पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:   सहारा क्लब पोखरालाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।   तमु धिं जापानका निवर्तमान अध्यक्ष रमेशकुमार गुरुङको संयोजकत्वमा त्यहाँ संकलित २ लाख १५ हजार जापानी येन सहयोग गरिएको हो ।  पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको अवसरमा बिहीबार एनआरएनए आइसिसी उपाध्यक्ष रोविनप्रसाद शेरचनले उक्त रकम सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेका हुन् ।  नेपाली फुटबलको इतिहासमा जनस्तरको सहयोगबाट साढे दुई दशकदेखि निरन्तररुपमा प्रतियोगिता आयोजना गर्नुका साथै सहारा एकेडेमी सञ्चालन गरेर पुण्य काम गरेकोमा पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका  सिलवालको संयोजकत्वमा खेलकुदप्रेमीबाट उक्त रकम संकलन गरिएको थियो ।  सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै क्लब अध्यक्ष बरालले उक्त रकम सहारा एकेडेमीमा सदुपयोग गरिने प्रतिबद्धता जनाए ।  वर्षेनी फुटबल प्रतियोगिता गरेर क्लबले पोखरा १७, दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुलाई निशुल्क शिक्षा, दीक्षा दिलाउँदै आएको छ । हाल ८ जिल्लाका १४ बालक आश्रित छन् ।   

पोखरा:   गण्डकी प्रदेश पुरुष भलिबल टोलीका सदस्य घनश्याम चौधरी र राजन दर्लामीलाई समेट्दै तेस्रो मुख्यमन्त्री कप भलिबल खेल्न गण्डकीको टोली घोषणा गरिएको छ ।  सुदूरपश्चिम खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय स्तरको तेस्रो मुख्यमन्त्री कपमा सहभागी जनाउन गण्डकी प्रदेश भलिबल संघले हरि पाण्डेका कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । घरेलु भलिबल प्रतियोगितामा गण्डकी प्रदेशबाट खेल्दै आएका घनश्याम चौधरी र राजन दर्लामी लामाचौर कप, सुर्खेतमा सम्पन्न भएको राष्ट्रिय भलिबल र पोखरामा सम्पन्न भएको टाइगर भलिबलमा टोली बाहिर थिए ।  सुदूरपश्चिम खेलकुद परिषद्ले माघ १४ देखि २० गतेसम्म आयोजना गरेको तेस्रो मुख्यमन्त्री कपमा गण्डकी प्रदेशसहित सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने जनाइएको छ ।  गण्डकीको टोली:  गण्डकी प्रदेश भलिबलको कप्तानमा खोमप्रसाद पाण्डे (हरी, स्याङ्जा), सुजन चोखाल (म्याग्दी), विवश आले मगर (तनहुँ), इन्द्रबहादुर विक, रवि केसी, कुञ्जन शाही, जीवन सुनार, सन्तोष विक (बागलुङ),विश्वास अधिकारी, घनश्याम चौधरी, किरण गुरौं, हिमाल सुनारी, सरोज बर्देवा (नवलपुर), राजन दर्लामी (स्याङ्जा), प्रशिक्षकमा रमेश केसी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् । 

काठमाडौं:     आईसीसी यू–१९   विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ ।  नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरीसकेको छ ।  यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

पोखरा:  पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपमा जाउलाखेल युथ क्लब अन्तिम आठमा प्रवेश गरेको छ ।   पोखरा रङगशालामा आज (बिहीबार) भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जाउलाखेल क्वाटरफाइनलमा पुगेको हो ।   जाउलाखेलको जीतमा  हिसुब थपलियाले पहिलो हाफको ३८ औं मिनेटमा गोल गरे । सोही गाेल नै निर्णायक बन्दै थपलिया म्यान अफ द म्याच घोषित भए ।    अब जाउलाखेलले आगामी १५ गते मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।   यसअघि थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।   प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ ।   प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।    

पोखरा:   नेपाल मगर संघ बागलुङले फागुन ११ देखि १५ गतेसम्म तेस्रो लखन कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  नेपाल मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा बागलुङमा फागुन ११ देखि १५ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भबिल लगायतका विविध कार्यक्रम आयोजना गरेको कोषाध्यक्ष प्रकाश थापामगरले बताए ।  ‘नेपाल मगर संघको स्थापना दिवसको अवसरमा हामीले तीन वर्ष यता प्रथम शहिद लखन थापा मगरको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छौं’, थापामगरले भने, ‘यसवर्ष तेस्रो लखन कप फागुन ११देखि १५ गतेसम्म सञ्चालन गर्दै छौं ।’ उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ८१ हजार १ सय ८१, उपविजेता हुने समूहले ४१ हजार १ सय ४१  रुपैयाँसहित ट्रफी, मेडल  र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  यस्तै महिलातर्फ पालिकास्तरीय भलिबलको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  नेपाल मगर संघ बागलुङका कोषाध्यक्ष थापा मगरले तेस्रो लखन कपमा ताराखेल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता (मगर संस्कृति भित्रका गीत) र रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र घैटोफोड प्रतियोगिता आयोजना गरेको बताए । 

काठमाडौं:    आईसीसी यू १९ विश्वकप प्रतियोगितामा पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भट्टायो । पाकिस्तानका लागि अजान अवैसले सर्वाधिक ६३ रन बनाए । ८२ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै, पाकिस्तानी ओपनरद्वय श्यामल हुसेन र शाहजिब खानले समान ३७ रन बनाए । नेपालका लागि आकाश चन्दले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले ६८ बलमा ३९ रन बनाए भने दिपक डुम्रेले ५८ बलमा २६ रन बनाए । त्यसैगरी, कप्तान देव खनालले ३७ बलमा २३ रन जोड्दा सुवास भण्डारीले २४ बलमा २० रन बनाए । पाकिस्तानका अराफात मिन्हासले तीन तथा उबैद शाह र अहमद हुसेनले समान दुई विकेट लिए । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले अर्को खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ ।

पोखरा:   पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाएका थिए । अधिकांश नयाँ खेलाडी उतारेको आर्मी र पहिलो पटक सहभागी भएको राइजिङ स्टारबीच कडा प्रतिस्पर्धा भएको थियो । खेलको दोस्रो हाफमा राइजिङले आर्मीलाई दबाबमा राखे पनि गोल गर्न सकेनन् । आर्मीलाई गोलकर्तासमेत रहेका भरत खवासले कप्तानी भूमिका सम्हालेका थिए । उनी प्रतियोगिताको म्यान अफ दी म्याचसमेत बनेका छन् । 

पाल्पा:   स्टेप रामपुरले महिला भलिबल खेलाडी अस्मिता घर्ती मगरलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । खेल अभ्यासको क्रममा चोट लागेर घाइते भएकी मगरलाई स्टेप रामपुरको पहलमा विभिन्न संस्था तथा व्यक्तिबाट सङ्कलन भएको एक लाख छ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।  अस्मिताको निवास रामपुर नगरपालिका–६, तालपोखरा पुगेर रकम हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरुङ, अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा, नमस्ते पाल्पा दक्षिण कोरियाका संस्थापक कोषाध्यक्ष तथा नेपाल प्रतिनिधि मोहन थापा, स्टेप रामपुरका उपाध्यक्ष जमुना राना, प्रशिक्षक कमल राना लगायतको उपस्थितिमा अस्मिता र उनका दाजु कृष्ण घर्ती मगरलाई रकम प्रदान गरिएको हो ।  रकम हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले अस्मिताको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै समाज र राष्ट्रलाई चिनाउने खेलाडीहरूका लागि राज्यको नजर पुग्नु आवश्यक रहेको बताए । जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरुङले अस्मिता प्रतिभावान उदाउँदो खेलाडी रहेको बताउँदै जिल्ला भलिबल सङ्घले पनि आवश्यक पहल गरिरहेको बताए ।  । अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटा खेलप्रतिभाको जिम्मा राज्यले लिनु पर्ने अवस्थामा युवाहरूले अभियान सञ्चालन गर्नु पर्ने अवस्था आएको भन्दै राज्यको नजर पुग्नु पर्नेमा जोड दिए ।  स्टेप रामपुरका खेल प्रशिक्षक कमल रानाले मकाउ मगर सङ्घबाट प्राप्त ५० हजार, नमस्ते पाल्पा कोरियाबाट प्राप्त ३१ हजार, सञ्जय मेमोरियल फाउण्डेशनबाट प्राप्त १० हजार सहित जिल्ला भलिबल सङ्घ, नगर भलिबल सङ्घका पदाधिकारी लगायत विभिन्न संस्था तथा व्यक्तिहरू बाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको जानकारी दिए । अस्मिताले गत वर्ष १८ मुनिको राष्ट्रिय भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेलेकी थिईन् । साथै राष्ट्रिय स्तरको सिनियर महिला भलिबलमा समेत सहभागिता जनाउन सुरु गरेकी छिन ।  अस्मितालाई यसअघि अध्ययनरत विद्यालय कुँवरवर्ती ईङ्गलिश बोर्डिङ स्कुल तिलोत्तमा रुपन्देहीले पनि उपचारको लागि एक लाख प्रदान गरेको थियो । गत कार्तिकमा दैनिक अभ्यासको क्रममा लिगामेन्ट गएपछि मगरले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराउँदै आएकी छिन । 

पोखरा:   पोखरामा पुन समाज नेपालको आयोजनामा माघ १५ देखि १९ गतेसम्म प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएकाे छ ।  पुन समाज नेपालको स्थापन दिवसको अवसरमा प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको समाजका महासचिव खिमन शेरपुजा पुनले जानकारी दिए ।  उनका अनुसार प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा महिला/पुरुष र प्रौढ भलिबल प्रतियोगिता आयोजना हुनेछ ।    खुल्ला क्लबस्तरीय पुरुष भलिबल तर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   यस्तै भलिबल प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ८  हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।  खुल्ला क्लबस्तरीय महिला प्रतियोगिताको विजेताले ६६ हजार ६ सय ६६  उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ६ हजार रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ ।  यस्तै ४० वर्ष माथिको प्रौढ भलिबल प्रतियोगिताको विजेताले ३३ हजार ३ सय ३३ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  पुन समाज नेपालका महासचिव पुनले खुल्ला क्लबस्तरीय महिला÷पुरुषतर्फ कुनै पनि टिममा प्रदेश र राष्ट्रिय टिमका कुनै पनि खेलाडी समावेश गर्न नपाइने बताए ।  ‘खुल्ला क्लबस्तरीय महिला/पुरुष भलिबलको तयारी तीव्र पारेका छौं, प्रतियोगिता माघ १५ देखि १९ गतेसम्म रामघाटमा सञ्चालन हुनेछ’, पुनले भने, ‘महिला/पुरुषतर्फ नै प्रदेश र राष्ट्रिय तर्फका खेलाडी समावेश गर्न पाइने छैन ।’  खेलाडी उत्पादनलाई मध्यनजर गर्दै प्रदेश र राष्ट्रिय टिमका सदस्यहरु समावेश गर्न नपाइने नियम राखिएको उनले बताए ।   प्रतियोगिता पुन समाज नेपाल पोखराको रामघाटमा सञ्चालन हुनेछ ।  पुन समाज नेपालले २०६३ साल माघ १५ लाई स्थापना दिवसको अवसरमा मनाउँदै आएको महासचिव पुनले बताए ।