सुर्खेत: नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । साविक विजेता नेपाल एपिएफ क्लबलाई फाइनलमा पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको बनेको हो । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । सुरुवातमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट भने खेलमा फर्कियो । दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्याए । रविन चन्द नायक बन्दा पुलिसले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो । १५–१५ को बराबरीको अवस्थाबाट पुलिसले खेललाई १८–१५ को स्थितिमा ल्याए । त्यसपछि एपिएफले थप ३ अंक बटुल्दा पुलिसले ७ अंक बटुल्दै जित निकाल्न सफल भयो । चौथो सेटमा पनि पुलिसले सुरुवातमा ८–४ को अग्रता लिएपनि एपिएफले पूनरागमन गर्दै ११–१० को अग्रता लिन सफल भएको थियो । तर, पुलिसले एपिएफको अग्रतालाई पछि पारेर २५–२३ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा पराजित गर्दै तेस्रो भएको थियो ।
सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । गण्डकीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । यससँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । गण्डकीले समूह चरणमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको थियो । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार तेस्रो स्थानका लागि चलेको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले आर्मीलाई २५–२२, २४–२६, २६–२४ र २५–२२ ले पराजित गरेको हो । चलेको पहिलो सेटमा गण्डकीले २५–२२ को जित निकाल्न सफल भयो । आज नै उपाधिका लागि दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेको थियो । २० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।
पोखरा: पोखरा रंगशालामा माघ ९ देखि २० गतेसम्म हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा विदेशी क्लबसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छन् । सहारा क्लबले पोखरामा आज (बिहीबार) पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा दिल्ली फुटबल क्लब इन्डिया र पारो फुटबल क्लब भुटानसहित १२ क्लबले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । आहा रारा पोखरा गोल्ड कप मा गतवर्षको डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ । प्रतियोगितामा करिव १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगितामा बचत रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको छ । एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । यो चौथो ब्याच हो । प्रतियोगितामा उद्योगपति तथा पूर्व सांसद स्व. सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । त्यसैले उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको छ । प्रतियोगिताका विजेताले अघिल्लो इभेन्टमा १२ लाख पाएका थिए भने उपविजेताले ६ लाख पाएका थिए । अहिले पनि सोही पुरस्कार यथावत् रहने बताइएको छ । तर पुरस्कार राशि बढाउन आन्तरिक छलफल चलिरहेको क्लबले जनाएको छ । प्रतियोगिता पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले बताए ।
पोखरा: गण्डकी प्रदेश पौडी संघ तदर्थ समितिको अध्यक्षमा आनन्द कुंवर सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा बुधबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा कुंवरसहित १३ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कुंवर प्रशिक्षक समेत् हुन् । यसै गरी समितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बबिता केसी कार्की चयन भए । यसै गरी कार्यसमिति सदस्यमा जिवन रेग्मी, सूर्य बहादुर सिग्देल, विष्णु प्रसाद पाहारी, अर्जुन नेपाली, अमृत खड्का, रुवी तामाङ, महेन्द्र भुजेल, धर्मेन्द गिरी र राजेन्द्र अधिकारी रहेका छन् । भेलालाई सम्वोधन गर्दै परिषदका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशको पौडी खेलको विकास र खेलाडी उत्पादनमा नवगठित कार्यसमिति सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेशका सबै जिल्लाहरुलाई जोडेर पूर्वाद्धार निर्माणका विषयमा समेत सरोकारवालाहरु संग सहकार्य गर्दै अघि बढ्न आग्रह गर्दै त्यसका लागि परिषद सहयोग गर्न तयार रहेको बताए । नवनिर्वाचित अध्यक्ष कुंवरले सबैको साथ, सहयोग र सहकार्यमा नै संघले आफ्ना योजनाहरु तय गर्ने जनाउँदै प्रदेशको पौडी खेल विकासमा आफ्नो योगदान रहि रहने बताए ।
सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा एपिएफ क्लब फाइनलमा पुगेको छ । वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० ले हराँउदै एपिएफ उपाधि रक्षाको नजिक पुगेको हो । एपिएफले गण्डकीलाई २५–२३,२५–२० र २५–१५ ले पराजित गरेको थियो। अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो। त्रिभुवन आर्मी क्लब विजेता रहेको समूह ‘बी’ बाट उपविजेताका रुपमा गण्डकी अन्तिम ४ मा पुगेको थियो। समूह ए बाट दोस्रो हुँदै अर्को विभागिय टोली नेपाल पुलिस क्लब सेमिफाइनल पुगेको थियो। आजै आर्मी र पुलिसबीच दोस्रो सेमिफाइनल हुनेछ। नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ । गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै एपिएफले उपाधि जितेको थियो।
पोखरा: गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा शिरोमणी थापा चयन भए । त्यसै गरी कार्यसमिति सदस्यमा ललित कुमार गुरुङ (नवलपुर), इन्द्र पाठक (बागलुङ), बिनोद कुमार घर्ती (म्याग्दी), जगदिश कुवंर (पर्वत), रत्न बहादुर गुरुङ (स्याङजा) र बिजय खनाल (तनहुँ) रहेका छन् । यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा लोकतान्त्रिक प्रक्रियाका अभ्यासहरु आवश्यक रहने कुरा औंल्याउँदै खेलकुद विकासका लागि सबैको सहकार्य आवश्यक रहने कुरामा जोड दिए । खेलकुदको निति निर्माणमा लैङ्गिक समानताका विषयहरु महत्वपूर्ण रहेको जनाउँदै उनले महिला सहभागितामा विशेष जोड दिएको बताउँदै उनले सफल र सामुहिक नेतृत्वले मात्रै खेलकुद विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै भने–“पदका लागि चाहना राख्नु स्वभाविक हो । यसले हरेक खेलको विकासमा गति दिन्छ ।” सो अवसरमा अग्रज अन्तर्राष्ट्रिय खेलाडी एवं परिषदका सल्लाहकार खड्ग बहादुर रानाभाटले खेलकुदमा अग्रजहरुले देखाएको मार्गमा हिड्न सके आशतित सफलता प्राप्त गर्न सकिने बताए । उनले एथलेटिक्स खेल गण्डकी प्रदेशमा सम्भावनामा रहेको विगतको इतिहास समेत रहेको जनाउँदै खेलाडी उत्पादनमा संघले आफ्ना योजना बनाउन आग्रह गरे । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले निश्वार्थ रुपमा काम गर्न सके खेलकुद विकासले गति लिने बताए । संघका अध्यक्ष बरुवालले सबैको सल्लाह र सुझावलाई मनन गर्दै संघलाई एक ढिक्का बनाएर खेलाडीहरुको हित र एथलेटिक्स खेलको विकासमा आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गरे । सम्पन्न भेलाले केन्द्रिय प्रतिनिधीमा उपाध्यक्ष इन्द्रा मल्ल र अग्रज खेलाडी खड्ग बहादुर रानाभाटलाई सर्वसम्मत चयन गरेको छ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो । प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारिएको सदस्य सचिव शर्माले जानकारी दिएका छन् । “हामीले पौष १५ गते सम्म जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएका थियौं” सदस्य सचिव शर्माले भने–“बाग्लुङ, म्याग्दी, लमजुङ, र पर्वतमा समयमा प्रतियोगिता हुन सकेन । त्यसैका कारण हामीले फागुनमा गर्ने निधो गरेका छौं ।” सम्पन्न बैठकले नवलपुरका विभिन्न ८ वटा पालिकाहरुबाट प्रतिवद्धता भएको रकम माघ १५ गते सम्म प्राप्त भएमा राष्ट्रपति रनिङ शिल्ड नवलपुरमा नै आयोजना गर्ने निर्णय गरेको छ । स्थानिय पालिकाहरुबाट प्रतिवद्धता भएको ३० लाख प्राप्त नभएमा प्रतियोगिता कास्कीमा नै हुने जनाइएको छ । निर्णयमा भनिएको छ–“पालिकाहरुबाट प्रतिवद्धता भएको रकम उपलव्ध गराउन जिल्ला खेलकुद समन्वय समिति नवलपुरलाई आग्रह गर्ने तथा सहयोग रकम उपलब्ध हुनासाथ खेल मैदानहरुको मर्मत सुधार, यातयात तथा होटल ब्यवस्थापनको सम्पूर्ण जिल्ला खेलकुद विकास समिति नवलपुरलाई जिम्मेवारी प्रदान गरिने छ ।” यसै गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधि समेत संसोधन भएको र खेलाडीहरु समेत थप भएका तथा समय समेत थप्नु पर्ने बाध्यता रहेकोले प्राप्त सर्शत अनुदानको रकम थप गर्न राष्ट्रिय खेलकुद संग थप बजेट माग गर्ने निर्णय समेत गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत ६ वटा खेलहरु आयोजना हुने गरेको छ । प्रतियोगिता अन्तर्गत छात्र–छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, उशु, कराते र तेक्वान्दो हुने गरेको छ । नवलपुरमा प्रतियोगिता आयोजनाका लागि परिषदले गठन गरेको अध्ययन समितिले एथलेटिक्स नवदुर्गा खेल मैदान कावासोती, भलिबल देवचुली, तेक्वान्दो गैंडाकोट, उशु र कबड्डी कावासोतीमा तथा कराते मध्यविन्दुमा गर्ने गरी तय गरेको छ ।
पोखरा: इम्प्याक्ट तेक्वान्दो डोजाङले ४७ जना तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण गरेको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा रहेको उक्त तेक्वान्दो डोजाङले शनिबार ४७ जना खेलाडीलाई बेल्ट वितरण गरेको हो । ४० जना खेलाडीलाई पहिलो र ७ जना खेलाडीलाई पहेलो हरियो बेल्ट प्रदान गरिएको डोजाङका प्रशिक्षक निरोज बहादुर नेपालीले जानकारी दिए । खेलाडीलाई प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बेल्ट प्रदान गरेका थिए । कार्यक्रममा ललितसिंह धामी, आनन्द सिग्देल, डोजाङका संस्थापक प्रकाश पुराजुली, सुदीप कोइराला, मिरा गुरुङ, सुरजकुमार माझी, निशान नेपाली र अर्जुन गुरुङको सहभागीता थियो ।
काठमाडौं: टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको समूह डीमा परेको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा अमेरिकाको डल्लासमा खेल्ने छ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा तथा तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा र जुन १६ मा बंगलादेशसँग पनि सेन्ट भिन्सेन्टमै खेल्नेछ । भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन् । उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन् । समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई÷दुई टोलीले सेमिफाइनल खेल्ने छन् । यसअघि जुन ४ देखि ३० सम्म हुने भनिएकोमा आईसीसीले मिति हेरफेर गरेको छ । अब टी-२० विश्वकप जुन १ देखि २९ सम्म हुनेछ । पहिलो खेल अमेरिका र क्यानडाबीच जुन १ मा डल्लासमा हुनेछ । गत कात्तिकमा काठमाडौंमा भएको टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

