयोजना हुनुपर्छ,’ अध्यक्ष पन्तले भन्नुभयो,‘चौतारीले यो प्रतियोगिता यहि हेतुका साथ गर्न लागेको हो, पत्रकारका साथै विद्यालय र विद्यार्थीलाई समेत खेल र खेल पत्रकारितासँग जोड्नुपर्छ ।’ अध्यक्ष पन्तले केन्द्रीय मूलधारको मिडियामा बिट पत्रकारिता हुने र मोफसलमा सबै बिधामा उत्तिकै पोख्त हुनुपर्ने बाध्यता रहेको बताउँदै जिल्ला स्तरमा हुने दुर्लभ प्रतियोगिता र त्यसको रिर्पोटिङमा देखिने यथेष्ट अभ्यास, ज्ञान र अनुभवको कमीलाई पुरा गर्न ठोस पहलकदमी कसैले नउठाएका कारण चौतारीले अग्रसरता देखाएको बताउनुभयो । उहाँले यस प्रतियोगितालाई सामाजिक, सांगठनिक उत्तरदायित्व नै ठानेको बताउनुभयो । प्रतियोगिताले फुटबल प्रतियोगिता सहित समग्र खेल रिपोर्टिङमा समेत टेवा पुग्ने अपेक्षा लिएको अध्यक्ष पन्तको भनाई छ । उहाँले प्रतियोगितामा जित हारको सूचना समाचार मात्र नभई जिल्लाको खेलकुद पत्रकारितालाई खेल र नतिजालाई रिपोर्टिङ भन्दा फराकिलो दायरामा लैजानु अपरिहार्य रहेको बताउँदै खेल पूर्वाधार, खेलाडी प्रोफाइल, खेल सम्भावना, खेल एकता र जिलला भित्रको फुटबलको समग्र विकास जस्ता विषय पनि समेट्ने प्रेरक परिवेश तयार गर्नका लागि प्रतियोगिता सिद्ध हुने बताउनुभयो ।  प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने सचिव अर्जुन कार्कीले बताउनुभयो । उहाँले प्रतियोगितामा ४ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च लाग्ने जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि जिल्ला फुटबल संघ बागलुङ र जिल्ला खेलकुद विकास समिति बागलुङको प्राविधिक सहयोगका साथै विभिन्न संघ, संस्था, बैंक तथा स्थानीय तहहरुले सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।  प्रतियोगितामा १५ भन्दा बढी विद्यालयहरुको टिमले सहभागिता जनाउने अपेक्षा गरिएको उपाध्यक्ष तथा टिम व्यवस्थापनका संयोजक खेमराज गौतमले सुवासले जानकारी दिनुभयो । टिम दर्ताको लागि माघ १७ गतेसम्मका समय रहेको र दर्ता शुल्क पाँच हजार रुपैयाँ रहेको उहाँको भनाई छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिता सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर खेलमैदानमा हुनेछन् । माघ २२ गते २६ औं स्थापना दिवसको मुल समारोहमा प्रतियोगिताको फाइनल खेलका साथै प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार र प्रेस चौतारी युवा क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तारानाथ आचार्यले जानकारी दिनुभयो ।

काठमाडौं:     नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बनेको छ । सोमबार मुलपानीमा भएको खेलमा गण्डकी प्रदेश विरुद्ध ६ विकेटको जित दर्ता गरेको पुलिसले लगातार सातौँ जित सहित दुई खेल खेल्नु अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यसपटक शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्ने समीकरण रहेको छ । हाल पहिलो स्थानमा रहेको पुलिसले अहिलेसम्म खेलेका सबै खेलमा जित हासिल गर्दै १४ अंक जोडेको छ । अब त्रिभुवन आर्मी क्लब बाहेक अरु कुनै टोलीले १४ अंक पुर्याउन सक्ने छैनन् । १२ अंक जोडेका बागमती र मधेशले सबै खेल खेलिसकेका छन् । ७ खेलमा ८ अंक सहेको एपिएफ पनि फाइनल पुग्ने होडबाजीमा छ ।  पुलिसले आज गण्डकी प्रदेशले लिएको १७१ रनको लक्ष्य २४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि ओपनर दिलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्का सहित ५७ रनको विष्फोटक इनिङ खेले । यस्तै अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । अर्कातिर आरिफ शेखले २२ बलमा २७ रन बनाएर नटआउट रहे । ओपनर कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्का सहित २२ रन बनाएर आउट भएका थिए । गण्डकीका लागि सन्दिप पराजुलीले २ विकेट लिए भने कमल परियार र बिपिन खत्रीले समान १÷१ विकेट लिए ।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रनमा समेटियो। गण्डकीका लागि अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित ५० रनको आक्रामक अर्धशतकिय इनिङ खेले । यस्तै करन पंगेनी र कमल परियारले समान ३०÷३० रन बनाउँदा समिर कंडेलले २९ रन बनाए ।    पुलिसका लागि राशिद खान एक्लैले ६ ओभरमा २५ रन दिँदै ५ विकेट लिए । यस्तै करन केसी र ललित राजबंशीले समान २÷२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।   

काठमाडौं: बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमलाई बिदाइ गरिएको छ ।   अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् ।   उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ ।    २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।   राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।   ४ फेब्रुअरीमा भुटानसँग खेल्ने नेपालले ६ फेब्रुअरीमा भारतसित खेल्ने छ ।

पोखरा:     गतवर्षको च्याम्पियन संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ३–० ले पराजित गरेको हो ।  पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको पहिलो खेलमै साविक विजेता समेत रहेको संकटा त्रिभुवन आर्मी क्लबसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।  आर्मीको जितमा दिनेश हेमजनले २ तथा जिलेस्पीजंग कार्कीले १ गोल गरे । गतवर्षको प्रतियोगितामा संकटा क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल पराजित गरेको थियो ।  आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

पोखरा:   विन्ध्यवासिनी बसपार्क युथ क्लबद्वारा आयोजित प्रथम बिबिवाइसी एमेच्योर फुटसल प्रतियोगितामा डोना एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका ४ स्थित बिफिट फुटसलमा शनिबार भएको फाइनल खेलमा नदीपुर टिम ‘बि’ लाई टाईबेकरमा ४–३  गोल अन्तरले पराजित गर्दै डोना एफसी च्याम्पियन बनेको हो ।   निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा पुगेको थियो ।   च्याम्पियन बनेसँगै डोना एफसीले ५५ हजार ५ सय  रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिमले २७ हजार ७ सय ७७ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    खेल संयोजक विकास साईका अनुसार सो प्रतियोगिताबाट डोना एफसीका विनय तामाङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।     यस्तै सोही टिमकै मुमिन तामाङ उत्कृष्ट गोलरक्षक र नदीपुर टिम ‘बि’ का आशिष गुरुङले प्रतियोगिता अवधिभर १० गोल गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए ।   कुल २८ टिमको सहभागिताबाट विजेता तथा उपविजेता बनेका टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरका २ का वडाध्यक्ष दिवसमान प्रधानांग, नेपाल राष्ट्रिय खड्की समाजका अध्यक्ष हर्कमान साई, ज्ञानुबाबा माविका सञ्चालक कृष्ण बहादुर गुरुङ र शुभकन्या गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष रुपेश साई लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा:    गण्डकी प्रदेश टेनिस संघ तदर्थ समितिको अध्यक्षमा बिनोद कायस्थ सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा शनिबार सम्पन्न भेलाले अध्यक्षमा कायस्थसहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, सचिवमा नविन चालिसे र कोषाध्यक्षमा प्रीती बराल चयन भएका छन् । यसै गरी कार्यसमिति सदस्यमा सञ्जय खड्का (बागलुङ), दिपक श्रेष्ठ (तनहुँ), मुकुन्द मल्ल (पर्वत) र चिन बहादुर पुन (नवलपुर) रहेका छन् । अध्यक्षमा निर्वाचित कायस्थ कास्की टेनिस संघको संस्थापक अध्यक्ष तथा नेपाल टेनिस संघको उपाध्यक्ष समेत् हुन् । उनको कास्कीको टेनिस खेल विकासमा महत्वपूर्ण योगदान रहेको छ । उनकै नेतृत्वमा पोखरा रंगशालामा टेनिस कम्लेक्सको निर्माण तथा विकास समेत भएको हो । अध्यक्ष कायस्थले कास्की केन्द्रित टेनिस खेललाई प्रदेशका ११ जिल्लामा नै विस्तार गर्न आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिवद्धता व्यक्त गरे । यस अघि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवं खेल पत्रकार केशव पाठकले बधाई दिंदै गण्डकी प्रदेशको टेनिस खेलको विकासमा नयाँ नेतृत्वले योजनावद्ध रुपमा योजनाहरु अघि सार्न आग्रह गरे । कार्यक्रम भेला गठन समितिका संयोजक एवं नेपाल टेनिस संघका उपाध्यक्ष कायस्थको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामीले समेत आफ्ना भनाई राखेका थिए । 

पोखरा:    पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपका आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसीबीच हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको यो पहिलो सहभागिता हो । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । र, माघ १७ गते जावलाखेल र मनाङमर्स्याङ्दीमध्ये एकजनासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

पोखरा:   अनेरास्ववियु जिल्ला कमिटी कास्कीको खेलकुद विभागद्वारा आयोजित प्रथम अखिल कपको उपाधि पोखरा विश्वविद्यालयले जितेको छ ।   पोखरा महानगरपालिका १६ स्थित चिन फुटसलमा आज (शुक्रबार) भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै पोखरा विश्वविद्यालयले उपाधि जितेको हो ।   उपाधिसँगै पोखरा विश्वविद्यालयले ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिमले ८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलका अनुसार सो प्रतियोगिताबाट अन्नपूर्ण गाउँपालिकाका सविन नेपाली सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।     यस्तै पोखरा विश्वविद्यालयका  सागर अधिकारी उत्कृष्ट गोलरक्षक  र माछापुच्छ्रे गाउँपालिकाका सफल ढकालले प्रतियोगिता अवधिभर कुुल ११ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए ।   विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज विजय पौडेल, अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य किशोर सुवेदी, अनेरास्ववियु कास्की इन्चार्ज अनुप लामिछाने, अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेल, पिइएनका अध्यक्ष शैलेन्द्र क्षेत्री अनेरास्ववियु कास्कीका खेलकुद विभाग प्रमुख सागर पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।   प्रतियोगिताको समापन समारोह पूर्व आयोजक कमिटी र पोखराका मिडियाकर्मीबीच भएको मैत्रीपूूर्ण खेलमा मिडियाकर्मी टोलीले आयोजक कमिटीलाई ६–४ गोल अन्तरले पराजित गरेको थियो ।    कास्की जिल्ला भित्रका विभिन्न १९ क्याम्पसको टिमले सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।   सो अवसरमा बोल्दै अधिकारीले खेलकुदको माध्यमबाट सबै विद्यार्थीलाई एउटै सुत्रमा बाँध्न सहयोग पुर्र्याउने धारणा व्यक्त गरेका थिए ।   

काठमाडौं:    नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यू–१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको रोमान्चक जित निकाल्दै विश्वकपको सुपर सिक्स चरणमा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले ४४.४ ओभरमा ९  विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले । उनले ८९ बल खेल्दै ७ चौकाको मद्दतले ५८ रन बनाएका हुन् । नेपालको सुरुवात भने खराब रहेको थियो । नेपालका शीर्ष तीन ब्याटर सस्तैमा पेभेलिएन फर्किएका थिए । अर्जुन चौथो ओभरमा फरिदुन दावुडजाइले १ रनमा रहेको अवस्थामा बोल्ड गरेका थिए । यस्तै आज ब्याटिङ अर्डरमा माथि ब्याट गर्न आएका गुलशन झालाई सातौं ओभरमा १२ बलमा १ रन बनाएको अवस्थामा खलिल अहमदले बोल्ड आउट गरे । विपिन रावल पनि खलिलकै बलमा १९ बलमा २ रन बनाएर आउट भए । चौथो विकेटका लागि कप्तान देव खनाल र आकाश त्रिपाठी मिलेर ४९ रनको साझेदारी गरेर इनिङ सम्हालेका थिए । २४औं ओभरमा आकाश ३९ बलमा १६ रन बनाएर नासिर खानको बलमा क्याच आउट भए । त्यसपछि नेपालले दुई विकेट छिट्टै गुमाउन पुग्यो । दीपक डुम्रे ५ र दिपेश कंडेल ४ रन बनाएर क्रमशः अरब गुल र नासिर खानको बलमा आउट भए । घजनफरले देवलाई ३७औं ओभरमा १९ रन बाँकी रहँदा आउट गरे । दीपक बोहरालाई ४२ बलमा २७ रन बनाएर दावुदजाईले बोल्ड गरे । त्यो अवस्थामा नेपाललाई ६ रन आवश्यक थियो । सुवाष भण्डारी र तिलक भण्डारीले नटआउट रहँदै नेपाललाई जित दिलाए । सुवाष ९ रनमा र तिलक शुन्यमा अविजित रहे ।   त्यसअघि इस्ट लन्डनमा टस हारेर पहिले बलिङ गरेको नेपालले तिव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङको मद्दतमा अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो । सुरुवातदेखि नै घातक रहेको नेपाली बलिङ लाइनअपले अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा समेट्न सफल भएको थियो । नेपालले पहिलो दुई ओभरमा नै पहिलो दुई विकेट लिएको थियो । पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए ।    जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शुन्यमा पेभेलियन फर्काए ।  हसन इशाखिल पनि ३५ बलमा २० रन बनाएर आकाशकै बलमा आउट भए । यो विकेट सँगै आकाशले ५ विकेट पूरा गरेका थिए । आठौ नम्बरमा आएका अल्लाह घजनफरले भने विष्फोटक इनिङ खेले । उनी २१ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएर आउट भएका थिए ।  शुन्यमा किपर बिपिन रावलले उनको क्याच छोडेपछि उनी विष्फोटक ब्याटिङ गर्दै तिलक भण्डारीको बलमा सुवाश भण्डारीले क्याच आउट भए । अरब गुललाई भने दिपेश कंडेलले शुन्यमा आउट गरे । नवौ विकेटका लागि भने कप्तान नासिर खान र फरिदून दावुदजाइ मिलेर ५५ रनको साझेदारी गरेका थिए । सो साझेदारी लाई दिपेश कंडेलले नासिरलाई और गरेर गरेका थिए । नासिरले ८३ बलमा ३ चौका सहित ३१ रन बनाए । फरिदूनलाई सुवाष भण्डारीले २९ रनमा अन्तिममा आउट गरे ।  नेपालका लागि आकाश चन्दले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन दिएर ५ विकेट लिएका हुन् । यस्तै दिपेश कंडेलले ८ ओभरमा १ मेडन सहित १७ रन दिएर २ विकेट लिए । गुलशन झा, सुवाष भण्डारी र तिलक भण्डारीले समान एक(एक विकेट लिए ।      समूह डी मा रहेको नेपाल समुहमा तेस्रो रहँदै सुपर सिक्समा पुग्न सफल भएको हो । सुपर सिक्समा नेपालले समूह ए का शीर्ष तीन टोलीविरुद्ध खेल्ने छ । सो समूहबाट भारत सुपर सिक्समा पुगिसकेको छ भने बाँकी दुई टोली बंगलादेश र आयरल्याण्ड रहने प्रबल सम्भावना रहेको छ । सुपर सिक्समा नेपालको समुहबाट छनोट भएका टोली विरुद्धको अंक र रनरेट पनि गनिने छ । नेपालले न्युजिल्याण्ड र पाकिस्तान विरुद्ध हार बेहोरेको हुँदा नेपालको सुपर सिक्सको सुरुवातमा कुनै अंक रहने छैन ।