पोखरा:  पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोग...

काठमाडौं:   चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।   टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको हो ।   नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए ।   पहिलो खेलमा मंगोलियाविरुद्ध रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान गरे ।   यस्तै कुशल भुर्तेल र गुलशन झाले समान ३५/३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए । अरु ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

कञ्चनपुर:      क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गरिरहेका छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि परिवारको दैनिकी नै फेरिएको छ । ‘क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो,’ वीरभान भन्छन्, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ। ‘ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै,’ उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हामीले हाम्रो दुःख बिर्सियौं।’ महेन्द्रनगरमा ऋण लिएर ६ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन । अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा १५र२० लाख ऋणमा डुबे,’ उनले भने, ‘९र१० लाख छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट तिर्‍यौं।’ कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन्। थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्। ‘क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पुर्‍यायो,’ उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा ९एसएलसी० सनराइज उच्च माध्यमिक विद्यालयबाट गरे। ‘सनराइजबाट भीम क्रिकेटमा राइज भयो,’ वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो।’ एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् । परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ। घरको ऋणपानदेखि घरखर्च भीमले नै हेरिरहेका छन्। ‘काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो,’वीरभानले भने। भीमलाई क्रिकेट मैदानमा ल्याउन त्यो बेलाका क्रिकेटर चन्द्र साउँदको प्रमुख भूमिका रहेको पनि उनी बताउँछन्। क्रिकेट हेर्न गएका बेला भीम मैदानबाहिर पुगेका बल टिपेर ल्याउँथे। मैदानबाहिर बस्ने र बल टिप्ने गरेको दैनिक देखेपछि चन्द्र साउदले नै भीमलाई क्रिकेट खेल्न आउन भनेका थिए। त्यसपछि उनी मैदानमा उत्रिएका थिए।   त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । ‘भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो,’ उनले भने, ‘कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ।’ यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । ‘बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो,’ उनले भने, ‘अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो।’ बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको शाहीको भनाइ छ। दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट संघका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ। ‘सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै,’ उनले भने, ‘खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन्।’ पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ। ‘हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन्,’ उनले भने, ‘संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ।

पोखरा:   पोखरामा मंसिर पहिलो साता प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले पोखरा रंङ्गशालाको क्रिकेट मैदानमा ७ गतेदेखि १६गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको बताए ।  उनले एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा प्रतियोगिता गर्न लागिएको बताए ।  प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा च्याम्पियन टोलीलाई पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले बताए ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘बेस्ट बलर’ २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद पाँच हजार पुरस्कार पाउने छन् । एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात् गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ । सङ्घीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर हुने प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित हुने एकेडेमीको भनाइ छ । पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए । एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुरु वर्ग र खेललाई माया गर्ने खेलप्रेमी आबद्ध रहेको बताइन्छ । सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।

पोखरा:  दुबईमा क्रियासिल युथ स्पोर्टिङ एफसीले बडादशैंको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।   आगामी अक्टोबरमा ‘पिआर तेस्रो दशैं कप’ आयोजना गर्न लागिएको श्री रोबिनले जानकारी दिए । उनका अनुसार तीन हप्तासम्म चल्ने प्रतियोगिता ग्रीनफिल्ड इन्टरनेशनल डिपमा आयोजना हुनेछ ।   आयोजक संस्थाकाा रोबिनले पहिलो हप्ता ए पोल, दोस्रो हप्ता बि पोल र तेस्रो साता सेमिफाइनलसँगै फाइनल खेल सम्पन्न गर्ने बताए ।    सो प्रतियोगिताको विजेताले ४ हजार ५ सय दिराम र उपविजेताले ३ हजार दिरामसहित शिल्ड प्राप्त गर्नेछ ।    पिआर इन्टरप्राइजेजको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमलाई सहभागिता गराइने छ । सो प्रतियोगिता सम्पन्न गर्नका लागि बिकी इन्टरनेशनल, हातेमालो प्रदेश सहकारी लगायत अन्य विभिन्न व्यक्ति तथा संघ संस्थाले साथ दिएका छन् ।  

चीन:  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ ।   एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।    सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ । यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।   जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।       नेपालले टेनिसमा, फेन्सिङमा, रग्बीमा, साइक्लिङमा, बास्केटबलमा, तेक्वान्दोमा, जुडोमा, पौडीमा, बक्सिङमा भने रविन विजयी  भएका छन् ।

काठमाडौं:  साफ यू–१९ च्याम्पियनसिपमा घरेलु टोली नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालको जितमा समिर तामाङले दुई, प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरे । नेपालले १७ औं मिनेटमा पहिलो गोल गरेको थियो । यस प्रतियोगितामा पहिलो पटक सुरुवात–११ मा स्थान बनाएका प्रशान्त लक्समले पहिलो गोल गरेका थिए । दोस्रो गोल समीर तामाङले गर्दै अग्रता बढाएका थिए । नेपालले १७ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। लक्समले बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। ३० औं मिनेटमा नेपालको अग्रता दोब्बर भयो। निराजन धामीको थ्रु–पासमा समीर तामाङले गोल गरेका थिए । ३४ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएपछि १०–१० जनामा सीमित हुन पुग्यो । माल्दिभ्सका कप्तान मोहम्मद हसन र नेपालका सुजन डंगोल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा खेल्नु परेको थियो । दोस्रो गोलपछि नेपालका सुजनले माल्दिभ्सका कप्तान हसनलाई अफ बलमा धकलेका थिए । त्यसपछि हसन उठेर जंगिएपछि दुबै खेलाडीले रातो कार्ड खाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नै नेपालले अग्रता बढाउने मौका प्राप्त गर्यो । लक्समको पासमा समिर तामाङले वान भर्सेस वान अवसर खेरा फालेका थिए । ५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्कायो । अहमद नजिरको क्रसमा आदम रशिदले गोल गर्दै माल्दिभ्सले नेपालको अग्रता एक गोलमा घटाएको थियो । ७९औं मिनेटमा माल्दिभ्सले खेल बराबरी गर्ने सुनौलो अवसर खेरा फाल्यो। शहान रशिदको पासमा मोहम्मद फाजिनले पनि वान भर्सेस वान अवसरमा गोल गर्न सकेनन् । नेपालको लागि तेस्रो गोल ८८ औं मिनेटमा निराजन धामीले गरेका थिए । प्रशान्तको कटिइनमा निराजनले ६ ट्यापिङ गर्दै जित पक्का गरे । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई सानदार जित दिलाए । नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । भारत र भुटान बीच समूह विजेता बन्न ५: ३० मा खेल हुँदैछ ।

पोखरा:    पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ । फाइनलमा लिटिल स्टेप माविलाई १६-७ गोलअन्तरले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम मावि तेस्रो भयो । उसले पोखरा एकेडेमीलाई १४-१३ अन्तरले पराजित गरेको हो । छात्रातर्फको उपाधि भने पोखरा एकेडेमीले जित्यो । गण्डकी बोर्डिङलाई ४-२ गोलअन्तरले पराजित गर्दै पोखरा एकेडेमीले उपाधि जितेको हो । छात्रातर्फ पनि सरस्वती आदर्श विद्याश्रम नै तेस्रो भयो । उसले ज्ञानज्योतिको चुनौती १०-० ले पन्छाएको हो ।   उपाधि विजेताले जनही १५ हजार  र उपविजेताले १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रोलाई जनही ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइयो । छात्रतर्फ गण्डकी बोर्डिङका मनीष कुँवर र छात्रातर्फ पोखरा एकेडेमीकी पूर्णिमा क्षत्री उत्कृष्ट खेलाडी घोषित भए । पोखरा महानगर ह्याण्डबल विकास समिति आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ ८ टिमले भाग लिएको आयोजक समिति सचिव सुभाष खड्काले बताए । विजयीलाई आयोजक समिति अध्यक्ष दीपकबहादुर गोदार, प्रदेश खेलकुद परिषद् गण्डकीका नि.सदस्यसचिव केशव पाठक, अग्रज ह्याण्डबल खेलाडी राम गुरुङ, कास्की ह्याण्डबल अध्यक्ष चित्रबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । गण्डकी बोर्डिङका प्राचार्य वीरेन्द्र खड्काले आफ्ना विद्यार्थीको उपलब्धिपछि खुसी व्यक्त गर्दै विद्यार्थीलाई पढाइसँगै खेलकुदका क्रियाकलापमा पनि सरिक गराउनुपर्ने बताए ।  

काठमाडौं:    नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा पूर्वकप्तान पारस खड्का सचिव पदमा निर्वाचित भएका छन् । पारसले अर्का सचिव पदका प्रत्याशि प्रशान्त मल्ललाई १० मतले हराउँदै सचिव पदमा जित हात पारेका हुन् । पारसले ४८ मत ल्याउँदा प्रशान्त मल्लले ३७ मत प्राप्त गरे । सचिव बाहेक अन्य प्रमुख तीन पदमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै महिला सदस्यतर्फ जयन्ती देवी भट्ट सर्वसम्मत रुपमा निर्वाचित भएकी थिइन् । सात प्रदेश कोटा सदस्यमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केरी सर्वसम्मत रुपमा निर्वाचित भएका थिए । प्रदेश कोटामा कोशीबाट अर्जुन पौडेल ४७ मतका साथ विजयी भए । अर्का प्रतिस्पर्धी सुनिल कुमार पौडेल २० मत ल्याउँदै कोशीको सदस्यमा पराजित भए । मधेश प्रदेशमा दाउद अन्सारी र माधव कर्माचार्यले समान ४२ मत लिएका थिए । चिट्ठाबाट माधव विजयी भएका थिए । त्यस्तै बागमती प्रदेशको कोटाबाट दिवाकर घले ४६ मतका साथ विजयी भए । उनका अर्का प्रत्याशि सुदीप पियाले ३६ मत लिए । गण्डकी प्रदेशको कोटाबाट सुदीप शर्मा ५२ मतका साथ विजयी भए । देब्रेन्द्र प्रजु २८ मतका साथ पराजित भए । सुदूरपश्मिच प्रदेशको कोटाबाट विक्रम विष्ट ४९ मतका साथ विजयी हुँदा हिरा रेग्मी ३१ मतका साथ पराजित भए । खुल्लातर्फ सदस्यमा धिरेन्द्र साउद ६९, विरेन्द्र ३४, दुर्गाराज पाठक ५४ मत र आयुष श्रेष्ठ ५१ मतका साथ विजयी भए । खुल्लातर्फ करण महत्रा क्षेत्री र ऋषिराम गौतमले समान २६ मत ल्याएका थिए । चिट्ठाबाट करण विजयी भएका छन् ।

काठमाडौं:    १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ।  औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेका छन् । प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत थुप्रै मुलुकका राष्ट्रपति र सरकार प्रमुख तथा नेताहरू हाङ्चाउ सहर पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीन गएका छन् ।  प्रतियोगितामा एसियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ। भविष्यमा हृदयदेखि हृदयसम्म ९हर्ट टु हर्ट एट फ्युचर० मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाउ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ। हाङ्चाउ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट समेतको व्यवस्थापन गरिएको छ। विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र स्पोर्टसमा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। कराँतेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीका १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ।  एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागिता हुन लागेको यो पहिलो पटक हो। नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ।