पोखरा: एलजी एशोसिएशन प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को च्याम्पियन भएको छ । एलसी ब्रदर्स युनाइटेडको आयोजनामा लामाचौर फुटबल मैदान, गोस्तेघाटमा शनिबार भएको फाइनल खेलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा ५–४ गोलअन्तरले हराउँदै एलजी एशोसिएशन च्याम्पियन भएको हो । च्याम्पियन बनेको एलजीले नगद २ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता एन टुले १ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, क्लबका अध्यक्ष शंकर केसी, खेल संयोजक विशाल नेपाली लगायतले पुरस्कार वितरण गरे । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि विजेताको टुंगो सडेनडेथबाट लागेको हो । खेलको पहिलो हाफमा एलजिले सुमन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । भने, दोस्रो हाफको सुरुवाती समयमै एन टुका साइमन गुरुङले बराबरी गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । फाइनल खेलमा एलजिका गोलरक्षक आकाश रानाभाट म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा एलजीका अनुज भण्डारी चुनिए । उनले नगद ३ हजार रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक एलजिका आकाश रानाभाट, उत्कृष्ट प्रशिक्षक एलजीकै ओम गुरुङ घोषित भए । एन टुका कन्यासुब्बा गुरुङ उत्कृष्ट डिफेन्डर र नकुल तामाङ उत्कृष्ट मिडफिल्डर बने । प्रतियोगितामा सर्वाधिक गोलकर्ता शितलज्योेति युवा क्लबका सन्दिप गुरुङ भए । उनीहरु नगद २५ सय रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आदर्श युवा क्लब भण्डारढिक फेयर प्ले अवार्डमाबाट पुरस्कृत बन्यो । फाइनल अघि एलसी ब्रदर्स युनाइटेड लामाचौर भेट्रान र नेपाल खेलकुद पत्रकार मञ्च बिच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टोली विजयी बनेको छ । एलसी ब्रदर्शलाई पत्रकारको टोलीले ५–१ गोलअन्तर पराजित गरेको थियो । पत्रकारको टिमबाट प्रविन मगर र निरज कार्कीले २र२ तथा योगेन्द्र श्रेष्ठले १ गोल गरेका थिए । भने एलसीको तर्फबाटले गोल गरेका थिए । गत १९ कात्तिकदेखि सुरु प्रतियोगितामा १४ टोलीले भाग लिएका छन् । ४ वर्षदेखि हुँदै आएको यो प्रतियोगिता विगतमा सेभेन ए साइडमा खेलाइने गरिएको अहिले फुटबल प्रतियोगिता सुरु गरिएको आयोजक एलसी ब्रदर्स युनाइटेडका अध्यक्ष शंकर केसीले बताए ।
सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन् । यसअघि टी(२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका थिए ।
काठमाडौं: नेपाललाई २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा पुर्याउने नेपाली क्रिकेट टोलीका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगद पुरस्कार दिन सिफारिस गर्ने भएको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ । प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्ष, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पनि क्रिकेट टोलीलाई ५० लाख पुरस्कारले सम्मान गर्ने जनाएको थियो। नेपालले टी–२० विश्वकप छनोट एसिया समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो । समूह चरणमा पाँच रन र फाइनलमा सुपर ओभरमा पराजित भएको थियो । गत आइतबार नेपालले सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको थियो ।
काठमाडौं: नेपाली महिला क्रिकेटर रुबिना क्षत्री र सिता रानामगर (अलराउन्डर) ले हङकङमा फेन्चाइज लिग क्रिकेट खेल्ने भएका छन् । आगामी १० नोभेम्बरमा सुरु हुने वुमन्स अल स्टार्स प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यी दुवै महिला क्रिकेटर नेपालका सिनियर खेलाडी हुन् ।
पोखरा: पोखरा ट्रेल रेस सिरिजद्वारा आयोजित पञ्चासे अल्ट्रा रेस शनिबार भएको छ । प्रतियोगितामा २३ विदेशी र ८७ नेपाली गरी १ सय १० खेलाडीले भाग लिएको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए । ८० किलोमिटर दौडतर्फ सफल लामा, सुदीप थापा र सुखद बस्याल क्रमश: पहिलो, दोस्रो र तेस्रो बने । लामाले दूरी १२ घण्टा १२ मिनेट, थापाले १४ घण्टा ३८ मिनेटमा र बस्यालले १५ घण्टा ४० मिनेटमा पार गरेका हुन् । ८० किलोमिटर दौड लुम्रेबाट लोक्याम्प हुँदै बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिएको थियो । विजेतासहित दौड पूरा गरेका हसन गुरुङ र सन्तोश गुरुङले मेडल र केटिम सिटी तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । ५५ किलोमिटरको दौडमा पुरुषतर्फ वेदबहादुर सुनुवार, धीरज बहादुर बुढा र मोहन देव जोशी क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । महिलातर्फ भने प्रिय राई, मन्जु रावत र निकोला स्वराघान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । प्रथम भएका सुनुवार र प्रिय राईले १ महिनापछि थाइल्याण्डमा हुने दौडमा भाग लिने आयोजकले बताए । त्यसै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार र ७ हजार प्राप्त गरेका छन् । २५ किलोमिटरको दौडको पुरुषतर्फ निरज भट्ट क्षेत्री, अशोक बराम र तेन्जोन रोका मगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ भने गनना भण्डरी, नितु तामाङ र कानुका सिल्भिय क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । ७ किलोमिटरको दौडको पुरुषतर्फ श्याम मग्रती, दिवाकर बुढा मगर र विक्रम खड्का क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ भने हुमी बुढा मगर, सुस्मिता राना र ममता नेपाले क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेताले नगद र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा धावक हरि रोकायालाई ५० हजार नगदसहित सम्मान गरिएको थियो । यसअघि धावक मिरा राईलाई सम्मान गरिएको थियो । यसअघि पञ्चासे अल्ट्रा रेस सिरिजले रानीवन रेस, काहुँडाँडा रेस, प्याडी रेस, चेसिङ रेस प्रतियोगिता आयोजना गरेको संस्थापक राजीव श्रेष्ठले बताए । श्रेष्ठले अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको प्रष्ट पारे ।
काठमाडौं: ओमानले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ । सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिँएको थियो । तर ओमानका बिलाल खानले १० रन दिँदै नेपालबाट उपाधि लगेका थिए । सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए । ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए । कुशल मल्ल ब्याटिङमा आएका थिए । दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए । चौथो बलमा गुलशनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बलमा कुशल मल्लले चौका हाने । अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन । सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए । ओमानका अकिब इल्यास र नसिम खुसी ब्याटिङमा आएका थिए । अभिनाशले पहिलो बल अकिबलाई एक रन दिएका थिए । दोस्रो बलमा खुसीले डिप मिडविकेटमा छक्का हाने । तेस्रो बल उनले डट राखेका थिए । चौथो बलमा खुसीले पुन डीप स्क्यायर लेगमा छक्का हाने । पाँचौं बल वाइड फ्याँले । सुरुवाती चार बलमा १४ रन जोडेको थियो । पाँचौं बलमा खुसीले काउकर्नरमा छक्का हाने । पाँच बलमा २० रन बटुलेको थियो । अन्तिम बलमा एक रन जोडेपछि सुपर ओभरमा २१ रन बनाएको थियो । नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग भने नेपाल ५ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको थियो । उता ओमानले समूह चरणमा सबै खेल जितेको थियो । सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । ओमानले २०१६, २०२१ र २०२४ मा गरि तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।
आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबीचको सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको सुपर ओभरमा निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो ।
काठमाडौं: टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ
काठमाडौं: आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए । कप्तान रोहित पौडेल ३७ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे । करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए । एक समय सुरुवाती १० ओभरमा ६०–४ को अवस्थामा रहेको नेपाललाई पाँचौं विकेटका लागि गुलशन र रोहित पौडेलले ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालले अन्तिम ७ ओभरमा १ सय १८ रन बनाएपछि ओमानलाई विशाल लक्ष्य दिएको हो । गुलशनले २० बलमा आफ्नो टी–२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । रोहितले ३६ बलमा टी–२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख एक्स्ट्रा कभरमा कश्याप प्रजापतिबाट ६ रनमा क्याच आउट भए । कुशल भुर्तेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर फयाज बटको पाँचौं ओभरको अन्तिम बलमा कुशलको क्याच कभरमा आयन खानले छाड्न पुगेका थिए । तर कुशलले त्यसलाई भरपूर्ण फाइदा उठाउन सकेनन् । अकिब इल्यासले टोलीको योजना अनुसार डीप स्क्वायर लेगमा कुशल भुर्तेललाई मेहरान खानबाट क्याच आउट गराएका थिए । कुशल भुर्तेल २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । सन्दीप जोरा कप्तान जिशान मकसुदको बलमा १० रनमा बोल्ड आउट भए । अकिबले पुन टोलीको योजना अनुसार कुशल मल्ललाई आउट गरे । कुशलको कमजोरीलाई ध्यानमा राख्दै अफ बलमा अकिबले बोल्ड आउट गरेका थिए । कुशल मल्ल ३ रनमा बोल्ड आउट भए । एक समय नेपाल १० ओभरमा ६०–४ को अवस्थामा थियो । त्यसपछि गुलशन र रोहितको साझेदारीले खेलमा फर्किएको थियो । बिलाल खानको बलमा गुलशन स्लिपमा सकिल अहमदबाट क्याच आउट भएका थिए । बिलालकै बलमा विवेक यादव एक रनमा कट एण्ड बोल्ड आउट भए । ओमानका बिलाल खानले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जिशान मकसुदले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सुरुवाती ३ ओभरमा ६ रन खर्चेका जिशानले अन्तिम ओभरमा २१ रन खर्चेका थिए । अकिब इल्यासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । फयाज बटले ४ ओभरमा ६३ रन खर्चिदा विकेट लिन सकेनन् ।