काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अब ४ खेल बाँकी रहेका छन् । त्यसमध्येको पहिलो क्वालिफायरमा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगको आज हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । ८ खेलको लिग चरणमा पोखरा शीर्ष स्थान र धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका थिए । ललितपुरले काठमाडौं विरुद्ध लिगको अन्तिम खेलमा जित हासिल गर्न नसकेपछि धनगढीको दोस्रो स्थान पक्का भएको हो । पोखराले भने अन्तिम खेल अगावै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको थियो । धनगढी लगातार दोस्रो र पोखरा पहिलो पटक क्वालिफायरमा पुगेको हो ।
पोखरा: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले पहिलो चरणमा विभिन्न क्लबबाट ४८ खेलाडी छनौट गरेको छ । दुई दिने छनोट कार्यक्रममा करिब ८० खेलाडी सहभागि थिए । अहिले छनौट भएका ४८ जनालाई ४ टिममा विभाजन गरिएको कोषाध्यक्ष विरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएको छ । टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् । दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोचमा रिजन प्रजु तथा म्यानेजरमा पूर्ण न्यौपाने रहेका छन् । त्यस्तै, टिम फेवाको क्याप्टेनमा अभिषेक थापा, कोचमा ऋषिकेस शर्मा पौडेल तथा म्यानेजरमा कमल थापा रहेका छन् । ऋषिकेस शर्मा पौडेल र कमल थापाले टिम विभाजन गरेका थिए । पुष १० देखि जिल्ला छनौंट खेल शुरु हुने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।
काठमाडौं: २९ औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुरले उपाधि जितेको छ । नेपाल पुलिस स्कुल साँगामा सम्पन्न फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइब«ेकरमा ३–० गोल अन्तरले पराजित गर्दै भक्तपुरले उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । उपाधि जितेको भक्तपुरले नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको ल्याबोरेटोरी स्कुल कीर्तिपुरले ४० हजार र तृतीय बनेको नेपाल पुलिस स्कुल साँगा ‘ए’ ले नगद रु ३० हजार र ट्रफि हात पार्याे । उक्त टोलीलाई कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक केदार ढकाललगायतले पुरस्कार वितरणसहति बधाई व्यक्त गरेका थिए । गत मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टीमको सहभागिता रहेको थियो ।
पोखरा: स्याङजाको कोल्मामा सम्पन्न चौथो संस्करणको क्रस कन्ट्रि दौडमा नेपाल आर्मीले वर्चस्व जमाएको छ । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले आयोजना गरेको क्रसकन्ट्री दौडमा आर्मीका धावकहरुले वर्चस्व जमाएको हो । क्रसकन्ट्री दौडको खुला विदामा त्रिभुवन आर्मीका गोपाल तामाङ च्याम्पियन बने भने आर्मीकै सञ्जय श्रेष्ठ र शुसिल कुमार शाही उपविजेता र तेस्रो हुन सफल भए । च्याम्पियन बनेका तामाङले निर्धारित २५ किमी दुरी १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गरे । उनले नगद रु ५० हजार, ट्रफी, मेडलसहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तै दोस्रो बनेका श्रेष्ठले १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पार गरे । श्रेष्ठले नगद रु ४० हजार ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गरे । तृतीय बनेका आर्मीकै सुशील कुमार शाहीले १ घण्टा ३४ मिनेट २ सेकेन्डमा पार गर्दै नगद रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । १० किमीतर्फ सनम च्याम्पियन २१ वर्ष मुनिको १० किमी पुरुष खुल्ला दौडतर्फ तनहँुका सनम गुरुङले ४१ मिनेट १४ सेकेन्डमा पार गर्दै उपाधि हात पारे । उपाधिसँगै गुरुङले नगद रु ३० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे । निर्धारित दुरि ४२ मिनेट ४३ सेकेण्डमा पार गर्दै पोखराका तेन्जेन रोका उपविजेता बने । रोकाले नगद रु २० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे । पोखराकै मनोज रोकाले निर्धारित दुरी ४२ मिनेट ५५ सेकेन्डमा पार गर्दै नगद रु १० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै महिला तर्फको ५ किमिको दौडको उपाधि जुम्लाका राममाया बुढाले हात पारिन् । बुढाले निर्धारित दुरी २१ मिनेट १८ सेकेण्डमा पार गर्दै नगद रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन् । यस्तै दाङका सुस्मिता कुमारी चौधरीले निर्धारित दुरी २३ मिनेट १६ सेकेण्डमा पार गर्दै उपविजेता बनिन् । उपविजेता बनेकी चौधरीले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा पोखराका नितु तामाङले निर्धारित दुरी २५ मिनेट ३७ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन् । तामाङले नगद रु ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन् । प्रतियोगिताका विजेताहरुलाई बन्जी नेपाल पोखराले बन्जीका लागिसमेत फ्री टिकट उपलब्ध गराएको छ । प्रतियोगितामा ११ वर्षीय एन्जिला जिटि सबैभन्दा कम उमेर र ५८ वर्षीय गोविन्द नेपालीलेसमेत सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडा, गण्डकी प्रदेशका पुर्व मन्त्रीहरु दिपक चर्तीमगर, मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका निवर्तमान सांसद मीन प्रसाद गुरुङ, पुतलीबजार नगरपालिका मेयर तुलसिराम रेग्मी, सातसय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुत प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । कोल्माको क्रसकन्ट्री गण्डकीकै ब्राण्ड बनोस्: मन्त्री सिंखडा पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका सामाजिक पिकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले कोल्मामा आयोजना हुने क्रसकन्ट्री दौड गण्डकी प्रदेशकै ब्राण्ड बन्नुपर्ने बताइन् । उनले राष्ट्रिय स्तरको क्रसकन्ट्री दौड कोल्मामा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गरिन् । मन्त्री सिंखडाले खेलकुदको माध्यमबाट ग्रामीण क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउदैै कोल्माको विकासका लागि आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताइन् । त्यस्तै पूर्वमन्त्री दिपक चर्तीमगरले खेलकुदकै माध्यमबाट स्याङजा र तनहुँको सिमानामा पर्ने कोेल्मालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताएका थिए । सो अवसरमा सातौ दक्षिण एसियन कराँते खेलमा कुमिते क्याटगोरीमा स्वर्णपदक विजेता तनहु देवघाट ५ की पार्वती गुरुङलाई सम्मानसमेत गरिएको थियो । सातसय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुत प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठ, निवर्तमान प्रदेश सभासदस्य मीन प्रसाद गुरुङ, मञ्चका अक्षयकोष संयोजक चित्र बहादुर गुरुङ, पुतलीबजार नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लील प्रसाद गुरुङ लगायतले बोलेका थिए । मञ्चका महासचिव जीवन पोख्रेल र सचिव जीवन थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: पोखरा १७ बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ शनिबार सकिएकाे छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुल्ला रूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक सिकाइ समाजबाट नै सिक्ने हो जुन फिस्टेलले सिकाइरहेको छ ।’’ उनले यस्ता खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा ठुलो सहयोग पु¥याउने धारणा राखे । शनिबार सम्पन्न सेभेन ए साइड फुटबलको फाइनल खेलमा शान्ति निकुञ्ज, लिटिल फ्लावर र शान्तिदीप स्कुलले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमशः रु ७५ हजार, ३५ हजार र २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । ५/५ छात्र बास्केटबलमा आयोजक फिस्टेल एकेडेमी, मनकामना बोर्डिङ स्कुल र अल्फा एकेडेमीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । छात्रा बास्केटबतर्फ काठमाडौँको एनसीसीएस, फिस्टेल एकेडेमी र बालकल्याण स्कुल प्रथम, द्वितीय र तृतीय बने । यी सबै खेलमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । टेनिसतर्फ १६ वर्षुनिको छात्रतर्फ फिस्टेलका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका शास्वत बज्राचार्यलाई २–६, ६–३, ६–३ को सेटमा पराजित गरी प्रथम बने । द्वितीय गण्डकी बोर्डिङका शास्वत बज्राचार्य बन्दा तृतीय स्थान गण्डकी बोर्डिङका डोजन गुरुङ र भद्रकालीका सन्दीप बिकले प्राप्त गरे । छात्रातर्फ मैत्रेय पाठशालाकी शाल्भी शेरचन प्रथम बन्दा शान्ति निकेतनकी अदिती पौडेल द्वितीय र सेन्ट मेरिजकी शरिसा शेरचन ताथ मैत्रेय पाठशालाकी आरुसी तुलाचन तृतीय बने । १२ वर्षमुनिको छात्र टेनिसमा फिस्टेलका आर्यशराज पौडेल र गण्डकी बोर्डिङका स्पन्दन उदास क्रमशः प्रथम र द्वितीय हुँदा गण्डकीका प्रफुल्ल श्रेष्ठ र डोजन गुरुङ तृतीय बने । १० वर्षमुनिको छात्रतर्फ फिस्टेलका आर्यसराज पौडेल, शिशुनिकेतनका इभान भट्टराईले क्रमश प्रथम र द्वितीय स्थान लिँदा शिशुनिकेतनकै ओमयुग थापा र शोभान केसीले तृतीय स्थान प्राप्त गरे । छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराई र सेन्ट मेरिजकी बनी एस मेथलागन क्रमशः पहिलो र दोस्रो बन्दा जिओभानी केसी र सोनाक्षी ढुङ्गाना तेस्रो बने । ९ वर्षमुनिको छात्रतर्फ शिशुनिकेतनका इभान, फिस्टेलका जीवाश प्रथम र द्वितीय बन्दा शिशुनिकेतनका ओमयुग थापा र प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने । छात्रातर्फ फिस्टेलकी जीवाश्री र गुरुकुल विद्याश्रमकी जिओभानी केसी क्रमशः पहिलो र दोस्रो हुँदा फिस्टेलकी सायना र सेन्ट मेरिजकी बनी एस मेथलागन तृतीय बने । ८ वर्षमुनिको छात्रतर्फ फिस्टेलका जीवाश र ग्लोबल कलेजियटका अनन्त पाण्डे प्रथम र द्वितीय बन्दा प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने । पुरस्कार वितरण तथा समापन कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष चिनुरानाभाटको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रथानाध्यापक कमल लामिछानेले गरेका थिए ।
पोखरा: पोखरामा आजखेखि पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदैछ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए । उनका अनुसार ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ । भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लबजम्प, त्रिपलजम्प, ज्याभलिब थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल अध्यक्ष गोदारले बताए । भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; २० हजार, १५ हजार र १० हजार रुपैयाँ, कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; १५ हजार, १० हजार र ५ हजार पैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रा दुवैतर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ । एथ्लेटिक्स एकल छात्र—छात्रामा ११ जनाले ३/३ हजार, त्यसपछिका ११ जनाले २/२ हजार र बाँकी ११ जनाले १/१ हजार पाउने छन् । कराते, उसु र मार्सल आर्टस्मा १२ जनाले ३÷३ हजार, त्यसपछिका १२ जनाले २÷२ हजार र बाँकी १२ जनाले १÷१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । एक विद्यालयबाट टिम खेलमा (भलिबल र कबड्डी) एक टिम र एकल खेल (एथ्लेटिक्स र मार्सल आर्ट) मा एक इभेन्ट/तौल समुहमा एक/एक जना खेलाडी सहभागी गराउन पाइने नियम छ । एक जना खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउने छन् तथा एथ्लेटिक्स इभेन्ट्सका प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्र्याक वा दुई फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउँछन् । पुरस्कार, अफिसियलसहित यो प्रतियोगिता सम्पन्न गर्न सबै गरेर २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास हुनेछ । उत्कृष्ट मार्च पास गर्ने तीन विद्यालयलाई क्रमश; १२ हजार, ९ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । पहिलो दिन एथ्लेटिक्स, भलिबल र कबड्डी हुने सदस्य सचिव खड्काले जानकारी दिए ।
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)मा राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसीसँग बराबरी खेलेको पोखराले पहिलो स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको छ । यस खेल अघि नै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको पोखराले शुक्रबार खेलमा १/१ को बराबरी सँगै पहिलो स्थान सुरक्षित गरेको हो । पोखराले भने ८ खेलमा ४ जित, ३ बराबरी र १ हार सहित १५ अंकमा पहिलो चरण टुङगायो । धनगढीको कुल ८ खेलमा ३ जित, ४ बराबरी र १ हार संगै १३ अंक बनायो । धनगढीले भने आफ्नो अन्तिम वरियता थाहा पाउन बाँकी खेलको परिणाम कुर्नु पर्ने भएको छ । झापा एफसीले आजको दोस्रो खेलमा एफसी चितवन विरुद्ध जित हासिल गरेमा हेड टू हेडका आधारमा धनगढीलाई उछिन्दै दोस्रो स्थान हासिल गर्ने छ । यस्तै भोलिको खेलमा ललितपुर सिटी एफसीले काठमाडौं विरुद्ध जित हासिल गरे पनि धनगढी भन्दा अघिल्लो स्थानमा रहँदै यस चरण अन्त्य गर्ने छ । पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ । ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् ।
काठमाडौं: प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । गण्डकीले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहोराले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी रचना चौधरीले २ विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो । गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीले अर्धशतक बनाए । अञ्जली ४८ बलमा ५१ र ज्योत्स्निका ४० बलमा ५० रन बनाएर आउट भइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए । यो जितसँगै गण्डकी २ खेलमा २ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । कर्णाली लगातार दोस्रो हारसहित तालिकाको पुछारमा छ ।
पोखरा: पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तीव्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तीव्र पारिएको हो । पोखरा ६ लेकसाइड बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएका छन्’ उनले भने । मार्सलआर्ट अन्तरगतको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडी व्यवसायिक खेलाडी हुन । एक प्रतिस्पर्धा अवधारणामा रहेको प्रतियोगितामा सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । ‘क्रिसमस डे’ को अवसर पारेर हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ । वान फाइट सिस्टममा खेल हुनेछ र प्रत्येक फाइटरले खेल खेले वापत नगद समेत प्राप्त गर्नेछन्’ क्षेत्रीले भने, ‘यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबहरुले दर्ता गराएपनि हामीले नेपालका प्रोफेसनल खेलाडीलाई मात्र राखेका छौं । मुवाँथाईको प्रचार गर्नु हाम्रो मुख्य उदेश्य हो । यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।’ विदेशीहरुले फाइट गेम निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ । उनका अनुसार खेलाडीहरुका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत आयोजकले नै व्यवस्था गर्नेछ । प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विधामा खेल हुनेछन् । वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए । पछिल्लो समय मुवाँथाईको लोकप्रिय विश्वमा बढ्दै गइरहेको छ । नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ । प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको छ । दर्शकले निशुल्क रुपमा प्रतियोगिताको अवलोकन गर्न पाउनेछन् ।

