पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:   पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ४ विकेटले पराजित गरेको छ ।   जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा मुस्कान थापाले २३ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए । दिनेश बुढामगरले ३३ बलमा २ चौका र १ छ क्कासहित २५, गौरव विक र अभिषेक थापाले ११/११ रन बनाए । विजयी छक्का हानेका अमृता गुरुङ , रनमा नट आउट रहे । एपीएफका अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । इर्शद अहमद, अमर रौटेला र अरुण ऎरिले १/१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ १८.४ ओभरमा १ सय १ रनमा अल आउट भएको थियो । एपीएफका कप्तान प्रदीप ऎरि २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाएका थिए । आसिफ शेख १२, सन्दिप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४/१४ रनमा आउट भए । अरुण ऎरि र अमर रौटेलाले ५/५ रन वनाए । गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले २÷२ विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले १/१ विकेट लिए । समूह बि मा रहेको गन्डकीले आइतबार लुम्बिनीसग खेल्नेछ । उक्त खेलमा विजयी भएमा गण्डकी सेमिफाइनल खेल्नेछ । अन्यथा नेटरनरेटमा भर पर्नेछ । समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेकोछ । समूह सि मा नेपाल पुलिस क्लब, मदेश र सुदुरपश्चिम प्रदेश छन् । समूह डि मा आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् । बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बि र सि का विजेता खेल्नेछन् ।

पोखरा:  पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै बागमती प्रदेशले सेमिफाइनल प्रवेश गरेको छ ।  बागमती प्रदेशले केपी ओली टी–२० कपमा कर्णाली प्रदेशलाई ९० रनले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको हो ।  बागमतीले समुह ए मा दुबै खेलमा जितका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस क्लब (रातो)लाई पराजित गरेको थियो ।  जितको लागि १ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले २३ बलमा ३ चौकासहित सर्वाधिक २४ रन बनाए । कप्तान रविन्द्रजंग साहीले २०, विपिन शाही २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका कप्तान सन्दीप लामिछानेले ३.३ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । दिपेश श्रेष्ठले २ , प्रतिश जिसि, रिजन ढकाल, सुवास खत्री र ईशान पान्डेले १(१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । बागमतीको जितमा ओपनर रित गौतमले ५९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८२ रन बनाएका थिए रितले पहिलो खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रेडविरुद ७४ रन बनाएका थिए । उनले सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गरेका हुन् । दोस्रो विकेटका लागि रित र इशानले १ सय ४३ रनको साझेदारी गरेका थिए । नेपाली टोलीबाट खेली सकेका इशान पाण्डेले ३८ बलमा ४ चौका र ६ छक्कासहित ७० रनको उत्कृष्ट इनिङ खेलेका थिए । ओपनर शुभ कान्सकार १२ बलमा ४ रन बनाउदै आउट भएका थिए । त्यसपछि ईशान र रितको साझेदारीले इनिङ उकासेका थिए । प्रतिश १२, प्रतीक श्रेष्ठ ७ र सन्दीप लामिछाने डक आउट भए । कर्णालीका दिनेश अधिकारीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए । दिवान पुन र अनुज चनाराले एक एक विकेट लिए । बागमतीले सेमिफाइनलमा मंसिर १४ मा समूह डि को विजेतासँग खेल्नेछ । समूह डि मा आर्मी, कोशी प्रदेश र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् ।

काठमाडौं:    नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा दशरथ रङ्गशालामा लिगको उद्घाटन हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाण्डौ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ । खेल बेलुकी ६ बजे शुरु हुनेछ । पहिलो संस्करण कोभिड सङ्क्रमणको समयमा विना दर्शक आयोजना भएको थियो । आज हुने उद्घाटन समारोहमा गायक सुशान्त केसीले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।   यसपटक गएको संस्करणको तुलनामा सहभागी टोली बढेसँगै लिगमा खेल सङ्ख्या पनि बढेको छ । अघिल्लो संस्करणका ६ र ३ नयाँ टोली गरी ९ टोलीले ४० खेल खेल्नेछन् ।   उपाधि विजेताले प्राप्त गर्ने रकम पनि दर्शकको उपस्थितिले नै यकिन निर्धारण हुने  आयोजकले जनाएको छ । रङ्गशालाको सामान्यतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ । 

पोखरा:   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्र र खेलाडीहरु व्यवसायीक नभएसम्म खेलको गुणस्तर बढ्न नसक्ने बताएका छन् ।    पोखरामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।    ‘खेल क्षेत्रमा खेलाडी र युवाहरुलाई आर्कषित गर्दै र उत्कृष्ट खेलहरुको माध्यमबाट ज्यादा भन्दा ज्यादा दर्शकहरुलाई आर्कषित गर्नुपर्छ’, अध्यक्ष ओलीले भने, ‘खेललाई भोलि गएर व्यवसायिक रुपमा स्तरउन्नती गर्न सक्नुपर्छ, अहिले केही खेलहरु व्यवसायीक रुपमा अगाडी बढेको छ, जबसम्म खेल क्षेत्र र खेलाडीहरु व्यवसायीक बन्न सक्दैन् तबसम्म खेलको गुणस्तर बढ्न सक्दैन ।’     अध्यक्ष ओलीले देशमा समर्पित खेलाडीहरु र खेल क्षेत्र पूर्णरुपमा व्यवसायीक नबनेसम्म पूर्ण रुपमा अगाडी बढ्न नसक्ने समेत बताए ।    उनले क्रिकेट खेलाडीहरुलाई सरकारले घोषणा गरेको पुरस्कार रकम समयमा नै उपलब्ध गराउन नसकेको भन्दै गुनासो समेत गरे ।    ‘सरकारले क्रिकेट खेलाडीहरुलाई पुरस्कार रकम दिने घोषणा ग¥यो, पुरस्कार रकम खेलाडीहरुलाई सरकारले चाँडै नै उपलब्ध गराउन सकेन’, उनले भने, ‘पुरस्कार रकम समयमा नै नपाएपनि मनोवल नघटाई खेलिरहेको छन् ।’ नेकपा एमाले अध्यक्ष ओलीले क्रिकेट खेलमा अब नेपालले विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने समेत दाबी गरे ।    उनले नेकपाको सरकार हुँदा भुकम्पले क्षति पु¥याएको दशरथ रंगशालासँगै, पोखरा रंगशाला निर्माणमा काम गरेको बताए । उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको निर्माणका लागि आफुले पहल गरिरहेको दावी समेत गरेका थिए ।    उट्घाटन खेलमा आयोजक रातोलाई बागमतीले  १ सय ९ रनले हराउदैजीत निकालेको छ ।   यसअघि टस हारेर ब्याटिङ थालेको आयोजकले १ सय ८५ को लक्ष्य पाएको थियो ।   

पोखरा:    मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटमा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेश विरुद्ध फिल्डिङ गर्ने निर्णया गरेको छ ।  पोखरा रंगशालामा मदन भण्डारी स्पोर्टस क्लब (रातो)ले टस जितेर बागमति प्रदेशलाई ब्याटिङको निम्तो दिएको हो ।  पोखरा रंगशालामा आजदेखि सुरु भएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । आज एक खेल मात्र हुने आयोजकले जनाएको छ ।  प्रतियोगिता सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ टिम गरी १२ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, आईसिसीको नियम अनुसार सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २०/२० हजार र म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  मदन भण्डारी स्पोर्टस क्लब (रातो)को प्लेइङ: ११ (कप्तान)अमर मिश्र, अंकित बिएम, सुमित पराजुली, निर्मल थापा, निञ्चल गवाती, आरिफ खान, विजय प्रजापति, सन्तोष यादव, विप्रसन केसी, महेश बार, सन्देश थापा, सन्दिम मौरिया, सिजात आलम र रोशन गौतम । बागमति प्रदेशको प्लेइङ: ११ कप्तान)सन्दिप लामिछाने, शुभ कंशकार, आसुतोष गैरिया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इसान पाण्डे, सुवास खत्री, प्रतिक जिसी, रिजन ढकाल, रामनरेश गिरी  र दिपेश श्रेष्ठ ।

पोखरा:   पोखरामा आजदेखि केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टालीले प्रतिस्पर्धा गर्ने छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुन लागेको केपी ओली कप राष्ट्रिय टी– २० प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् ।  मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोली सहभागि हुनेछन् । जसअन्तर्गत समूह ‘ए’ मा बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समूह ‘सी’ मा नेपाल पुलिस, मधेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी निलो रहेका छन् । हरेक समूहको समूह विजेता मात्र सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मंसिर १५ गते हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले ३० हजार, ‘बेस्ट बलर’ ले २० हजार तथा ‘म्यान अफ द म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पोखरा:   पोखरामा सक्रिय रहेको बिटी क्लबले तिहार पर्वको अवसरमा आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ ।    खेलकुद, सामाजिक कार्यक्रममा क्रियाशिल बिटी क्लबले सञ्चालनमा गरेको देउसी भैलो तथा सांस्कृतिक साँझबाट ७ लाख रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।    ४ दिनसम्म पोखराको विभिन्न स्थानमा देउसी भैलो सञ्चालन गरेको क्लबले मंसिर ३ गते टुडिखेल मैदान नजिक सांस्कृतिक कार्यक्रममा समेत आयोजना गरेको थियो । क्लबले आयोजना गरेको देउसी भैलोमा ४ लाख ५० हजार र सांस्कृतिक कार्यक्रममा २ लाख ५० हजार रुपैयाँ संकलन भएको अध्यक्ष थापाले बताए ।    सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले कला संस्कृतिको संरक्षणमा क्लब र स्थानीयहरु अग्रसर हुनुपर्नेमा जोड दिए । ‘नेपाली समाज विविधतामा एकता छं, सबैको कला संस्कृतिको सम्मान गर्नुपर्छ’,अध्यक्ष गुरुङले भने, ‘कला, संस्कृति र भेषभुषाको संरक्षण गर्न क्लब र स्थानीयहरु जागरुक हुन आवश्यक छ ।’   खेलकुद र सामाजिक कार्यमा अग्रसर हुँदै आएको बिटी क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । क्लबले पोखरा महानगरपालिका १ टुँडिखेल मैदानमा ४ लाखको लगानीमा बास्केटबल कोर्ट समेत निर्माण गरेको छ ।  क्लबले घाइते खेलाडी र मृगौला पीडितहरुलाई आर्थिक सहयोग समेत गर्दै आएको छ ।   क्लबले सञ्चालन गर्दै आएको फुटलबल प्रतियोगिताको तयारीमा जुटेको अध्यक्ष थापाले बताए । उनका अनुसार १७ औं बिटीकप एवम् ७ औें विरेन्द्र स्मृति कप फुटबल प्रतियोगिता आगामी माघ २२ गतेदेखि सञ्चालन गर्ने तयारी छ ।   

काठमाडौं:   फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा घरेलु टोली नेपाल यमनसँग पराजित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको हो । यमनका लागि ओमार अल दाही र मोहम्मद अल्दुल्लाह अल दाहीले दोस्रो हाफमा गोल गरेका थिए । नेपालले पहिलो खेल चोटका कारण गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनलाई सुरुवात बाटै मैदानमा उतारेको थियो । खेलको सुरुवाती मौका पनि नेपालले नै पाएको थियो । खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । ११ औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन् । लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परिक्षण भएको थियो । २८औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो । एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो । ३२औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । दोस्रो हाफको सुरुवातमै अहमद महेरको अर्को प्रहारले पनि किरणलाई दुःख दिन सकेन। ४८औं मिनेटमा दिनेशको क्रसमा अन्जन पुग्नु अघि यमन गोलरक्षक अल सदिले समाते । ५१औं मिनेटमा ओमार अल दहीको बक्स बाहिर बाट लिएको प्रहार किरणले बचाए। ५३औं मिनेटमा दिनेशको कर्नरमा उत्सव राईको फ्लिकले पोस्टको दिशा लिन सकेन । ६१औं मिनेटमा हिसुब थपलियाले सुन्दर मौका खेरा फाले । गोलरक्षक विरुद्ध वान अन वान मौका रहेकोमा उनले सिधै अल सदिको काधमा प्रहार गरे । ६३औं मिनेटमा एरिक विष्टको फ्री किक ब्लक भयो । ६५औं मिनेटमा अल खदेर अल डोउहले बललाई जालीमा हालेका थिए तर उनलाई असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । ७२औं मिनेटमा ओमार अल दहीले यमनलाई अग्रता दिलाए । उनले बक्स बाहिर बाट लिएको शक्तिशाली प्रहारले जालि चुमेको थियो । ७६औं मिनेटमा अहमद महेर अग्रता दोब्बर गर्न बाट चुके । उनको बायाँ खुट्टाले गरेको प्रहार पोस्टको केही टाढा बाट मात्र बाहिरियो । ८७औं मिनेटमा मोहम्मद अल ताइरीको प्रहार किरणले बचाए । ९०औं मिनेटमा यमनले दोस्रो गोल गर्दै जित सुनिश्चित गर्यो । मोहम्मद अब्दुल्लाह अल दाहीले किरण माथि चिप गर्दै जित सुनिश्चित गरे । खेलको अन्त्यतिर नेपालले केही मौका सिर्जना गर्न खोजेपनि कुनै स्पष्ट अवसर भने बनाउन सकेन । खेलमा नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फरवार्ड राजेश परियारलाई डेब्यु दिएका थिए । उनले ७९औं मिनेटमा अन्जन विष्टको स्थान लिएर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४-० को हार बेहोरेको थियो । छनोट अन्तर्गत तेस्रो र चौथो खेलहरु मार्चमा हुने छन् ।

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबद्वारा आयोजित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि जनज्योती युवा क्लब दान्सिंघाले जितेको छ ।   योसँगै दान्सिंघा दोस्रो पटकपनि च्याम्पियन बन्यो । दान्सिंघाले गत वर्षको प्रतियोगिता पनि जितेको थियो ।   ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा आइतबार भएको फाइनल खेलमा गुँगालाई २–१ को सोझोले पराजित गर्दै जनज्योती युवा क्लबले उपाधि जितेकाे हो ।   उपाधि जितेकाे​ जनज्योतीले शिल्ड, प्रमाणपत्रसहित नगद रु १५ हजार प्राप्त गर्याे । यस्तै द्वित्तीय बनेको गुँगा परिवारले शिल्ड, प्रमाणपत्रसहित नगद रु १० हजार हात पार्याे ।    यस्तै तृतीय बनेको आयोजकले ५ हजार र झाक्रिस्थानले सान्त्वना पुरस्कार प्राप्त गर्याे ।    कुल २२ टिमको सहभागिता रहेको प्रतियोगितामा निवर्तमान वडाध्यक्ष इश्वर रानामगर तथा पुरस्कारदाताहरु र स्थानीय अगुवाहरुले पुरस्कार वितरण गरेका थिए ।    समापन समारोहमा आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको खेल संयोजक ओम गाहामगरले जानकारी दिए ।    उनले गाउँपालिका भित्रका खेलाडीबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार स्थानीय स्तरमा सक्रिय रहेको माउण्ट एभरेष्ट क्लब खेलकुदसँगै सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि क्रियाशिल छ ।    क्लबका अध्यक्ष दान बहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु राना मगर ‘सजल’ ले गरेका थिए ।